सरोजराज पन्त
सहकारी भनेको दुःख सुखमा सहकार्य गरी सबै समस्या समाधान गर्ने उद्देश्य बोकेर स्थापना गरिएका वित्तिय संस्था हुन् । यिनका उद्देश्य भनेका नाफा कमाउनु, धनी, पुगीसरी आएकालाई पुँजीपति बनाउने होइनन । भुइमान्छेलाई समस्याबाट माथि उठाउने, गरिवका आँसु वर्सिएका आँखा पुछ्ने, भोका नाङ्गालाई, गास, बास, सहयोग बिहिनलाई सहयोग र सहकार्य गरी, समस्यावाट मुक्ति दिलाउने हुन् । तर आज सहकारीका नाममा यँहा व्यक्ति मोटाउने संस्था दुब्लाउने र अन्त्यमा संस्थापक, सञ्चालक भाग्ने प्रवृति बढ्दै गएकाले सहकारी प्रति जनविश्वास हटदै गएको आवास भएको छ ।
समाजमा छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्ने काम सहकारीले गर्दछ । सहकारी संगठित रूप हो जहाँ आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्नु पर्दछन । यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो । सहकारी प्रजातान्त्रिक बिधिबाट नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गरिन्छ । समग्रमा समान इच्छा, आकाङक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध साथ काम गरिन्छ । सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा जिवन्त यात्रा हो । तर आज सहकारीको सिद्धान्त, मर्म र भावना बमोजिम काम नहुदा सबै सहकारी एउटै हुन भन्ने सर्वसाधारणको बुझाई रहनु चिन्ताको बिषय बनेको छ ।
यो लेख बागलुङ बजार, गलकोट, बुर्तिबाङ, निसी, तमान, भिमगिठे लगायतका क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गरि तयार पारिएको छ । यसको उद्देश्य सहकारीमा रहेको वर्तमान अन्योलपूर्ण अवस्थाको अन्त्य गरी विश्वासिलो सहकारी कुन होला ? कसरी पत्ता लगाउने ? भन्ने बारेमा जानकारी दिन रहेको छ ।
राज्यका कानुन र नीतिहरू अन्तर्गत स्थापना भएका सहकारी आज बन्दाम भएका छन । देशको अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति “सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना बमाजिम स्थापना भएका सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने” उल्लेख गरिएको छ । त्यस्तै गरी नेपालको संविधानको भाग २० मा संघ प्रदेश र स्थानीय तह बिच अन्तर सम्बन्ध अन्तर्गत तिन तहहरू बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनी उल्लेख गरिएको छ । संविधानको अनुसूचीहरूमा संघको अधिकार अन्तर्गत “सहकारी नियमन”(क्र.स.२८), प्रदेशको अधिकार सूची अन्तर्गत “सहकारी संस्था” (क्र.स.२), संघ र प्रदेशको साझा अधिकार सूचिमा “सहकारी” (क्र.स.७), स्थानीय तहको अधिकार सूची “सहकारी संस्था” (क्र.स.२), यसै गरी संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा “सहकारी” (क्र.स.१), मा राखिएको छ ।
अहिले बागलुङमा सयौं सहकारी रहेका छन् । तिनीहरुका काम, कार्य प्रवृति हेर्दा समान देखिए पनि नाम फरकफरक रहेका पाइन्छन् । नामले कृषि, पशुपालन, फलफूल भनेपनि खासमा बचत तथा ऋणको गर्दै आउँदा उद्देश्य अनुरुप काम गर्न नसक्दानै प्रारम्भमै समस्या देखिने गरेको पाईन्छ । अर्कातर्फ सहकारी नितिको पूर्ण पालना नगरी सञ्चालन गर्नु, निति विपरित संस्थालाई दह्रो नबनाई बढी ब्याज दिनु, बढी लाभांस दिएर आकर्षित गर्नु, प्रलोभनमा पाररे फसाउनु, कर्मचारीलाई वचत उठाए