बाबु आदर्श ! मैले हारें

श्री
बाबु आदर्श,
बागलुङ
शुभआशिष तथा धेरै सम्झना ! कुशल छु र कुशलै हांैला भन्ने कामना उनै प्रकृतिदेवी कालीगण्डकी र बागलुङ कालिकाका साथै पशुपतिनाथसँग गरि बसेको छु ।

विशेष : चिठी लेख्नुपर्ने कुनै खास कारण त थिएन तर उही तिम्रो माया र ममताले सताएको हुँदा दुई चार अक्षर कोर्ने जमर्को गरेको छु । आजकालको प्रविधिको दुनियाँमा पनि तपाईं कहाँ चिठी लेखिनुरहनुभएको छ भनौंला ?

त्यसो नभन तिम्रो जमानाका फेसबुक, ट्वीटर, भाइबर, ह्वाटसप आदिआदिमा चिठीमा जति कहन सकिन्छ, तिनमा सकिदैंन । त्यसैले मैले तिमीलाई यो चिठी लेखेको हुँ । आदर्श ! मैले हारें । सकिन मैले । तिमी भनौंला सक्नुपथ्र्यो । नसकेपछि मर्नु भएन । म विचलित भएँ । म स्खलित भएँ । आदर्शबाट विमुख भएँ । तिमीबाट विमुख भएँ ।

सुन ! म आजकाल पानी खाएको र पिसाब फेरेको पनि पैसा तिर्ने ठाउँमा छु । जति पैसा तिरेर पानी खायो, उति पैसा तिरेर पिसाब फेनुपर्छ, बाबु । त्यसकारण म आजकाल पानी कम खाने गरेको छु । कम पानी खायो । कम पिसाब फेर्यो । हिफाजत रकमको । नेपाल जलस्रोतको धनी मुलुक हो नि ! तिमीले जस्तै सानामा हामीले पनि पढेका हौँ, ब्राजिलपछि नेपाल जलस्रोतका हिसाबले दोस्रो धनी मुलुक हो ।

ब्राजिल त फुटबलमा चम्किएको छ । अहिले विश्वकप नजिते पनि नेयमारले आफ्नो फुटबलको जादुमा संसारका मान्छेलाई लठ्याएकै छन् । सबै कुरामा पिछडिए पनि फुटबलले ऊ चम्किएकै छ । तर हामी आफ्ना जनतालाई पानी समेत ख्वाउन सक्दैनौँ । पिसाब फेर्न शौचालयसमेत बनाउन सक्दैनौँ ।

बिजुली पनि मंहगोमै बेचेका छौँ । मलाई आशा छ, बालेनजस्तै नेताले पानी र बिजुली निशुल्क गरेर जनतालाई महंगीबाट राहत दिनेछन् । आँट्ने हो भने त्यति गर्न सकिन्न भन्ने छैन । शहरका जनतालाई राहत दिने यो एउटा सबैभन्दा महत्वपूर्ण सूत्र रहेछ कि ?

दिल्लीमा केजरीवालले त्यत्रा जनतालाई त पानी बिजुली निशुल्क दिएका छन् भने नेपालमा नसकिने के छ र ? ससाना कुला कुलेसामा बाँध बाँधिने हो भने त काठमाडाँै उपत्यकाकै वरिपरिका डाँडापाखाका मुहानहरुले छेउछाउका बस्तीलाई धाराबाट पानी दिन सकिन्छ होला । यो मेरो अनुमान हो बाबु । यो विषय जान्ने मान्छे म होइन । तर पानी बिजुली निशुल्क गर्न सकिन्छ भन्न चाहि सक्छु ।

तिमी भनौंला, शिक्षा हो र निशुल्क गर्ने ? अरे बाबु ! शिक्षा पो कहाँ निशुल्क छ र ? पैला किताब हराए । त्यो सँगै स्कुल पनि हराए । तर पनि पानी बिजुली निशुल्क गर्नैपर्छ । यो चाहि ठोकुवाका साथ भन्छु ।

यत्रो घना बस्ती भएको दिल्लीमा धाराबाट पानी क्वार आउँछ तर हाम्रोमा कुनै पनि धारामा पानी आउँदैन । प्रकृतिमाथि मानिसको निर्ममता झन् बढ्दो छ । माटे पानी सबैतिर आउन थालेको छ । क्याप्प प्वाल पार पानी निकाल । खाइहाल ।

नेपालमा बिजुली सस्तो भन्न मिल्दैन । अलिकति विषयान्तर भएकोमा क्षमा चाहन्छु, बाबु । अलिकति आफ्नो विचार घुसाइहालें । मलाई आजकाल लागेको छ, कांग्रेस भए एमाले बन्नुपर्छ । एमाले भए कांग्रेस बन्नुपर्छ । कांग्रेस एमाले भए माओवादी बन्नुपर्छ । समाजवादी भए बिस्तारै एमाले, माओवादी, काग्रेस वा अवसर भए त्यही पार्टीमै रहनु पनि पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा समयको आवश्यकताअनुसार परिवर्तनशील भइरहनु पर्छ । नयाँनयाँ पार्टीमा लाइहाल्नु पर्छ ।

