सिर्जना पन्त
विश्व बजारमा वित्तीय समस्या देखिएपछि त्यसको असर नेपालमा पनि प¥यो । वित्तीय क्षेत्रको समस्याले सहकारीलाई पनि समात्यो । सहकारी भित्रकै कतिपय गलत प्रवृतिले त्यो समस्यालाई मलजल ग¥यो । एउटा सहकारीमा समस्या आएपछि सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतमा हुने प्रचार प्रसारले मानिसमा सहकारीप्रति आशंका देखियो । कतै मेरो पैसा पनि डुब्ने त होइन ? सहकारीमा बचत गरेकाहरु आफ्नो पैसा विस्तारै निकाल्न थाले । गलत गरेकोमा मात्रै होइन, राम्रै तरिकाले सञ्चालन भएका सहकारीका पनि विस्तारै सदस्य तथा बचतकर्ताले पैसा निकाल्न थाले ।
एकपछि अर्को सहकारी डुबेको, भागेको, सहकारीका सञ्चालक, कर्मचारी पक्राउ परेको, जेल परेको यस्तै यस्तै समाचारले बजार लियो । बिहान उठ्यो सहकारी डुबेको समाचार आउछ, दिउसो भागेको समाचार आउछ, साँझ सहकारीका सञ्चालक पक्राउ परेको समाचार आउछ, अनि मानिसमा झन त्रास सिर्जना भयो । जब विश्वासमा संकट आउछ अनि मान्छेहरु आफु सुरक्षित हुन थाल्छन्, सुरक्षित हुने उपाय खोज्न थाल्छन् । यसलाई स्वभाविक प्रक्रिया मान्नु पर्छ । वित्तीय बजारको संकट लगायत यावत समस्यासँगै हरेक क्षेत्रमा समस्या हँुदा हुँदै पनि सहकारी क्षेत्र किन बढी प्रभावित भयो त ? यसका मुख्य २ कारण छन् । एउटा आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु अर्काे आन्तरिक सुशासन कायम नहुनु । सहकारीमा सेयर सदस्यले जम्मा गरेको रकम सञ्चालक तथा व्यवस्थापनका केही मान्छेले निजी सम्पत्ती आर्जन गर्न लगाएका कारण समस्या भयो भने अर्को मिडिया, सामाजिक सञ्जाल पनि सहकारीलाई समस्यामा पार्नमा सहयोगी बन्यो । करिव १ वर्षको यो अवधी सहकारीका सकारात्मक भन्दा नकरात्मक समाचार धेरै आए ।
सहकारी अभियानकर्मीका अनुसार यो आर्थिक वर्ष लागेपछि केही सुधार भएको छ । सुशासनमा चलेका सहकारीमा कारोबार वृद्धि भएको छ, कतिपय सुशासनमै चलेका सहकारीमा पनि अर्को सहकारीको प्रभावका कारण चुनौती थपिएको थियो, त्यो विस्तारै घट्दै गएको छ । यसै सन्दर्भमा हिजो (मंसिर ५ गते) इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपाली आफ्नो फेसबुक पेजमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धतासंगै सार्वजनिक भएका छन् ।
गत बैशाख ७ गते कार्यवाहक अध्यक्ष डोरबहादुर नेपालीले दस्तखत गरेको सूचना टाँस गरेर केही समयका लागि इमेज सहकारीको बागलुङ स्थित कार्यालय बन्द गरेको जानकारी गराईयो । सूचना जारि भएसँगै इमेज सहकारीका बचतकर्ताले पैसा फिर्ताको माग गर्दै कार्यालयमा नारा जुलुश गरे ।
कहि कतै नाम नसुनेको कार्यवाहक अध्यक्ष डोरबहादुरको नामको विज्ञप्तीले बचतकर्ताहरु सन्तुष्ट भएनन् । सहकारी अभियानको संयोजनमा ८ गते बिहान देव कुमार नेपालीले आफ्नो सम्पत्ती बेचेरै भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता गरे । जिल्ला सहकारी संघको संयोजनमा देव कुमार नेपाली पीडितहरुको बिचमा आए र सबैसंग पैसा फिर्ता गर्ने प्रतिवद्धतासंगै दैनिक १ सय जनालाई ५ हजारका दरले रकम भुक्तान पनि गरे । केही समय रकम भुक्तान गरेका देवकुमारले जेठ १ गते बागलुङ बजारमा बचतकर्ता सदस्यको भेला गरे । भेलामा उनले बचत फिर्ताका लागि आगामी ६ महिनाका लागि समय माग गरे । बचतकर्ताले उनलाई त्यो समय दिन सहमति दिए ।
