राम बहादुर जि.सी.
नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन गत असोज १५ देखि १८ गतेसम्म पोखरामा सम्पन्न भयो । अधिवेशनका क्रममा प्रदेश लेखा समितिको अध्यक्षमा उमेदवार बनेको थिए । ९ मत कम आएर पराजित भए । अधिवेशन सम्पन्न गरेर फर्के पछि आफ्नो काममा पुरै व्यस्त छु । यो बीचमा २ दिन काठमाडौंमा सहकारी लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहभागी भए अरु दिन जिल्लामै छु । यो २० दिनको समयमा म जहाँ जान्छु, जो संग भेट हुन्छ, निर्वाचनमा पराजित भएको विषय उठ्छ, केहीले प्रत्यक्ष रुपमा केहीले अप्रत्यक्ष रुपमा नउठेको भए हुने, अलि मेहेनत गरेको भए हुने, एउटै घरका दुई जना नउठेको भए हुने लगायत धेरै कुरा गर्नु हुन्छ ।
नेकपा एमालेका नेता कार्यकर्ता मात्र होइन, अन्य पार्टीमा आस्था राख्ने, नेतृत्व गर्नेहरुले पनि कसैले सहानुभूति त कसैले अलिक उड्याएको पारामा पराजयकै चर्चा गरेको पाएको छु । निर्वाचन सम्पन्न भएको २ साता भइसक्यो, क्लिन स्वीप गरेको ठानेर उत्साहित बनेकाहरुको हनिमुन पनि सकियो जस्तो लागि रहेको छ, मलाई त निर्वाचन भएको महिनौ पुरा भएको आभास भैरहेको छ । तर भेट हुने जो कसैले गरेको कुराकानीबाट खासमा निर्वाचनले सबैलाई छुदो रहेछ भन्ने पनि अनुभूति भएको छ ।
मलाई साथ, सहयोग र सल्लाह सुझाव दिनेहरुको साथ रहेछ, आलोचना गर्नेहरुलाई पनि चासो र चिन्ता रहेछ भन्ने अनुभूति पनि गरेको छु । मेरो व्यक्तिगत कुरा मात्र होइन, राजनीतिमा चासो र चिन्ता रहेछ, भन्ने पनि लागेको छ । अधिवेशनमा संगै भएका, उमेदवारी दिने समयमा पनि संगै भएका साथीहरु अझ कमरेडहरु जसले त्यहा केही भन्नु भएन, सहयोग गर्नु भयो कि भएन, उहाँलाई नै थाहा होला, पराजय भएपछि २ जना नै नलडेको भए हुने……ऽ भन्दै चिन्ता गरेको देख्दा अलिक अनौठो पनि लाग्यो । उहाँहरु हामीसंगै हुनुहुन्थ्यो, उमेदवार बन्दा, फिर्ताको समयसम्म पनि संगै भएकाहरुले त्यही बेला किन भन्नु भएन होला भन्ने पनि लागेको छ ।
खेलको मैदानमा ओर्ले पछि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने हो । तर मैदानमा खेलाडिलाई जित र हार मध्ये एउटा मात्र प्राप्त हुन्छ । खेलमा सहभागी हुनु भन्दा पहिला नै पराजय हुन सकिन्छ भन्ने दह्रो मानसिकता बनाएर खेलमा जानेहरु हार्दा पनि जित्छन्, हार भए संसार सकियो भन्नेहरु जितेर पनि हार्छन् । मेरा शुभचिन्तक तथा आलोचकहरुको सल्लाह, सुझाव, परामर्शले मलाई थप उत्साहित बनाएको छ, उर्जा मिलेको छ, जित्नै पर्ने मान्छे हो भन्दै सहानुभूति प्रकट गर्नेहरुलाई सम्मान छ । मैले उहाहरुलाई एउटै आग्रह गर्न चाहन्छु, मेरो सामाजिक अभियानको शुरुवात नै पराजयबाट भएको थियो । त्यसैले पराजय हुदैमा आत्तिइ हाल्नु हुदैन भन्ने मेरो विगतले मलाई नै सिकाएको छ ।
