शिवशरण ज्ञवाली
उडान र गुडान चलिरहेकै छ । बागलुङ छाडेदेखि मेरो मोह उडानमा छ । काठमान्डु भैरवा उडानमा कहिले दशैं तिहारले ब्रेक लगाइदियो त कहिले हुस्सु कुहिरोले । पैसामा अधिक मोह राख्ने बटौलीमा चोर औंला र बुढी औंलाको प्रेमालाप चल्दा मन मुसुक्क मुस्काउन पाएको छ । उडानले मुस्कान पनि उडाएको थियो । गुडानले शरीरलाई दुःख देऊ मनलाई दुःख नदेऊ भन्ने विकासानन्दको कथनलाई पुष्टि गरेकै छ । मुहारमा मुस्कान त थपेको छ तर काठमान्डु बटौली बाटो सम्झँदा भने मन खिस्रिक्क हुन्छ ।
भैरवा हुस्सु कुहिरोको चपेटामा फसेको महिना दिन भइसक्यो । अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय हुन पनि सकेको छैन, यतिबेला । मन हो प्रश्न गर्छ । मन हो विद्रोह गर्छ । विद्रोह गर्दा क्षति त भइहाल्छ । त्यस्ता क्षतिलाई म भन्ने गरेको छु, म जन्मदै उल्टो जन्मेको हुँ । प्रकृतिसँग विद्रोह गरेको हुँ । मानवीय स्वार्थप्रेरित क्षतिले मलाई के पो गर्न पो सक्छ र ? पास फेल मात्रै न हो । त्यो पाजी पास फेलले मेरो रौंचिरा हल्लाउन सक्दैन । अनुभवी ज्ञान फेल हुँदा मात्रै प्राप्त हुन्छ । पास हुँदा हुँदैन । त्यो ज्ञान कसैले खोस्न सक्दैन । त्यो कसैले प्रमाणित गरिरहनु पनि पर्दैन । प्रमाण पत्र जारी गर्न पर्दैन । म त फेलमा पनि अभ्यस्त छु ।
कुरो र कुलो जता पनि बग्छ । बगियो यहाँ पनि । म भैरवा बटौलीतिर थिएँ । कहाँ पास फेलतिर गएको । मनको भँडास । बटौलीबाट पहाड पनि उक्लिएकै छु । पहाडमा आमा र छोरा, तराईमा प्रियतम् र काठमाडौँमा ज्यान । पुर्नमिलनकै रतिरागमा संसार गतिमान हुन्छ । म बेलाबेला यसकै लागि भौतारिएकै छु । त्यही क्रममा उडान गुडान चल्छ । चलिरहन्छ । चरैवेती । चरैवेती ।
प्रश्नहरु आइरहन्छन् गइरहन्छन् मनमा । यस्तो सानो मुलुकमा अन्तराष्ट्रिय विमानस्थल भन्नेहरुका स्वार्थ के होलान् ? तिनले तराईंमा लाग्ने हुस्सु कुहिरोलाई किन अनदेखा गरे होलान् ? राष्ट्रिय विमानस्थलबाट यात्रीहरुलाई काठमान्डु लाने र सिधैं त्यहीबाट अन्तराष्ट्रिय विमान चढाउने विकल्प तिनले किन नलिएका होलान् ?भैरवाले हुस्सु कुहिरो लगाइदिएर किन गिज्याइदिएको होला ? किन दक्षिणी ठुल्दाइले बाटो नदिएर हैसियत देखाइदिएको होला ? हुनतः राज्यको ढुकुटीमा हात लम्काउने बानी परेकाहरुले जनता ठग्ने अनेक विकल्प भेटाउँछन् । तिनीहरुको दिगामले कसरी राज्य ठग्ने र आफ्नो गोजा भर्ने सोचमै कसरत गर्छ होला ? तिनीहरुलाई आफूले नै संसार थामेको भ्रम हुन्छ होला ?त्यही भएर बने होला भैरवा विमानस्थल अन्तराष्ट्रिय । देशका दुई चार ठाउँमा यस्ता विमानस्थल थप्न सके दरबार बलिया हुने थिएन । निर्मल निवास बन्ने थिए । बनेकै छन् । अझ दुई चार वटा थपिने थिए ।
