सिर्जना पन्त
साढे २ दशक पहिला साविक धौलागिरी अञ्चलका तीन जिल्लामा सहकारीको बारेमा निकै चर्चा हुने गर्दथ्यो । सिन्धुपाल्चोक घर बताउँने दावा दोर्जे लामाले बागलुङ, पर्वत र म्याग्दीमा सहकारी सञ्चालनमा ल्याएका थिए । दावा दोर्जेले स्थानीय व्यापारी लगायत विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रभावमा पारेर सहकारी सञ्चालन गरेपछि धेरैले सहकारीको बारेमा चर्चा गर्ने गरेको पाइन्थ्यो । २०५५÷५६ साल तिर यो क्षेत्रमा खासै धेरै सहकारी थिएनन् ।
माछापुच्छे सहकारी संस्थाको नामबाट दोर्जेले सञ्चालन गरेको सहकारीमा बागलुङका तत्कालिन उद्योगी व्यवसायीले बचत गरेका थिए । दोर्जेले सञ्चालन गरेको सहकारीमा बागलुङका व्यवसायी पनि सञ्चालक थिए, तर सहकारीमा नीति, भूमिका र निर्देशन दोर्जेको मात्र चल्थ्यो । सहकारी सञ्चालन गरेको केही समयपछि बचतकर्ताको ५ लाख रुपैयाँ लिएर फरार भएका दोर्जेलाई केही समय पछि प्रहरीले पक्राउ गर्याे । मुद्दा अदालतसम्म पुग्यो । तर, दोर्जेले ठगेको रकम फिर्ता गरेनन् ।
दावा दोर्जेले सहकारीका सदस्यको रकम हिनामिना गरेर फरार भएपछि सहकारीको साख जोगाउँन तत्कालिन जिल्ला सहकारी कार्यालय बागलुङका प्रमुख ढुण्डीराज शर्मा, स्थानीय समाजसेवीहरु देव बहादुर श्रेष्ठ, पद्मचन्द्र राजभण्डारी, कृष्णशंकर श्रेष्ठ, सहदेव राजभण्डारीहरु मिलेर बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको जन्म गराए । दोर्जेले हिनामिना गरेको रकम सहित १२ लाख रुपैयाँको हिसाब किताव लिएर बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट सुरु भएको सहकारी संस्थाले बचतकर्ताको रकम मात्र फिर्ता गरेन, हाल करोडौँको कारोबार गरिरहेको छ ।
माछापुच्छ्रेबाट बागलुङ बहुउद्देश्यीय सहकारी संस्था बनाएर त्यसको संस्थापक अध्यक्ष समेत रहेका सहदेव राजभण्डारीले नीतिगत रुपमा सञ्चालन नहुनु र गैर जिल्लाको व्यक्तिलाई अत्याधिक विश्वास गर्नु नै तत्कालिन अवस्थामा माछापुच्छे सहकारी डुब्नुको प्रमुख कारण भएको बताउनु हुन्छ ।
सहकारीमा सदस्यको नियन्त्रण, सञ्चालक र कर्मचारीको पारदर्शिता भएमा विग्रिएको सहकारीलाई पनि राम्रो बनाउन सकिन्छ भन्ने उदाहरण माछापुच्छे, हालको बागलुङ बहुउद्देश्यीय सहकारी हो, राजभण्डारीको भनाइ छ । सहकारीको नियम अनुसार त्यतिबेला देशको जुनसुकै ठाउँमा गएर पनि सहकारी सञ्चालन गर्न पाइन्थ्यो । बागलुङ, पर्वत, म्याग्दी लगायत देशका धेरै ठाउँबाट सहकारीका सञ्चालकहरुले रकम जम्मा गरेर भाग्न थालेपछि सरकारले सहकारी सञ्चालनका लागि निश्चित भुगोलमा बसोबास गरेको हुनु पर्ने भन्दै कार्यक्षेत्र निर्धारण गरिदियो । सानो कार्यक्षेत्र भित्रका मानिसहरु मिलेर सञ्चालन गर्ने सहकारीमा खासै समस्या देखिएन ।
२०६५ सालमा स्थापना भएको निलगिरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ४ वर्षसम्म समस्यामा थियो । सञ्चालक समितिको सक्रियता नहुँदा लगानी नउठ्ने, बचत कम हुने र बचत फिर्ता बढी हुँदा निलगिरी सहकारीमा समस्या आयो, बिग्रियो भन्ने हल्ला समेत बजारमा फैलिएको थियो । तर, सहकारीका सदस्यको मागमा विषेश साधारण सभा बोलाईयो । साधारण सभाले नारायण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति बनायो । पौडेल हाल तेस्रो कार्यकालका लागि संस्थाको अध्यक्ष हुनुहुन्छ । १ सय २५ जना सदस्यको विशेष साधारण सभाबाट बनेको पौडेलको सञ्चालक समितिले हाल १३ सय जना सेयर सदस्य बनाएको छ । सहकारीमा २६ करोड भन्दा बढीको सम्पत्ती रहेको छ ।