२०५८ सालसम्म म गाउँमा थिए, गाउँमा रहदासम्म मेरो परिचय मेरो नाम र ठेगानामा सिमित थियो । २०५८ साल पुसमा रेश बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष बनेपछि मेरो सामाजिक पहिचान बन्न थालेको हो । त्यस भन्दा पहिला सहकारी क्षेत्रसंगै पत्रकारितामा छिटफुट समाचारहरु लेख्थे । बाइलाइन समाचार छापिदा संसारै जितेको अनुभूति हुन्थ्यो । सदरमुकाम झरेपछि सहकारीसंगै पत्रकारितामा पूर्णकालिन भएर काम गर्न थाले । २०६१ फागुनमा नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको दोस्रो अधिवेशनमा कोषाध्यक्ष पदमा उमेदवार भएको थिए । निर्वाचनमा उमेदवारी दिएको त्यो मेरो पहिलो अवसर र अनूभूति थियो । कोषाध्यक्षमा मंसंगै काम गर्ने भाषा शर्मा र म बीच प्रतिस्पर्धा थियो, मत बराबर भएपछि गोलाप्रथाबाट विजयी उमेदवार छान्ने क्रममा म पराजित भएको थिए, भाषा शर्मालाई त्यो कार्यकाल भरी कोषाध्यक्षको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्न र सिंगो महासंघको कार्यसमितिलाई मैले सक्दो सहयोग गरेको थिए ।
जिल्ला स्तरीय संघ संस्थामा पहिलो गाँसमै ढुंगा लागेको थियो मलाई । त्यो पनि मत बराबर भएर गोलाप्रथाबाट पराजित हुदा केही असहज जस्तो महसुस भए पनि मैले त्यसलाई धेरै ठुलो विषय ठानिन् । म हारेर मैदान छोड्ने मान्छे थिइन र होइन, निरन्तर पत्रकारिता कर्ममा लागे । २०६२÷०६३ को जनआन्दोलनमा पत्रकारिताको मोर्चाबाट अग्रभागमा रहेर भूमिका अदा गरे । बागलुङमा दैनिक पत्रिका चलाउन संभव छैन भन्ने अवस्थाको अन्त्य गर्न मैले आफ्नो तर्फबाट के के गरिन ? त्यो पनि कुनै दिन लेखौला । आन्दोलनको रिपोटिङसंगै धौलागिरीमा जनआन्दोलन–२, पुस्तक प्रकाशन गरे । निरन्तरको कर्मले होला सायद २०६४ फागुनमा महासंघको उपाध्यक्ष र २०६७ माघमा अध्यक्ष बनेर काम गरेको मिठो अनुभव पनि छ ।
२०५० को दशकदेखि नै सहकारी र पत्रकारिता क्षेत्रमा लागेपनि मेरो दुवै क्षेत्रमा सक्रियता र निरन्तरता २०५८ देखि नै भएको हो । २०५० सालमा जिल्ला सहकारी संघको कर्मचारी थिए, संघ चलेन । २०६४ मंसिरमा संघ खारेजीको प्रक्रिया शुरु भयो, दोस्रो पटक बनेको जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संस्थापक उपाध्यक्ष हुने अवसर मिल्यो, २०६८ मा संघको सर्वसम्मत अध्यक्ष भएर ३ वर्ष काम गरे ।
