शंकर पोखरेल
पार्टी अधिवेशन र पार्टीको नेतृत्व निर्वाचनका सन्दर्भमा एकै समयमा दुवै काम सम्पादन गर्दाखेरी नीतिको प्रश्नमा ध्यान पुग्न सकेन भनेर हामीले नीतिका लागि अलग अधिवेशन र नेतृत्वका लागि अलग अधिवेशन गर्ने अभ्यास पनि शुरु गरी सकेका छौ ।
तर प्रदेश र जिल्लाका हकमा हामीले अहिले पनि एउटै समयमा नीति र नेतृत्व चयनको काम एउटै समयमा गर्दै आइरहेका छौ । सामान्यतया कस्तो देखिन्छ भन्दाखेरी जिल्ला अधिवेशनहरुमा पनि नीतिको प्रश्नमा, समिक्षाको प्रश्नमा, भविष्यको कार्ययोजनाको प्रश्नमा प्रतिनिधिहरुको ध्यान कम जाने र नेतृत्वको प्रश्नमा ज्यादा जाने गरेको देखिन्छ ।
तपाई हामीले जसलाई नेता बनाएका पनि हामीले आफ्नो कामको समिक्षा गर्न सक्दैदौ, त्यसका आधारमा भविष्यको राम्रो कार्ययोजना निर्माण गर्न सक्दैनौ भने जतिसुकै योग्य नेतृत्व चुने पनि त्यसले गर्ने काम प्रभावकारी नहुन सक्दछ । त्यसका आधारमा कामलाई प्रभावकारी ढंगले सम्पादन गर्ने सामथ्र्य राख्दछ । हो यति बेला हामी नेपालका सन्दर्भका बारेमा चर्चा गर्दा खेरी मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र माथि अनास्था र अविश्वास प्रकट गर्ने प्रवृति देखा परेका बेलामा हामी कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी भइरहेका छौ ।
म तपाईहरुलाई के कुरा भन्न चाहन्छु त भन्दा खेरी वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनका सन्दर्भमा कुरा गर्दा खेरी हामीले जति जति बेला नेपालमा लोकतन्त्रमाथि घात हुने गर्दछ, नेपालका राजनीतिक दलहरु मिलेर लोकतन्त्रलाई स्थापित गर्ने सवालमा निरन्तर सफलता हासिल गर्दै आइरहेका छौ ।
चाहे जहानिया राणा शासनका बेलाको आन्दोलनको बेला होस् या निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको बेला होस् या सामन्ती राजतन्त्रका विरुद्ध मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान आन्दोलनका सवालमा होस् नेपालका राजनीतिक दलहरु मिलेर राजनीतिक परिवर्तनको अगुवाई गर्ने काम गर्दै आइरहेका छन् ।
तर दुनियामा एउटै राजनीतिक क्रान्ति पछाडि युग बदलिन्छ, नेपालमा तीन तीन वटा राजनीतिक क्रान्तिपछि पनि हामीले समाजलाई चाहे अनुसारको दिशा परिवर्तन गर्न सकेका छैनौ । त्यस अर्थमा हामीले आजका सन्दर्भमा सोच्नु पर्ने विषय के हो त भन्दा खेरी दुनियाको राजनीतिक आन्दोलनको इतिहासमा एउटै क्रान्तिबाट युगको परिवर्तन हुने गर्दछ । हामीले नेपालमा तीन तीन वटा राजनीतिक क्रान्तिमा सफलता हासिल गरिरहदा पनि हामीले नेपाली समाजलाई नेपाली जनताको चाहना अनुसार किन बदल्न सकेनौ भन्ने प्रश्नलाई केन्द्रीय प्रश्न बनाएर सोच्न सक्नु पर्दछ, अगाडि बढ्न सक्नु पर्दछ भन्ने कुरा म राख्न चाहन्छु ।
नेपालको राजनीतिको एउटा विशिष्ठ पक्ष छ, दुनियाको राजनीतिक आन्दोलनमा, राजनीतिक क्रान्तिमा एउटा वर्गको नेतृत्व र वर्चश्व रहने गर्दछ र क्रान्ति पछाडि त्यसैले राजनीतिको नेतृत्व गर्ने गर्दछ । तर नेपालको सन्दर्भका बारेमा कुरा गर्दा हरेक राजनीतिक क्रान्तिमा दुई वटा वर्गहरु राजनीतिक परिवर्तनको यात्रामा संलग्न हुने गरेका छन्, त्यसैले गर्दा खेरी नेपालको राजनीतिक परिवर्तन पश्चात कुनै एउटा वर्गको राजनीतिको सत्तामा प्रभुत्व कायम हुन सकेको छैन । त्यस अर्थमा हामीले भन्ने गरेका छौ, नेपालको राजनीतिक आन्दोलनको चरित्र विशिष्ठ प्रकारको छ भन्ने गरेका छौ ।
तर हामी कार्यकर्ताहरुको मनस्थिति र मानसिकता २०६२/०६३ को परिवर्तनलाई हामीले राजनीतिक क्रान्तिका रुपमा परिभाषित गर्ने गरेका छौ, त्यस पछाडि हाम्रो एउटा मनोविज्ञान कस्तो तयार भएको छ त भन्दाखेरी नेता कार्यकर्ताहरुले सेक्रिफाइस गर्ने समय सकियो जस्तो ? त्याग बलिदानको समय सकियो जस्तो ? अब त विगतमा गरेको योगदानको सम्मान पाउने समय आए जस्तो ठानेर हरेकले पार्टीमा योगदान गर्ने कुरामा होइन पार्टीबाट केही कुरा प्राप्त गर्नका लागि अपेक्षा गर्ने मनोविज्ञान ज्यादा प्रकट हुन थालेको छ ।
एउटा परिवर्तनकारी राजनीतिक पार्टीका लागि व्यक्तिका विषयमा हामीले व्यक्तिगत रुपमा नेता र कार्यकर्ताले आफ्नो प्राप्तिको विषयलाई महानताको विषय बनाउन थाल्दछ भने हामी समाज परिवर्तनको नेता शक्ति बन्न सक्दैनौ र हामीले हाम्रो पार्टीलाई समाज परिवर्तनको अगुवा पार्टीका रुपमा अगाडि बढाउन सक्दैनौ ।
त्यस अर्थमा हामीले बुझ्न सक्नु पर्छ राजनीतिक क्रान्ति आफैमा लक्ष्य होइन, समाज परिवर्तनको माध्यम मात्रै हो भन्ने कुराको सच्याईलाई बुझ्न सक्नु पर्दछ, त्यस अर्थमा राजनीतिक परिवर्तन पछाडि जुन प्रकारको अनुकुलता प्राप्त भएको छ, त्यो अनुकुलता भित्र अझ ज्यादा मेहनतका साथ निष्ठाका साथ समाज परिवर्तनका लागि योगदान गर्ने समय आएको छ, त्यस अर्थमा नेता कार्यकर्ताहरुले जनताको जीवन परिवर्तनका लागि योगदान गर्न तयार हुनु पर्दछ भन्ने मानसिकताका आधारमा हामीले हाम्रो राजनीतिक कामलाई केन्द्रीत गर्नु पर्दछ ।