सकियो सकियो भनेको सहकारी फैलाउँदै जानुमा सञ्चालकको सक्रियता नै प्रमुख कारण भएको पौडेलको भनाई छ । निष्क्रिय सञ्चालक वा हस्तक्षेपकारी सञ्चालक भएका सहकारीमा समस्या आउन सक्छ, पौडेलले भन्नुभयो, नीति र विधि पद्धतीमा चलेका, सबै सञ्चालकको समान र प्रभावकारी भूमिका भएका, कर्मचारीको दक्षता भएका सहकारी फैलाउँदै जान्छन् ।
२०५५ सालमा सहकारीको नियमन गर्ने निकाय जिल्ला सहकारी कार्यालय थियो । पछि सोही कार्यालय डिभिजन सहकारी कार्यालयका रुपमा विस्तार भयो । संघियता पछि सहकारीको नियमक डिभिजन सहकारी कार्यालय खारेज भएको छ । एउटा स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई सोही स्थानीय तह, एक भन्दा बढी पालिका कार्यक्षेत्र भएका सहकारीलाई सहकारी रजिष्ट्रारको कार्यालय र २ वटा प्रदेश भन्दा बढी कार्यक्षेत्र भएका सहकारीलाई संघीय सहकारी विभागले नियमन गर्न थालेको छ ।
हाल बागलुङमा ४ सय १२ वटा सहकारी संस्था छन् । जसमध्ये सहकारी रजिष्ट्रारको कार्यालय पोखराको नियमन क्षेत्र भित्र पर्ने बागलुङमा १ सय २४ वटा सहकारी छन् । बागलुङ नगरपालिका भित्र कार्यक्षेत्र भएका १ सय ३ वटा सहकारी छन् । गलकोट नगरपालिकामा कार्यक्षेत्र भएका ५१ वटा सहकारी छन् । काठेखोला गाउँपालिकामा ४४, जैमिनी नगरपालिकामा ३६, निसीखोला, बडीगाड र ताराखोला गाउँपालिकामा समान १३÷१३ वटा, ढोरपाटन नगरपालिकामा ८, बरेङ गाउँपालिकामा ५ र तमानखोला गाउँपालिका कार्यक्षेत्र भएका २ वटा सहकारी रहेका छन् ।
४ सय १२ सहकारी रहेको बागलुङमा १ सय २९ वटा सहकारी निष्क्रिय रहेका छन् । पछिल्लो समय सहकारी संस्थाहरु एकीकरण हुनेको संख्या पनि बढ्न थालेको छ । बागलुङ नगरपालिका कार्यक्षेत्र भएका २१ वटा सहकारी संस्था एकिकरण भएका छन्, जैमिनीमा २ वटा, ताराखोलामा २ वटा सहकारी एकिकरण भएका छन् ।
स्थानीय तहमा कर्मचारीको अभाव, विषय विज्ञताको अभाव र भौतिक संरचनाको अभावमा तत्कालिन डिभिजन सहकारी कार्यालयले हस्तान्तरण गरेका सहकारीका फाइहरुले छुट्टै कोठा र छुट्टै कर्मचारी समेत पाउन सकेका छैनन् । बागलुङको बरेङ गाउँपालिकामा कर्मचारीको अभाव हुँदा सहकारी हेर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी तुफान पुन बताउँनु हुन्छ ।
बढ्दो सहकारीको संख्यासँगै यसको नियमक पक्षलाई पनि बलियो नबनाउँदा समस्या आउने गरेको राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसीको भनाई छ ।
सहजै सहकारी दर्ताको अनुमती दिने तर, उनीहरुले गरेका गतिविधिमा ध्यान नदिदा सहकारी क्षेत्रमा समस्या देखिन थालेको उहाँको भनाई छ । डिभिजन सहकारीको अधिकार स्थानीय तहलाई दिएपनि सोही अनुरुपको दरबन्दी, क्षमता र दक्षता नहुँदा खराब सहकारीलाई नियन्त्रण गर्न कठिन भएको उहाँको भनाई छ ।