जिल्लाको सामाजिक अभियान सक्रिय हुदै गर्दा २०६५ मा राष्ट्रिय स्तरमा रहेर काम गर्ने अवसर पनि मिल्यो । राष्ट्रिय सहकारी बैंकको २०६५ पुसमा सम्पन्न पाचौ वार्षिक साधारणसभाबाट लेखा समितिको सदस्य पदमा भएको निर्वाचनमा ६ सय मत खसेकोमा ४९६ मत ल्याएर विजयी भएको थिए, २०७० मा भएको दशौ वार्षिक साधारणसभाबाट भएको निर्वाचनमा सञ्चालक समितिको सदस्य पदमा २१ सय मत खसेकोमा १६०९ मत ल्याएर विजयी भए । २०७५ मसिर र २०७९ पुसमा दुवै पटक निर्विरोध निर्वाचित हुने अवसर प्राप्त भयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको २०७१ पुसमा भएको जिल्ला अधिवेशनमा सदस्य पदमा निर्वाचित भएर एक कार्यकाल काम गरेको छु । २ दशकको सामाजिक अभियानमा नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थामा धेरै जसो सर्वसम्मत र केही निर्वाचनमा मतदान मार्फत विजयी भएर काम गरेको छु । २०६१ मै प्रेस चौतारी बागलुङको जिल्ला सदस्य भएर एक कार्यकाल काम गरे । पत्रकार महासंघ तिर जिम्मेवारी भएकाले एक कार्यकाल पछि नै अरु साथीहरुलाई चौतारी तिर सहयोग गर्न थाले । २०६४ मा पार्टीको जिल्ला सहकारी विभागको सदस्य भए, २ कार्यकाल सहकारी विभागको सदस्यका रुपमा काम गरे । २०६९ मा सहकारीको धौलागिरी अञ्चल विभागको सदस्य र सचिव भएर काम गरे । २०७३ देखि २०८० सम्म केन्द्रीय सहकारी विभागमा रहेर काम गरे । २०७९ भदौ देखि प्रदेश सहकारी विभागको उपप्रमुखका रुपमा १ वर्ष काम गरेको छु ।
२२ वर्षको सामाजिक अभियानमा धेरै चुनावमा प्रतिस्पर्धा गरियो । चुनावी मैदानमा उत्रेपछि हार वा जित मध्ये एक हात पर्छ र जे पर्दा पनि आफुलाई थप क्रियाशिल बनाउने शक्ति म भित्र छ भन्ने मलाई लाग्दछ । निरन्तर लागेपछि हार सबै कुरा होइन । खेलको मैदानमा उत्रिएपछि हार र जित स्वभाविक हुन्छ । जसले हारलाई स्वीकार्न सक्छ उसले फेरी जित्न सक्छ, जसले जितकै लागि मात्र खेल्छ उसले जितेर पनि हार्न सक्छ ।
त्यसैले मेरा सम्पूर्ण समर्थक शुभेच्छुक र मुखले ठिक्क पारेर भित्र कैची चलाउने परम मित्रहरुलाई समेत अनुरोध छ, म हारेर आत्तिने मान्छे होइन, म आत्तिएको छैन । १९ वर्षमा दोस्रो पटक हार बेहोरेको छु, यो विचमा धेरै जित हात परेको छ । जितमा पनि म कहिल्यै मात्तिएको छैन, पद अस्थायी हो, यो सधै साथमा हुदैन भन्ने कुरामा म विश्वस्त छु । धेरै पटक हारेर पनि निरन्तर आफ्नो कर्मक्षेत्रमा लागेर सफलता प्राप्त गरेका अग्रजहरुको इतिहास पढेको छु, स्वयं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाहरु लगायतले निर्वाचनमा व्यहोरेको हार र जितका बारेमा जानकार छु । त्यसैले निर्वाचनमा पराजित हुदैमा सबै कुरा सकिदैन भन्ने सोच्न र निरन्तर आफ्नो कर्मक्षेत्रमा लाग्न आग्रह गर्दछु ।
गाउँको सामान्य किसान परिवारबाट उठेर जिल्लाको अभियानमा दौडिदा नै पहिलो प्रयासमा हार भोगेको मान्छे हु । तर म आत्तिइन । धैर्यताका साथ अभियानमा लागे । हाम्रो जस्तो ठाउँमा साढे २ दशक निरन्तर रुपमा पत्रकारिता र सहकारी क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आइरहेको छु । थुप्रै चुनौतीहरुको सामना गरेर अगाडि बढीरहेको छु । राजनीतिमा पूर्णकालिन भइन । समर्थन र साथ मात्रै रह्यो ।