६ महिनाका लागि समय मागेका उनी जेठ ५ गते एक्कासी सम्पर्क बिहिन भए । जेठ ५ गतेदेखि मंसिर ५ गतेसम्म उनी सम्पर्कमा आएनन् । देव कुमार नेपालीको बारेमा यो ६ महिनामा अनेक अड्कलवाजी भए, कसैले प्रहरी लुकाएको छ, कसैले एमालेले लुकाएको छ, कसैले सहकारी अभियानकै मान्छेले लुकाएका छन्, तिब्बती शरणाथी शिविरमा लुकेका छन्, भारतमा छन्, लण्डन गए, दुवईमा छन्, सिंगापुरमा बसेका छन् । मानिसका यस्तै अड्कलहरु थिए, कसैले त दावा समेत गर्थे । यथार्थमा उनलाई कसले लुकायो, कहाँ लुके, किन लुके सबै कुरा उनी आएपछि खुल्दै जाला ।
यतिबेला देवकुमार नेपाली सार्वजनिक भएका छन्, उनले कार्यालय बन्द गरेको बैशाख ७ गतेदेखि नै उनका बारेमा चर्चा परिचर्चा, गाली गलौज भइरहेकै छन् । बजारमा एउटा घटना घट्दासाथ मान्छेहरुले आ–आफ्नो तरिकाले ख्याख्या विश्लेषण गर्ने, गाली गर्ने, त्यो पनि घटिया तहसम्म पुगेर गर्ने पनि गर्छन् र उनको हकमा पनि भए ।
देवकुमार नेपाली सम्पर्क विहिन भएपछि इमेज सहकारीका बचतकर्ताले पोखरा, बागलुङ बजार, गलकोट र बुर्तिबाङमा छुट्टा छुट्टै इमेज बचतकर्ता संघर्ष समिति गठन गरेर उनलाई खोजेर कार्वाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न दवाव सिर्जना गर्न थाले । प्रहरीले एकजना जना सञ्चालक र २ कर्मचारीलाई पक्राउ पनि ग¥यो ।
जेठ ५ गतेदेखि मंसिर ५ गतेसम्म यो ६ महिनाको समयमा इमेजमा पैसा राखेका बचतकर्तालाई कति धेरै तनाव भए होला ? कति धेरै पीडा भए होला, कत्ति जनाको त मुटुको रोगी भएकाले औषधी खाने समेत पैसा थिएन, दैनिक इमेजबाट पैसा निकालेर औषधी खानेलाई कस्तो भएको होला । कतिको परिवारमा सम्बन्ध विच्छेद हुन्छ कि ? भन्ने अवस्था समेत आएको पीडितहरु बताउछन् ।
एउटा सरकारको नेतृत्व गरेको व्यक्तिले सञ्चालन गरेको सहकारी, व्यक्ति पनि यस्तो कि पैसा छ्याल ब्याल भएको भनिएको । ६ महिनाको बीचमा दसैँ आयो, सबैले खुसी खुसी साथ दसँै मनाए, इमेज पीडितहरुका लागि दसैँ दशा बन्यो । संघर्ष समितिका मान्छेहरु कहाँ कहाँ पुगेनन्, यो देश चलाउने प्रधानमन्त्री, चलाई सकेका प्रधानमन्त्री, शान्ति सुरक्षाका नायक गृहमन्त्री, राजनीतिक दलका नेताहरु धेरैलाई हार गुहार गरे । वास्तव यो ६ महिना इमेज पीडितका लागि ६ वर्ष भन्दा बढी भए जस्तै भएको आशाष भएको छ ।
यो बीचमा उनीहरुले कसलाई गुहारेनन्, तर हाम्रो सत्ता, हाम्रो सुरक्षा निकायले देवकुमारलाई भेटाउन सकेन वा भेटाउन चाहेन, सिंगो राज्य सत्ता एकजना सहकारी ठगीको आरोप लागेका व्यक्तिका अगाडि निरिह जस्तै देखियो । कहिले सिठी जुलुश, कहिले टर्च लाइट जुलुश, कहिले मोटरसाइकल ¥याली ? के गरेनन्, पीडितहरुले । त्यो सबै देखाउनका लागि गरेका हुन त ? के त्यो मनोरञ्जनका लागि गरेका हुन् ? वा काम नपाएर बसी बियालो गरेका हुन् ?
