शिवशरण ज्ञवाली
‘छि ! त्यस्तो नि बिहे । थु !’ उनले यसो भन्दा मैले सोध्थें, ‘फेरि गर्ने हो त ?’ उनले आत्मविश्वासका साथ जवाफ दिदैं भन्थिन्, ‘अँ ! गर्ने हो ।’ हामी बुढाबुढीको बिहे सम्बन्धी यो कुरा धेरैपटक भएको थियो । एकतर्फी क्रान्तिकारी बिहेमा उनको घोर विमति थियो । मलाई उनको भावना नसमेटिएकोमा कहिलेकाही पछुतो पनि लाग्थ्यो र म बिहेको दिनको मालिका मन्दिरको दृश्य झल्झली सम्झन्थें ।
महादुर्भाग्य ! उनले ‘फेरि बिहे गर्ने हो’ भनेको चार पाँच वर्षपछि मैले ‘फेरि बिहे’ गरें । मैले पुर्नविवाह गर्दा उनको स्वर्गारोहण भएको दुई वर्ष डेढ महिना भइसकेको थियो । मैले हरि सरसँग बेलाबेला भनेको छु, ‘मेरो जीवनमा के भयो भन्ने कुरामा म आफैलाई आज पनि विश्वास छैन । छाती छाम्नु मेरो बानी भइसक्यो ।’
पुर्नविवाहमा मन भारी थियो । त्यो भारी मन मैले कसैलाई देखाउन सक्दिनथें । त्यो मन बहिनी यमुना र कल्पना भाउजूले अलिअलि देख्छन् । त्यो दुर्घटना मनमा कहिल्यै नमेटिने खत बनेर बसेको छ । त्यसको के कुरा गरुँ खै ?
मैले पनि बलेको आगो ताप्नै प¥यो । तापें । सबैले भन्छन्, ‘विगत बिर्सनुपर्छ ।’ ल ! मैले विगत बिर्सिएँ । चुड्की बजाएसरी बिर्सिएँ । मैले मात्रै होइन मेरा बाआमा, दाइभाउजू, छोरा, बहिनी र ससुरालीतिरका बाआमा, दाइभाउजू, दिदीभिनाजू, भाइहरु सबैले विगत बिर्सियौँ । बिर्सिएकै कारण कल्पना भाउजूले अस्वस्थताका बीचमा आएर मलाई टीका माला लगाएर बिदा गर्नुभयो भने केरुङ्गा आमा बुबा दाइ भाइहरुले मलाई र नववधुलाई आमन्त्रण गरेर स्वागत गर्नुभयो । मनको बह कसैलाई नहकने कुरा पनि कि केरुङ्गा दाइ भाउजूलाई थाहा छ कि हामीलाई नै थाहा छ । विगतको प्रसङ्ग यतिमै बिट मारौँ ।
नयाँ कुरा गरौँ । मेरो तनले उमेरका सङ्केत देखाएको छ । तनको प्रभाव मनमा नपर्ने कुरै भएन तर म भने बीस र तीस वर्षको बीचको बन्नुपरेको छ । भर्खर डेढ दुई महिनादेखि काठमाडौँमा शैक्षिक प्राज्ञिक करिअरको चौतारी चिन्न खोज्दै छु । मंहगीमा एउटा कोठामा बसेर जीविका निर्वाह गर्न अभ्यस्त हुनु परेको छ । यस्तो जीविका त विद्यार्थी जीवनमा पनि गरिएन । त्यतिबेला पैसारुपी जीवनको एउटा खुट्टा दाइको काँधमा थियो अर्को खुट्टा बाको काँधमा थियो । आज आफ्नै काँधमा छ । आप कमाया बाप कमाया ? त्यसै भनिएको होइन रहेछ ।
