पर्वत जिल्लाको मोती पुस्तकालयको भ्रमण अनुभव

याम बहादुर थापा मगर
पर्वत जिल्लाको पहिचान
पर्वत जिल्ला अक्षांशिय फैलावट २७ डिग्री ०० मिनेट र १९ सकेन्ड देखि २८ डिग्री २३ मिनेट २३ मिनेट ५९ सेकेन्ड उत्तरी अक्षांस र देशान्तरीय फैलावट ८३ डिग्री ३३ मिनेट ४० सेकेन्ड पूर्वाी देशान्तरमा फैलिएको छ । पर्वत जिल्लाको सबैभन्दा होचो भाग सेतीवेणी ५२० मिटर र सबै भन्दा अग्लो भाग हम्पालको लेक ३३०९ मिटर रहेको छ । देउपुरको जस्तो खेतीपाती, बाँजुङको जस्तो गाउँ, उराठ लाग्दो दुर्लुङको डाँडा मोहनी लाग्दो पाङ भन्ने चर्चित भनाइ रहदै आएको पाउन सकिन्छ । तर अहिले दुर्लुङको डाँडा उराठ लाग्दो नभएर स्थानीय नेता नेपाल कम्प्युनिष्ट पार्टी एमालेका नेता पदम गिरीले धेरै विकास गरेकाले राम्र्रो दुर्लुङको डाँडा भएको बताउँछन् । पर्वत जिल्ला राजनीतिक,शैक्षिक, प्रशासनिक र सांस्कृतिक रुपमा धेरै अगाडी भएको पाउन सकिन्छ । पर्वतको फलेवास खानी गाउँमा डाक्टर पिताम्बर शर्मा, धवलागिरी बहुमुखी क्याम्पस बागलुङको क्याम्पस प्रमुख जगनाथ लम्साल, काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नेपालको कान्छो सह सचिव प्रदिप परियार, नेपाल बैक लिमिटेड शाखा बागलुङका शाखा प्रबन्धक अमृत सेवा, मुटु रोग विशेषज्ञ डा. कमल प्रसाद लम्साल, गण्डकी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल लगायत थुप्रै चर्चित व्यक्तिहरुको जन्म स्थान भएको फलेवास, खानी गाऊँ हो ।

फलेवास गाउँ र भकुण्डे गाउँ बीचको सम्बन्ध
फलेवास गाउँ मेरो जन्म स्थान भएको बागलुङ भकुण्डेमा पुरानो सम्बन्ध रहेको छ । गलुवा तिरका युवा विद्यार्थीहरु भवानी विद्यापिठ विद्यालय फलेवासमा अध्ययन गर्न जान्थे । फलेवासमा मंसिर महिनामा धान लिएर आलुको विऊ साटनको लागि थुप्रै मानिसहरु आउने गर्दथे । दुई पाथी धानको सट्टामा एक पाथी आलु साटफेर गर्ने प्रणालीलाई दुनेमा आलु साँटने गर्दथे । आलु राम्रो उत्पादन भएको मौसममा डेरी प्रणाली अर्थात एक पाथी चार माना धानको साटोमा आलु एक पाथी साटासाट हुन्थ्यो । चामल लगेमा सरीमा आलु साटफेर हुन्थ्यो । फलेवास, अमलाचौर, नारायणस्थान पैयुँपाटा, कुश्मीशेराका थुप्रै मानिसहरु घुइरो लाएर आउँथे । तर अहिले यातायातको विकास र विस्तारले गर्दा मोटरवाटो खन्दा तथा कृषि खेती प्रणालीमा परिर्वतन भएकोले धान,कोदो,मकैबाट आलु साटेर खेती प्रणाली हराउँदै गएको छ । फलेवासका बुढाबढीहरु प्राय सबै आलु लिनको लागि भकुण्डे गाउँमा पुगेको हुनु पर्दछ ।