अर्कोतिर दुनियाको राजनीतिक शक्तिले स्वभाविक रुपमा २ वटा चीजहरुमा परिवर्तन ल्याउने गर्दछ । एउटा उत्पादन सम्बन्धमा परिवर्तन ल्याउने गर्दछ, अर्को राज्य सत्ताको नेतृत्वमा परिवर्तन ल्याउने गर्दछ । यूरोपेली क्रान्ति, जसलाई हामी इतिहासको एउटा महत्वपूर्ण क्रान्तिका रुपमा लिने गर्दछौ, त्यो क्रान्तिले सामन्तवादका विरुद्धमा पूँजिवादी उत्पादन सम्बन्धलाई स्थापित गर्ने काम ग¥यो । सामन्त वर्गको राज्यसत्ताका ठाउँमा पूँजीपति वर्गको राज्यसत्ता स्थापित गर्ने काम ग¥यो, त्यसैले यूरोपेली क्रान्तिलाई महान क्रान्तिका रुपमा बुझ्ने गरिन्छ ।
अर्कोतिर महान अक्टोबर समाजवादी क्रान्तिले पूँजिवादको ठाउँमा समाजवादलाई, पूँजिपति वर्गको राज्यसत्ताको नेतृत्वको ठाउँमा सर्वहारा श्रमजिवी वर्गको नेतृत्वलाई स्थापित गर्ने काम ग¥यो, त्यस अर्थमा हामीले अक्टोबर समाजवादी क्रान्तिलाई महान समाजवादी क्रान्तिका रुपमा बुझ्ने गर्दछौ ।
पूँजिवाद साम्राज्यवादका रुपमा विकसित भएपछि एउटा नयाँ मान्यता अगाडि आयो, तेस्रो कम्युनिष्ट लिंगले भन्यो अव विश्वका पछाडि परेका मुलुकहरुका बारेमा पूँजिपति वर्गले ति मुलुकहरुमा क्रान्तिको नेतृत्व गर्न सक्दैन । त्यस्ता मुलुकहरुमा सामन्तवाद विरुद्धको क्रान्तिको नेता पूँजिपति वर्ग होइन मजदुरहरुको नेतृत्वमा क्रान्ति सम्पन्न गर्नु पर्दछ भन्ने मान्यता अगाडि सा¥यो, जुन मान्यतालाई चिन, भियतनाम लगायतका मुलुकले क्रान्ति सम्पन्न गरेर देखाए, जसलाई नयाँ जनवादी क्रान्ति भन्ने गरिन्छ । त्यो क्रान्तिमा पनि अर्ध सामन्ती, अर्ध औपनिवेशिक उत्पादन सम्बन्धलाई बदलेर जनवादी उत्पादन सम्बन्ध स्थापित गर्ने काम भयो । सामन्त वर्गको नेतृत्व बदलेर मजदुर किसानको नेतृत्व स्थापित गर्ने काम भयो ।
तर हाम्रो नेपालको सन्दर्भमा २०६२/०६३ को परिवर्तन पछाडि हाम्रो मुलुकमा के भयो भन्ने विषयमा हामी भन्न सक्दछौ सामन्तवादी उत्पादन सम्बन्धका ठाउँमा पूँजीवादको प्रारम्भिक चरणमा नेपाल प्रवेश ग¥यो भनेर हामीले विश्लेषण गरेका छौ । उत्पादन सम्बन्धमा बद्लाव शुरु भएको छ, यो सच्चाई हो तर राज्य सत्ताको नेतृत्वको सवालमा भन्नु हुन्छ भने राज्यसत्ताको नेता को हो ? भन्ने कुराको निरुपण नेपालको राजनीतिक आन्दोलनले गरेको छैन किनकी यो आन्दोलनका निम्ती दुईवटा वर्ग थियो ।
श्रमजिवी सर्वहारा वर्ग र बुर्जुवा वर्ग संगसंगै आन्दोलनमा थिए, त्यस अर्थमा नेपालको राजनीतिलाई अब कुन बाटोमा अगाडि बढाउने भन्ने प्रश्न क्रान्तिले निरुपण गरेको प्रश्नका रुपमा रहेको छैन । दुनियाको क्रान्तिले नेतृत्वको प्रश्नको हल गरेको हुन्छ, तर नेपालको क्रान्तिले नेतृत्वको प्रश्न हल गरेको छैन ।
नेपाल जस्तो परिवर्तनको दिशाबाट अगाडि बढेको मुलुकका सन्दर्भमा नेतृत्वको प्रश्नलाई हल गर्ने ठाउँ कुन हो भन्ने कुरा तपाई हामीले गहिरो गरी मनन गर्न सक्नु पर्दछ, त्यो ठाउँ भनेको के हो त भन्दाखेरी आवधिक निर्वाचन हो । आवधिक निर्वाचन नै अबको वर्ग संघर्षको केन्द्रीय थलो हो, जसले नेतृत्वको प्रश्नलाई निरुपण गर्ने गर्दछ । चुनाव नै राजनीतिक प्रश्नको केन्द्रीय थलो हो, जसले नेतृत्वको प्रश्नलाई हल गर्ने गर्दछ ।
तर आजभोली हाम्रा बीचमा चुनावका प्रश्नमा मैले भनेको मान्छेले टिकट पायो भने त चुनावमा खट्न सकिन्छ, मैले भनेको मान्छेले पाएन भने, मैले पाइन भने चुनावमा त कसरी खट्न सकिन्छ ? भन्ने प्रकारको मानसिकताले घर गर्न थालेको छ । त्यसले के हामी नेपालको राजनीतिक क्रान्तिलाई सफलतातर्फ लान सक्छौ ? किमार्थ सक्दैनौ । त्यसअर्थमा हामीले हाम्रो पार्टीलाई समाजको क्रान्तिकारी रुपान्तरणको पार्टीका रुपमा स्थापित गर्ने हो भने नेता कार्यकर्ताहरुले भन्न सक्नु पर्दछ, चुनाव वर्ग संघर्षको केन्द्रीय थलो हो, त्यस अर्थमा हामीले कसले टिकट पायो होइन, पार्टीलाई जिताउने हाम्रो कर्तव्य हो भन्ने कुरा बुझ्न जरुरी छ । एउटा साझा संकल्पका रुपमा पार्टीका नेता कार्यकर्ताले जवसम्म आत्मसाथ गर्न सक्दैनन्, तवसम्म हामीले नेपालको राजनीतिमा नेतृत्वको प्रश्नलाई निरुपण गर्न सक्दैनौ ।
आज हाम्रो समाजमा राजनीतिक अस्थिरता समाजको चुनौतीका रुपमा रहेको छ । तपाई हामी सबैलाई थाहा छ, नेपाल बनेन भन्ने बहस चलाउन खोजिन्छ, किन बनेन भन्ने बहस चलाउन खोजिदैन । पुराना दलहरुका कारण नेपाल बनेन भनेर भाष्य खडा गर्न खोजिदैछ, म भन्न चाहन्छु, दुनियाका विकसित देशहरुमा के नयाँ पार्टीहरुले ति मुलुकहरुलाई विकसित गरेका हुन ?
