सरोजराज पन्त
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाँडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरू गीत मार्फत अभिव्यक्त गर्छन् । समाजको आधुनिकीकरणसँगै तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । समाज पूर्ण रूपमा कृषिमा निर्भर रहँदा हिजो विवाहित चेलीहरू माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न, मिठो खान नपाएको जस्ता गुनासाहरू तीज गीतमा हुन्थे । तर, अहिले समाज वाणिज्य व्यापार र अन्य पेसागत जीवनमा पनि प्रवेश गरेको छ । समाजको व्यावसायिक रूप बदलिँदा तीजका गीतहरू पनि फेरिएका छन् ।
प्राचीन कालमा हिन्दु महिलाले मनाउने तीज समाजको आधुनिकीकरणसँगै आम महिलाको चाडको आकारमा विकास हुँदैछ । अर्थ राजनीतिक र सांस्कृतिक दुवै आयामले यसलाई हिन्दु महिलाबाट आम महिलाको चाडमा रूपान्तरण गर्दै लगेको छ । समाजमा चाड–पर्वहरूका आफनै मौलिक विशेषताहरुरहेकाहुन्छन् । तिनले संस्कृतिको माध्यमबाट परिवार, आफन्त र स्वजनहरुलाई जोड्ने गर्छन् । चाडको मानवीय आयाम पनि छ । परस्परमा प्रेम, ममता, भ्रातृत्व, आदर, सम्मान जागृत गरी विभाजित मनलाई जोड्नु यसको मानवीय आयाम हो । यस दृष्टिले तीज नेपाली समाजको लैङ्गिक समभाव र वैवाहिक पारिवारिक एकताको कडी बन्न पुगेको छ । वैवाहिक जीवनमा प्रवेश गरेपछि जन्मघरबाट कर्म घरमा जोडिएकी महिलालाई माइतीको परिवारसँग जोड्नु तीजको सामाजिक विशेषता हो ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको रमझमले देशभरका शहर बजारमा चहलपहल बढेको छ । तीजप्रतिको मोह र आकर्षणले समय सीमाभन्दा अगाडिदेखि नै तीज सुरु हुन गइरहेको छ । यसलाई एक प्रकारको चाडभन्दा पनि मनोरञ्जन गर्ने उत्सवको रूपमा मनाउन थालिएको छ । भगवान् शिवलाई आफ्नो साथमा पार्नको लागी माता पार्वतीले एक दिने निलहार व्रत बस्नेदेखि लिएर अन्य विभिन्न मूल्य र मान्यताले भरिएको यो चाडलाई अहिले पश्चिमेली शैलीमा मनाउनेतर्फ नेपाली हिन्दु महिलाहरू लागी परि रहेका छन् । विभिन्न रोलक्रम अनुसार तीन दिनसम्म मनाइने यो पर्वलाई अहिले आएर एक महिना अगाडीबाट मनाउनु यसैको उपज हो । अहिले तीज निकै तडकभडक बन्दै जान थालेपछि यसका नकारात्मक असरका बारेमा समाजमा चर्चा हुन थालेको छ ।
हिन्दु संस्कारको परम्परालाई कायम गर्नु पर्ने यो पर्वको मान्यता रहँदै आए पनि विगत केही वर्षदेखि यसलाई मनाउने प्रकियाले मौलिकता हराउने चिन्ता बढेको छ । धार्मिक परम्पराअनुसार तीन दिने पर्वलाई एक महिने क्यालेन्डर बनाएर मनाउन थालिएको छ । शुद्ध पकवान तथा फलफुल खाएर भोलिपल्ट लिइने निलहार व्रतलाई स्वागत गर्ने मान्यता रहँदै आएको भए पनि अहिले आएर माछा, मासु र वाइन लगायत विभिन्न तामसी भोजन गरी यसको शुद्धतालाई नष्ट गर्दै लगेको आरोप पनि तीजले भोगेको छ । पर्वको मान्यता र भोजनको शुद्धता चाडको मेन्युबाट हराई सकेको छ । परम्परा धान्ने भन्दा पनि यसलाई कसरी आधुनिकता तर्फ ढालेर मनाउने भन्नेतर्फ महिलाहरू लागि परेको देखिन्छ । जुन सोचचिय विषय हो ।