कहिलेकाही ट्वाक्कै पद पाइने सम्भावना पनि रहन्छ । एउटामा अडिग नहुनु पर्दो रहेछ । खासमा त आफ्नो काम हो नि लिने अरुको के मतलब ? पार्टीसार्टी देशसेस त्यस्तै हुन् । दल अदलुबदलु गरेर काम निकाल्ने कुरा महत्वपूर्ण हो । कहाँको आदर्श टिकाइराख्नु बाबु ? यो त म नजानेर पो त । काठमाडौँले सिकाउँदै छ बाबु । दुःख गरेर आर्जन गरेको ज्ञान जोगाउन लाग्नु हुन्न । हाटहुट्ट गरेर नेता भइहाल्नु पर्छ ।

नेता भइयो भने देश मजाले सयर गर्न पाइन्छ । मन्चमा बस्न पाइन्छ । माला लगाउन पाइन्छ । गफ हाँक्न पाइन्छ । वर्षको एकपटक घर जाऊआऊ मात्रै गर्नु र देश विदेश सयर गर्नुमा धेरै अन्तर छ, बाबु । बिहान धनगढी, दिउँसो गुल्मी, अपरान्ह इलाम र साँझ बास बस्न काठमाडौँ आइपुग्ने सुविधा नेतालाई मात्रै हुन्छ । नेपालका नेतालाई मात्रै । आफ्नो पैसो सुको खर्च गर्न पर्ने होइन । उनीहरुको पछि लागे यो पाइन्छ । नेतामा पार्टीमा लाग्नुपर्छ । अमेरिकामा भारतीय उपराष्ट्रपति बन्न सक्छिन् । बेलायतमा भारतीय प्रधानमन्त्री नै बन्न सक्छन् । तर नेपालमा पार्टीमा छिरेर नेता बने मात्रै पद पाइन्छ । त्यही भएर होला तिम्रो पुस्ता सबै थोत्रा नेतालाई जिम्मा लगाएर विदेश हानिएको ।

नेता भनेका ठूला हुन् । ती असाध्यै राम्रा हुन् । ती असाध्यै गतिला हुन् । तिनको जी हजूर गर्नुपर्छ बाबु । बौद्धिकतामा उनीहरुको चाकडी गर्न आएन भने सरल तरिकाले लेख न । मुनामदन सरलै भएर प्रख्यात भएको हो नि !

बाबु, तिमी कुन योग्यतामा छौ त्यसको मतलब हुन्न । पद पाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । सुरेन्द्र केसी हुनैपर्छ भन्ने छ र ? सार्वजनिक पदहरु खरिद बिक्री भइरहेका छन् भन्दै हिड्नुपर्छ र ? पर्दैन बाबु । पर्दैन । पद पायौँ भने नपाइने के छ ?

नेताको आलोचना गर्नै हुँदैन । गरे त कहाँबाट पद पाइन्छ । खुब चाकडी गर्नुपर्छ । तब न पद पाइन्छ । पद हो नि ठूलो कुरो । जति कुरा प्रजातन्त्र गणतन्त्र भने पनि ती पदका मालिक त दल र तिनका नेता हुन् नि । तिनको विरोध गरेर पद किन गुमाउने ? मुलुक नै नेताको भए पछि । हामी त उनैले दिए खाने न हौँ ।

अझै सानै छौँ बाबु । तिमीले मेसो पाउँदैन । ठूला नेताहरु देखेकै छौँ । अघिपछि सकेको एक अर्कालाई गाली गर्नुपर्छ । जब भ्रष्टाचारका फाइल यसो आउँछन् । तुरुन्तै शीर्ष नेताको बैठक गरि हाल्नुपर्छ । अनि फाइल बन्द गर्न लगाउनुपर्छ । दोस्रो तहका नेताले पनि यो सिको गरिसके ।

त्यो संसद हाटहुट गर्नुपर्छ । बन्द गर्नुपर्छ । तँ रोएझंै गर म पिटझैं गर्छु भन्नुपर्छ । आखिर त्यो संसदमा हुने पनि तिनै नेता हुन् । चुनाव पनि तिनै लड्छन् । जित पनि तिनकै हुन्छ । तिमी म लड्ने होइन । भोटसम्म खसालौंला । खसाले पनि नखसाले पनि हाम्रो तिनीहरुलाई के मतलब ? काम नगरे पनि हाजिर नगरे पनि तिनलाई तलबभत्ता मिलेकै हुन्छ । मिलीभगत भनेको यही हो कि ?