वापत निश्चित रकम हिनु, बचत–कर्तालाई सुनको सिक्री, औंठी दिएर आकर्षित गर्नु, गैर शेयरकर्तासँग नियमविपरित कारोबार गर्नु, कर छलेर काम गर्नु आदि रहेका छन् । यसको कारण आज केही सहकारी गरिब सर्वसाधरणको नभई निश्चित बुर्जवा वर्गको स्वामित्वमा रहेका छन् । यति भनी रहँदा सबै सहकारी यो दर्जरमा भने छैनन् र सबैलाई एउटै नजरले हेर्न पनि हुदैन तर कसरी छुट्टाउने सहकारीको अवस्था भन्ने वारेमा पनि अहिले जनआवाज सुन्ने गरिन्छ ।
अहिले सहकारीले यसका सिद्धान्त र मर्म बमोजिमका काम नगरेकाले यो समस्या आएको छ । जसमा खुला तथा ऐच्छिक सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरुबीच पारस्परिक सहयोग, समुदायप्रति चासोदिने सहकारी कुन कुन छन, यसमा नत शेयर सदस्यको ध्यान छ नत सरोकारवालाले अनुगमन गर्दछन । यही कारणले आज सहकारी निश्चित मानिसको पेवा सरी बन्न गएका छन ।
थोरै–थोरै बचत सङ्कलन र समूह भित्रकै सदस्यहरूलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरी उद्यमशील बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठुला गर्जो टार्ने उद्धेश्य बोकेर स्थापना भएका सहकारीले सोही बमोजिम काम भए नभएको ख्याल गर्न नसक्दा आजको अबस्था आएको हो । सरकारले अर्थतन्त्रको तिन खम्बे नीति अन्तर्गत सहकारीलाई प्रमुख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेतापनि संघियता कार्यान्वयनमा नेपालको संविधान बमोजिम २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय र प्रदेश तहमा हस्तान्तरण भई सकेका सहकारीको गतिविधिको ख्याल गर्न सकेनन । सहकारी संस्थालाई उत्पादन र बजारीकरणको कार्यमा सहभागी बनाउन संकलन केन्द्रहरू निर्माण पनि भए बितिय पहुँच अभिवृद्धि, महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवर्धन र गरिवी न्यूनीकरणमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहदा रहदै केही सहकारीका कारण अन्य सहकारीलाई समेत नकारात्मा नजरले हेर्ने गरेको पाइन्छ ।
अब सहकारीका राम्रा पक्षहरूलाई स्पष्ट पार्न ढिला गर्नु हुदैन । जसका लागि ध्यान दिनु पर्ने विषयवस्तुमा सहकारीका संस्थापक समिति, सदस्यहरुको अवस्था, बचत, लगानी, मुनाफा, लगानी उत्पादनमुखी छ वा ऋण लगानी गर्दा कागजात पु¥याएर दिएको छ वा छैन, भोली असुली गर्दा कानुनी प्रक्रिया पुग्छ वा पुग्दैन आदि लगायत ऋणीले अन्य सहकारीमा कारोबार गरेर विगारेको छ वा छैन । विगतदेखि वर्तमानसम्मको इतिहास अध्ययन गर्न ढिला भइसकेको छ । धितो अनुसार लगानी भएको छ वा छैन, सहकारीको लगानी मात्र नभई हिसाब – किताब पारदर्शी छ छैन । शेयर सदस्यका लागि सामाजिक सुविधा, सहकार्य कस्तो रुपमा गरेको छ । धेरै लांभास दिने नाममा कोषको व्यवस्था कानुन बमोजिम गरेको छ वा छैन आदि ख्याल गर्न जरुरी छ । गैरसदस्यसँग कारोबार गर्न, विना धितो लगानी गर्ने, ऋण असुल्न नसक्ने, हिसाव किताव प्रारदर्शी नहुने, दवावको भरमा ऋण प्रवाह गर्ने, कानुनको पालना नगर्ने, शेयर सदस्यले नियमित वाच नगर्ने, नियमित समितिको बैठक नबस्ने आदि कारणले आज केही सहकारी डुबेका र राम्रा असल नियत साथ चलेका सहकारीलाई पनि उही नजरले हेर्ने गरेको पाइन्छ ।
