अभिभावकलाई एक शिक्षकको पत्र

आदरणीय अभिभावकज्यूहरू !
नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको सङ्घारमा म यो पत्र तपाईंहरूलाई लेख्दैछु । पत्र १४÷१५ वर्षको शिक्षण अनुभवका आधारमा लेख्ने दुस्साहस गरेको हुँ । प्रत्यक्ष र परोक्ष रूपमा म विद्यालय तहदेखि विश्वविद्यालयको तहसम्मको शिक्षणमा संलग्न छु । उपल्ला कक्षाहरूमा भन्दा साना कक्षाहरूमा पढाउँदा नै मलाई बढी आनन्द र जीवनबोध भएको महसुस हुन्छ । त्यसैले म स्कुल तहका विद्यार्थीहरूका अभिभावकहरूलाई लक्षित गर्न चाहन्छु । त्यसो त म पनि अभिभावक हुँ । बिडम्बना भनुँ वा दुर्भाग्य भनुँ म वास्तवमा अभिभावक नै हुन पाइन । मनभित्र बच्चाको रेखदेख गर्न नपाएको छटपटी र मायाले सुम्सुमाउन नपाएको तिर्सना सँगालेर यो पत्र लेख्दैछु ।

हामी दुई भाइ विश्वविद्यालय पढ्ने बेला कान्छी बहिनी हामीसँगै काठमाडौँ बसेर पढ्थी । काठमाडौँको नामुद स्कुलमा टाइ सुट लगाएर ऊ स्कुल जान्थी । हामीले उसलाई सबै किसिमका सुविधा दिएका थियौँ । तर ऊ नौ कक्षामा फेल भई । नौ कक्षामा फेल भएपछि उसले हामीलाई स्कुलमा गएर नौ कक्षा उतीर्ण भएको प्रमाण पत्र ल्याइदिन आग्रह गरी । तर हामी दुई भाइले उसको माग सम्बोधन गर्ने साहस गर्न सकेनौँ । फलतः ऊ आँट गरेर आफैं स्कुल गई । अनि त्यो स्कुल नपढ्ने शर्तमा नौ कक्षा उतीर्णको प्रमाण पत्र बनाएर ऊ गाउँ फर्किई । गाउँ फर्किदा बाले भर्खर शिक्षण पेसाबाट अवकाश लिनुभएको थियो । गीता, भागवत, महाभारतको अध्ययनमा बा त्यतिबेला लागिरहनुभएको थियो । जब ऊ नौ फेल भएर गाउँ फर्किई तब बाले आफ्नो पढाइ छाड्नुभयो । अब पूरै ध्यान उसमाथि केन्द्रित गर्नुभयो । बाले हामीलाई पटकपटक भन्नुभयो, ‘तिमीहरुले बहिनीलाई पढाएनौँ ।’ हामी नाजवाफ भयौँ । आमाले भन्नुहुन्थ्यो, ‘तिमीहरुका बाले बहिनी आए पछि आफ्ना किताब त छाड्नुभयो नै टिभी पनि हेर्न छाडिदिनुभयो र उसलाई पढाउनुभयो ।’ बाले नेपाली र संस्कृत विषयमा दख्खल राख्नुहुन्थ्यो । अरु विषय बाका जानकारीमा हुने कुरा भएन । तर उसका सबै विषय हेर्नुभयो । नभन्दै नौ फेल भएर पनि उतीर्णको प्रमाणपत्र लिई दश कक्षा अध्ययन गर्न गाउँ गएकी बहिनीलाई बाले एसएलसीमा एकैपटकमा दोस्रो श्रेणीमा उतीर्ण गर्न सक्ने बनाउनुभयो । हामी सबै चित्त खायौँ । बाले आफ्नो करिअर त्यागेर छोरीको करिअर बनाउनुभयो ।

के अहिलेका आमाबाबुले छोराछोरीका लागि आफ्नो करिअर त्याग्न सकौंला ? सक्नुपर्छ । सत्य तीतो हुन्छ । माने पनि नमाने पनि हामीले हाम्रो करिअर छोराछोरीका लागि त्याग्नैपर्छ । आज अमेरिका, जापान, कोरिया छोराछोरी छाडेर जाने आमाबाबुलाई छोराछोरीप्रति कुनै अधिकार हुनेछैन, भविष्यमा । व्यावसायिक र व्यस्त बन्दै गएको संसारमा पनि हामीले हाम्रा छोराछोरीका लागि समय निकाल्नै पर्नेछ । पैसाले मात्रै बाबुआमाको अभाव पूरा गर्न सक्ने छैन । पैसाले सबै आउँछ तर शिक्षा आउँदैन । तपाईंले पूर्वीय पाश्चात्य दुवै दर्शन र जीवनको सामान्य जानकारी राख्नुभयो भने पनि पाँच वर्षभन्दा पहिला किताब त छुन त दुवै संसारमा पाइदैंन । किताबी अध्ययनको सुरुवात यी दुवै दर्शनले आठ नौ वर्षतिर नै गराएको देखिन्छ । तर आजकाल हामी के गर्दछौँ ? सानैबाट किताबको भारी बोकाइदिदैं छौँ । यसले बालबालिकाको भविष्य चौपट भएको छ । त्यसकारण कम्तीमा पाँच वर्षसम्म तपाईंका बालबालिका तपाईंकै काखमा हुन जरुरी छ । त्यो बालबालिकाको नैसर्गिक अधिकारको कुरा पनि हो । आमा र बा नै उनीहरुका पहिलो शिक्षक हुन् । युसुफ जाइ मलालाले भनेजस्तै एक शिक्षक एक विद्यार्थी बाबुआमा नै शिक्षक बन्दा मात्रै सम्भव छ । त्यसो भयो भने बालबालिकाको पुस्तकप्रति रूचि जगाउन सकिनेछ । जति ढिलो उनीहरु किताबको सम्पर्कमा आए त्यति छिटो बालबालिकालाई किताबप्रति रूचि जाग्नेछ । पुस्तकप्रति रूचि जाग्यो भने उनीहरूको पढाइ राम्रो हुन्छ ।

कलिला बालबालिकालाई लगाइएका अहिलेका किताब के उचित छन् ? कदापि छैनन् । यी सबै पत्रु छन् । यी त बालबालिकाका लागि त के चटपटे व्यापारीका लागि पनि उपयोगी छैनन् । बालबालिकाको त पाठ्यक्रम समेत छैन । शिक्षाको सिद्धान्त नै छ, ‘सरलबाट जटिलतिर ।’ तर यी पुस्तकहरु पाका मान्छेलाई पनि पढ्न गारो छ । सजिलो कुराबाट बालबालिकालाई सिकाउँदै जाने हो भने बालबालिकाको पढाइमा रूचि बढ्छ । हरेक मानिसलाई सुत्दा बिस्तरा सजिलो चाहिन्छ । हिड्दा बाटो सजिलो हुनुपर्छ । कुर्सी, सोफा वा बेन्चमा बस्दा समेत मानिस सजिलोका लागि ज्यानलाई आफ्नै किसिमले लच्काइरहेको हुन्छ । शारीरिक अभ्यास गर्दा पनि मानिस पहिला सजिला सजिला अभ्यास गरेर जटिल अभ्यासतिर लागिरहेको हुन्छ । तर यी किताबले त एकैचोटि बालबालिकालाई भए नभएको ज्ञान थोपरेका छन् ।