पीडितको हार गुहारमा राजनीतिको रोटी सेकाउनेहरु पनि भेटिए । सहकारी पीडितलाई समर्थन गर्दै देव कुमार नेपालीलाई गाली गर्नेमा उनकै पार्टीदेखि अन्य पार्टीका मान्छेहरु पनि देखिए । तर देव कुमार फेला परेनन् ।
इमेज पीडितले बनाइदिएको प्लेटफर्मलाई प्रयोग गरेर देव कुमारलाई मात्र कहाँ गाली गरे र ? अब सबै सहकारी ढल्छन्, सबै सहकारीका सञ्चालक फटाहा हुन सम्म भन्न भ्याए कसैले । इमेजको समस्या समाधानको विषयमा भएको कार्यक्रमलाई अन्य सहकारी तिर मोडेर इमेजको समस्या कम गराउने काम पनि भयो । भीड देख्यो कि त्यसैलाई अन्तिम हो भनेर कुर्लेनेको पनि कहाँ कमी छ र ? यो दुनियाँमा । एउटा घटना घट्दा साथ सबैलाई एउटै डालोमा हालेर भीडका अगाडि भाषण गर्नेहरुले इमेजको समस्या मात्रै होइन, अरु कुनै पनि समस्या समाधान गर्न सक्दैनन् । तर दुर्भाग्य समाज रुपान्तरणको नेतृत्व गर्ने राजनीतिक दलमै त्यस्ता प्रवृतिहरु छन् ।
६ महिनासम्म पाएको पीडालाई मंसिर ५ गते मंगलबार अपरान्हको समयले धेरै हदसम्म मल्हम लगाएको छ । देव कुमार आउदैनन्, देव कुमारले पैसा तिर्दैनन्, यस्ता फटाहा पनि आउछन्, यस्तै यस्तै प्रचार भइरहेको र पीडितहरु पनि अब करिव करिव अन्तिम विकल्पतिर लागि रहेको समयमा देव कुमार सार्वजनिक हुनुले उनीहरुको मन खुसी भएको छ, अब पैसा आउछ कि ? भन्ने आशा पलाएको छ ।
जेठ ५ गते पछि राम्रोसंग नसुतेका इमेज पीडितहरु मंसिर ५ गते आनन्दले सुतेका छन, सायद त्यो साँझ उनीहरुले २ गास भात पनि बढी खाएका होलान । जुनसुकै पीडा होस, त्यो भोग्नेलाई थाहा हुन्छ, बाहिर हल्ला गर्ने, सामाजिक सञ्जालमा न्यायाधीश भएर फैसला दिने, आरोप लगाउनेलाई पीडाले असर गर्दैन । उनीहरुले त सामाजिक सञ्जालमा लेखिदिए भयो, विरोध गरिदिए भयो, टिका टिप्पणी गरिदिए भयो । साँच्चिकै एउटा ठुलो पीडाबाट इमेज पीडितलाई थोरै भए पनि आशा पलाएको छ, देवकुमारको फेसबुके वक्तव्यले ।
देवकुमार नेपालीलाई समाउनु पर्थ्याे, जेल लानु पर्थ्याे, जेलमै सडाउनु पर्थ्याे वा के के गर्नु पर्थ्याे त्यो नेपाल सरकारले गर्नु पर्थ्याे । जिम्मेवारीमा भएकाले गर्नु पथ्र्यो, पीडितलाई राज्य सञ्चालकले भरोसा दिलाउनु पर्थ्याे । सत्तामा भएका राजनीतिक दलकै बडे बडे नेताहरुको फेसबुके टिप्पणी हेर्दा त्यो टिप्पणीले उनीहरुलाई नै कुरी कुरी गरेको जस्तो लाग्छ ।
ठिक ६ महिना पुुरा भएकै दिन देव कुमार नेपाली फेसबुक मार्फत सार्वजनिक भए, उनले किन सम्पर्क विहिन हुनु प¥यो मात्रै भनेनन्, सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्छु भन्ने प्रतिवद्धता गरे । त्योसंगै सहकारीमा बचत गरेका र बचतलाई जमानत राखेर ऋण लगेकाले पनि सबै पैसाको दावी गरेको समेत भनेका छन् । संघर्ष समितिको आन्दोलनदेखि आफुलाई राजनीतिसँग जोडेको पनि चर्चा गरे ।
देव कुमार नेपाल जहाँ छन्, उनले उनका विरुद्ध हुने सबैखाले आन्दोलन, विरोध, क्रिया प्रतिक्रियाका बारेमा राम्रोसंग हेरेर बसेका रहेछन् भन्ने कुरा उनको भनाईबाट स्पष्ट हुन्छ । देव कुमार नेपाली सार्वजनिक भएपछि एकथरी मान्छेको कोकोहोलो अलि फरक देखियो । उनी सम्पर्क विहिन हुँदा एउटा र सम्पर्कमा आएपछि तिनै मान्छेले अर्को टिप्पणी गरेको अलि सुहाउँदैन कि ?