मोती पुस्तकालयको सन्दर्भ
म विद्यामन्दिर पुस्तकालय, बागलुङको आजिवन सदस्य तथा उत्कृष्ट पाठक वर्ष २०६७ भएको सन्दर्भमा पुस्तकालय प्रतिको लगाव बढदै गएको थियो । मैले साविकको महेन्द्र बहुमुखी क्याम्पस हाल धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा पुस्तकालयका बारेमा विचार गोष्ठी संचालन गरेको समयमा पहिलो पटक मोती पुस्तकालय,फलेवास पर्वतको नाम सुनेको थिए । सायद त्यो समय वि.स. २०५४ साल तिर हुनु पर्दछ । बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयमा नियमित अध्ययन गर्न जादाँ ममा गहिरो प्रभाव परेको थियो । पर्वत जिल्लाको भुगोलका बारेमा मलाई खासै थाहा थिएन । समय मिलाएर फलेवास जानुपर्दछ भन्ने मनमा लागेको थियो । दुई तिन चोटी जाने योजना बनाए पनि असफल भएको थियो । मोती पुस्तकालयका अध्यक्षसँग फोन समेत भयो । तर उहाँको कार्यव्यस्ताले जिल्ला बाहिर भएको भन्ने जानकारी प्राप्त भयो । जिल्ला खेलकुद विकास समिति,बागलुङका कार्यालय प्रमुख राजेश बाँस्कोटाले जिल्ला खेलकुद विकास समिति पर्वतका कार्यालय प्रमुख जगदिश …सँग फोन सम्पर्क भएपछि मोति पुस्तकालयका ध्रुव लम्साल र पुस्तकालयका कर्मचारी सुशिला देवी शर्मा लम्सालसगँ सम्पर्क भएपछि हामी दुई जना बिदाको दिन भएपनि मोति पुस्तकालय भ्रमणका लागि बागलुङ बजारबाट यात्रा सुरुवात गरयौ । फलेवास खानीगाउँ जाने समयमा बिदाको दिनमा भएकोेले भेटघाट गर्ने साथीहरुलाई पुगेर फोन गर्दा पुस्तकालय परिसरमा ध्रुव लम्साल लगायत रेडियो पर्वत एफ.एम.का साथीहरु जम्मा भएको थिए ।

मोति पुस्तकालय फलेवासमा एक भाइ स्वर्गिय मोति प्रसाद लम्साल र अर्का भाइ भवानी प्रसाद लम्मालको नामबाट भवानी विद्यापिठ माध्यमिक विद्यालय नामबाट राखेका रहेछन । एउटा कोठाबाट मोती पुस्कालय सुरुवात वि.स.२०१६ सालबाट गरेका रहेछन् । सस्थापक भोलानाथ शर्माको योगदान बढी मात्रामा रहेछ । मोती पुस्तकालयमा एक्काइस हजार भन्दा बढी पुस्तकहरु सकलन भएको छ । पुस्तकालय मार्फत महिला सहकारी समेत सञ्चालन गरेको पाइयो । महिलाहरुको उद्यमशिलता विकास तालिम मार्फत सेनीटरी प्याड बनाउने तालिम मार्फत प्याड निर्माण गरेको र भण्डारमा बनाएका प्याडहरु राखेको पाइयो । स्थानीय तहसँग समन्वय र सहभागीता जनाई बेचविखन गर्न सकिन्छ भन्दा स्थानीय तहलाई पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेको पुस्तकालयका कर्मचारीले बताउनुभयो । पुस्तकालयलाई लागि दिनको एक रुपियाँ सहयोग गर्नका लागि खुल्ला रुपमा देश व्यापी आब्हान गरेको र थुप्रै मनकारी सहयोग दाताहरुले सो अभियानमा हातेमालो गर्न सफल भएको प्रगती सुनाउनु भयो ।

मोती सामुदायिक पुस्तकालयले वि.स.२०६० साल असोजमा मोती नामक समसायीक सकंलन किताब प्रकाशन गरी त्यस पुस्तक बिक्रीबाट संकलन भएको रकमबाट घडेरी खरिद गरेका रहेछन् । रुम टु रिड नेपालको आर्थिक र प्राविधिक सहयोगमा भवन निर्माण भएको रहेछ । नियमित पुस्तकालयका अलवा सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय संचालन गर्ने, मोती सामुदायिक सिकाइ केन्द्र, प्राविधिक ज्ञान सेवा कार्यक्रम, मोती सामुदायिक पुस्तकालय महिला वचत तथा ऋण सहकारी संस्था लि., सुरक्षित आप्रवासान परियोजना ( दियो) कार्यक्रम, मोती महिला सिलाई कटाई उद्योग, पुस्तकालय अक्षयकोष अभियान, पुस्तकालय अक्षयकोष अभियान, दिनको एक रुपयाँ सहयोग अभियान कार्यक्रम नियमित रुपमा सञ्चालन भएका छन् ।