हामीलाई धेरै शाब्दिक जटिलता र विषयगत गहिराइ भए बालबालिका जान्ने हुन्छ भन्ने लाग्दो हो । उनीहरु त सामान्य कुराबाट जान्ने हुनसक्छन् । यी अहिलेका पुस्तकहरुले त बालबालिकाको पढाइप्रति अरूचि सिर्जना गरिरहेका छन् । उनीहरुलाई पुस्तकदेखि डराउने रोग लगाइरहेका छन् । बीचमा पढाइ छाड्नुको मुख्य कारण बनेका छन्, यी । यदि सरकारले आफ्नो सबै तागत शिक्षा क्षेत्रमा लगाउने हो भने बालबालिकाको पाठ्यक्रम र पाठ्यपुस्तकमै निर्माणमा लगाउनुपर्ने देखिन्छ । तल्लो तहमा पढिएका पाठ्यक्रम बिनाका किताबका कारण नै अहिलेको युवापुस्ता विदेश पलायन भइरहेको छ । उनीहरुलाई आफ्नो देश, आफ्नो गाउँ, टोलको शिक्षा होइन विदेशको कहाँ हो कहाँको शिक्षा दिइएको छ । फोटो पनि उतैको छ । विषय पनि उतैको । अनि कसरी बस्ने स्वदेश ?

बालबालिकालाई पुस्तकप्रतिको आकर्षण जगाउने वा पुस्तकलाई बालबालिकाले खेलौनाको रूपमा प्रयोग गर्न उनीहरूका आफ्नै रैथाने विषय पुस्तकमा समेटिनुपर्दछ । स्कुल तहका अहिलेका पुस्तक आधाभन्दा बढी बेकार छन् । बालबालिकाका लागि बोझ छन् । ती घटाइनुपर्छ । अधिकांश अभिभावकको बानी हुन्छ, ‘छोराछोरीलाई पढ पढ’ भन्ने । पढेन भनेर गाली गर्ने । कराउने । पिट्ने । तर हिंसा कुनै पनि कुराको समाधान होइन । कुनै पनि प्रकारको हिंसाले त विध्वंशबाहेक केही पनि ल्याउँदैन । त्यसैले बालबालिकालाई घरका ससाना काममा सहभागी गराएर उनीहरुलाई व्यस्त राख्नु आवश्यक छ । व्यस्त राख्दा उनीहरुको शारीरिक मानसिक तदुरुस्ती बढ्ने कुरा शिक्षाका सिद्धान्त र व्यवाहरले पुष्टि गरेकै छन् । ‘पढ पढ’ भनेर गाली गर्नुभन्दा नजिक बसेर के पढ्यौँ लेख्यौँ भनेर हेर्न आवश्यक छ । त्यसरी हेर्दा उनीहरुको पढाइमा ध्यान पु¥याउन सकिन्छ । पढेको लेखेको हेर्नलाई आफूले पढ्न लेख्न जान्नैपर्छ भन्ने पनि छैन । तर अधिकांश अभिभावक साक्षर त भइसकेको अवस्था छ । त्यसैले अभिभावकले मैले जान्दिन भन्न जरुरी छैन । तल्ला कक्षाहरुमा लेखाइलाई भन्दा पढाइलाई जोड दिने र गणितका चार साधारण नियमहरु सिकाउन सक्ने हो भने सबै कुरा पुग्छ । छोराछोरीले नेपाली अंग्रेजी सरर पढ्न सक्छ सक्दैनन ? जोड, घटाउ, गुणन, भाग गर्न जान्दछन् कि जान्दैनन् ? यी कुरा हेरे धेरै पुग्छ । यी कुरा हेर्न सक्ने अवस्थामा धेरै अभिभावकहरु हुनुहुन्छ ।

पुस्तकालय घरमा पनि आवश्यक छ । नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजीका पुस्तकहरु राख्न सकिन्छ । बालबालिकाले त्यस्ता पुस्तकमध्ये कुनै एक निकालेर हेरे, खेलाए वा च्याते भने पनि खुशी हुन सकिन्छ । रिसाउन पर्ने हुँदैन । चित्र हेरेर हाँस्न सक्छन् । अक्षर पढ्न सक्छन् । पुस्तक सङ्ख्या गन्न सक्छन् । त्यही जोड घटाउ आदिआदि हिसाब गर्न सक्छन् । नेपाली अंग्रेजी अक्षर चिन्न सक्छन् । त्यसैले पुस्तक किन्दा खर्च भएको ठान्नु हुँदैन । बच्चाको उज्ज्वल भविष्यका ती हतियार हुन् । मन फुकाएर किताब किन्नुस् । अनि ल्याएर घरमा राख्नुस् । फाल्नुस् । छर्नुस् । किताबको सम्मान गर्न सिकाउनुस् । अक्षरलाई कुच्नु हुँदैन । अक्षरलाई थुक्नु हुँदैन भन्ने सिकाउनुस् ।