को कस्तो छ ? कसले कति कमाएको छ ? कसको मोटरगाडी र घर छ कि छैन ? को कति शान शौकतमा छ ? को कति शक्तिशाली छ ? को नेताको नजिक भएर पद र प्रतिष्ठा प्राप्त गरिरहेछ ? यी कुरासँग मलाई त्यति वास्ता छैन । मैले श्रम गरे कि गरिनँ ? सङ्घर्षीरूपी खुकुरीको धारमा नकाटिइकन हिडें कि हिडिन ? यस्ता कुरा नै मेरा जीवनका पहिचान बनाउनु परेको छ । काठमाडौँमा जीवन बसाउनु छ । नयाँ लयमा फर्कदै बिहे गर्नुपरेको छ । रुँदारुँदै हाँस्नु परेको छ । हाँस्दाहाँस्दै रुनु परेको छ । बुटबलको चर्को गर्मीमा राधा दिदीको पसलमा बिहेका सामान किन्दै गर्दा मन पग्लिएर आँखाबाट बग्न थालेपछि सिर्जनाले ज्वाइलाई भनिन्, ‘तपाईहरु यहाँ बस्नु पर्दैन । दाइलाई लगेर चिया ख्वाउनुस् त ।’
त्यसपछि ज्वाइ, म र इन्द्र भएर सिद्धबाबातिर लाग्यौँ । इन्द्र र केशवलाई पनि भोलि दिदीको बिहे गरिदिनु थियो, बाआमाको भूमिका निभाएर । बुटबलको तातो हावामा सिद्धबाबाले पनि लय मिलाएकै रहेछ । तापनि त्यहाँ हाम्रो मन र तन केही सुस्ताउने अवसर पाइयो ।
सुरुमा दोस्रो बिहेप्रति मलाई पटक्कै रुचि थिएन । माघदेखि गीता स्वयंका अनेक प्रयत्न पनि पटकपटक असफल हुँदै सफलतामा पुगें । म असजिलो र अमिल्दो रुपमा प्रस्तुत भएको थिएँ । छोरो पराइ हुने हो कि भन्ने सारै ठूलो डरले म अग्रसर छँदै थिइन । तर मनले मान्छे नखोजेको पनि त होइन । तनको कुरो मात्रै रहेनछ बिहे भन्ने कुरा । न त मनको मात्रै रहेछ । तन र मन दुवैको रहेछ । त्याग मात्रै होइन भोग पनि जीवन हो भनेर मैले कतै लेखेको थिएँ । बालकृष्ण समको म द्यौता मान्छु जोगी भन्ने कविता पढेको पनि थिएँ । बिहे त एउटा छुट्टै आफ्नो मान्छे खोज्ने कुरा पनि रहेछ । तर मलाई दुई ससुराली र सम्बन्ध बनाउन निकै अप्ठ्यारो भयो । भत्किएको जिन्दगी नयाँ बनाउनु नै थियो । सधैं भत्काइ राखेर पनि नहुने !
त्यसैले मैले उपाय निकालें, बिहे नगर्ने तर सँगै बस्ने । त्यसलाई अङ्ग्रेजी शब्द ‘लिभिङ टुगेदर’ भन्छन् रे ! मैले यो प्रस्ताव गीतालाई राखें । तपाईंलाई पूरै स्वतन्त्रता हुनेछ । घर जान पर्ने छैन । धोका हुनेछैन । कालोभाँडा सकीनसकी धस्नुपर्ने छैन । समपर्ण हुनेछ । प्रेम हुनेछ । तर बन्धन हुनेछैन । सासु, ससुरा, छोराछोरीको बन्धनमा फस्नुपर्ने छैन । बहिनी ज्वाइ सालासालीको झेउलो भोग्न पर्ने छैन । इच्छा भए जायजन्म पनि हुन सक्लान् । सन्ततिको तपाई आमा र म बाउ बनुँला । आउनुस्, बिहे नगरौँ । सँगै बसौँ । साथी बनौँ । सबै काम बराबर गरौँ ।
रिस उठ्यो भने एकजनाले होटलमा गएर खाउँला । आउन मन लागेन भने त्यही एउटा कोठा लिएर सुतौँला । कहाँ गइस् ? को सँग बसिस् ? कहिले गइस् ? आदि प्रश्न एक अर्कालाई सोध्न पर्ने छैन । मनमौजी हुनेछ । स्वतन्त्रता मात्रै होइन स्वछन्द बन्न पनि पाइनेछ । जिन्दगी कति ह्याङमा बाँच्ने ! मनमौजी स्वतन्त्रतामा बाँचाँै न । मन फर्कियो भने फेरि फर्कौला । मन फर्किएन भने दुई किनार पनि हांैला । दैवसँग लडेका हामीलाई समाजले के भन्ला भन्ने के को डर ?