बाबु आदर्श,
कलियुगमा पैसाको महत्व सबैभन्दा बढी हुन्छ रे ! खै संसारको कुन मुलुकमा हो बाउको किड्नी छोराछोरीले बेचिदिन्छन् रे । मौका परे बाउआमाले छोराछोरी नै बेचिदिन्छन् रे । यतिसम्म त हाम्रोमा भएको छैन होला । कुनै दिन भएछ भने आश्चर्य नमाने हुन्छ, बाबु ।

तर पैसा जसरी पनि कमाउनुपर्छ । देवकोटाले भनेजस्तै नाम र दाम इमानले कमाउनुपर्छ भन्ने जमाना गए । तिम्रो शहरमा घर हुनुपर्छ जसरी पनि । नेताको चाकडी गरेपछि त्यो पैसा कमाउने जुक्ति पनि कसो नआउला । के थाहा, विदेश जाने टिममा हालेर उतै लगेर छाडिदिए भने तिमी मालामाल भइहाल्यौँ । डलर नेरु बन्दा कति हो कति फुल्छ, मत्ता हात्तीजस्तो । तिमीले दुख गरेर कमाएको जस्तो हो र, डलर ।

हामीलाई आधा उमेर जाँदासम्म शहरमा एउटा घडेरी किन्न धौ छ । ती नेताका बडेमानका घर कसरी बन्छन् हँ ? यो प्रश्न गर्ने होइन बाबु । तिनका घर देखे पनि नदेखे झैं गर्नुपर्छ । उनीहरुका घर गएछौँ भने म नेताको भाडाको घरमा आएको छु भन्ने सम्झनुपर्छ । सोफामा बसे पनि नबसे झैं गर्नुपर्छ । सम्झनुपर्छ, म बन्दीहरुले उनेको मुढामा बसेको छु । भुँइमा लगाएको मार्वललाई बोरा सम्झनुपर्छ । आलु, ध्यूय, भांगो बेलाबेला पु¥याउनुपर्छ, बाबु । मौसम अनुसारका फलफूल पनि पु¥याइहाल्नुपर्छ । उनले जे जे गर्छन्, त्यसैको सिको गर्नुपर्छ । नेता र नेताका श्रीमतीको वर्थ डे, म्यारिज डे के के हो के सम्झनुपर्छ ।

नदी खुब जोगाउनुपर्छ बाबु । तिमी बालुबा र सिमेन्टका घरमा बसे पनि नदी बचाउ आन्दोलन चलाउनुपर्छ । अब कहाँ माटोको घरमा बसेर आन्दोलन गर्ने ? माटोको घरमा बसेर पनि कहीं अभियान चल्छ ? आन्दोलन चलाउन बालुवा र सिमेन्टको घरमा बस्नुपर्छ अनि अरुलाई माटोको घर बनाउन प्रेरित गर्नुपर्छ, बाबु । नेता चरित्र ठ्याक्कै त्यस्तै पो हो कि ?

बाबु ! गर्न खोजेजस्तो गर्नुपर्छ । गर्नुहुन्न । देखेनौँ गर्न त खोजेकै हो दिएनन् भन्नलाई खुब हल्ला चलाइयो नि शिक्षामा । त्यस्तै गर्नुपर्छ । हो, त्यस्तै गर्नुपर्छ । आदर्शच्युत हुनुपर्छ । अनादर्श बन्नुपर्छ । तब न सफलता पाइन्छ । यो त रगतमा पो आउँदो रहेछ कि क्या हो ? त्यो आदर्शच्युत हुन मुस्किल पो रहेछ । कोसिस गर्नुपर्छ बाबु । त्यसैले बाबु मैले सकिन । मैले तिमीलाई जोगाउन सकिन । माफ गर । म आदर्शच्युत बन्न खोज्दै छु । अनादर्श बन्न खोज्दैछु ।

धेरै के लेखम् ? खुब पढ्नु । किताबका भारी खुब बोक्नु । कम्पनी उँभो लगाउनु पर्छ । ती किताबले तिमीलाई जीवनमा काम लाग्नेछ ज्ञान त के देलान् र खै ? तैपनि पढ्नुपर्छ । सानाले धेरै पढ्नुपर्छ । ठूलाले पढ्दै पढ्नुहुन्न । विश्वविद्यालयले अरु विषयको त कुरै छाडौँ अंग्रेजी विषयको प्रश्नपत्र पनि सकेसम्म नेपालीमा छाप्नुपर्छ । तर तिमी जस्ता स्कुलेलाई नेपाली बोक्न प्रतिबन्ध लगाइनुपर्छ । यही हो जय नेपाल । यसमा बोल्नु हुन्न बाबु । बोलेको बोली म फिर्ता लिन्छु, बाबु ।
अर्को पत्र लेखेछु भने भेटौंला । अहिलेलाई यत्ति । बस् !
उही तिम्रो अपरिचित अंकल
शिवशरण ज्ञवाली
काठमाडौँ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *