प्रतिमान पौडेल
कहिले काही मनले अनौठो सोच्छ । राम्रो पनि र नराम्रो पनि । मन न हो । कहिले यो मन सारै आत्तिन्छ, कहिले यो मन सारै कमजोर हुन्छ । सम्हाल्दै अगाडि बढ्ने हो । सुख दुख त जीवनका साथी हुन् आइरहन्छन्, तिनीसंग आत्मियता जोड्दै अगाडि बढ्नु नै जीवन हो । दिनभर गरिने गतिविधि राती निद्रामा सपनाको रुपमा आउछन् भनिन्छ । अझै कति त विपनामा कल्पना गरेका कुरा सपनामा आउछन् पनि भनिन्छ । तर कहिले काही सोच्दै नसोचेको सपना पनि आइदिदो रहेछ । एक जना सहकारीकर्मीले आफ्नो सपनाका बारेमा बताएको कुरालाई मैले यहाँ लिपीवद्ध गर्ने प्रयत्न गरेको छु ।
म एउटा सहकारी संस्थाको अध्यक्ष छु । सहकारीले बचत तथा ऋणको कारोबार गर्दछ । करिव डेढ दशकदेखि सहकारीले कारोबार गर्दै आएको हो । अहिलेसम्म कारोबारमा खासै समस्या आएको थिएन । कोरोनाकालपछि सहकारीमा समस्या देखियो । ऋण लगेकाहरुले समयमा ऋण तिर्न सकेनन् । ऋण तिर्न नसकेपछि के गर्ने भन्ने विषयमा धेरै नै छलफल भयो, मैले नै सञ्चालक र कर्मचारीहरुलाई सम्झाइ बुझाई गरेर व्यवस्थापन गर्न थाल्यौ । यही मेरो मुख्य समस्याको विषय भएको छ ।
सबै त होइन, करिब ३० प्रतिशत ऋणी सदस्यहरुले ऋण तिर्ने कुरामा समस्या देखाउन थाले । हाम्रो अर्थात मेरो कमजोरी के भने मान्छेको समस्या हेरिदिनु पर्छ, सहकारी हो, सहकारीले सदस्यको मर्म बुझिदिनु पर्छ । सदस्य आएर समस्या देखायो भने सहकारीले त्यसलाई साथ दिनु पर्छ, सदस्यको हित नै सहकारी हो भन्ने ठानियो । सदस्यको मर्म त सहकारीले बुझिदियो तर सहकारीको मर्म सदस्यले नबुझेका कारण समस्या देखिएको छ । सदस्य नामका केही किराहरु यस्ता परे कि ? कसरी हुन्छ ऋण त तिर्दै नतिर्ने ।
वित्तीय क्षेत्रमा परेको असरभन्दा पहिला खासै समस्या थिएन । ऋण उठ्ने, बचत आउने, सबै राम्रै थियो तर यतिबेला बचत उठेको छैन, ऋण उठेको छैन, बचत फिर्ता भने रोकिएको छैन । संस्थामा तनाव नै छ । अझ विशेष गरी मैले अलि धेरै चासो, चिन्ता र समन्वय गरेका कारण मलाई धेरै नै चिन्ता छ ।
सहकारीको चिन्ताले होला घरमा पनि सारै तनाव नै छ । राती निद्रामा पनि सहकारीकै कुरा आउछ । मैले सबैलाई सम्झाइ बुझाइ गरेर ऋण लगानी गर्न लगाएका धेरैले ऋण नतिरेकाले मलाई समस्या सिर्जना भएको हो । त्यही तनावले होला प्राय रातीमा सहकारीको ऋणकै बारेमा सपना देख्छु । मैले एकरात यस्तो सपना देखेछु ।
‘पटक पटक ऋण भुक्तान गर्न ताकेता गर्दा पनि ऋण भुक्तान नगरेका शेयर सदस्यहरुको घर घरमै कर्मचारी सहित पुग्यौ, तर कसैले पनि पैसा तिर्ने कुरा गरेनन्, सबैले अवस्था छैन, सक्दिन, आदी भन्दै हामीलाई उल्टो थर्काए, कतिले त तिम्रो अफिसमै आएर आत्महत्या गरिदिउला समेत भने, यस्तो सबै कुरा सुनेर घरमा आएपछि म झन तनावग्रस्त भए, घर परिवारलाई यो विषयमा कुरा गर्न खोजेको सबैले नचाहिने काममा हात हालेर अहिले परिवारलाई तनाव दिने भनेर उल्टो गाली गर्न थाले । परिवार, छिमेक, संस्था सबैतिर मलाई सबैले इल्ल पार्न थाले । साच्चिकै मलाई मेरो गल्तीको एहसास भयो, यस्तो गल्ती किन गरेको हुम्ला भन्ने लाग्यो । हुन त संस्थामा रहेको रकम सबै ऋण लगानीमै छ, यद्यपी मेरो प्रेसरले दिएका ऋण जसले तिर्न अटेर गरिरहेका छन् । त्यो कारणले मलाई धेरै नै तनाव थपियो ।’
सहकारीमा गयो, कर्मचारी र सञ्चालकले तपाईका कारण समस्या सिर्जना भयो भन्छन्, घरमा आयो परिवारको कचकच, छरछिमेकमा गयो, तिमले गल्ती गरेउ नि ? यस्तो पनि गर्न हुन्छ भन्छन् साच्चिकै मैले अपराध गरेको जस्तै मलाई लाग्न थाल्यो । अपराध त गरेको होइन नि सदस्यहरुलाई तमसुक बनाएर ऋण लगानी गरेको हो, ऋण नउठेको मात्र हो । तर पनि आज म अपराधी जस्तो भएको छु । मेरो कमजोरी भनेको अरुको दुख देख्न नसक्ने हो, आएर समस्या सुनाउछ र रुन्छ, मान्छे राम्रै छ, पैसा कमाउन सक्ने, तिर्न सक्ने नै छ, त्यस्तालाई ऋण लगानी गर्दा के समस्या होला र ? मेरो मनले त्यही भन्यो, मैले सबैलाई सहज वातावरणमा ऋण लगानी गर्नु पर्छ भने । पहिला पहिला पनि यस्तो भएकै हो, उति बेला ऋण उठ्यो, ऋणको समस्या भएन, यतिबेला ऋण उठेन, मलाई तनाव भैरहेको छ ।
मनमा तनाव भएपछि के के सोचिन्छ, सोचिन्छ । एकदिन एकजनाले सारै थर्कायो, तिम्रो ऋण तिर्दिन भनेको छैन, अति गरेउ भने आत्महत्या गरिदिन्छु । उसले त्यसो भनेपछि म नबोली घर फर्के । अनि मन मनै सोचे त्यसले धम्क्याउन हुन्छ भने मैले किन नधम्क्याउने भन्ने लागेर भोली पल्ट बिहानै उसको घरमा गएर पैसा तिरिनस भने म तेरो घरमै आएर आत्महत्या गर्छु भन्ने सोचेर सुते ।
त्यो रात मैले सपना पनि त्यस्तै खालको देखे । सपनी मै मैले नियमनकारी निकायलाई पत्र लेखे, प्रहरी, पालिका र वडा कार्यालयलाई पत्र लेखे, संस्थाको सञ्चालक समिति र कर्मचारीलाई पत्र लेखे, घर परिवारका नाममा पनि एउटा पत्र लेखे ।
मैले सहकारीबाट कुनै किसिमको रकम हिनामिना गरेको छैन, सहकारीको विकासकै लागि भनेर ऋण लगानी गर्ने कुरामा अलि बढी व्यवहारिक बनेको हो र मैले विश्वास दिलाएका कारण संस्थाबाट धेरै ऋण लगेका छन् । ति ऋणी मध्ये ३० प्रतिशतले ऋण नतिरेका कारण आज मलाई तनाव थपिएको हो । हुन त यो सबैको समस्या हो, तर पनि नैतिक रुपमा यसको जिम्मेवारी मैले लिनु पर्छ भन्ने ठानेर सबैलाई यथार्थ अवस्था बारे जानकारी हुने गरी पत्रमा सबै कुरा खुलाए ।
मन मनै सोचे, अब म यो दुनियामा बाच्दिन, म सबैको नजरमा गिरेको मान्छे भए, यस्तो मान्छे कसरी बाँच्ने यही सोचेर आत्महत्या गर्ने निधो गरे । आत्महत्या गर्ने निधो पछि मैले सोचे, म मरेपछि त सहकारीका ऋणीले ऋण तिर्लान्, ऋण तिरे भने सहकारी राम्रोसंग चल्ला, मेरा कारणले तनाव भोगेका सञ्चालक र कर्मचारीलाई सहज होला । यस्तै सोच्दै गर्दा मैले एउटा नोट लेखेर पटक पटक ताकेता गर्दा पनि ऋण नतिर्ने सदस्यका कारण मैले आत्महत्या गरे भन्ने सूचना छोडेर आत्महत्या गरे । मैले आत्महत्या गरेपछि त सहकारीमा पैसा तिर्नेको लाइन नै लागेको रे ? फोन करायो, झसंग बिउझे, अचम्म लाग्यो, साझमा मनले कल्पना गरेको कुरा सपनामा आयो । मन मनै सोचे जिन्दगीमा नचाहिने कुरा मनमा लिनै नहुने रहेछ । सपनाले त छोडेन भने अरु केले छोड्ला र ?
सहकारीको पैसा नतिर्नेहरुका कारण जति नै तनाव भए पनि सहज रुपमा आफुलाई सम्हालेर अगाडि बढ्ने निधो गरे । अध्यक्षज्यूले चिया गफको समयमा सुनाउनु भएको कुरालाई लिपिवद्ध गर्ने सोच बनाए । यो विषय लेख नै लेख्नु पर्ने त होइन, तर कहिले काही मान्छेले यस्तै यस्तै सोचेर जिन्दगीलाई सिध्याएका घटनाहरु पनि छन् । त्यसैले जे जस्तो समस्या आए पनि सम्हालिएर, धैर्य भएर समस्याको समाधानका लागि लाग्नु नै जीवन हो, भन्ने सन्देश प्रवाहका लागि पनि लेख्ने जमर्को गरेको छु । गल्ती भए माफी पाउ ।