त्यत्रोविधि दुःख खप्दा, रातभरि छट्पटाएर ननिदाउँदा, कहिलेकाही कोही कसैसित विवाद हुँदा घर आएर रुनु पर्दा, दुःख परेका बेला सहयोग माग्छ कि भनेर तर्केर हिड्नेहरु भएका बेला, तपाईंलाई विभिन्न लान्छना लगाएका बेला समाज कहाँ थियो ? त्यस्तो समाजको के को डर ? । आउनुस् ! सँगै बसौँ । बिहे नगरौँ ।
मैले मेरा आफन्तलाई पनि यो कुरा सुनाएँ । बागलुङमा साथीभाइलाई धेरै चोटि सुनाएँ । भक्ति दादा र भूपाल कामरेड दम्पतीलाई पनि सुनाएँ । मधुसूदन दम्पतीलाई पनि यो कुरा सुनाएँ । मधुसूदन हाँस्थ्यो । अधिकांशले ‘नचाहिने कुरा’को संज्ञा दिनुभयो । उल्टाउल्टा कुरा नगर भन्नेहरुलाई म भन्थे, ‘म जन्मेकै उल्टो हुँ । दैव पनि उल्टै लाग्यो ।’ मैले यो कुरा मेरा आफन्तलाई पनि सुनाए । सबैले मलाई नचाहिने कुरा भनेर पन्छाइदिनुभयो । पहिलो बिहेभन्दा फरक प्रस्ताव थियो, यो मेरो । परिपक्व प्रस्ताव । महिला स्वतन्त्रताको प्रस्ताव । त्यसमा म सफल हुन सकिन । गीताले मान्ने कुरै भएन । उहाँको जित भयो । मेरो हार भयो ।
दोस्रो दाइजोको गलफत्ती यसपटक पनि आयो । पहिलोपटक पनि नपरेको कहाँ हो र ? हाम्रो परिवार पहिल्यैदेखि दाइजो विरोधी कसरी भयो ? यसका केही निश्चित कारण छन् । पहिलो कारण त बाको चेतना नै हो । त्यो चेतना एकातिर शिक्षाले निर्धारण गरेको थियो भने अर्कोतिर माक्र्सेली स्कुलिङले । माक्र्सवादको ‘हुँदाखाने परिवार’ हुनु पनि त्यो चेतना निर्माणको कारक हो जस्तो लाग्छ । अनेक बिहे घरमा गरियो । मैले त दुईपटक गर्नुप¥यो । ती सबैमा दाइजो निषेध ! दाइजो निषेधको अर्थ भाँडाकुँडा निषेध मात्रै होइन, सुनचाँदीको निषेध पनि हो है । दिन्नौँ लिन्नौँ पनि हो है । अधिकांशले के ठान्दा रहेछन् भने दाइजो भनेको भाँडाकुँडा मात्रै हो । दाइजो विरोधी केटा पक्ष भएर मात्रै हुँदैन । त्यसमा साथ दिने माइती पनि चाहिन्छ । तापनि समाजले मान्दैन । दाइजो दिन्छ । लिन्न भनेपनि दिइन्छ ।
दाइजोलाई जबरजस्ती रोक्न पर्ने बाध्यतात्मक अवस्था यसपालि पनि मलाई आयो । मैले रोकिदिएँ । सुनचाँदी गरगहना यसपालि पनि नआएको होइन । हातमा लगाउने एउटा औठी र पाँच सय रुपैयाँको एउटा लिफा बाहेक अरु मैले ‘अन द स्पट’ अस्वीकार गरिदिएँ । पन्ध्र जन्तीलाई पाँच सयका पन्ध्र लिफा । यतिका लागि म लचक भएको थिएँ । नरम भाषामा कडा बोलेर सुनचाँदी अस्वीकार गरिदिएँ । मैले होइन हाम्रो परिवारले अस्वीकार गरेको कुरा थियो यो । मैले परम्परा धानेको मात्रै हो । म बिहे गर्न काठमाडौँबाट चार हजार लिएर बुटबल उत्रिएको थिएँ । तर दुई लाख बढी खर्च भयो कि ?