पछिल्लो २ वर्ष यता राजनीतिमा पूर्णकालिन बन्ने सोच पलाएको छ । त्यही सोचेर २०७८ पुसमा सम्पन्न नेकपा एमालेको जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उमेदवारी दिएको थिए । क्षेत्र नं. १ ले धेरै केन्द्रीय सदस्य पाएको, धेरै नेता यतै भएको, एउटै पालिकाबाट अध्यक्ष र उपाध्यक्ष उमेदवार भएको लगायत धेरै कारण देखाएर मलाई उपाध्यक्षको उमेदवारी फिर्ता गर्न दवाव, सुझाव र सहजीकरण पछि मैले उमेदवारी फिर्ता लिएको थिए ।
अहिले प्रदेशको खुल्ला सदस्यमा उमेदवारी दिने र जितेपछि सहकारी विभागको प्रमुख भएर पूर्णकालिन राजनीति गर्ने सोच थियो । तर नेताहरुले लेखा समितिको अध्यक्ष भएर काम गर्नुस भन्ने सुझाव दिनुभयो । सुझाव ठिकै हो भन्ने लागेर उमेदवारी दिए । निर्वाचनमा ९९६ मत खसेको थियो । ४४० जनाले मत दिनु भएछ । ९ मत पुगेन । चुनावमा मत पुग्नु र नपुग्नुले अर्थ राख्छ, मलाई ९ जनाले मत नदिएका कारण म पराजित भए । यसमा मलाई कुनै अपसोच छैन । मलाई मत दिने ४ सय ४० जना सबैलाई मन भित्रैबाट आभार प्रकट गर्दछु । जसले मलाई मत दिनु भएन, उहाँहरुप्रति पनि मेरो सम्मान छ, तपाईहरुले मत नदिएका कारण मैले मलाई चिन्ने अवसर पाएको छु, मैले मलाई बुझ्न पाएको छु, मलाई मात्र होइन, मेरा बारेमा चिन्ता चासो र शुभेच्छा प्रकट गर्नेहरु, मलाई अगाडि ठिक्क पारेर मेरा विरुद्ध लाग्नेहरुलाई समेत चिन्ने अवसर पाएको छु ।
यही प्रसंगमा दुई जना एकै परिवारका सदस्य उमेदवार बनेको विषयमा पनि निकै चर्चा भएको छ । यसमा पनि मेरो आफ्नो मत छ । हाम्रो परिवारबाट ४ जना नेकपा एमालेको अभियानमा प्रत्यक्ष जोडिएका छौ । बा संग त हामी ५ जना नै छौ । २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन रेश गाविस वडा नं. ९ मा एमालेबाट उमेदवार बन्ने मान्छे नपाइए पछि मैले मेरो बुवालाई वडा अध्यक्षको उमेदवार बनाएको थिए । ५ वर्ष उहाँले पार्टीका तर्फबाट वडा अध्यक्षको जिम्मेवारी निभाउनु भयो, त्यसपछि पनि बा निरन्तर एमालेकै अभियानमा हुनुहुन्छ । त्यसपछि पदीय जिम्मेवारी पार्टीले कहिल्यै दिएन तर बा निरन्तर अभियानमै हुनुहुन्छ ।
परिवारको प्रसंग पनि अचम्मको छ । पार्टीका अभियान, चुनाव देखि दायित्वसम्म सबै बराबर, सबै ठाउँमा अग्रपंक्तिमै खट्नु पर्ने, अनि निर्वाचन वा कुनै अवसरको कुरा आयो भने परिवार भन्ने प्रचलनको पनि अन्त्य गर्नु पर्छ जस्तो लाग्छ । यसो नहुने हो भने परिवारका मान्छेहरु फरक फरक पार्टीमा पो लाग्नु पर्ने हो कि ? वा परिवारबाट एउटा मात्रै राजनीतिमा आउने हो कि ?