नारीहरूको विशेष पर्व तीजबारे अनेक थरी बहस सतहमा आईरहँदा यसबारे ठोस पहल भने कहीँ कतैबाट भएको देखिँदैन । केही सहरिया स्थानहरूमा प्रशासनले सूचना जारी गर्दै मौलिकता सहितको तीज मनाउन आग्रह गरे पनि व्यवसायी तथा स्वयं महिलाहरू नै यसको विरुद्धमा रहेको देखिन्छ । तीजको अधिल्लो दिन आफ्नो घरमा सबै परिवार, साथीहरू जम्मा भएर जे छ मिठो मसिनो त्यसैमा आनन्द लिई शुद्ध शाकाहारी भोजन ग्रहण गर्नु पर्ने यसको मौलिकतालाई परिवर्तन गर्दै होटेल, क्याफे, पार्टिप्यालेस तथा रेष्टुराहरुमा आधुनिक मेन्युमा रमाउने गरेको देखिन्छ । कतिपय ठाउँमा अहिले धर्मको नाममा व्यापार, संघ–संस्थाको नाममा टिकट बेचेर होटेल, पार्टी प्यालेस, रेस्टुरेन्ट बुकिङ गरी तडकभडक तडकभडक मच्चाउर्दै जानाले तीजको मर्मलाईधक्का दिएको छ ।
तडकभडक तडकभडक गर्न नपाइने भनेर सूचना प्रकाशित गरे पनि कतिपय ठाउँमा भने तीज आउनु हप्ता दिन अघिदेखि सरोकारवालाहरु महिलाहरूको बिचमा गएर छमछमी नाच्नु अनि महिलाहरूले नि पुरुषलाई समावेश नगराई कार्यक्रम समापन नहुनु तीजमा आएको परिवर्तन कि विकृति के भन्ने?तीज मनाउने भन्दा पनि अरूको भन्दा पृथक कसरी बन्ने सोचका कारण नेपाली महिलाहरूले तीजलाई भड्किलो बनाउँदै लगेका छन् । पर्वका नाममा हुने तडकभडकले हुने खानेले मनाउने चाडमा परिवर्तन गरिदिएको छ । क्षणिक तामझाममा रमाएर आफ्नो मौलिकता नै मास्दै गएपछि एक दिन यसको पहिचान माथि प्रश्न उठेको छ । यसबारे सबै महिलाहरूले सोच्न ढिला भएन र ?
विगतमा तीजको पहिलो दिन द्वितीयामा बिहानैदेखि आफ्ना माइतीमा बनाएका मिठा मिठा परिकार खाइन्छ । यसलाई दर खाने भनिन्छ । भोलिपल्ट तृतीयाको दिन शिवको आराधना गर्दै व्रत बस्ने प्रचलन रहेको छ । हिन्दु धर्म संस्कार अनुसार महिलाको रजस्वला हुनु पूर्व कन्यादान गरिदिए धर्म कमाइने र मोक्ष पाइन्छ भन्ने विश्वास छ । सानै उमेरमा विवाह गरी छोरीलाई कर्म घर पठाउने प्रचलन हाम्रो समाजमा केही दशक अगाडीसम्म थियो । छोरीलाई कर्म घर पठाउँदा जस्तोसुकै समस्या परे पनि घर छोड्नु हुन्न, बाहिर जान हुन्न, आफू भन्दा ठुला वडालाई बचन फर्काउन हुन्न, हाँस्दा मुख छोपेर हाँस्नु पर्छ आदि उपदेश दिइन्थ्यो । पारिवारिक जीवनमा महिला मात्रै कर्तव्य परायण हुनुपर्ने एकपक्षीय संस्कार भने अहिले हट्दै गएको छ ।