आजकाल सम्बन्ध विच्छेद धेरै हुन थालेका छन् । म सम्बन्ध विच्छेदमा विश्वास गर्दिन । सरकार सम्बन्धलाई कागजमा दर्ता गरेर बलियो बनाउन खोज्दैछ । तर समाज भित्रभित्र खोक्रो भइरहेछ । सम्बन्ध विच्छेदमा धन तिर्नुपर्ने बाध्यता केटा पक्षलाई छ । मन फाटेपछि त्यो धनले के गर्छ र ? चाहिदंैन भन्ने साहसी योद्धा नारी मैले भेटेको छैन । बिहेमा दाइजो मागको प्रत्युत्तर त होइन सम्बन्ध विच्छेदमा धनको भारी माग ? तर हामी दाइजो लिदैनौँ । सम्बन्ध विच्छेदमा विश्वास गर्दैनौँ । सम्पतिमा पनि विश्वास छैन । जीवननै सबै हो । हामीसँग प्रशस्त सम्पति छ (इन) ।
दुर्घटनाले हामीलाई सम्पतिको तुच्छता र अर्थहीनता अझ बढी सिकाएर गएको थियो । माइजूले दिल्लीमा डाक्टर जग्गीसँग हात जोडेर भन्नुभएको थियो, ‘मेरी भान्जीलाई सन्चो हुन्छ भने म भान्जीको तौल बराबरको पैसा दिन्छु, डाक्टर ।’ बिचरा ! डाक्टर नाजवाफ । अप्ठ्यारो परेको बेला सहयोग गर्ने ससुरालीको सहयोग नै जूनीभरको दाइजो थियो, मलाई । जूनीभरीको साथ थियो ।
गीताले विगत बिर्सनका लागि किन उमङका साथ बिहे नगर्ने भन्ने प्रस्ताव राख्नुभयो ? मलाई पटक्कै मन लागेन, उमङ्गित हुन । एक एकवटा माला वा अदालती बिहे गरौँ भन्ने मेरो प्रस्ताव थियो । तर पछि बिहे परम्परागत तरिकाले नै गरौँ भन्ने भयो । भाउजूले भन्नुभयो, ‘ज्वाइ ! एकजोर कपडा त चाहिन्छन् नै ।’ गीताको कुरा पनि मलाई ठिकै लाग्यो । भाउजूको कुरामा गीताले जोड गरेपछि म विश्वेश्वरप्रसाद कोइरालाको ‘व्यक्ति इच्छा’ सम्झन पुगें । आफूसँग जोडिन आउने मान्छेको इच्छा मानिदिनु पर्छ भन्ने चेत चालिस वर्षमा आएको थियो ।
त्यसैले म गीताको पछिपछि लागेर कपडा किन्न गएँ । कपडा पनि किनियो । दौरासुरुवाल जस्तै । ती कपडा नलगाउने मेरो प्रयास थियो । तर कुरा नमिलेपछि लगाएँ । लगाउन त एकदम सजिला हुँदा रहेछन् । पेटी कस्न नपर्ने । फस्नरको टन्टा नहुने ! तर यो अधवैसे उमेरमा दोस्रो पटक बेहुलो बन्नुपर्ने परिबन्द कस्तोकस्तो लाग्दो रहेछ क्या ! आफै के गर्दैछु थाहा नपाएजस्तो ।
परम्परागत बिहेका केही रमाइला पक्ष पनि रहेछन् । हाँस्ने नजान्ने क्रान्तिकारीहरुले ती रमाइला पक्ष बुझ्दैनन् । म पनि त्यही अबुझमा पर्थे । जुत्ता लुकाउनेलाई दश रुपैयाँ दिएँ ! नमानेपछि कति दिएँ, मलाई थाहा छैन । पैसाको हिसाब गर्ने मेरो बानी छैन । तर धेरै चाहि होइन है । ती अड्डी कसिनन् । तिनका मनमा पनि प¥यो होला, ‘यो बेहुलोले सिक्री पनि लगाएन । एउटा लिफा बाहेक दोस्रो लिफा पनि लिएन । पैसामा कसीकसाउ गर्नु अर्घेलो पो हुन्छ कि !’ त्यसैले दश जस्तैमा मानिन्, दिदीको बिहेको कुरा चलदेखि बिहे गरिदिन मन्दिरसम्म आइपुगेकी ती नानीले ।