म पत्रकारिता र सहकारी क्षेत्रमा क्रियाशिल थिए, मलाई पार्टीको कार्यकारी पद आवश्यक थिएन, मेरो श्रीमति हुमा कुमारी जिसी (अञ्जु) जिल्ला कमिटिमा ३ कार्यकाल सदस्य, जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटिकै तर्फबाट पालिका कमिटिको सहसंयोजक हुदै प्रदेश कमिटिमा म भन्दा पहिला नै सदस्य भएकी हुन् । पार्टीको अभियानमा उनको सक्रियता मेरो भन्दा राम्रो छ । जागिर छैन, केही छैन, कहिल्यै पार्टीका तर्फबाट कुनै राजकीय पदमा लोभ लालच छैन, पालिका उपाध्यक्षमा पाएको टिकट र दिएको उमेदवारी पार्टीलाई जिताउन फिर्ता गर्ने देखि दावेदार बनेर टिकट नपाउदा पनि उमेदवार भन्दा बढी निर्वाचनमा खट्ने लगायतका काम गरेको यथार्थ सबैका सामु छर्लङ्ै छ जस्तो लाग्छ ।
पारिवारीक हिसावले सल्लाह गरेरै हामी चुनावी मैदानमा गएका थियौ र चुनावी मैदानमा गइरहदा हार हुदा पनि सहर्ष स्वीकार गर्छौ भन्ने प्रतिवद्धता पनि संगै गरेका थियौ । हामी पार्टीको आन्तरिक चुनाव थियौ, को कसले कसरी जिते वा पराजित भए ति सबैको एकसरो समिक्षा सकिएको होला सायद । अब जित्नेहरुले पार्टीको संगठन चलाउने र पराजित हुनेहरुले साथ दिएर अगाडि बढ्ने हो । जितेकाहरुले संसारै जिते जस्तो गरी क्लिन स्वीप नै गरेको रुपमा नलिएको भए हुने भन्ने मेरो सुझाव मात्र हो । आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिदा नै जित्ने र हार्ने दुवैलाई सहज हुन्छ भन्ने मलाई लाग्दछ ।
यसो बिचार गरौ न, गत स्थानीय चुनाव र प्रदेश तथा संघीय निर्वाचनमा हामी बागलुङमा हामी क्लिन स्वीप भएको होइन र ? त्यसलाई पो साचो अर्थमा क्लिन स्वीप भन्छन् भन्ने मलाई लाग्दछ, आन्तरिक प्रतिस्पर्धामा क्लिन स्पीप गरेकोमा गर्व गर्ने साथीहरुले १ वर्ष पहिलाको क्लिन स्वीप पनि सम्झिदा राम्रै हुन्थ्यो । अहिले प्रदेश कमिटिमा निर्वाचित बागलुङका १८ जना कमरेडहरु मध्ये जम्मा ५ जनाको वडामा मात्रै एमाले विजयी भएको छ । भन्न त आफ्नो वडा जित्ने नसक्नेहरु पनि त भन्न सकिएला नि ? त्यस्तो होइन, हामीले ठिक ठाउँमा ठिक मान्छेलाई उमेदवार नबनाएका कारण वा हाम्रो व्यवस्थापन कमजोर भएका कारण वा हाम्रो संगठन कमजोर भएका कारण, जे कारण भए पनि हामी हिजो क्लिन स्वीप नै भएका थियौ ।
हिजो जे भयो, त्यता नजाऔ, प्रदेश कमिटिमा जित्ने साथीहरुलाई अबका लागि चुनौती पनि छ होइन र ? त्यसैले निर्वाचनलाई प्रक्रियागत रुपमा ग्रहण गर्ने, जित्नेले प्रभावकारी काम गर्ने र हार्नेले ४ वर्षका लागि सहयोग गरेर अगाडि बढ्दा नै पार्टी, लोकतन्त्र र समाजको भलो हुन्छ । यो बीचमा शुभेच्छुक, समर्थकहरुले जसरी चिन्ता गर्नु भएको छ, यहाँहरुको भावना अनुसार नै हामी आगामी दिनमा अगाडि बढ्छौ । हजुरहरुको माया र सद्भाव पाइरहनेछौ, जित वा हार जे भए पनि हामी हजुरहरुको भावना अनुसार नै कार्यक्षेत्रमा लाग्नेछौ ।
धन्यवाद