उनी सार्वजनिक हुने कुरा सकारात्मक हो, त्यो पीडितका लागि मात्रै होइन, उनी सार्वजनिक भएर पीडितको पैसा फिर्ता गर्दा सबै भन्दा फाइदा पीडितलाई नै हुन्छ, उनीहरुलाई प्रत्यक्ष फाइदा हुन्छ भने सहकारी अभियान, वित्तीय वजार, ब्यापारी लगायत सरकारलाई पनि फाइदा पुग्छ, प्रहरीहरुलाई पनि ठुलै राहतको अनुभूति भएको हुनु पर्छ । राजनीतिक दल, प्रहरी प्रशासन, नागरिक समाज लगायत यो क्षेत्रका लागि नै उनी सार्वजनिक हुनु सकारात्मक विषय हो ।
पीडितलाई राहत भएको विषयलाई सकारात्मक रुपमा लिनुको सट्टा गलत ढंगले ब्याख्या विश्लेषण गर्ने, देव कुमार सार्वजनिक भएकैमा आपत्ती जस्तो गरेर विषय उठान गर्ने, नआइदिए हुन्थ्यो जस्तो आसय व्यक्त गरेका टिप्पणीहरु पनि देखिए ।
पीडितहरुको खुसीमा अर्घेल्याइ गर्नु पर्ने के कारण छ ? पीडितहरुलाई न्याय दिन कसले के गर्न सकिन्छ गराँै, उनीहरुको पैसा फिर्ता गर्ने वातावरण बनाऔँ । राज्यका सबै अंगहरुबीच समन्वय गरेर खाइ नखाई कमाएको, बचाएको र भविष्यका लागि जोहो गरेको रकम फिर्ता नपाउदा दिनरात रुदै हिडेका ति श्रमजिवीको अनुहारमा खुसी ल्याउ ।
यसो सोचौ त ? देव कुमार नेपाली सार्वजनिक हुँदा यति धेरै खुसी भएका पीडितहरु आफ्नो श्रमको पैसा फिर्ता हँुदा कति खुसी होलान्, ति पीडितहरु खुसी भएको देख्दा हामी सबै खुसी हौला नि होइन र ? कि तपाइलाई अरुले पाएको खुसी देख्दा डाह हुन्छ । अरुले दुख पाएको देखेर खुसी हुने र अरु खुसी भएको देखेर दुखी हुने मान्छेलाई भगवानले पूर्ण मान्छे बनाएका छैनन्, भन्छन्, यदी त्यसो हो, तपाई पूर्ण मानव हुनु भएको छैन भने त ठिक हो ? होइन भने पीडितको खुसीमा अर्घेल्याइँ नगरौँ ।
देव कुमार नेपाली सामाजिक सञ्जालमार्फत सार्वजनिक मात्रै भएका हुन्, प्रत्यक्ष सार्वजनिक भएका छैनन् । पीडितहरुले सहकारी ब्यूँताउने निर्णय गरेका कारण सार्वजनिक भएका हुन् कि ? बैंकले जारी गरेको ३५ दिने सूचनाको समय मंसिर ८ गते सकिदैछ । बैंकले सबै लिलाम गरेर सम्पत्ती लैजाने भयो भनेर सार्वजनिक भएका हुन् कि वा बैंकले कालो सूचीमा राखि दियो भने मेयर पद जान्छ भनेर हो । अरु नै कारण पनि हुन सक्छन्, । उनको सफा सोच पनि हुन सक्छ । हामीले आशा गरौँ उनको सोच सफा छ, उनले सबै पैसा सहज रुपमा फिर्ता गर्न तयार छन् ।
यदी उनले जेठ १ गते ६ महिनाका लागि समय मागेर ६ महिना वेपत्ता भएर पीडितहरु र आम समुदायलाई तनाव दिए जस्तै फेरी अलमलाउन त खोजेका होइनन्, ? चनाखो बनौँ । सबै मिलेर उनलाई सहज रुपमा जनताका पैसा फिर्ता गर्ने वातावरण बनाउन लागौँ, उनी सार्वजनिक भएकै कारण पीडितको मुहारमा देखिएको खुसीलाई क्षणिक खुसी बन्न नदिउँ ।
धन्यवाद, जय सहकारी