अमेरिकामा सदियौ वर्षदेखि त्यहाँको राजनीतिको नेतृत्व गरिरहेका पार्टीहरु रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीले अमेरिकी जनताको नयाँ नेतृत्वको आकांक्षा पनि पुरानै पार्टीहरुले पुरा गर्दछन् र त्यहाँ नयाँ नीतिहरुको पैरवी पनि तिनै पुराना पार्टीहरुको माध्यमबाट हुने गर्दछ र अमेरिका विश्वको शक्तिशाली राष्ट्रका रुपमा रहेको छ, अमेरिकालाई शक्तिशाली राष्ट्र बनाउनका लागि पुरानाले भएन, नयाँ चाहियो भनेर अमेरिकी समाजमा कसैले भन्ने गर्दैन । किनकी नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित छ भन्ने कुराको सच्चाईलाई अमेरिकी जनताले गहिरो गरी बुझेका छन् ।
संसदीय लोकतन्त्रको जननी भनेर चिनिने बेलायतमा सयौ वर्षदेखि त्यहा लेबर र कन्र्जभेटिभ पार्टीले आपसमा प्रतिस्पर्धा गर्ने गर्दछन् र बेलायतका जनताले पुराना पार्टीले भएन, नयाँ पार्टी चाहियो भन्ने गरेको हामी सुन्ने गर्दैनौ । कहिले काही नयाँहरु आउन खोज्दछन् तर त्यहाका जनताले स्थायित्वको खोजी गर्ने गर्दछन् । नीतिको जगमा खडा भएका राजनीतिक दलहरुलाई नै स्थायित्व प्रदान गर्ने गर्दछन् र ति मुलुकहरु शक्तिशाली मुलुकमा रुपमा चिनिने गरेका छन् ।
चिनको विकासको नेतृत्व गर्ने कुरामा हामी गर्व गर्ने गर्दछौ, चिनिया विकासको नेतृत्व कसले गरी रहेको छ भन्दाखेरी चिनिया कम्युनिष्ट पार्टीले गरेको छ । जुन चिनिया कम्युनिष्ट पार्टी हामी भन्दा धेरै पुरानो पार्टी हो भन्ने कुराको सच्चाईलाई तपाई हामीले बुझ्न जरुरी छ ।
आज नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले भारतको विकास र समृद्धिको नेतृत्व गरिहेको छ, त्यो पार्टीको इतिहास हेर्नु भयो भने नेकपा एमाले भन्दा पुरानो पार्टी हो, नेपाली कांग्रेस भन्दा पुरानो पार्टी हो । त्यो पार्टीले भारतीय समाजको रुपान्तरणको नेतृत्व गरिरहेको छ ।
नेपालमा पुराना पार्टीले भएन, नयाँ पार्टी चाहियो भने जुन हौवा फैलाउन खोजिएको छ, त्यसको उद्देश्य के हो भन्दा नेपाललाई स्थायित्व तर्फ जान नदिने अस्थिरतामा मुलुकलाई अलमलाई राख्न चाहने जुन प्रकारको प्रवृति नेपाली समाजमा सिर्जना गर्न खोजिएको छ, त्यो नै नेपालको विकासको वाधक हो भन्ने कुराको सच्चाईलाई हामी बुझ्न सक्नु पर्दछ र नेपाली समाजमा स्थायित्व कायम गर्नका लागि हामीले भन्न सक्नु पर्दछ, नेपालमा अब धेरै राजनीतिक दलहरु होइन, बलिया राजनीतिक दलहरुको खाँचो छ ।
नेपाललाई अब नयाँ नयाँ प्रयोगशाला बनाउने होइन, नेपालको राजनीतिक आन्दोलनमा जनताको परिवर्तनको आकांक्षालाई लगातार नेतृत्व गर्दै आइरहेका राजनीतिक दलहरुलाई नै बलियो राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने कुरामा हामी अगाडि बढ्नु पर्दछ, त्यो मान्यताका आधारमा हामीले हाम्रो पार्टी नेकपा एमालेलाई अगाडि बढाउने संकल्प गर्नु पर्दछ ।
हो आज पनि हामी नेकपा एमाले जनताको रोजाईको पहिलो पार्टी हौ, यसमा कुनै शंका छैन । देशका ७७ जिल्लाहरु मध्ये ४४ जिल्लामा हामी समानुपातिक तर्फ पहिलो भएका छौ, जनताको लोकप्रिय मतमा हामी ४४ जिल्लामा पहिलो पार्टीका रुपमा रहेका छौ । अरु सबै पार्टीहरु हामी भन्दा कम जिल्लामा बाँडिचुडी पहिलो भएका छन्, सच्चाइ यही हो । प्रदेशका हिसावले भन्नुहुन्छ भने सात वटा प्रदेशहरु मध्ये ६ वटा प्रदेशमा हामी एक्लै लोकप्रिय मतमा पहिलो पार्टीका रुपमा रहेका छौ, सच्चाइ यही हो तर जनता र राष्ट्रको आवश्यकताका हिसावले नेकपा एमाले अझै बलियो शक्ति बन्न सकेको छैन ।
यदी साच्चै मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने हो भने नेपालमा बलिया राजनीतिक दलहरुको आवश्यता छ भन्ने कुराको सच्चाईलाई अब नेपाली जनताका बीचमा लिएर जान सक्नु पर्दछ । तर म तपाईहरुका बीचमा के भन्न चाहन्छु त भन्दाखेरी जतिबेला हामीलाई बलियो शक्तिको आवश्यकता छ, त्यतिबेला जनमत विभाजित भैराखेको छ ।
नयाँ नयाँ शक्तिका नाममा, स्वतन्त्रका नाममा, अनेक नाममा जनमत विभाजित गर्ने, पार्टीहरुलाई बलियो बनाउने ठाउँमा पार्टीहरुलाई विभाजित गर्न खोज्ने प्रवृति देश र राष्ट्रका लागि सहयोगी हुन सक्दछ ? कस्तो प्रकारको विचित्रको मनोविज्ञान खडा गर्न खोजिदैछ भन्दाखेरि चुनावका बीचमा जे भन्यौ त्यसका पक्षमा उभिन पर्दछ, जनादेशको अवज्ञा गर्ने कुरा स्वीकार्य हुन सक्दैन, जनताको जनादेशका पक्षमा उभिन सकेन भने फेरी जनतामा जानु पर्दछ भन्ने लोकतान्त्रिक मान्यतालाई संविधान विरोधी मान्यताका रुपमा प्रस्तुत गर्ने जुन प्रकारको चिन्तन नेपाली राजनीतिमा हावी हुन खोज्दैछ, त्यसले स्वभाविक रुपमा नेपालको लोकतन्त्र कमजोर बनाइरहेको छ ।
आज मानिसहरु भन्ने गर्दछन्, जनतामा निराशा छ, निराशा नफैलियोस् किन ? जनताले जसलाई असाध्यै धेरै मन पराएका छन्, उसले जनताको शासन गर्न पाउदैन । चुनाव पछाडि न हामीलाई जनादेश प्राप्त हुन सक्यो, न गठबन्धनको सरकारले जनादेश पाउन सक्यो । त्यसका आधारमा हामीले भन्यौ, जो गठबन्धनबाट बाहिर आउछ, त्यसलाई नेता मानेर हामी नयाँ सरकार बनाउनका लागि सहयोगी भूमिका निर्वाह खेल्न तयार छौ, नेतृत्वमा हाम्रो दावी छैन, कसैले भन्न सक्दछ ? जनता र राष्ट्रप्रति जिम्मेवार भएकै कारणले हामीले भन्यौ, पुरानो गठबन्धनका आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने मुलुकको भविष्य अझै रसातलमा फस्दै जान्छ भन्ने मान्यताका आधारमा हामीले भन्यौ, गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौ, किनकी हाम्रो चिन्ता राष्ट्रको भविष्यप्रति छ, जनताको भविष्यप्रति छ, हो हामीले नेपाली कांग्रेसका नेताहरुलाई पनि भनेका थियौ, तपाईहरु तयार हुनुस्, हामी साथ दिन तयार छौ ।
हामीले माओवादीलाई पनि भनेका थियौ, तपाईहरु तयार हुनुस् हामी साथ दिन तयार छौ, कांग्रेस तयार भएन, माओवादी तयार भयो, हामीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनायौ, तर त्यो सरकार लामो समय चल्न सकेन, प्रचण्ड फेरी पुरानै समिकरणतर्फ फर्किनु भयो ।