अमाजु दिदीको बिहे गरिदिन आएकी बुहारी सीमाले अचलोमा पैसा राखिन् । कति राख्यौँ भनेर सोध्दा भनिन्, ‘पन्ध्र ।’ कमल ज्वाइले सोध्नुभयो, ‘कति थप्ने हो ?’ उनको सरल जवाफ थियो, ‘डबल ।’ बैंकरलाई डबलको मज्जा थाहा नहुने कुरै भएन ।
बिहेमा त जति मागे पनि पाइदो रहेछ । कमल ज्वाइले खुरुक्क तीस हजार निकालेर टक्राउनुभयो । म छक्क परें । ज्वाइले दाइलाई जिस्काउनु भयो । त्यसपछि भने ज्वाइ पनि टाप ! यी यस्ता केही कुरा रमाइला लागें मलाई । एकक्षण भए पनि हामी हाँस्न बिर्सिएकाहरुलाई यस्ता कुराहरुले खुशी दिए । म पनि हाँसे अरु पनि हाँसे ।
गीताले मलाई धेरैमार्फत चिन्नुहुन्थ्यो । सिर्जना त साथी नै भइन् । जुभूङ ठूलो बुबा । डिल्ली सर गंगा मेडम लगायतबाट । तर गीतालाई मैले कतैबाट पनि चिन्दिनथे । कसैले पनि उहाँका बारेमा विस्तृत बताउन सक्दैनथे । जे कुरा सुन्थे उहाँकै मुखबाट सुनेर सत्य मान्नुपथ्र्यो । म उनका कुरा ब्रह्म वाक्य मान्थें ।
बिहेपछि बिहे दर्ताको कुरा आयो । बिहे दर्ता गर्न सरकारी अड्डा जानुप¥यो । त्यो अड्डाका तालुकवाला अनेक फरमान जारी गर्छन् । ती फरमान कतिपय कानुनमा हुन्छन् कतिपय तिनका गायत्री मन्त्र !
यहीकारण होला जनता सरकारी अड्डामा काम गराउन जान अल्छी मान्छन् वा डराउँछन् ? आम मानिसहरुको मनमा सरकारी कार्यालय जान नपरे हुँदो हो भन्ने छ । बाध्यता जानैपर्छ । कागज मिल्दैन भन्ने चलन त पहिले देखिकै हो । बा र डिल्लीराज सर पेन्सनमा कागज नमिल्ने हो कि भनेर डराउनुहुन्थ्यो । बाहरुका पेन्सन मिलाउँदा पनि मैले पाखुरा खिच्नुपरेको थियो । आजकाल भने म आफैलाई त्यस्तै डर लाग्छ ।
तम्घासमा मेरा आफन्तले एकदिन भन्नुभयो, ‘कर्मचारी स्याल हुन् तर आफूलाई बाघ ठान्छन् । त्यस्तो मानसिकता आजकाल धेरै कम भएको छ । अझै अलिअलि छ । त्यो निख्रन अझै दुई चार वर्ष लाग्छ ।’ एकदुई जना सिडियोले म त जिल्लाको राजा हुँ भनेर ध्वाँस देखाएको मैले सुनेको छु । आजकाल गाउँतिर पनि त्यस्तै ध्वाँस देखाइदो हो कि ! प्रचण्डपथको एउटा राम्रो काम भनेकै बाघका भ्रमितहरुलाई स्याल बनाइदियो अनि गाडी नै नपुगेका ठाउँमा पनि काम गर्न पठाइदियो ।
मैले बिहे दर्ता गर्दा के कागजात चाहिन्छन् भनेर काठमाडौँको चार नम्बर वार्डका वार्ड सचिवलाई सोधेको थिएँ । उहाँले भन्नुभयो, ‘फोटा र नागरिकता ।’ मैले हामी दुवैको पुर्नविवाह हो भनेपछि उहाँले भन्नुभयो, ‘त्यसो भए डिभोर्स पत्र ।’ मैले भने, ‘हामी दुवैको मृत्युपछिको पुर्नविवाह हो ।’ उहाँले भन्नुभयो, ‘त्यसो भए दुवैका मृत्युदर्ता प्रमाण पत्र र तपाईं कार्यरत कार्यालयको चिठी ।’