म बटौलीतिरै जान चाहन्छु किनभने त्यो मेरो घर जाने बाटो हो । त्यो म बसेको ठाउँ हो । मेरा बा बुढा बाले नुन बोकेको ठाउँ हो । चिल्ला सडक, ठुल्ठुला घर, सरर चल्ने मोटरगाडी, गाउँ छाडेका मनहरु देख्दा मेरा आँखा तिरमिराउँछन् । गलाम पथ र भलाम चोक देख्दा म अलमलिन्छु । मेरो बटौलीमा सबै छ तर केही पनि छैन । मेरै सिद्धबाबा छ । मेरै ट्राफिक चोक छ । मेरै अञ्चल भनिएको अस्पताल छ । म भरिलो छु, म रित्तो छु । तर बटौली बटौली नै रहेछ । बुटवल भएको रहेनछ । यो गरिब नै रहेछ ।
चौवन्न पचपन्न सालतिर मैले बुटबल बहुमुखी क्याम्पस पढें । त्यतिबेला पनि यो यस्तै थियो आज पनि उस्तै छ । लाग्ला, तपाईंलाई धेरै फरक भएको छ । बजार बिस्तार भएको छ । सडकहरु चिल्ला बनेका छन् । सडक बत्ती झिलिमिली छन् । वाइफाइ फिरी छ । गाडीको एक्सलेटर सकेको दबाउँदा वा बर्टादा पनि दौडन मिल्छ । बटौली र भैरवा पुरै एउटै हुँदैछ मानव बस्तीले । पूर्व, पश्चिम, दक्षिण बस्ती बिस्तार भइरहेकै छ । व्यापार चलेकै छ । पैसा कमाएकै छ । धान फल्ने जमीन पनि बिगाबाट धुर, कठ्ठामा टुक्रिएर महंगो बनेकै छ । हामी सुकिला मुकिला बन्न पाइएकै छ । काम गर्नु पनि पर्दैन । ठुल्ठुला बिल्डिङ ठडिएकै छ । पसिना बगाउन पनि पर्दैन । अरु के चाहियो र तिमीलाई ? पसिना नबग्दासम्म न त ज्यान बन्छ न बटौली बुटवल नै बन्छ । आराम हराम भन्ने बुटवलले बिर्सिएको छ । केवल पैसा जानेको छ । पैसाले धनी भइदैन ।
खज्र्याङमा एउटा अस्पताल बनेछ । रातो छाना छ त्यसको । त्यो अस्पताल बन्दा अंशियार बन न तिमी पनि भन्ने प्रस्ताव मलाई पनि आएको थियो तर मैले भो भने । त्यो अस्पतालमा डाक्टर कसरी आउलान् र खै ? हरिले गाडी बेतोडले कुदाउँदै गर्दा मेरो मनमा यिनै प्रश्न आइरहेका थिए ।
मनले फेरि भन्यो, गाउँपालिकाले ल्याउन चाह्यो भने डाक्टरलाई गाउँमा राख्न सक्छ । डाक्टरको पेसा अनुरुप उनीहरुको तलब ठ्याक्कै डबल गर्ने आँट गर्नुपर्छ । आफ्नो सुविधा त्याग डाक्टरको सुविधा बढाऊ भन्ने अभियान गाउँपालिकाले चलायो भने के डाक्टर गाउँ नजालान् र ? जानसक्छन् । उनीहरुको क्षमता अनुरुपको सम्मान पनि त चाहियो । डाक्टरलाई एउटा खरदार वा सुब्बा वा अधिकृतले हप्काउने दिनसम्म ती मनिषीहरु गाउँ जाँदैनन् । ती ज्यान बचाउने मान्छेहरु हुन् । भगवान् हुन् नि । कागज पल्टाएर वा कोरेर खाने मान्छे त होइनन् नि । न त सम्मान छ न त आकर्षक तलब छ । न त सुविधा छ । मनले यिनै कुरा भन्यो । हरिले पनि चार घन्टा पनि नबित्दै बटौली
ओरालिदिए ।
बटौलीको चोकमा अञ्चल भनिएको प्रादेशिक अस्पतालको गेट देखियो । अञ्चल भनिनु र प्रादेशिक भनिनुमा के फरक होला र ? अँ ! यहाँ सर्पदशंको भने भरपर्दो उपचार हुन्छ रे । यसले त्यो विश्वास कमाएको छ । तर त्यो पनि गोरुसिंगेले उछिन्दै छ रे । नभए अरु उपचारका लागि त यो अस्पताल अझै दुब्लाएछ, मैले पढ्दाभन्दा । पाल्पामा मिसनपछि प्रभास आयो । प्रभासले मिसनको मिसनरीमा धक्का लगाइदियो । मिसनले पश्चिम पहाडका मानिसहरुलाई राम्रो सुविधा दिएकै हो । बाले त यही अस्पताललाई निकै विश्वास गर्नुभयो । अति विश्वास गर्नु पनि अभिशाप बन्छ कहिलेकाही । बन्यो
कि ?