हामीले बिना कुनै संकोच सरकारबाट आफुलाई सरकारबाट अलग ग¥यौ र हामीले भन्यौ तपाईको यो नयाँ यात्रा सकारात्मक दिशामा जान सक्दैन, मुलुकलाई अझ कमजोर बनाउने छ, पुष्पकमल दाहालका त्यतिबेलाका भनाईलाई सम्झना गर्दै हामीले भन्यौ, दुइ पटक प्रधानमन्त्री हुदा मैले काम देखाउन पाइन, अब यस पटक काम देखाउने हो भनेर उहाँले भनेको कुरालाई आधार मानेर काम देखाउने हो भने तपाई जुन प्रकारको समिकरणका आधारमा प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ ? त्यो समिकरणबाट तपाईले जनता र राष्ट्रका पक्षमा काम गर्न सक्ने कुनै संभावना छैन भनेर हामीले भनेका थियौ । तर उहाँ पुरानै बाटो फर्कनु भयो ।
तर आज एउटा विन्दुमा आइपुग्दा उहाँले महसुस गर्नु भयो र भन्नुभयो नेपालको बामपन्थी आन्दोलन सधैभरी देशभक्तिपूर्ण आन्दोलनको जगका रुपमा खडा भएको छ । मैले नेतृत्व गरेको सरकारप्रति जनताको धारणा, त्यो राष्ट्रिय हितका प्रश्नमा चुकेको छ भन्ने प्रकारको भाष्य खडा हुन थालिसक्यो, यो सरकार राष्ट्रहितका पक्षमा काम गर्न सक्दैन भन्ने प्रकारको मान्यता खडा हुन थालिसक्यो, मैले आफैले नेतृत्व गरेको आन्दोलनको विरासतबाट कतै म वञ्चित हुनु पर्ने हो कि ? भन्ने प्रकारको चिन्ता मलाई लागि रहेको छ, त्यस अर्थमा देशभक्तिूर्ण आन्दोलनका माध्यमबाट मैले आफुलाई अलग गर्न सक्दिन ।
त्यसपछि उहाँले अर्को कुरा पनि गर्नु भयो, के कुरा गर्नु भयो भने सुशासन र विकासका प्रश्नमा, डेलिभरीको प्रश्नमा मेरो नेतृत्वको सरकारप्रति सहयोगी बन्न सकेन, जसका कारण मैले जनता र राष्ट्रका पक्षमा काम गरेर देखाउने हो भने प्रधानमन्त्रीको कुर्ची मात्र हेर्नु हुदैन, प्रधानमन्त्रीको कुर्सी त अहिले पनि सुरक्षित नै छ, प्रधानमन्त्री पदका लागि कसैले चुनौती दिएको त छैन, तर जनता र राष्ट्रको पक्षमा काम गर्नका लागि अहिले भैरहेको गठबन्धन सार्थक बन्न सकेन भन्ने कुराको रिलाइजेसन मैले गरेको छु भन्न थाल्नु भयो ।
त्यतिमात्रै होइन, नेकपा कालको अन्तरद्वन्द्वका सन्दर्भमा उहाँले खुलेर भन्न थाल्नु भयो, जो संग एकता गरिएको थियो, विवादहरुको समाधानमा उसैसंग केन्द्रीत हुनुपथ्र्यो ? अरु कसैलाई भरोसा गरेर जुन प्रकारको अन्तरसंघर्षलाई अगाडि बढाउने काम भयो त्यसले कतै न कतै गल्ती भएको महसुस भएको छ भन्ने निष्कर्ष उहाँ पुगि सकेपछि हामीले अठोट ग¥यौ, अब गठबन्धनलाई भत्काउने उपयुक्त समय यही हो । त्यसअर्थमा हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समिकरणको सरकार बनाउने प्रयास ग¥यौ र आज पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमाले समेत सहभागि भएको नयाँ सरकार बनेको छ । हामीले यो सरकारलाई नयाँ गठबन्धन भनेका छैनौ, नयाँ समिकरण, नयाँ सहकार्य भनेका छौ ।
यो कुनै बामपन्थी गठबन्धन पनि होइन, कतिपयले बामपन्थी दलहरुको सहभागिता रहेकोले बामपन्थी गठबन्धनतर्फ उन्मुख रह्यो भन्ने प्रकारको विश्लेषण गर्ने गरेको पनि देखिएको छ, कतिले अब नेकपा एमाले समाजवादी मोर्चामा सामेल हुन्छ भनेर प्रश्न गरिरहेका छन् । अहिले हामी यो सरकार बामपन्थी गठबन्धनको सरकार हो भन्ने पनि परिभाषित गरेका छैनौ र हामी समाजवादी मोर्चा बनाएर अहिले नै जानु पर्छ भन्ने मान्यताका पक्षमा पनि छैनौ ।
हामी चाहन्छौ, आज मुलुकका सामु जे समस्याहरु उत्पन्न भएका छन्, मुलुकको अर्थतन्त्र जुन प्रकारले संकटग्रस्त अवस्थामा छ, देशको स्वाधिनता, स्वाभिमानप्रति जुन प्रकारको चुनौती खडा भएको छ त्यसलाई सकारात्मक दिशामा लैजान चाहने कुरामा राजनीतिक दलहरुका बीचमा सकारात्मक शक्तिहरुका बीचमा सहकार्यका माध्यमबाट ओरालो यात्रालाई रोकेर अब सकारात्मक दिशातर्फ मुलुकलाई लैजानु पर्दछ भन्ने मान्यताका आधारमा हामीले यो यात्रा आरम्भ गरेका छौ ।
कतिपयले भन्ने गर्नु भएको छ, हाम्रो मिसन ८४ हो भन्ने गरेको एमाले आज सरकारमा सामेल भयो, कतै एमालेको मिसन ८४ रोकिएको हो कि ? प्रश्न गर्ने गर्नु हुन्छ । म तपाईहरुका बीचमा के भन्न चाहन्छु भने मिसन ८४ मुलुकको भविष्य निर्माणको एउटा संकल्प हो । त्यसबाट नेकपा एमाले विचलित हुने प्रश्न उठ्दैन । हामीले त भनिरहेका छौ, यो सहकार्यले मिसन ८४ लाई बलियो बनाउछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नयाँ सहकार्यको यात्रा आरम्भ गरेका छौ ।
किनकी हाम्रो यात्रामा हाम्रा विरुद्धको घेरावन्दीलाई तोड्न आवश्यक थियो, चक्रव्यूहलाई तोड्न आवश्यक थियो, हामीले हाम्रा विरुद्धको घेराबन्दीलाई, हाम्रा विरुद्धको चक्रव्यूहलाई तोडेर हामी बाहिर आएका छौ । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौ । जसका आधारमा हामी मिसन ८४ लाई सफल पार्न चाहन्छौ र मुलुकको भाग्य भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहन्छौ । निरास बनेका जनतामा आशा जगाउन चाहन्छौ ।
आज मुलुक थुप्रै चुनौतीहरुबाट गुज्रिरहेको बेला हामी सरकारमा सामेल भएका छौ । पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकताको चुनौती हो । आज नेपाली समाज कुन अवस्थामा छ, यही अवस्थामा राख्ने हो भने विकास र समृद्धिको यात्रा सफल हुन्छ कि हुदैन ? निरास बनेका जनताले समृद्धिको यात्रामा सहायक भूमिका खेल्न सक्दैनन्, त्यसअर्थमा जनतामा आशा जगाउने अर्थमा महत्वपूर्ण विषय हो । आज जुन प्रकारको राजनीतिक अस्थिरता छ, त्यो राजनीतिक अस्थिरताका कारणले समाजमा एक प्रकारले सामाजिक अराजकता जुन फैलिइरहेको छ त्यो सामाजिक अराजकतालाई बदल्न पर्ने आवश्यकता छ ।
हो हामीले विगतमा कहिले राणाशासनका विरुद्ध, कहिले पञ्चायतका विरुद्ध, कहिले निरंकुश राजतन्त्रका विरुद्धमा राज्यसत्ताका विरुद्ध संघर्ष गर्नु पर्दा जनतालाई सधै राज्यसत्ताका विरुद्ध विद्रोह गर्नका लागि अपिल गर्दै हिड्यौ र नेपाली जनताको मानसिकता राज्यसत्ताका विरुद्धका रुपमा बदलियो ।
