शुभेक्षा पन्त
कानुन कुनै पनि समाज, राष्ट्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी नागरिकलाई हकहित, अधिकार, कर्तव्य, दायित्व, उत्तरदायित्व, न्याय प्रदान गरी अन्याय गर्ने व्यक्तिलाई दण्ड, सजायको भागीदार गराई राज्यमा सुशासन कायम गरी सुदृढ र सक्षम राष्ट्र गराउने एक महत्वपूर्ण लिखित दस्तावेज हो । न्याय, शान्तिमय जीवन र सामाजिक सुरक्षाको दृष्टिकोणले मानिसहरुको व्यवहारलाई नियन्त्रण र नियमन गर्न समाजका सदस्यहरुद्वारा स्वयम् लागू गरिएको विषय हो कानुन । मानिसको गतिविधि र व्यवहारलाई निर्देशित र नियन्त्रित गर्नु नै कानुनको मुख्य काम हो । समाजमा रहेका विभिन्न स्वार्थहरुलाई सन्तुलन गरी सामाजिक आवश्यकता पूर्ति गर्ने माध्यम कानुन हो ।
कानून हाम्रो दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण भाग बनेको छ । कानूनको सिद्धान्त अनुसार सबैले कानून जानेको र बुझेको हुनु पर्दछ । कुनै पनि व्यक्ति, निकायले मैले कानून नबुझेर, नजानेर अथवा थाहा नपाएर गल्ती काम गरे भनेर छुट पाइदैन । सबैमा कानूनको ज्ञान आवश्यक पर्दछ । कानून स्पष्ट, निश्चित हुन्छ, त्यसैले आफूसँग सम्बन्धित र आफ्नो क्षेत्रसँग सम्बन्धित कानूनको जानकारी राख्नु सबै व्यक्तिको अधिकार र कर्तव्य हो ।
यस विसयमा मुलुकी देवानी संहिता, २०७४ को दफा ८ मा व्यवस्था गरिएको छ । फौजदारी कानून वा देवानी कानून जुनसुकै भएता पनि कानून नबुझेर गल्ती गरे भनेर कानूनी प्रतिरक्षा लिन सकिदैन ।
आफूले कानुन नबुझेमा कहिले, कहाँ, कसरी आफू अन्यायमा परे भन्ने कुराको ज्ञान पनि हुदैन र अरुको हक, अधिकारको पनि आफूबाट हनन हुन सक्छ । फौजदारी कानुनमा कसुर हुनका लागि अपराधिक कार्य र दुषित मनसाय अनिवार्य तत्व मानिन्छ । यी दुई मध्ये कुनै एकको अभावमा अपराध हुन सक्दैन । त्यसैले हामीले कानून नबुझेर गरेको गल्तीमा अपराधिक कार्य वा अपराधिक मनसाय मध्ये एक भएन भने हामी सजायको भागीदार भने हुनु पर्दैन । यद्यपि दुई नै छ, भन्ने अजानमा गरेको गल्ती भएपनी कानुनी कारवाही हुन्छ ।
कानुनको अज्ञानताको कुनै बाहना हुँदैन । मानिसहरुले कानून थाहा छैन भनेर दावी गरेर आफ्नो कार्यको रक्षा गर्न सक्दैनन् । जसलाई कानुले स्विकार गर्दैन । यसको अर्थ सबै नागरिक वा हामीहरु कानूनी विशेषज्ञहरु हुनु पर्छ भन्ने होइन, तर पनि कहीँकतैबाट आफ्नो हक, हित हनन हुन्छ कि अथवा मेरो सानो गल्तीले अर्को कुनै व्यक्तिले पाउने अधिकारको हनन हुन्छ कि ? भन्ने कुराहरु थाहा पाउनका लागि सामान्य रुपमा भए पनि कानूनको ज्ञान हामी सबै नागरिकमा हुन जरुरी पर्दछ ।
हामीले हाम्रो दैनिक जीवनमा हुने एक सम्झौता भंग गरेर वा अरु कुनै व्यक्तिलाई बेवास्ता गरेर, उसको बारेमा चाहिने नचाहिने कुरा गर्दा कानुनले के गर्दछ र ? भन्ने लागेर कुनै क्रियाकलाप गर्नु हुँदैन । किनकी, कुनै पनि व्यक्तिको गोपनियताको भंग गर्नु पनि अपराध हो ।
हामीले कहिलेकाहीँ सही काम गरेका छौँ भन्ने लागे पनि कहीँकतैबाट गल्ती भएको हुनसक्छ । जुन गल्ती कानूनले नै गर्नु हुदैन भनेको हुन्छ, त्यसमा त हामी सजायको भागीदार बनिन्छ । कानुनी मूल्य, मान्यता, व्यवस्था, दण्ड सजायको व्यवस्थाको बारेमा बुभ्नु सबै नागरिकको कर्तव्य हुन्छ । त्यसैले सबै नागरिकमा कानूनको सामान्य ज्ञान हुन जरुरी हुन्छ ।
हाम्रो दैनिक जीवनमा कुनै न कुनै तरिकाले कानुनी सल्लाह आवश्यक पर्दछ । यस्तो अवस्थामा हामीलाई कानुनी व्यवसायीहरूको सल्लाह चाहिन्छ । उनीहरूले कानुनी अधिकारहरूको बारेमा सम्पूर्ण व्यक्तिलाई सल्लाह दिन्छन् र कुनै खास मामिलामा कारबाहीको सुझाव दिन्छन् । दक्ष वकिलहरूको साथ अनुभव र अभ्यास मार्फत प्राप्त व्यावसायिक योग्यता हासिल गर्न र सफलता हात पार्न यो बिषय महत्वपूर्ण छ ।
नेपालमा कानुनको व्यापक क्षेत्र र अवसर छ । कानून एक महत्पुर्ण विषय हो, जसको अध्ययनले मानिसलाई सबैभन्दा व्यावहारिक व्यक्ति बनाउँदछ । समाजबाट नकारात्मक चिजलाई निरुत्साहित गर्दै समाजलाई सही पथमा ल्याउन मद्दत गर्दछ ।
कानुनी शिक्षाको प्रमुख लक्ष्य वकिलहरुलाई मात्र उत्पादन गर्नु होइन । कानुनी शिक्षाको सब भन्दा महत्वपूर्ण उद्देश्यले समाजमा भएका नकारात्मक कार्यको अन्त्य गर्नु हो । विकासका लागि उपर्युक्त वातावरण सिर्जना गर्न, समाजमा शान्ति सुव्यवस्था कायम गर्न, सामाजिक आवश्यकता पुरा गर्न सहयोग गर्न, सामाजिक न्याय प्राप्त गर्न सहयोग गर्न, समाजका सदस्यहरु बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग गर्न, समाजमा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कानून महत्वपूर्ण हुन्छ ।
दैनिक रुपमा, हामीले अहिले देखेका र सुनेका छौँ, बलात्कार र हत्याका घटनाहरुका साथै भ्रष्टाचार र अनेकौँ कानून विपरीतका कार्यहरु भईरहेका छन् । यसको अन्त्य गर्न, महत्वपूर्ण आलोचनात्मक सोच र निर्णय गर्ने कौशलको विकास गर्न कानून विषय अध्ययन महत्वपूर्ण हुन्छ । वर्तमानमा, कानून सबै भन्दा गतिशील र बढ्दो क्षेत्रहरु मध्ये एक सबै व्यक्तिमा न्यायकाे ज्ञान हुन जरूरी हुन्छ ।