क्यानडाबाट दाइले भन्नुभयो, ‘घर जाऊ न बाआमा पनि भेटिन्छ । छोरो पनि खुशी हुन्छ ।’ दाइको आज्ञा शिरोपर गरेर हामीले काठमाडौँमा बिहे दर्ता नगरी घर जाने निर्णय ग¥यौँ । तर गाउँमा बिहे दर्ता गर्दा केटीको पहिलाको घरबाट सम्पति लिएको वा नलिएको बारेमा वडाको सिफारिस मागियो । हतारमा गएका हामीसँग त्यो स्पष्टीकरण पत्र थिएन । यो कुरा जिल्ला प्रशासनमा पनि पुग्यो । जिल्ला प्रशासनका हाकिमले त्यस्तो पत्र माग्ने चलन छ भनेपछि मैले उहाँलाई प्रष्ट कुरा सोधें, ‘कानुन भए म प्रमाण जुटाउँछु । चलन हो भने म जुटाउन सक्दिन । चलन हो कि कानुन हो ? चलन भए बिहे दर्ताको प्रमाणपत्र मैले पाउनै पर्छ । कानुनले भनेको छ भने मैले ल्याउँछु ।’
यही विषयमा मैले हरि अंकल र राजिव भाइसँग पनि कुरा गरें । उहाँहरुसँग मैले अनुनयमा कुरा गरेको होइन । अनुनय मैले कसैसँग पनि गर्दिन । अनावश्यक प्रचलनका बारेमा मात्रै कुरा गरेको हुँ । सुरेश भाइबाट मैले सल्लाह र सहयोग पनि पाएँ ।
जिल्लाका हाकिमसँग मैले थप कुरा पनि सोधें, ‘मैले यो प्रमाण पत्र लिंदा वार्ड सचिवलाई अप्ठ्यारो पर्छ कि पर्दैन ?’ उहाँले भन्नुभयो, ‘पर्दैन । तपाईं लिन सक्नुहुन्छ तर तपाईंलाई नागरिकता बनाउँदा त्यो चाहिन्छ ।’ त्यसपछि मैले बिहे दर्ताको प्रमाणपत्र लिएँ । जिल्लाका हाकिमलाई भने, ‘म भोलि त्यही आइहाल्छु । त्यही कुरा गरौंला । चलन भए म प्रमाण जुटाउन्न । कानुन भए जुटाउँछु ।’
कर्मचारी हाकिमहरु कहाँ चलाइसक्नु हुन्छन् र ? कुर्सीमा अह्मरुपी काँडा बसेको हुन्छ । त्यो काँडा सेवाग्राहीलाई बिझाउँछ भने कुर्सीमा बस्नेलाई आनन्द आउँछ ।
मैले हाकिमसँग भनेको थिएँ ‘म भोलि नागरिकता बनाउन त्यही कार्यालय आउछु र भेट्छु । अहिले नआउने सोचमा थिएँ । नागरिकता तत्कालै बनाइहाल्ने सोच पनि थिएन हाम्रो । तर यो कुराले आउनै पर्ने भयो । म तपाईंको अफिसमा कुरा गर्न भोलि आइहाल्छु ।’
यो कुरालाई त उहाँले ‘इगो’को रुपमा लिनुभएछ । उहाँको इगोलाई मैले पछि लोलोपोतो कुरा गरेर सरीको भावमा थम्थमाएँ । मैले ‘कानुन कि चलन’ मात्रै भनेको थिएँ । चलनलाई कानुन मान्ने देश पनि छन् संसारमा । तर नेपालमा ?? महिलाका हकमा मात्रै प्रचलन कानुन बन्छ होला । बनेको रछ । पुरुषको हकमा कानुन पनि आवश्यक पर्दो रहेनछ ।
मेरो बानी असम्बन्धित कुरामा समय खर्च नगर्ने छ । मेरो नारा छ, ‘पैसा नगन्ने नचाहिने नपढ्ने ।’ म भाषा साहित्यको विद्यार्थी कानुनको कुरा के था ? जिल्ला प्रशासनमा पनि मेरो भनाइले राम्रै गाँइगुँइ पाएछ । घुइरोघुइरो चलन पनि कानुन हो भन्ने कुरा पनि सुने, त्यहाँ मैले । सहायक सिडियोकोमा त म गइन । बाहिर बसेका बेला उहाँले गीतासँग भनेको सुनेको थिएँ ।
पछि अघिल्लो दिन फोनमा कुरा भएका ती अधिकारीले मलाई बोलाउनुभयो पनि । त्यहाँ पनि मैले त्यही कुरा राखे । कानुन हो । ल्याउनैपर्ने हो भने म प्रमाण जुटाउँछु । होइन भने चलनका कुरा म जान्दिन । यसमा यदि केटीले बदमासी गरेको भए सबैभन्दा बढी खाल्डोमा खस्ने मै हुँ । तपाईंहरुलाई यसमा के चिन्ता ? यदि कानुनले ल्याए भन्छ भने म ल्याउँछु । त्यसो भनेपछि उहाँले कसैलाई फोन गरेर भन्नुभयो, ‘दुवैजना शिक्षक भन्नुहुन्छ । राजिवले पनि दाइ भन्नुहुन्छ ।’ उनको भनाइमा गरिदिउँको आशय थियो । दाता र माग्नेको कुरा जस्तो ।