तर जनताले चुनेका प्रतिनिधिबाट नयाँ संविधानको निर्माण भइसके पछि सार्वभौमसत्ताको मालिक नेपाली जनता भैसकेपछि अब नेपाल जनताको राज्य हो, अब जनता राज्यका विद्रोही होइनन्, राष्ट्रका निर्माता हुन्, यो भावनालाई हामी नेपालका राजनीतिक दलहरुले बुझाउन सक्नु पर्दछ । कमजोर राज्यले नागरिकलाई बलियो बनाउन सक्दैन, नागरिकलाई बलियो बनाउनका लागि राज्य बलियो हुनुपर्दछ । तर आज हाम्रो नेपाली समाजको यथार्थ के हो त भन्दा राज्य यति निरिय र कमजोर बनेको छ, यो राज्यले नेपाली जनताका आकांक्षाहरुलाई पुरा गर्न सक्दैन ।
त्यस अर्थमा हाम्रो कर्तव्य हो, जनतामा आशा जगाउने र नेपाल राज्यलाई बलियो बनाउने, बलियो राज्यले मात्र जनताका आकांक्षा पुरा गर्न सक्दछ र अब हामीले जनतालाई राज्यसंग जोड्ने अभिभारा पनि हामीले आफ्नो जिम्मेवारीमा लिनु आवश्यक छ ।
अर्कोतिर स्वभाविक रुपमा नेपालको राजनीतिमा नेपालका राजनीतिक दलहरु विशेष गरी नेपाली कांग्रेस जसले नेपालको आन्दोलनमा आफुलाई उभ्याउदै आयो, आन्दोलनका सन्दर्भमा नेपाली कांग्रेसमाथि प्रश्न गर्नु पर्ने कुनै ठाउँ छैन । निर्णायक क्षणमा नेपाली कांग्रेस सधै आन्दोलनको अग्रमोर्चामा देखिने गरेको छ । तर जव आन्दोलनलाई संस्थागत गर्ने समय हुन्छ त्यतिबेला नेपाली कांग्रेसले सदैव आन्दोलनप्रति घात गर्ने गरेको छ । २००७ सालमा राणाशासनका विरुद्ध मुक्तिसेनाका नाममा शसस्त्र विद्रोह भयो, र धेरै स्थानमा मुक्तिसेनाले कब्जा गर्दै गएपछि दिल्लीमा त्रिपक्षीय सम्झौता भयो, त्यो त्रिपक्षीय सम्झौतामा नेपाली कांग्रेस सामेल थिएन, त्यो त्रिपक्षीय सम्झौता भनेको दिल्ली सरकार, राणा र राजाका बीचको सम्झौता थियो ।
तर नेपाल फर्किने क्रममा त्यो सम्झौताको भारी बोकेर को फर्कियो भन्दाखेरी कांग्रेस फर्कियो । जसका विरुद्ध आन्दोलन गरिएको थियो, त्यसलाई प्रधानमन्त्री मानेर कांग्रेस फर्कियो । मुक्तिसेनाले त्यसको विरोध ग¥यो । ठाउँ ठाउँमा मुक्ति सेनाले आन्दोलन जारी छ भनेर घोषणा गर्न थाल्यो, मुुक्ति सेनाको विद्रोहलाई नेपाली कांग्रेस स्वयं आफैले दमन गर्ने नीति अख्तियार ग¥यो ।
पूर्वमा रामप्रसाद राइको नेतृत्वको आन्दोलनलाई दमन गरियो, मुक्तिसेनाको सिंहदरवारको विद्रोह, डा.केआइसिंहको नेतृत्वको विद्रोहलाई दमन गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले ग¥यो । पश्चिममा भिमदत्त पन्तको नेतृत्वमा किसान विद्रोह शुरु भयो त्यो किसान विद्रोहलाई पनि दमन गर्नका लागि भारतीय सुरक्षाकर्मी ल्याएर भिमदत्तको विद्रोहलाई दमन गर्ने काम गरियो ।
मुक्ति सेनाको विद्रोहलाई समर्थन गरेको नाममा कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाइयो, यो २००७ सालको कुरा हो । तर पनि त्रिभुवनले एउटा राम्रो काम गर्ने घोषणा गरेका थिए, त्यो भनेको के हो त भन्दा अबको शासन जनताबाट चुनेका प्रतिनिधिहरुले बनाएको विधानका आधारमा हुनेछ भनेका थिए । तर पछि राजा त्रिभुवन आफ्नै वचनबाट विमुख हुन थालेपछि राजनीतिक दलहरुका तर्फबाट एउटा आन्दोलनको घोषणा गरियो, जसलाई भद्र अवज्ञा आन्दोलन भन्ने गरिन्छ ।
त्यो भद्र अवज्ञा आन्दोलन संविधानसभाको मागका लागि थियो, जनताले संविधान बनाउन पाउनु पर्छ भन्ने अधिकारका लागि थियो, तर कांग्रेसले आन्दोलन छोडेर राजाले दिएको संविधानका आधारमा चुनाव लड्ने नीति लियो । जसका कारणले गर्दा वि.पी.चुनावमा त सफल भए, विजय हासिल ग¥यो नेपाली कांग्रेसले । दुई तिहाइ सफलता हासिल ग¥यो संसदमा तर त्यसलाई टिकाउन सकेन ।
राजा महेन्द्रले त्यही संविधानमा टेकेर जनताले निर्वाचित गरेको संसदलाई गरेर तानाशाही व्यवस्था लाद्ने काम गरे । यदी कांग्रेसले भद्र आन्दोलन छोडेर राजाले दिएको संविधान कबुल नगरेको भए २०१७ सालको काण्ड राजा महेन्द्रले घटाउन सक्ने आधार हुने थिएन, त्यो सच्चाइलाई पनि इतिहासको सच्चाइका रुपमा कांग्रेसका मित्रहरुले बुझ्न सक्नु पर्दछ । पञ्चायतको शुरुवात देखि नै पुष्पलालले निरन्तर रुपमा राजनीतिमा संयुक्त जनआन्दोलनको नीतिको पैरवी गर्नु भयो तर विश्वेश्वर प्रसाद कोइरालाले पञ्चायतका विरुद्धको संयुक्त जनआन्दोलनको नीतिमा बामपन्थीहरुसंगको सहकार्यलाई सदैव अस्वीकार गर्नु भयो ।
आजभोली कांग्रेसका नेताहरु मेलमिलापको नीतिको वकालत गर्नु हुन्छ, अरुसंगको सहकार्यको कुरा गर्नु हुन्छ, त्यतिबेला बि.पीको मेलमिलाप भनेको बामपन्थीहरुसंगको मेलमिलाप थिएन, राजासंगको मेलमिलापको कुरा थियो । त्यही मेलमिलापको नीतिका कारणले गर्दाखेरी पञ्चायत ३० वर्षसम्म टिक्यो । तर मदन भण्डारीले जव महसुस गर्नु भयो, सही नीति भएर मात्र पुग्दो रहेन्छ, त्यो नीतिलाई कार्यान्वयन गर्नका लागि तदअनुरुपको पहलकदमी र सक्रियताको आवश्यकता पर्दछ भन्ने मान्यताका आधारमा कांग्रेस भित्रका क्रान्तिकारी धारका नेताहरुसंग जव सम्वाद गर्न थाल्नु भयो, गणेशमानसिंह संयुक्त आन्दोलनका लागि तयार हुनु भयो ।
त्यसपछि बाममोर्चा गठन भयो र नेपाली कांग्रेस र बाममोर्चाका बीचमा संयुक्त जनआन्दोलनको आधार तयार भयो अनि आन्दोलनको बलमा पञ्चायतको अन्त्य भयो । यदी नेपाली कांग्रेस विपीकै मान्यतामा रहेको भए आज पनि पञ्चायत रहीरहन्थ्यो, सच्चाइ यही हो । त्यसअर्थमा हामीले भन्नुपर्दछ, महान मान्छेहरुले पनि कहिले काही महान गल्ती गर्दा रहेछन् । नेपालको राजनीतिमा विपीलाई महान मान्ने गरिन्छ तर नेपालको राजनीतिका सन्दर्भमा हेर्ने हो भने विपीका महान कमजोरीकै कारणले पञ्चायत ३० वर्ष टिकेको थियो भन्ने सच्चाइलाई नेपाली कांग्रेसका मित्रहरुले बुझ्न नसक्दा पञ्चायत लामो समय रह्यो । यो चिजबाट पनि हामीले पाठ सिक्न जरुरी छ ।