प्रभासले पनि दुई चार वर्षमै विश्वास आर्जन गरिरहेछ । यसले सारा उपचार गर्छ । विश्वास जगाएको छ । अंग्रेजीमा गुडविल भन्छन् नि ! त्यो जगाएको छ । तर यो पहिलेको अञ्चल अहिलेको प्रादेशिकमा खोइ ? यत्रो जनघनत्वको भएको ठाउँमा सरकारको अस्पताल खोइ ? जनताको अस्पताल खोइ ? त्यो अस्पतालप्रतिको विश्वास खोइ ? यहाँका सरकारी मान्छे खोइ ? यहाँका मै हुँ भन्ने खोइ ? यहाँका पौडेल भुसाल हिजोसम्मका खाँड खोइ ? नगरका मै हुँ भन्ने खोइ ? बुद्धिजीवि खोइ ?समाजसेवी खोइ ? शिक्षक खोइ ? विद्यार्थी खोइ ? पत्रकार खोइ ? विचारक खोइ ? के सबै चोर औंला र बुढी औंलाको प्रेमालापमा मस्त छन् ?के यिनीहरुका अरु औंला चल्न छाडिसके ? ठुलो वा प्राणघातक रोग लागे उपचार गर्ने ठाउँ खोइ ? त्यस्तो अवस्थामा सस्तो, सुलभ र गुणस्तरीय उपचार गर्ने ठाउँ खोइ ? पाल्पाको मिसनले त निशुल्क पनि उपचार गर्छ । प्रादेशिकको ज्योति खोइ ? विश्वासको आभा खोइ ?जनताको अस्पताल खोइ ?यस्तैयस्तै कुरा मनमा खेलिरहेका थिए ।
चालिसेपछि स्वास्थ्यका बारेमा बढी चिन्ता पो लाग्दो रहेछ कि क्या हो ? दुई वर्ष फोसामा पाएको छु नि त आजकाल मैले । कसैले कति वर्ष हुनुभयो भनेर सोध्यो भने मैले त्रिचालिस भन्थे । एकदिन यमुनाले भनी, दाइ तपाईं कहाँ त्रिचालिस हुनुभयो गन्नु त? यसो गनेको त दुई वर्ष बढी पो भनिरहेको रहेछ । घटेर एकचालिस पो भएँ । आहा !
फेरि बटौलीतिर फर्कन्छु । के बटौलीमा उपचार गर्ने अस्पताल नै छैनन् त ? किन नहुनु । अञ्चल पनि भनिएको प्रादेशिक अस्पतालको अगाडि नै उभिएर हेनुर्स त लहरै अस्पताल देख्नुहुन्छ । अस्पताल नभएका कुनै घर छैनन्?यत्रतत्रसर्वत्र ।
त्यस्तै घर अस्पतालले हालसालै मेरो एक आफन्तलाई झन्डै स्वर्ग पठाइदिएन । इमरजेन्सी बिरामीलाई भोलि भैरवा जानुस् भनेछ धन्न बुद्धि पुर्याएर काठमाडौँ लग्यौँ । तुरुन्तै उपचार भयो । अस्पतालको इमरजेन्सीमा ।तर यहाँको घर अस्पतालले त खाइरहेको प्रेसरको औषधी समेत घटाएर आरामले औषधी गर्ने सल्लाह दिएछ । दैवभरोसामा दुई दिन पछि काठमाडौँ पुग्दा पनि उपचारबाट लाभ मिल्यो । यस्ता कुरा त बटौलीका चोकचोकमा सुनिन्छ । प्रादेशिक भनिने अस्पताल नराम्रो त अवश्य छैन । तर त्यहाँभित्रको पैसे राजनीतिको बिलोले बिगारेको हो कि ? नेता भनिने राजनीति कर्मचारीले बिगारेका पो हुन् कि ? सम्मानित डाक्टरले पो हो कि ?