अहिले सहकारीका सिद्धान्तलाई कुल्चेर ठग्ने काम भएको छ । नीति गन्तव्यमा पुग्ने गोरेटो मात्र हो, नीति र योजनामा बाँधिएर पूर्ण कार्यान्वयन गरी अगाडि बढ्न नसक्दा गन्तव्य विहीन तीव्र गतीमा कुदाउँदै आएका सहकारीमार्फत समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यावरणीय गन्तव्य छिचोल्न नसक्ने भएकाले असल सहकारी पहिचान आजको महत्वपुर्ण काम हो ।
संसारमा कुनै पनि क्षेत्र समस्याविहीन भएको पाइँदैन । यसमा सुधार गर्नु पर्ने कुराहरू पनि टड्कारो देखिएका छन् । देश संघीयता कार्यान्वयनमा गइरहेको परिप्रेक्षमा यस क्षेत्रमा देखा परेका समस्याहरूलाई नियमन र व्यवस्थापनमा थप संवेदनशील हुनुपर्ने देखिन्छ । सहकारीले सिद्धान्त, मूल्य मान्यताको अनुसरणको अवस्था कमजोर, अत्यधिक सख्यामा सहकारी संघसंस्थाको बिस्तार, दोहोरो सदस्यता, वित्तीय सुशासनको कमी जस्ता कारणले यस क्षेत्रमा वित्तीय जोखिम बढेर गएका छन । छिट्टै धनी हुने उद्देश्य लिएर सहकारीमा लागेका केही मानिसहरूको कारण समग्र सहकारी क्षेत्र बदनाम हुन पुगेकाले सजग बन्न थप निम्न बुदाँ विश्लेषण गर्न जरुरी छ ।
सहकारीमा राजनीतिकरण भएकाले सहकारीको गुणात्मक विकास हुन नसक्नु, सदस्यहरूमा सहकारी सम्बन्धी शिक्षा र चेतनाको कमी हुँदा रकमको सदुपयोग, हर हिसाबको कुरा सबै सदस्यहरूले जानकारी नपाउनु, पैसा उठाई गलत तरिकाले प्रयोग गर्ने प्रवृत्ति बढ्दै जानु, आफूले कारोबार गर्ने संस्थाबारे सचेत नहुँदा, शेयर राखेर आफ्ना साथीभाई नातेदार छन् भनेर ढुक्क बस्ने प्रवृत्ति बढेकाले, सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोबारमा बढी भएकाले, सहरमा रहेका बचत र ऋण सहकारीहरूका समस्याहरू जसमा गैर सदस्य कारोबार, कार्यक्षेत्र भन्दा बाहिर कारोबार, साधारण सभाको निर्णय विना सञ्चालक र कर्मचारीलाई रकम उठाए वापत वोनस, प्रतिशत रकम दिने, बढी पारिश्रमिक वितरण, चक्रवृत्ति व्याज असुली, ऋण लगानी गर्दा विभिन्न नाममा चर्को शुल्क असुली, विना कारण सञ्चालकको नाममा ठुला रकम पेस्की, राष्ट्र बैकको स्वीकृति बेगर चेक, ओभरडाफ्ट लगायत रेमिटेन्स कारोबार, सदस्यहरूको बचत रकम विभिन्न कम्पनी खडा गरी लगानी गरेको, कुनैको तरलता अत्यधिक बढी रहेको भने कुनैको तरलता नराखी लगानी गरेको, एकै परिवारका सदस्यहरू सञ्चालक र क्रृणि रहेको, वित्तीय क्षेत्रका कर्मचारी सहकारीमा सञ्चालक भएको, दलगत आधारमा सहकारी गठन र सञ्चालन, ग्रामीण क्षेत्रमा सहकारी ज्ञान, शिक्षाको कमी तथा पुँजी र प्रविधिको अभाव लगायतका सहकारी क्षेत्रमा देखिएका प्रमुख समस्याहरू हुन् ।
उल्लेखित समस्या सबै सहकारीमा छन् भन्ने होइन । अव शेयरकर्ताले मैले शेयर राखेको सहकारीको अवस्था कस्तो छ भनी अध्ययन नगरी कतिपय सहकारीको बदनियतका कारणले गर्दा सम्पूर्ण सहकारी क्षेत्रको इमानमा प्रश्न उठेको अवस्था थाह नहुने भएकाले यस्ता समस्या उपर सचेत भई बेलैमा निदान खोज्न जरुरी छ । त्यसका लागि सहकारी क्षेत्रमा रहेका समस्या समाधानका उपायहरु यस प्रकार गर्न सकिन्छ ः यी सबै समाधान गर्न शेयर सदस्यनै समानुकुल चलाख बनेर सञ्चालक समितिलाई र उसले गरेका नियमित कामको लेखाजोखा गर्नु, नियमित अनुगमन र सहकार्य गर्नु, नियमित कारोबार गरी सहकारीको गुमेको प्रतिष्ठा जोगाउनु आजको आवश्यकता हो । धेरै ब्याज पाइने निँहुमा कुरा नबुझी शेयर सदस्य नभएको सहकारीमा बचत गर्नु, धेरै लाभांस दिन्छ भनी नियम विपरित चलेका वा नचलेका सहकारी छुट्टाउन नसकी हाम फाल्नु, दोहोरो सदस्य बनेर निश्चित रकम जम्मा गरेर कारोबार नगरी साधारण सभामा भत्ताका लागि हतारिएर हस्ताक्षर गरी रकम बुझेर फर्किनु, सहकारीको वास्तविकता नबुझी विश्वास गर्ने परिपाटीको अन्त्य गर्न सकेमा मात्र सहकारीमा रहेका वर्तमान समस्या, समाधान गर्न सकिने हुँदा यसतर्फ सबै सदस्य जागरुक बन्न अति आवश्यक देखिन्छ ।