जन्मघर छोडेर पराई घर जाने चेलीले परिवारको बुहार्तन र दुर्व्यवहार मनमा गाँठो पारेर बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । त्यसैले प्राचीन समाजमा तीजले पारिवारिक बुहार्तन र दुर्व्यवहारलाई गीत मार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै आएको थियो ।दैनिक वैयक्तिक जीवनमा भोगेको पीडा पोख्ने तीज पर्व नै थियो । महिला खुलेर बोल्न कि रत्यौली कि तीज नै पर्दथ्यो । रात्रिकालीन विवाह हुन छाडेपछि रत्यौलीले आफ्नो रैथाने पन लिन सकेन । समाजको बदलिँदो परिस्थितिसँगै तीजले केही परिवर्तित रूपमा आफ्नो स्थान अहिलेसम्म लिएको पाइन्छ ।
अहिले नेपालीसमाजमा महिलाको स्थान बदलिएको छ । तीज गीतमा पनि अनेकौ परिवर्तन आएका छन । हिजो ढिकी, जाँतो चुलो चौकोमा सीमित महिलाहरु आज राज्य र सङ्घसंस्थाहरूका माथिल्ला पद तथा नीति निर्माणका तहमा पुगेका छन् । महिलाका पक्षमा विभिन्न ऐन, कानुनहरू निर्माण भएका छन् । त्यसैले अहिले तीजपर्ब हिन्दु नारीहरूमा मात्र सीमित रहेको छैन । जुनसुकै धर्म मान्ने समुदायले पनि रमाइलो मान्दै तीज पर्व मनाउन थालेको पाइन्छ । पुरुषहरू पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् ।
आजभोलि तीज दुःख बिसाउने चौतारी मात्र बनेन रसरङ्क, खुसी साट्ने चौतारी बनेको छ । जन्मघर कर्म घर हुँदै व्यावसायिक जीवनको विकास तथा देश विदेशका कुना कुनासम्म महिला दिदीबहिनी पुगिरहेको अवस्थामा तीजको शैलीमा परिवर्तन भएको छ । माइतीघर जान नसकेका सबै महिला दिदी बहिनीहरूलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःख सुखका भावहरू व्यक्त गर्ने माध्यम तीजका महोत्सव बनेका छन । साथीभाइ रमाइलो गर्दै परिवर्तित समयका पीडा र वेदना, महिला अधिकार माया, प्रेमका रमाइला पक्षहरू अचेल तीज गीतमा समेटिएकाले महिलालाई अझ चेतनशील, ऊर्जाशील र सशक्त बनाउन सहयोग पुगेको छ ।
तथापि आधुनिकीकरणसँगै केही केही विकृति र उच्छृङ्खल गीतहरू बजारमा आएका छन् । यस्तै गहना र पहिरनको अनुचित प्रतिस्पर्धा, दरको नाममा मदिराको ज्यादा प्रयोगले तीजको सांस्कृतिक पक्षलाई कमजोर बनाएको छ । दर खाने स्थान परिवर्तन हुनु, दरमा प्रयोग गरिने खाद्यवस्तु र पहिरनको अनुचित प्रतिस्पर्धाले विकृति ल्याएको छ ।आजको समयमा महिलाको परिवर्तित जिम्मेवारी अनुकूल बनाउँदै तीज मनाउन जरुरी छ । तीज संस्कृतिमा आएका विकृतिहरूलाई न्यून गर्दे संस्कृतिको जगेर्ना गरी समयानुकूल परिवर्तन गर्ने काम गर्न आवश्यक छ ।
प्रत्यक्ष धार्मिक आस्थासँग जोडिएको हरितालिकाको धार्मिक महत्व जति थियो । अहिलेको समाजले त्यसको मान्यतालाई भत्काउँदै लगेको पाइन्छ । यसको मूलकारण समय, परिस्थिति र आधुनिक समाज हो । तीजका पछाडि जेजति कुराहरू आए पनि यसको धार्मिक परम्परा र सांस्कृतिक महत्वलाई अहिलेसम्म कसैले पनि मेटन सकेको छैन । त्यसैले यसको महत्वलाई ध्यानमा राखी आउने विसंगतिहरूलाई पन्छाउँदै संस्कृतिको जगेर्ना गर्नतर्फ लाग्नु अहिले हिन्दू महिलाहरूको कर्तव्य हो । अन्त्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।