यी घर अस्पतालहरु त गोरखपुरका फोटोकपी हुन् क्यार । म त गोरखपुर गको त छैन तर अन्दाजा त्यही लगाएँ ।नगएका ठाउँको पनि अन्दाजा लगाइन्छ नि । अमेरिका नगए पनि अमेरिकाको तस्वीर त छ नि दिमागमा । त्यस्तै गोरखपुरको फोटोकपी अन्दाजा लगाएको हुँ ।
एकछिन मनोरन्जन गर्न मन लागे साँझतिर बटौलीका घर अस्पतालतिर लागे हुन्छ । स्वयंसेवक बन्न मन लागे पनि यतै छिरे हुन्छ । रमाइला हुँदा रहेछन्, यी घर अस्पताल । साँझ परेपछि यी अस्पतालमा बिरामीको भीडभाड बढ्दो रहेछ । पहाडतिरबाट झरेका ती अन्जानहरु मात्रै होइन शहरतिरका जान्नसुन्नेहरुको पनि भीडभाड हुँदो रहेछ । दिनभर अन्यत्र काम गरेर आउने डाक्टरहरुले एकैछिनमा उपचार गरिदिंदा रहेछन् । मोटो रकम बिरामीसँग बाट लिदा पनि रहेछन् । दुई चार घन्टा भर्ना गरे पन्ध्र बीस पच्चीस हजार ।
रमाइलो त यो रहेछ । यी कुनै पनि अस्पतालमा लिफ्ट भन्ने चरो रहेनछ । यहाँ उपचार गराउन आउँदा चार पाँच जना बाहुबली पनि ल्याउनुपर्दो रहेछ किनभने बिरामीलाई तिनै बाहुबलीहरुले कुर्सीमा बोकेर भ¥याङ्को तल माथि गराउँदा रहेछन् । तपाईं छेउछाउ उभिनु भको भए यसो हात लगाउनुस् । सेवा भयो । स्वयंसेवक बन्नुभयो । त्यसरी चारैतिरबाट कुर्सी झुन्डाएर बोक्दाको दृश्य आफैमा रोचक । बोक्नेहरु ए ए, पख पख, एकछिन, एकछिन भन्दै बोकिराखेका हुन्छन् । उनीहरुलाई डिस्टर्व चाहि गर्नु हुँदैन । कसैका हात गले भने उपचार गर्नुपरेन । टन्टै खल्लास । न रह्यो बाँस न बज्यो बाँसुरी ।
मेरो मुखमा यही कुरा आएको थियो तर मेरो आफन्तले त भनिहाल्नुभयो, कसैको हात गल्यो भने त बिरामीको उपचार नै गर्नुपर्दो रहेछन् । आफै सन्चो हुँदो रहेछ यहाँ त । हामी पहिला मुसुमुसु पछि गल्लल हाँस्यौँ । बजार हिड्दा पनि त्यो दृश्यले हाम्रो मुहारमा मुस्कान छरिरह्यो ।
धनी पैसाले भइदो रहेनछ, त्यसै भनेको होइन । मलाई त भइन्छ भन्ने भ्रम थियो । यसपालिको बटौली यात्राले त्यो भ्रम तोडिदियो । उज्यालो हुँदैमा बटौली बुटबल हुँदो रहेनछ । ठाउँको नाम तित्याङ राख्दैमा बागलुङ हुँदो रहेनछ । अर्वेनी राख्दैमा गुल्मी हुँदोरहेनछ । त्यसैले बटौली बटौली नै रहेछ । बुटवल भएको रहेनछ । बटौलीलाई गोरखपुर मन पर्छ तर काठमाडांँै होइन । जय नेपाल ।