मोती पुस्तकालयका उत्पादन
मोती सामुदायिक पुस्तकालयमा भरसक काठमाडौमा नयाँ पुस्तक प्रकाशित हुदाँसाथ भोलानाथ शर्माले पुस्तकालयलाई पठाइहाल्नु हुन्छ । केही प्रकाशक र लेखकहरुले सौजन्यका रुपमा निशुल्क पुस्तक उपलब्धसमेत गराउने गरेको जानकारी पुस्तकालयका सल्लाहकार ध्रुव लम्सालले बताउनुभयो । मोती सामुदायिक पुस्तकालयको उपयोग र अध्ययनबाट उत्पादन भएका अब्बल दर्जाका जनशक्तिहरु मध्ये नेपाल सरकारका सह सचिव तथा काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार धेरै मध्ये एक हुन् । नेपाल बैक लिमिटेड शाखा बागलुङका शाखा प्रबन्धक अमृत सेवा लगायत खानीगाउँ फलेवास निवासी थुप्रै विद्यार्थी युवाहरु लाभान्वित भएका छन । अहिले इन्टरनेटको विकासले केही कमी आएपनि बाल विकास सिकाइ केन्द्रमा विद्यालयका बालबालिकाहरुको बाक्लो उपस्थित हुने गरेको पाइयो । इपुस्कालयको प्रयोग केही समय गरेको तर इपुस्तकालय वार्षिक नविकरण गर्नु पर्ने तथा सिमित किताबहरु मात्र अध्ययन गर्नु पर्ने भएकोले पुस्तकालयका पाठकहरुको अभिरुचि नभएको सुशिला शर्मा लम्सालले बताउनुभयो । इबुकका बारेमा भने राम्रोसँग अभ्यास र प्रयोग नभएकोले पाठकहरुको बढी मात्रामा गुगल सर्च गरेर नै ज्ञानको भोक मेटाउने गरेको जानकारी भयो । म पनि व्यक्तिगत रुपमा सुचना र प्रविधिको अल्पज्ञानका कारण बढी ज्ञान हासिल गर्नका इबुक, इपुस्तकालयका बारेमा बढी प्रयोग गर्न खोजेको थिए । तर अझै पनि जति मात्रामा जानकारी लिन खोजेको हो सो बारेमा विस्तृत तरिकाले जानकारी प्राप्त हुन सकेन ।

मोती पुस्तकालयबाट स्थापना र त्यसको उपयोगले थुप्रै बेरोजगार युवालाई आयोगहरुको परिक्षामा सफलता हासिल गर्नका लागि सारथी बनेको उदाहरण फलेवास गाऊँमा प्रशस्त मात्रामा पाइन्छ । देशका विभिन्न निकायका पदहरुमा नियुक्ति तथा प्रतिनिधित्व रहेको पाउन सकिन्छ । मोती पुस्तकालयको प्रभावले उत्पादन भएका जनशक्तिहरु लेखाजोखा सही मात्रामा गर्न बाँकी रहेको जस्तो लाग्यो ।

बीबीसी चोकको सन्दर्भ
फलेवास जाने बाटोमा सडकको साइडमा विविसी चोक लेखेको साइनबोर्ड देखेपछि टक्क अडिएर फोटो खिच्न मन लाग्यो । किन विविसी चोक नाम राखियो होला भनी मनमा जिज्ञासा लाग्यो । बाटोमा चिनेजानेका कोही थिएनन् । पुस्तकालयमा वार्तालाप गर्ने समयमा एक आपसमा परिचय भएपछि विविसी चोक बारेमा जानकारी लिने प्रयास भयो । रेडियो सशक्त माध्यम भएको जमानामा बेलुकी पख रेडियोमा विविसी नेपाली सेवा सुन्ने र विहान पख चियापान कार्यक्रम गाउँभरका मानिसहरु जम्मा भएर एक आपसका देश विदेशका घटना परिघटनाबारेमा छलफल चलाउँदै विविसी नेपाली सेवाको समाचार, विश्लेषणका बारेमा तर्क वितर्क गर्ने स्थल भएकोले विविसी चोक नाम राखेको हो भनी जानकारी दिनु भयो । समाजमा टाठा बाठा मानिसहरुले अबुझ मानिसलाई बुझाउने गर्दथे रे । रेडियो प्रशारणबाट हुने विविध कार्यक्रमहरुको बारेमा जानकारी दिने परिपाटी रहेछ । मेरो जन्मस्थान भकुण्डे, धौलेचउर देखि निफन्नी जैसीथर गाउँमा पनि निफन्नी गाउँ भरीका मानिसहरु विहानको समयमा चिया पिउन डिठाको पसल (उमानाथ शर्माको डाँडाको घरं ) मा थुप्रै मानिसहरुको जमघट भै गाउँघरमा भएका नयाँ नयाँ खबरहरु जानकारी पाउने केन्द्र थियो । सायद त्यो चिया पसलमा पनि विविसिका समाचार, रेडियो नेपालका समाचारका विषयमा छलफल हुन्थ्यो वा हुन्थेन मलाई थाहा भएन ।