सहकारीमा देखिएका विद्यमान समस्या समाधानका लागि सहकारी अभियानका आन्तरिक संरचना, व्यवस्थापन, सदस्यहरूको कार्यदक्षता, कार्यव्यवहार प्रभावकारी बनाउनु पर्दछ । सहकारी ऐन, कानुन, कार्यविधि, मापदण्ड निर्देशनहरू एकीकृत, स्पष्ट र सरल हुनुपर्दछ र तिनको अक्षरस पालना गरिनु पर्दछ । सहकारी संघहरुलाई जोखिम व्यवस्थापनमा जिम्मेवार बनाउनु पर्दछ । सहकारीको मर्ज गर्ने कार्यलाई प्रोत्साहित गरी, बचत तथा ऋणमा मात्र नभइ उत्पादन मुलक क्षेत्रमा सहकारीहरूको लगानीलाई थप व्यवस्थित गरिनुपर्दछ । सदस्यहरूको रकमलाई जोखिममा पार्ने सञ्चालकलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्दछ । सहकारी शिक्षा, चेतना र जागरण बढाउन नियमन निकाय प्रभावकारी बनाउनु पर्दछ । प्रजातान्त्रिक विधिमा सञ्चालक समिति गठन गरिनु पर्दछ, आफना मानिस सेट गरी अधिवेशनको नाटक गर्ने र संस्थामा राजनीतिकरण गर्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । बस्तु उत्पादन, सेवा प्रवाह, प्रशोधन र बजारीकरणमा लागेका सहकारीलाई प्रोत्साहन दिनुपर्दछ । कानुन, विधि विधान, लगानी मैत्री सहकारी निर्माण तथा सोको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । सहकारी विकास सरकारका तिन वटै तह (संघ, प्रदेश र स्थानीय) बिचको साझा कार्य भएकोले संघीय निकायहरूले प्रदेश र स्थानीय सरकारका सहकारी निकायहरूलाई आवश्यक नियामक, प्रवर्द्धनात्मक, प्रशिक्षण गरी समन्वयात्मक रूपमा सेवाहरू दिनमा अग्रणी भूमिका खेल्नुपर्दछ ।
देशको संविधान र नीतिहरूले उच्च महत्व दिएको सहकारी क्षेत्रमा समस्या आउँदा यसलाई सामान्य रुपमा नहेरी मर्यादित बनाएर अगाडि बढनु आजको आवश्यकता हो । सहकारीहरू नीति नियमनबाट सञ्चालन हुने र आफ्ना सदस्यप्रति पूर्णरुपमा जिम्मेवार हुने निकाय भएकाले त्यस्ता संस्थाहरूलाई राज्यको अनुगमन र सदस्यको नियन्त्रण आवश्यक छ । समस्या नियम, कानुन, बजेटसँगै नियतमा पनि रहेको छ । सदस्यहरूलाई थप जागरूक, उद्यमशील र कर्मशील बनाउन राज्य र सहकारी अभियान दुवैले उतिकै ध्यान दिनुपर्दछ । सहकारी संस्थाहरूलाई व्यवसायी बनाउनकालागि उचित लगानीको वातावरण राज्यले तयार गर्ने र सहकारी संघहरुले व्यावसायिक नेतृत्व लिएर काम गर्न सकेमा यी समस्या समाधान गर्न सहज हुनेछ । अहिलेको विषम अवस्थामा एकले अर्कोलाई दोष दिएर उम्कने परिपाटीको अन्त हुन अति आवश्यक छ । सञ्चालक, सदस्यहरु क्षणिक लाभ र निहित स्वार्थबाट मुक्त भएर अगाडि बढेमा मात्र समस्याको समाधान निकाल्न सहज हुनेछ । त्यसैले सबै सरोकारवालाहरूले सहकार्य र सहकारीप्रति विश्वासको वातावरण सृजना गरी दुखमा रोइलाग्ने र सुखमा खाईलाग्ने अर्थात अप्ठारोमा थप सहयोगी बनेर सहकारी आन्दोलनको स्वस्थ विकासमा हातेमालो गर्नु आजको आवश्यकता हो ।