अब हामी भूमण्डलीकरणको चपेटामा परिसकेका छौँ । चाहेर वा नचाहेर पनि मोबाइल, टिभी आदिबाट हामी छुट्टिन सक्दैनौँ । यी मध्ये बालबालिकालाई टिभी नै उपयुक्त छ किनभने टिभीमा समयसमयमा विज्ञापन आउँछ । विज्ञापन आउँदा बालबालिकाले टिभी हेर्न छाडेर अन्यत्र मन लगाउँछन् । यसले एकछिन भने उनीहरुलाई एकोकोहोरो स्क्रिनमा हेरिरहने बानी छुट्छ । मोबाइलमा आउने विज्ञापन काट्ने सुविधा हुन्छ तर टिभीमा त्यो हुँदैन । टिभीमा पनि कन्जुस्याँइ गर्नु हुँदैन, नेट टिभी जोडेर । केवल वा डिस होम नै जोड्नुपर्छ । त्यसैले मोबाइलभन्दा टिभी जोड्नु आवश्यक छ । बालबालिकाका लागि टिभी उपयोगी छ । टिभीमा सम्पादित सामग्री मात्र आउँछन् तर मोबाइलमा त जस्ता सामग्रीहरू पनि आउन सक्छन् ।

आफ्ना छोराछोरीको पढाइ कस्तो छ भन्ने कुरा थाहा पाउन मसिनो गरी उनीहरुका आनीबानी हेरे पुग्छ । कापी पूरै लेखेका छन् कि छैनन् ? च्यातेका छन् कि छैनन् ? एक दुई पाना लेखेर फालेको छन् कि छैनन् ? कापीमा लेख्दा पछाडिबाट लेख्छन् कि अगाडिबाट लेख्छन् ? कलम ठीक छ कि छैन ? कलमको बिर्को छ वा छैन ? किताबको सुरक्षा गरेका छन् वा छैनन् ? कलम टोक्छन् या टोक्दैनन् ? लगायतका यी कुराहरु हेर्नु आवश्यक छन् । यदि सबै ठिकठाक राखेका छन् । कापी अगाडिबाटै लेख्छन् । कलम टोक्दैनन् । कलमले चाहेका बेला लेख्छ । बिर्को छ । कापी दुई लाइन लेखेर फालेका छैनन् भने उनीहरुको पढाइ ठिक छ होइन भने उनीहरुको पढाइले लिक छाडेको छ भन्ने बुझें हुन्छ । आजकाल अभिभावकले छोराछोरीलाई एउटा कापी चाहियो भने एकैपटक दर्जन कापी र कलमको मसी सकियो भने दर्जन बुलेट किनिदिने चलन छ । यस्तैयस्तै आवश्यक कुरा मात्राभन्दा धेरै किनिदिने गरिन्छ । यो बालबालिकाको शिक्षाका लागि उचित छैन । जति आवश्यक छ त्यति मात्रै किनिदिने चलन बसाल्नु आवश्यक छ ।