आफ्नो फेस सेभिङका लागि वा वास्तविक कारणका लागि हो, सिफारिसको पछाडिपट्टि उहाँले केही लेख्नुभयो । त्यसमा गीतालाई हस्ताक्षर गराउनुभयो । लेखाइको आशय थियो, ‘मसँग केही पनि सम्पति छैन घरतिरको ।’
त्यसपछि दिनभर लगाएर नागरिकताको प्रमाणपत्र हात पारियो । हामीले नागरिकता लिएको कुरा गाउँ टोल जिल्ला सबैतिर हल्ला भएछ । जाबो एउटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन दिनभर लाग्ने मुलुकको प्रगति बाँकी संसारभन्दा सौ डेडा सौ वर्षपछि हुनु के अनौठो हो र ? बिहे दर्ता र नागरिकता प्रमाणपत्रको महाभारतको कथा दुई दिन चल्यो ।
चलन पनि नारी विरोधी छन् । कानुन त नारी मैत्री छँदै छैनन् किनकी ती बनाउने सबै पुरुषहरु छन् । चिलौनीपोखरीमा भोट हाल्न लाइनमा बस्नेहरु धेरै नारी थिएँ, मंसीरमा । मैले उनीहरुलाई सोधेको थिएँ, ‘तपाईंले जिताउने कोही महिला प्रतिनिधि छ ?’ उनीहरुको जवाफ थियो, ‘छैन ।’ पुरुषको लाइनमा भने म एक्लै थिएँ ।
मेरो बरु सम्पतिको हकवाला छोरा छ । उसले भोलि ‘मेरी आमाले कमाएको सम्पति कहाँ गयो भनेर सोध्यो भने ?’ त्यसको जवाफ दिनुपर्ने छ । दाइले त्यो जवाफको उत्तर तयार गरिसक्नुभएको छ । उनी बितेपछि दाइले भन्नुभयो, ‘भाइ ! मीनाको चल पुँजी जति छ त्यति सबै छोरालाई सुरक्षित गरिदे ।’ दाइले यसो भनेपछि मैले नमान्ने कुरै थिएन । दाइ नै दशैंमा आएका बेला बाँकी रहेका पैसा पनि हामी दुई भाइ गएर बैंकमा राखिदियौँ । मलाई त कसैले प्रमाण खोजेन । भोलि छोराका लागि आमाको नासो भनेर मैले कसैलाई पनि नदिइकन उसकी आमाले कमाएको चल सम्पति बैंकमा उसकै नाममा खाता खोलेर राखिदिएको छु । बाउआमाले कमाएको सम्पतिले छोराछोरीलाई कहाँ पुग्छ र ? ‘नासो’को रुपमा राखिदिएको मात्रै हो ।
तर गीताको त सन्तान पनि छैनन् । हकदाबी गर्ने खास मान्छे पनि छैनन् । एकल भए पछि सम्पति नपाउने भन्ने कुरा पनि भएन । सात आठ वर्ष त एक्लै नै बस्नुभयो । सामाजिक सुरक्षा भत्ता पनि खाएँ केही वर्ष भन्नु भा थियो । जागिर स्थायी भए पछि छाडिदिएको रे । सम्पति छ छैन मैले सोध्न पनि चाहेको छैन । त्यत्रो दैवको झटारोपछि मनै अमिलो तुल्याउने गरी चलनको फन्दा ! सहानुभूति र प्रोत्साहन दिनुपर्ने होइन । उल्टो सजाय ! मलाई लाग्यो, ‘पुरुषलाई कानुन महिलालाई चलन !’ मैले त्यो चलन तोडिदिएँ । गीताले बदमासी गर्नुभएको रहेछ भने त्यसको सबैभन्दा ठूलो भोक्ता त मै हुँ ।
नितान्त व्यक्तिगत कुरा यिनै रहे । अन्तिममा मलाई असाध्यै माया गर्ने बागलुङ्गेहरुलाई भेट्न म छिट्टै आउनेछु । मैले सबैका फोन उठाउन सकिन । मैले तपाईंहरुले सबैले दिएको अपार मायालाई महसुस गरेको छु । धन्यवाद !