पछिल्लो समय बागलुङमा ठुलो कारोबार गर्ने २ वटा सहकारीमा आएको समस्याका कारण आन्तरिक सुशासन नहुनु र नियमक निकायको कमजोरी हुनु मुख्य कारण रहेको जिसीको भनाई छ । सहकारी स्वनियमका आधारमा चल्ने संस्थाहरु हुन्, तर हाम्रोमा व्यवहारिक रुपमा त्यस्तो देखिएको छैन । सहकारीलाई यसको मर्म र भावना अनुसार सञ्चालन गर्न नसक्ने केही सहकारीहरुका कारण नियमन नै कडा बनाउनु पर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।
जिल्लामा देखिएका सहकारीका प्रकरणले एक व्यक्ति एक विषयगत सहकारीको सदस्य हुन पाउँछ, एउटै व्यक्ति फरक फरक सहकारीको सञ्चालक र लेखा सुपरिवेक्षण समितिमा बस्न पाउँदैन, सहकारीको बचतको व्याज र कर्जाको व्याजको सिमा निर्धारण गरिएको छ, सहकारीले गैर सेयर सदस्यसँग कारोबार गर्न पाउँदैन भन्ने शिक्षा सहकारीकै सञ्चालक र सदस्यलाई सिकाउनु पर्ने देखिएको उहाँको भनाई छ ।
इमेज र शिवशिखर सहकारी संस्थाका कारण पछिल्लो समय बागलुङको मात्र नभएर देशकै सहकारी अभियानमाथी प्रहार भइरहेको भन्दै जिसीले तत्कालका लागि अफ्ठेरो जस्तो देखिए पनि नीतिगत सञ्चालित सहकारीमा समस्या नआउने बताउनु हुन्छ । यसका लागि सदस्यमा सहकारी शिक्षा जरुरी रहेको उहाँको भनाई छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका निवर्तमान सञ्चालन चण्डी प्रसाद शर्माले पछिल्लो समय देखासिकी र सहकारीको मुल चरित्र विर्सेर एकाध सहकारीले गरेको बदमासीको सिकार देशका ३५ हजारभन्दा बढी सहकारी भएको बताउनु भयो ।
ऋण लगानी र असुलीका कुरा छोडेर उत्पादन र उद्यमसँग सदस्यलाई जोड्नुपर्ने भन्दै उहाँले सदस्यलाई सहकारीको मालिक मै हुँ भन्ने बुझाउन जरुरी रहेको बताउनु भयो । नीति, विधी र पद्धतीमा चलेका सहकारीमा कहिलै समस्या नआउने भन्दै शर्माले सहकारी फिल्टर हुने समय आएको बताउनु भयो ।
सहकारी बिग्रिए भनेर हौवा फैलाईएको छ, नगन्य सहकारीमा देखिएको समस्याको अत्याधिक प्रचार भयो, राम्रो कुरालाई नजरअन्दाज गरियो शर्माले भन्नुभयो, यो समय सधै रहन्न, खराब सहकारी सकिने र समुदाय केन्द्रीत सहकारी मौलाउने समय आएको छ । सहकारी क्षेत्रमा अहिले आएको समस्या जस्तै २०५७ साल, २०६८ सालतिर पनि समस्या आएका हुन्, समस्याहरु बढ्दै जादा र सहकारीको दर्ता गर्ने निकायले देशभर, प्रदेशभर कार्यक्षेत्र दिन थालेपछि समस्या आउन थालेको हो ।
सहकारी क्षेत्र मुलुकको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको क्षेत्र हो । यसको प्रवद्र्धन र विकासमा ध्यान दिन सके हाम्रो जस्तो मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्दछ, तर सहकारीका नाममा निजी सम्पत्ती आर्जन गर्ने केही व्यक्तिहरुले सञ्चालन गरेका सहकारीहरुको बिग्रदो साख, सामाजिक सञ्जालमा देखिने सहकारीप्रतिको नकरात्मक भाव, सहकारी भित्र सुशासन र स्वयिनमनको कमी तथा राज्यको प्रभावकारी अनुगमन नहुनुले सहकारीप्रति नैरास्यता देखिएको छ ।
यसलाई चिर्नका लागि सहकारीको मुल भावना सदस्य केन्द्रीत बन्दै सदस्यहरुलाई सहकारी शिक्षा, सचेतना र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने, सदस्यहरु नै सहकारीका मालिक हुन् भन्ने कुरा सदस्यहरुमा आत्मविश्वास जगाइदिने, सहकारीको कारोबारलाई पारदर्शी बनाउने, विधिसम्मत तरिकाले सञ्चालन गर्ने, राज्यका तर्फबाट गलत गर्नेहरुलाई कार्वाही र राम्रो गर्नेहरुलाई प्रोत्साहन गर्न सक्ने हो भने अझै पनि सहकारीले धेरै गर्न सक्ने सम्भावना रहेको छ ।