छोराछोरीको पढाइ बिग्रियो भने उनीहरुलाई माया नगर्ने अभिभावक पनि हुनुहोला । तर यसो गर्नु राम्रो होइन । नौ वा दश कक्षा र सोभन्दा माथि पुगेर विद्यार्थीहरुले आफ्नो पढाइ सुधारेका पर्याप्त उदाहरण छन् । त्यसकारण बालबालिकालाई नौ दश पुग्दा पढ्न जानेनन् भनेर हेला नगर्नुस् । तपाईले एकाध घन्टा मात्रै उनीहरुको पढाइका लागि त्याग गर्नुभयो नौ दश कक्षामा गएर पनि सुधार गर्न सकिन्छ । तपाईंको माया र पढाइका बीचमा कुनै सम्बन्ध हुँदैन । पढ्न रूचि नराख्ने व्यक्ति समाजसेवामा बढी अग्रसर हुन सक्छ । राजनीति, खेलकुद, गायन, नृत्य आदिआदि क्षेत्रमा उसको रूचि हुनसक्छ । यी कुरालाई ध्यान दिएर उनीहरुलाई अवसर दिनुस् । पढ्न नजानेको मान्छे भविष्यमा सफल व्यापारी वा खेलाडी पनि त हुनसक्छ । त्यसकारण बाबु आमाले नै हीनताबोध गराइदिनु हुँदैन । बरु प्रोत्साहन गरिरहनु आवश्यक छ । शिक्षा त आधारभूत तहको मात्रै हो, सबैका लागि चाहिने ।

बालबालिकालाई पढ्ने स्थान कुन ? यो सबैभन्दा महत्वपूर्ण कुरा हो । दिनभरी डेस्क बेन्चमा बसेर थाकेका बालबालिकालाई सबैभन्दा उचित स्थान भुँइ नै हो । भुँइमा उसले शरीरलाई आफ्नो मनपरी राख्न सक्छ । भुँइमा पढ्नुका अनेका फाइदा पनि छन् । निद्रा लाग्दैन । पढाइमा ध्यान जान्छ । लेख्न सजिलो हुन्छ । त्यसैले बिस्तारा, सोफा, बेन्च टेबुल होइन भुँइमा पढाउने बानी बसाल्नु आवश्यक हुन्छ । भुँइमा बस्ने प्रबन्ध मिलाउनु आवश्यक छ ।

नेपालमा अङ्ग्रेजी मिडियम फेलको सङ्घारमा छ । यो एउटा कमाइ खाने भाँडो बन्यो । नभए संविधानले गाउँपालिकालाई नै शिक्षा दियो । दार्चुलाको कुनै नगरपालिका र बागलुङको कुनै गाउँपालिकालाई कस्तो शिक्षा चाहिन्छ भन्ने अभ्यास तत्तत् पालिकाहरुले गर्न सक्नेछन् । यो अभ्यास ढिलो चाँडो त प्रयोगमा आउँछ नै । त्यसैले अंग्रेजीको पछि नलाग्नुस् । घरमा पनि सबै अंग्रेजी बोल्न जान्ने भए अंग्रेजीको मोह राख्दा हुने थियो । तर वातावरण त्यस्तो त छैन । त्यसैले अंग्रेजीप्रति वास्तापास्ता नराख्दा नै राम्रो । जानेन भनेर कराउनु पनि पर्दैन । पन्ध्र बीस दिन एक महिनामा संसारका जुनसुकै भाषा सिक्न सकिन्छ । भाषा कम उमेरका मानिसहरुले छिटो र बढी उमेरकाले ढिलो सिक्छन्, फरक त्यति हो ।

अभिभावक, शिक्षक र बालबालिकाका ओदानका तिन खुट्टा हुन् । एकको अभावमा अर्कोले राम्ररी काम गर्न सक्दैन । अभिभावकको अझ विशेष भूमिका रहन्छ । पैसा तिरेका छाँै, बालबालिकाको पढाइ राम्रो हुनैपर्छ । स्कुलले गरिदिनै पर्छ भन्ने भूल नगर्नुहोला । बरु पैसा नतिरीकन पनि पढाउन पाइन्छ तर बालबालिकाको भविष्य पैसाले किन्न सकिन्न । छोराछोरीका लागि आफ्नो करिअर कुर्वानी त गर्नैपर्छ । बिन्ती !
तपाईंहरूको
शिवशरण ज्ञवाली

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *