सिर्जना पन्त
अहिले वित्तीय क्षेत्र कमजोर छ । यसको असर सहकारीमा पनि पर्ने भइहाल्यो । झण्डै एक वर्षदेखि सहकारी क्षेत्र निकै संघर्षपूर्ण अवस्थामा छ । संकट र समस्या सबै क्षेत्रमा छ तर चर्चा भने सहकारीको अलि धेरै भइरहेको छ । यसका पछाडि केही कारण छन् ।
पहिलो, सहकारी आम समुदाय र सर्वसाधारणसँग जोडिएको क्षेत्र हो । सहकारीमा आउने सामान्य बदलावको तीव्र प्रभाव समाजमा पर्छ । सहकारीमा आम मान्छेको शेयर लगानी, बचत र ऋण छ । यसले पैदा गर्ने सम्बन्धका धेरै आयाम हुन्छन् । सामान्य भन्दा सामान्य मान्छेको पहुँचमा भएकाले धेरै मान्छे सहकारीमा कुनै न कुनै रूपमा जोडिएका छन् । सहकारीबारे नकारात्मक कुरा सुनेपछि उनीहरूलाई आफ्नो रकम पनि जोखिममा पर्छ कि भन्ने लाग्छ नै । जसका कारण एकैचोटि धेरै मान्छे पैसा निकाल्न सहकारीमा पुगेपछि कतिपय सहकारीले पैसा फिर्ता गर्न सकेनन्, एक–दुई गर्दै अलि ठूलै संख्यामा सहकारीका सञ्चालकहरू पैसा फिर्ता गर्न नसकेका कारण भागेका, सहकारी डुबेका खबरहरू बग्रेल्ती सुनिन थालेपछि देशभर सहकारीप्रति नकारात्मक धारणा बन्यो ।
दोस्रो, सहकारीमा लागेर छिटो धनाढ्य बन्ने ध्याउन्नमा लाग्नेहरूका कारण समस्या सिर्जना भयो । सहकारीमा बचत रकम आफूलाई जग्गा, गाडी, घर लगायत सम्पत्ति खरिद गर्न प्रयोग गर्नेहरूले धेरै सदस्यको ठूलो रकम जोखिममा पारे । यसबारे मिडियामा व्यापक प्रचार भयो । सामाजिक सञ्जालमा यस्तो प्रचार भयो कि सहकारीमा सकारात्मक विषय नै सकिए, सहकारी सबै डुबे, सहकारी सञ्चालन गर्नेहरू सबै बदमास हुन्, सहकारी भनेको बदमासले सञ्चालन गर्ने व्यवसाय हो ।
सहकारी क्षेत्रलाई नै बदनाम गराउने यस्ता खालका सहकारीका सञ्चालकलाई छिटोभन्दा छिटो कारबाही गरी सहकारीमा बचत गरेकाहरूको रकम फिर्ता गराउनुपर्दछ ।
तेस्रो, सहकारीलाई नियमन अनुगमन गर्ने राज्य र सहकारीका सञ्चालकको भूमिका पनि यस्तो बेलामा प्रभावकारी हुन सकेन । नकारात्मक पक्षलाई समयमै न्यूनीकरण गर्नुपथ्र्यो । साथै, त्यसलाई सकारात्मक विषयले ओझेल पार्नुपथ्र्यो । अभियान र राज्यले सहकारीका सकारात्मक विषय ल्याउनै सकेनन् । जति नकारात्मक आए त्योभन्दा सयौं गुणा सकारात्मक विषय सहकारी क्षेत्रमा छन् तर आम समुदायका बीचमा सकारात्मक विषय ओझेल परे ।
देशभर करिब ३० हजार सहकारी संघ–संस्था छन्, तीमध्ये कति सहकारीका सञ्चालक बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेर सम्पर्कविहीन भएका छन् । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायका अनुसार २० वटा सहकारीले बचत फिर्ता गर्न नसकेको भन्दै विभागमा उजुरी परेको छ ।
प्रदेश सहकारी विभागमा परेको उजुरी हेर्दा १९१ सहकारीमा समस्या देखिएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १७५ सहकारीमा समस्या देखिएको छ । गण्डकी प्रदेशमा ११, कोशी प्रदेशमा २, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ सहकारी संस्थामा समस्या देखिएको छ भने लुम्बिनी प्रदेशमा रहेको कुनै पनि सहकारीमा समस्या नदेखिएको सरकारी तथ्यांक छ ।
केन्द्र र प्रदेश सहकारी विभागको तथ्याङ्क हेर्दा देशभर २११ सहकारीमा समस्या देखापरेका छन् । अरू केहीमा पनि समस्या होला । पालिकाहरूमा पनि यस्ता उजुरीहरू परेका होलान्, सहकारी संस्थाहरूमा बचत फिर्ताको दबाब होला । तर यो सबै हेर्दा ३० हजारमध्ये २११ सहकारीका बचतकर्ताले उजुरी दिएका छन् । यसको अर्थ ०.७० प्रतिशत सहकारीमा समस्या छ भन्ने देखिन्छ । पालिका सहितमा करिब १ हजार सहकारीमा समस्या देखियो, ५ हजार सहकारीहरू निष्क्रिय होलान् भन्ने अनुमान गर्ने हो भने पनि करिब २५ हजार सहकारीले त सदस्यलाई सेवा दिएकै छन् ।
यी २५ हजार सहकारी यति लामो समयको संकटका बीच पनि सञ्चालनमा आउनु, सदस्यलाई सम्हालेर राख्न सक्नु भनेको तिनीहरूमा सबल पक्ष भएरै हो । जुन सहकारीले सदस्यसँग नियमानुसार कारोबार गरेका छन्, उनीहरूलाई नै ऋण लगानी गरेका छन्, तिनका सदस्यले जोगाएरै होला । सहकारीलाई जोगाउने शेयर सदस्यहरूले हो । जुन सहकारीमा सदस्यहरूलाई सहकारीका बारेमा जानकारी गराइएको छ, शेयर सदस्य बनेर मात्रै कारोबार गरेका छन्, सदस्यहरू साधारणसभामा सहभागी भएर आफ्नो नीति आफैं बनाउने, चुन्ने चुनिने गरेका छन् ती सहकारीका सदस्यले आफ्नो सहकारीलाई जोगाएका छन् ।
सहकारीको सबल पक्षलाई तथ्यांकमा मात्र प्रस्तुत गर्न सकिंदैन । कमजोर आर्थिक अवस्था भएका धेरै मान्छेलाई सहकारीले करयोग्य नागरिक बनाइदिएको छ । आफन्त, बैंक, वित्तीय संस्था कसैले पनि साथ नदिएका, नपत्याएका मान्छेलाई आज सबैले पत्याइदिने सहकारीले बनाएको छ ।
लाखौं मानिसलाई आर्थिक रूपमा सबल, सामाजिक रूपमा सक्षम बनाउनुका साथै नेतृत्व विकास, क्षमता विकासका क्षेत्रमा धेरै काम गरेको छ ।
२५ हजार भन्दा बढी सहकारीले गरेका राम्रा काम, असल अभ्यास, उत्प्रेरणामूलक गतिविधि किन ओझेलमा छन् ? नकारात्मक मात्रै सोच्ने, हेर्ने, देख्ने, बोल्ने प्रवृत्तिले हामीलाई कहाँ पुर्याउँछ ? राज्य र सहकारीकर्मीले यो विषयमा गम्भीरताका साथ ध्यान दिन जरूरी छ ।
कतिपय सहकारीले जनचेतना अभिवृद्धिका धेरै काम गरिरहेका छन् । राम्रो काम गर्ने सहकारीलाई नै व्यंग्य गरेर बस्ने सहकारीकर्मी पनि छन् । सहकारीमा सहकारी शिक्षा कोष छ । त्यसलाई परिचालन गरेर सबै सहकारीले आफ्ना सदस्यलाई सचेतना प्रदान गर्ने खालका एउटा एउटा मात्रै कार्यक्रम गर्दा पनि देशभर २५ हजार कार्यक्रम एकैसाथ हुन्छन् ।
२५ हजार सहकारीले एउटा–एउटा सामाजिक काम गर्ने हो भने एकै पटक २५ हजार काम हुन्छन् । प्रत्येक सहकारीले एक–एक जना विपन्न मान्छेलाई सम्पन्न बनाउने संकल्प गर्दा एकै पटक २५ हजार जना मान्छेको आर्थिक अवस्थामा सुधार आउन सक्छ ।
सहकारी मार्फत आफ्ना सदस्यलाई गरिएका सकारात्मक कार्य, समुदायमा भएको उदाहरणीय कार्य, उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा भएका कार्य, सामाजिक न्याय स्थापित गर्न सहकारीले गरेको योगदान, सहकारीले महिला सशक्तीकरणमा खेलेको भूमिका लगायत सहकारीका सबल पक्षहरू आम समुदायका बीचमा लैजान किन सकिएको छैन ?
सहकारी अभियान र राज्य मिलेर एकैपटक देशभर सहकारीका सकारात्मक विषयहरू सञ्चारमाध्यम मार्फत बाहिर ल्याउँदा आज सहकारीबाट भएका नकारात्मक विषयसँगै सकारात्मक विषयहरूका बारेमा जनताले बुझ्न पाउँछन् । सहकारी सबै बिग्रेका, सबै डुबेका होइनन्, केहीमा समस्या आयो, त्यसको असर आम सहकारीमा परेको हो भनेर सोच्ने अवस्था आउन सक्छ । सहकारीका सबल पक्षलाई सार्वजनिक गर्नका लागि राष्ट्रिय सहकारी महासंघले आह्वान गर्नुपर्छ । केन्द्रीय सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंकले समन्वय गर्नुपर्छ र जिल्लास्तरीय सहकारी संघहरूले अगुवाइ गरेर एकपटक एकस्वरमा सहकारीको आवाज बुलन्द गर्नुपर्छ ।
सहकारी अभियान कहाँ चुकेको छ, राज्य कसरी अगाडि बढिरहेको छ ? गरिबलाई बाँच्न सिकाउने सहकारीलाई खिल्ली उडाउँदा सहकारी अभियानलाई किन दुखिरहेको छैन ? गरिब दुःखीका लागि राजनीति गर्ने शासकहरूको मन किन दुःखेको छैन ? समाजवाद उन्मुख अर्थतन्त्रका लागि तीन खम्बे अर्थनीति ल्याउने राजनीतिक दलका नेताहरूलाई यसले छोएको छैन ? कि समाजवादको यात्रा सहकारी विना नै सम्पन्न गर्ने सपना देखेका छन्, दलका नेताहरूले ? अनुगमन नियमन गर्ने निकायले हामीसँग जनशक्ति छैन, हामीले सक्दैनौं मात्रै भनिरहने ?
सञ्चारमाध्यम सहकारीप्रति सकारात्मक छैन भन्ने गुनासो आइरहन्छ । सञ्चारमाध्यमले सकारात्मक समाचार दिएन रे ? आजको जमाना नागरिक पत्रकारिताको हो, आम नागरिकको हात–हातमा समाचार दिने, हेर्ने, सुन्ने र बोल्ने साधन छ । सहकारीमा आम रूपमा ११ जनाको सञ्चालक समिति र ३ जनाको लेखा सुपरीवेक्षण समिति हुन्छ ।
देशभरका सक्रिय अवस्थामा रहेका २५ हजार सहकारीमा आबद्ध ३ लाख ५० हजार जना सञ्चालकहरू र १ लाखको संख्यामा रहेका कर्मचारीलाई सामाजिक सञ्जालमा एउटा एउटा सकारात्मक विषय पोष्ट गर्न लगाउने, कर्मचारी सबैले दिनमा एउटा टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने, सहकारीका गीत, कथा, कविता, मुक्तक, गजल लेख्न, बोल्न, भन्न लगाउने हो भने फेरि एक पटक गुम्दै गएको सहकारीको साख फर्काउन सकिन्छ । नकारात्मक विषयले सहकारीलाई आक्रान्त पारिरहेको समयमा सकारात्मक विषयले ऊर्जा दिनका लागि पनि सहकारी क्षेत्रले सोच्नुपर्ने बेला आएको छ ।
संकटको बेला जोगिने हो, यतिबेला सहकारीलाई जोगाउनुपर्ने समय आएको छ । सहकारीलाई जोगाउनका लागि सबैभन्दा पहिला त सहकारीलाई सहकारीकै रूपमा सञ्चालन गर्ने प्रतिबद्धता, तत्परता आवश्यक छ । खराब काम गर्नेहरूलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन हुने तरिकाका कार्यक्रम ल्याउन जरूरी छ । राज्य, अभियान र अन्य सरोकारवालाहरू सबैले सहकारीका गलत प्रवृत्तिहरूलाई कारबाहीको दायरामा ल्याउँदै राम्रा पक्षहरूको प्रवद्र्धन गर्न र सहकारीको साख फर्काउनका लागि योगदान गर्न जरूरी छ ।
धेरै नकारात्मक प्रचारले सकारात्मक काम गरेकालाई पनि असर गरेको वर्तमान अवस्थामा सहकारी अभियान र राज्य मिलेर सहकारीका सबल पक्षहरू आम समुदायका बीचमा लैजान जरूरी छ ।