अर्कोतिर २०४६ सालको आन्दोलन सफलता पछाडि पहिले त राजाले आफ्नै सहयोगी लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकार गठन गर्न खोजेका थिए, आफ्नै मानिसहरुको नेतृत्वमा शाही आयोग गठन गर्न खोजेका थिए, जव आन्दोलनकारीहरुले अस्वीकार गरे लोकेन्द्र बहादुर चन्दको नेतृत्वको सरकार भंग गरेर कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो, शाही आयोग भंग गरेर संविधान सुझाव आयोग गठन भयो ।
त्यो ९ सदस्यीय सुझाव आयोगमा बाममोर्चाका ३ जना, कांग्रेसका ३ जना र राजाका ३ जना प्रतिनिधि थिए, २०४७ सालको संविधान बनाउने बेला नेपाली कांग्रेसले अर्को एउटा गंभिर भुल त्यहा गर्न पुग्यो, त्यो भूल के थियो भन्दा ९ सदस्यीय आयोगमा छलफल गर्दै जादा लोकतन्त्रका आधारभूत मूल्यहरुमा जव विवाद हुन थाल्यो कांग्रेस विस्तारै विस्तारै राजाका प्रतिनिधिहरुसंग नजिक हुन थाल्यो, संविधान जारी गर्ने बेलामा राजा र कांग्रेसका प्रतिनिधि मिलेर संविधान जारी गरे, बाममोर्चाका प्रतिनिधिले नोट अफ डिसेन्ट लेख्नु प¥यो ।
जुन असहमतिलाई तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीले २७ बुदे असहमतीका रुपमा राख्दै संविधानलाई आलोचनात्मक समर्थन गर्नु भयो । मदन भण्डारीले राखेका तिनै २७ बुदालाई २०६२÷०६३ को आन्दोलनको सफलतापछि पुनस्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणाका रुपमा अनुमोदन गरिएपछि आजको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार के ले काम ग¥यो भन्दा २०४७ सालमा मदन भण्डारीले प्रस्तुत गरेको त्यही २७ बुदेका मान्यताहरुले आजको परिवर्तनलाई दिशा निर्देश गरेका छन् भन्ने सच्चाईलाई हामीले बुझ्न जरुरी छ । कांग्रेसले सार्वभौमसत्ता श्री ५ मा निहित हुनेछ भन्ने कुरामा सहमति गरेको थियो ।
दोस्रो जनआन्दोलनपछि सार्वभौमसत्ता जनतामा निहित हुनेछ भन्ने कुरा स्थापित भयो । अन्तरिम संविधानमा सार्वभौमसत्ता जनतामा निहित हुनेछ भन्ने स्थापित भयो । श्री ५ मा रहेको सार्वभौमसत्ता कार्यान्वयन गर्न खोज्दा नै तुलनात्मक रुपमा उदार रहेका विरेन्द्रको वंश नाश भयो र राजतन्त्र भित्र अनुदारवादीको पक्ष हावी गर्ने काम दरवार हत्याकाण्डका माध्यमबाट भयो, एउटा यो सच्चाइलार्ई पनि बुझ््न सक्नु पर्छ । राजा ज्ञानेन्द्रको निरंकुशताको जग के हो त भन्दा संविधानका तिनै कमजोरीहरु थिए ।
२०६२÷०६३ को आन्दोलन पछि फेरी नेपाली कांग्रेसले अर्को गल्ती ग¥यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सबै भन्दा योगदान गरेको पार्टी नेकपा एमाले, त्यसका नेताहरुले कहिले रोल्पा, कहिले सिलिगुडी, कहिले लखनउ, कहिले गोरखपुर गएर माओवादीका नेताहरुसंग वार्ता गरेर शान्ति सम्झौताका आधार तयार गर्ने काम गरे । तर शान्ति सम्झौताका बेला गिरिजाप्रसाद कोइरालाले एउटा मान्यता स्थापित गर्न खोज्नु भयो, त्यो मान्यता भनेको के हो त भन्दा खेरी नेपालका २ वटा बामपन्थी शक्तिहरुलाई बराबरीको शक्तिमा राखेर द्वन्द्व गराउने र आफुले लाभ लिने ।
आज नेपालमा राजनीतिक अस्थिरताका कारक बामपन्थी शक्तिहरुमा फाटो ल्याएर त्यसका आधारमा भविष्य देख्ने नेपाली कांग्रेसको गलत चिन्तन हो । त्यही गलत चिन्तनका कारण आज राजनीतिक अस्थिरता भएको छ । बामपन्थी विचमा फाटो ल्याएर फाइदा लिने नेपाली कांग्रेसको जुन मानसिकता छ, त्यो आज पराजित भएको छ ।
सहकार्यको नयाँ यात्राबाट त्यो मानसिकता पराजित भएको छ, त्यही कारण आज नेपाली कांग्रेसका नेताहरु तिल्मिलाइरहेका छन् । गठबन्धनबाट बाहिर आउ भन्दा सम्वाद गर्न पनि नमान्ने, बामपन्थीहरुका बीचमा फाटो ल्याएर त्यसैमा आफ्नो भविष्य देख्ने ? यो प्रकारको चिन्तनले नेपालको राजनीतिले सही बाटो लिन सक्दैन, नीतिका आधारमा राजनीतिलाई धु्रुविकरण गर्ने भन्न सक्नु पर्दछ ।
कअब नेपालको राजनीतिलाई हामी यही बहसको माध्यमबाट अगाडि बढाउन चाहन्छौ । राजनीतिक दलहरुलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न चाहन्छौ, यो मान्यताका आधारमा अगाडि बढ्न सक्नु पर्दछ, भन्न सक्नु पर्दछ । तर नेपाली कांग्रेस अहिले पनि आफुलाई त्यो दृढताको पक्षमा उभ्याउने आट गरिरहेको छैन । तर नेकपा एमाले मुलुकलाई सही बाटो देखाउनका लागि जस्तो सुकै त्याग गर्नका लागि तयार छ ।
आजभोली कतिपयले भन्ने गर्नु भएको छ, एमाले सरकारमा त गयो तर महत्वपूर्ण मन्त्रालय त लिएन नि ? हामीलाई थाहा छ, अहिलेको हंग पार्लियामेण्टमा हामीले चाहे जस्तो नीतिगत नेतृत्व संभव छैन । हामीले त मुलुकको ओरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौ, मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गराउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ, त्यस अर्थमा मिसन ८४ नेकपा एमालेको अर्जुनदृष्टि हो । त्यो मान्यताका आधारमा हामी अगाडि बढ्न खोजिरहेका छौ । हामी कुन उद्देश्यका साथ कसरी अगाडि बढ्न खोजी रहेका छौ भन्ने कुरालाई हामीले गंभिर रुपमा बुझ्न जरुरी छ ।
हामीले पार्टीको सातौ पूर्ण वैठक आयोजना गरिरहदा हामीले आफैलाई पनि सुधार गर्नु पर्छ भन्ने अठोट गरिरहेका छौ । मुलुकको राजनीतिलाई सही बाटोमा अगाडि बढाउने हो भने हामी भित्र समस्या छन् भने ति समस्यालाई पनि सुधार गर्दै अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैका आधारमा आउने वर्षलाई हामीले शुद्धिकरण र सुदृढीकरण वर्षका रुपमा अगाडि बढाउनु पर्छ भन्ने मान्यताका आधारमा अब हामीले हाम्रो पार्टी, हाम्रो पार्टीको जीवनशैली र हाम्रो आचरणलाई जनताको हित अनुकुलमा कसरी बदल्नु पर्दछ भन्ने मान्यतामा बहस आरम्भ गरेका छौ ।
अर्कोतिर हामीले हाम्रो पार्टीलाई जनतामा आधारित कार्यकर्ताको पार्टी भनेका छौ । जनताको बहुदलीय जनवादको कार्यक्रम अगाडि बढाइरहदा जननेता मदन भण्डारीले भन्नुभयो, पार्टी निर्माणको हाम्रो आफ्नै मौलिक बाटो हुनु पर्दछ भन्ने मान्यताका आधारमा उहाँले नीतिगत मान्यता अगाडि सार्नु भयो र त्यो मान्यतालाई हामीले सुत्रीकरण गरेका छौ, पार्टी जीवनको लोकतान्त्रिककरणका रुपमा । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनबाट हामी पार्टी जिवनको लोकतान्त्रिककरणको नयाँ मान्यताका आधारमा नेपालको राजनीतिमा एउटा नयाँ अभ्यास गरेका छौ, जुन अभ्यासको माध्यमबाट नेपालका सबै राजनीतिक दलहरु प्रभावित भैरहेका छन् ।
हामीले त्यो नीति अगाडि सानु भन्दा अगाडि कांग्रेस सभापतिय प्रणालीबाट अगाडि बढेको थियो, कांग्रेसका अधिवेशनहरुले एउटा मात्रै नेता निर्वाचित गर्थे र त्यो नेताले कमिटि चुन्ने गर्दथे । चाहे त्यो जिल्ला अधिवेशन होस् वा राष्ट्रिय अधिवेशन । अर्कोतिर नेपालका कम्युनिष्ट पार्टीहरुले अधिवेशनका माध्यमबाट कमिटि चुन्दथे र कमिटिले नेता चुन्ने गर्दथ्यो । यो परम्परा कम्युनिष्ट पार्टीको परम्परा थियो । तर हामीले पार्टीको आठौ महाधिवेशनबाट यो परम्परालाई बदल्यौ । अधिवेशनबाट नेता र कमिटि चुन्ने प्रणालीको शुरुवात ग¥यौ । र आज सबै पार्टीले त्यही नीति अंगिकार गरेका छन्, हाम्रो नीतिबाट कांग्रेस पनि बदलिएको छ र हाम्रो नीतिबाट कम्युनिष्टहरु पनि बदलिएका छन्, नेपालका सबै राजनीतिक दलहरुलाई बदल्ने कुरामा हामीले भूमिका खेलेका छौ । त्यस अर्थमा नेपालको राजनीतिलाई बाटो देखाउने पार्टी अरु कुनै पार्टी होइन, नेकपा एमाले हो, जसले नेपालको परिवर्तनको यात्रालाई दिशानिर्देश गरेको छ र दिशानिर्देश गर्ने सामथ्र्य राख्दछ भन्ने कुराको सच्चाइलाई बुझ्न जरुरी छ ।
तर हामीले अंगिकार गरेको लोकतान्त्रिक विधिलाई हामीले साच्चै लोकतान्त्रिक विधिका हिसावले आत्मसाथ गर्न सकिरहेका छौ कि छैनौ ? पार्टी भित्र चुनाव लड्ने, चुनाव पछि एकता निर्माण गर्न नसक्ने ? पार्टी भित्रको आन्तरिक चुनावलाई विरोधीसंगको चुनावको जस्तो सत्रुतापूर्ण र तिक्त बनाउने र जित हारलाई विरोधीसंग चुनाव जिते जस्तो जश्नको विषय बनाउने । यस प्रकारका गलत संस्कारहरु लोकतान्त्रिक कम्युनिष्ट पार्टी निर्माणका सन्दर्भमा उपयुक्त हुन सक्दैनन् । त्यस सन्दर्भमा हामीले लोकतान्त्रिक अभ्यास गर्ने हो भने लोकतान्त्रिक संस्कृति निर्माण गर्न सक्नु पर्दछ । लोकतान्त्रिक संस्कृतिको अभावमा लोकतान्त्रिक अभ्यास हुन सक्दैन, प्रतिस्पर्धालाई एकतामा बदल्ने सामथ्र्य छैन भने प्रतिस्पर्धाको कुनै अर्थ हुदैन ।
त्यसले पार्टीलाई आन्दोलनलाई कमजोर बनाउदछ, अर्को तिर स्वभाविक रुपमा हामी रहेक नेता कार्यकर्ताहरु सचेत बन्न सक्दैनौ भने कसलाई नेता बनाउने भन्ने कुरामा विवेकको प्रयोग गर्न सक्दैनौ, कसैको निर्देशनको अपेक्षा गर्छौ भने त्यस्तो अवस्थामा पार्टी बन्दैन्, गुट मात्रै जन्मिन्छ । त्यस अर्थमा कार्यकर्ताले न्याय र विवेक पु¥याउने कुराले मात्रै असल पार्टी बन्न सक्दछ भन्ने मान्यतालाई हामीले व्यवहारमा स्थापित गर्न सक्नु पर्दछ । त्यो गर्न सकेनौ भने स्वभाविक रुपमा हामीले पार्टीलाई जनताको पार्टीका रुपमा, बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सक्दैनौ ।
सहमति लोकतन्त्र विरोधी हो भन्ने भाष्य खडा गर्न खोजिदैछ । चुनाव भएन भने लोकतन्त्रै भएन भन्ने गरिन्छ । पार्टीको आन्तरिक जीवनको कुरा गर्नु हुन्छ भने सहमति उत्तम लोकतन्त्र हो । आफुले निर्माण गरेको नेतृत्व प्रति सबै नेता कार्यकर्ताको विश्वास हुनु भनेको सबभन्दा लोकतान्त्रिक कुरा हो, नेतृत्वको केन्द्रीकरण भनेकै त्यही हो । तर हामी नेतृत्वलाई बलियो नबनाइकन परिणामको खोजी गर्छौ, नेतृत्वलाई कमजोर बनाएर राम्रो परिणाम आउन सक्दैन । त्यस अर्थमा नेतृत्वलाई सक्षम बनाउने भनेको वादे वादे तत्व वोध भन्ने मान्यताका आधारमा नेतृत्वलाई बलियो बनाउने कुरा हो ।
त्यसअर्थमा चुनाव भएन भने लोकतन्त्रै भएन भन्ने कुरा गलत हो । तर सहमती हुन सकेन भने लम्ब्याई राख्ने, कार्यकर्तालाई थकाई रहने र एक प्रकारले असहमतिलाई बढाइ राख्ने काम पनि गर्नु हुदैन, सहमति हुन सकेन भने विधि र प्रक्रियामा जानु पर्दछ, स्वस्थ ढंगले चुनावमा जानु पर्दछ र चुनावको परिणाम पछाडि फेरी पार्टीलाई एकतावद्ध बनाउने अभियान थाल्नु पर्दछ, त्यसो गर्न सकियो भने मात्रै हामी पार्टीलाई बलियो बनाउने शक्तिका रुपमा स्थापित गर्न सक्दछौ । पोखरा नेपालको सुन्दर उपत्यका । अस्ती म आउदा प्रधानमन्त्री पनि पोखरा आउनु भएको थियो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु भयो । घोषणा मात्रै सबै थोक होइन, साच्चै पर्यटकीय राजधानीका रुपमा विकास गर्ने हो भने आज हाम्रो मुलुकमा १०÷१२ लाख पर्यटक मुलुक भित्रिए भने हामी केक काटेर जश्न मनाउछौ ।
प्रकृतिको सुन्दर ठाउँ अत्यन्त सानो भुगोलमा ६ प्रकारका सिजनहरु छन्, यस्तो भुगोल दुनियामा कही पाइन्छ ? मौसमका हिसावले यस प्रकारको विविधता कहि पाइन्छ ? पोखराको जमिनमा उभिएर हिमाल हेर्ने यस प्रकारको भौगोलिक अवस्था अन्यत्र भेटिन्छ ? यस्तो ठाउँमा पर्यटकहरु कति आउछन् भन्दा अत्यन्त नगन्य मात्र पाउछौ । हामीले बनाएका छौ, एउटा अन्तर्राष्ट्रिय विमानस्थल तर चलाउन सकेका छैनौ । त्यो अन्तराष्ट्रिय विमानस्थलले एमालेको नेतृत्व पर्खिराखेको छ कि ? जस्तो लाग्छ । अब नेकपा एमाले सरकारमा जोडिए पछि अब यो नाम मात्रैको अन्तर्राष्ट्रिय विमानस्थल रहने छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हाम्रो प्रयास रहनेछ । यसले पर्यटन क्षेत्रको विकासको नयाँ आधार तय गर्नेछ ।
अर्कोतिर नेपालको सन्दर्भमा हामी पर्यटनको विकासमा कुरा गर्दा वा राष्ट्रको समृद्धिको यात्राको कुरा गरिरहदा हामीले हाम्रो मानसिकतामा बदलाव ल्याउन सकेनौ भने राष्ट्र निर्माण गर्न सक्दैनौ ।
आज हाम्रा युवाहरुमा जागिर खाने भोक यस्तो सवार भएको छ कि जागिर पाएन भने त देश किन बस्ने ? दुनियामा कही पनि सरकारी जागिर खाने धेरै हुदैन, विश्वका सम्पन्न मुलुकहरुमा पनि जागिर खानेको संख्या कति होला ? मुश्किलले १ प्रतिशत जति होला । अरु त स्वभाविक रुपमा स्वरोजगार र उद्यमशिलता, व्यापार व्यसायमा लाग्छन । त्यहाँबाट सिर्जना भएका रोजगारमा जोडिने गर्दछन् । तर हामी व्यापार व्यवसायलाई आफ्नो विषय ठानेका छैनौ ।
नेपालमा त अवसर नै छैन भन्छौ, के साच्चै त्यस्तो हो त ? आज नेपालले जति रेमिट्यान्स प्राप्त गर्दछ, आज हामी रेमिट्यान्समा गर्व गर्दछौ, रेमिट्यान्सले चलेको देश भनेर । तर नेपाली युवाहरुले विदेशमा गएर कमाई गरे जति नेपाल आउछ नि त्यसको ठुलो हिस्सा एउटै मुलुक भारतमा जाने गर्दछ ।
त्यो पनि भारतका कामदारहरु नेपालमा आएर गर्ने साना तिना कामबाट त्यति ठुलो पैसा भारत जाने गर्दछ । कहा कहाँ छन् भारतीय कामदार ? नेपालका थोक बजारहरुमा जानु भयो भने ८० प्रतिशत कामदार भारतीय छन्, थोक बजारको नेतृत्व कसका हातमा छ ? भन्दा भारतीय कामदारका हातमा छ । फलफूल व्यापारमा हेर्नुस, चाहे तरकारी व्यापारमा हेर्नुस, घुम्ति व्यापार गर्नेहरु को छन ? त्यहा हेर्नु भयो भने ६० प्रतिशत भन्दाबढी भारतीय नागरिकले तरकारीको व्यवसाय गरेका छन, फलफूलको पसल राख्ने र ठेला कुदाउने हेर्नु भयो भने त मलाई लाग्छ ७० प्रतिशत भारतीय नागरिकले काम गरिरहेका छन् ।
हामीले सञ्चालन गरेको उद्योग कलकारखानामा मेकानिकल काम गर्ने मान्छे चाहियो भने नेपालबाट आउदैन, भारतबाट आउछन् । गार्मेन्ट खोल्नुस, कैची चलाउने मान्छे भारतीय, मेसिन चलाउने मान्छे भारतीय, हामी नेपालीहरु गाडी चढ्छौ, गाडी मर्मत गर्नेहरु भारतीय नै छन् । तर त्यसलाई हामी काम मानिरहेका छैनौ । जाडो सिजन हुने हाम्रा हिमाली जिल्ला छन्, सिरक डसना तग्ने पनि भारतीय नागरिक छन् । सिरक डसना पनि हामीले बनाउदैनौ । त्यस्तो ब्यापार पनि भारतीय नागरिकले गर्छन् । र हामी भन्दछौ नेपालमा त कामै पाइदैन । जुन कामबाट खरवौ रुपैया भारतीय नागरिकले नेपालबाट प्राप्त गरिरहेका छन्, त्यसलाई हामीले काम नै ठानेका छैनौ । यो मानसिकता के हो त भन्दा हाम्रो जुन प्रकारको उत्पादन ढाचा छ, त्यसको उपच हो । यदी यसलाई बदल्ने हो भने २ वटा कुरामा बदल्नै पर्दछ ।
हाम्रो परम्परागत उत्पादन सम्बन्ध, निर्वाहमुखी उत्पादन प्रणाली, जो हाम्रो देशको विकासको सबभन्दा ठुलो वाधक छ, पैसा नचाहिने जमानामा हामीले जुन प्रकारको खेतीपातीको विकास ग¥यौ, आज पनि हामी त्यसैमा कायम छौ । अहिले पढे लेखेको पुस्ता त्यो प्रकारको खेतीपाती गर्न तयारै छैन । पढ्यो लेख्यो भने जमिनबाट अलग भयो, नपढेको मानिसले व्यवसायिक खेती गरेन । कृषिको आधुनिकीकरण, व्यावसायिकरण जवसम्म हामी गर्न सक्दैनौ, तवसम्म नेपाल समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन । र हाम्रो मानसिकता के रह्यो भन्दा हाम्रो परिवार भित्र आम्दानीको लेखा जोखा गर्न तर्फ लागेन । अहिले पनि हाम्रो परिवार आम्दानी र खर्चको हिसाव गर्न तयार छैन ।
जबसम्म हामीले परिवार भित्र हाम्रो आम्दानी र खर्चको लेखाजोखा गर्ने परिपाटीको विकास गर्न सक्दैनौ आजको पुस्ता मात्र होइन, भोलीको पुस्ता पनि उद्यमी बन्न सक्दैन । उद्यमी बन्नका लागि आफ्नो पारिवारीक ढाँचा भित्र त्यस प्रकारको परिवेश तयार गर्नु पर्दछ । नेपालमा एउटा मात्रै समुदाय छ, जसले जागिरको खोजी गर्दैन, त्यो समुदाय भनेको थकाली समुदाय हो । त्यो समुदायको मुल थलो पनि गण्डकी प्रदेश नै हो । उनीहरुको परम्पराको जमाना, जतिबेला वस्तु विनिमय हुने गर्दथ्यो, त्यतिबेला घुमन्ते व्यापारीहरुका लागि अस्थायी होटल बनाएर सेवा प्रदान गर्ने समुदाय हो, थकाली समुदाय ।
त्यस अर्थमा उनीहरुको परिवारको भान्सा सदैव सफा सुग्घर, खानपिन सदैव स्वादिष्ट रहदै आएको छ । थकाली समुदाय भित्र आज हामीले सुन्ने गरेका छौ, उनीहरुको ढुकुडी प्रथा । यो प्रथा कहाबाट आयो त भन्दा थकाली समुदायबाट आयो । उनीहरुले आफ्नो कमाईको एउटा हिस्सालाई पहिलेदेखि ढिकुडीका रुपमा स्थापित गर्दै आए । थकाली समुदायका युवा युवतीले जागिर खोज्दै हिड्दैनन्, उनीहरुले व्यवसायको सपना देख्ने गर्दछन् । नयाँ व्यवसायका क्षेत्रमा गएर उनीहरुले थकाली भान्साघर, होटल, रेष्टुरेण्ट चलाउने गर्दछन् ।
नेपालमा अर्को एउटा समुदाय पनि छ, जुन समुदाय व्यापार व्यवसायमा लाग्यो भने त्यो कहिल्यै पछाडि फर्कदैन, त्यो समुदाय भनेको मारवाडी समुदाय हो । उनीहरुका सन्तानले पनि जागिर खोजेको देखिदैन, भविष्यमा के गर्ने भन्ने कुरा आफ्नो परिवारबाट सिकेका हुन्छन् । व्यापार व्यवसायको इमल गर्ने कुरामा उनीहरु लागेका हुन्छन् । तर अरु नेपाली समुदायमा त्यस प्रकारको सोच किन छैन भन्दा हामी निर्वाहमुखी उत्पादन पद्धतीसंग गासिएका छौ । हामीले आफुलाई बदल्न तयार भएका छैनौ, त्यस अर्थमा हाम्रा युवाहरु पढेपछि जागिरको खोजी अरब भासिन्छन, विदेश भासिन्छन् । अब त्यो मानसिकतालाई बदल्ने जिम्मेवारी पनि तपाई हाम्रो काँधमा आएको छ । नेकपा एमाले अव समाजलाई बदल्ने अठोटका साथ अगाडि बढ्न जरुरी छ । अर्कोतिर आज हामी रेमिट्यान्सबाट आएको रकमलाई घरायसी काममा खर्च गरिरहेका छौ । उत्पादनमुलक काममा रेमिट्यान्सको रकम परिचालन भएको छैन । अब उद्यमशिलताका लागि केही गर्न आट गर्ने नयाँ युवाका लागि काम गर्नु पर्नेछ । त्यो प्रकारका आँट हरेक नेपाली नागरिकले गर्नु पर्दछ । सबैले आशा जगाउने र नयाँ उद्यम गर्ने सोच गर्नु पर्दछ । आज यो खालको नयाँ सोच भएको नेता कोही छ भने त्यो हाम्रो पार्टीको नेता अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । पार्टीको नेतृत्वलाई बलियो बनाउने कुरामा सबैले ध्यान दिनु पर्दछ । पार्टी नेतृत्वलाई कमजोर बनाउने कुरा कदापी स्वीकार्य हुदैन ।
(नेकपा एमाले कास्कीको २०८० चैत १० गते आयोजित ११ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेलको मन्तव्यको सार संक्षेप)
प्रस्तुती ःराम बहादुर जि.सी.