म विगतमा पत्रकारितामा पेशामा आवद्ध र कार्यरत भएपनि निरन्तरता दिन सकिन । तर मेरा सहकर्मी साथी पत्रकारीता पेशामा नै थिए । तमानखोला गाउँपालिका बोगांदोनमा कामकाज गर्ने समयमा बैकं स्थानीय बजारमा थिएन । सामाजिक सुरक्षा भत्ता बाँडने बेलामा बागलुङ बजारदेखि नै मोटो रकम उच्च जोखिम मोलेर वितरणका लानु पर्ने बाध्यता र विवशता थियो । बागलुङ जिल्लामा विविसी नेपाली सेवाका प्रतिनिधि रविना बोहोरा बहिनी कार्यरत हुनुन्थ्यो । उहाँसग विकट क्षेत्रमा नगदै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आउने समस्या,व्यवधान र समस्या समाधानका लागि साक्षात्कार गर्ने अवसर मिलेको थियो । विविसी नेपाली सेवाका प्रतिनिधि रविना बोहराले लिएको अन्तर्वाता पछि विविसीबाट प्रशारण भएको थियो । विविसी नेपाली सेवा सुन्ने बानी भएका थुप्रै मानिसले सुनेका थिए । विविसी चोकको बाटो यात्रा गर्ने समयमा मैले पनि अन्तर्वाता दिएर मेरो आवाज रेकर्ड भइ प्रशारण भएको वि.स.२०७४ साल तिरको मेरो विगतको घटना आँखा अगाडी झलझली याद बनाएको थियो ।

वाइफाइ चोकको सन्दर्भ
पर्वत जिल्लाको फलेवास नगरपालिका खानी गाऊँ नजिकै वाइफाइ चोक समेत रहेछ । वाइफाइ चोकको नामकरण राख्ने समयमा चोकको व्यापारीले अहिलको सुचना र प्रविधिको विकास भएको सन्दर्भमा सबैका लागि मुखमा झुन्डीने नाम राख्ने प्रस्ताव भएपछि आम टोल बासीले सर्वसम्मत स्वीकार गरेपछि वाइफाइ चोक ना रहन गएको हो । सबैले सजिलै सम्झने र नयाँ तथा नौलो नाम भएकाले टोलबासी समेत वाइफाइ चोक नाम राख्ने बुझाइमा सफलता मिलेको बताउनु हुन्छन । बाहिरका मानिसले कसरी वाइफाइ चोक नाम राखेको हो भनेर खासै सोध्ने नगरेको जानकारी दिनुभयो । कास्की जिल्लाको लुम्ले र काँडको विचमा सहकारी चोक, नवलपुर जिल्लाको काग्रेस चोक, चितवनको नारायणगढको हाकिम चोक नयाँ र नौला नामका चोकहरु मेरो लागि लाग्दछ ।

शताब्दी घरको भ्रमण
शताब्दी घर न्युज पोर्टल र फेसबुक वालहरुमा खुब देखेको र समाचार पढेको हो । प्रत्यक्ष देख्ने र हेर्ने समय मिलेको थिएन । हामी फलेवासबाट फर्कने समयमा हुरी बतास सहित पानी परेको थियो । बाक्लो पानी परेकोले केही समय बाटो छेऊको घरमा ओत लागेर बसेका थियौ । चिया र खाजा कहाँ खाने भन्ने सल्लाह हुदाहुदै कुश्मा बजार खाने सोच बनेको थियो । शिवालय चोक आउनु भन्दा अगाडिको स्थान मैले स्थानीय मानिसलाई शताब्दी घर कहाँ पर्दछ भनी सोध्दा आफुलाई थाहा नभएको बताउनुभयो । आडको अर्को मानिसलाई सोधे उहाँले शताब्दी घर भन्दा पनि गिरीको घर भनी चिनाए । शताब्दी घर चिनेको मान्छेलाई साथै लिएर सो घरको आडमा पुरयाएर मलाई छोडे । दुई जना वृद्ध मानिसहरु बसेको र कलात्मक काठका सामाग्रीहरुले बनाउँदै गरेको नयाँ घर देखियो । आठमा शताब्दी घर लेखेको पुरानो करिव चार सय वर्ष पुरानो भनी उल्लेख गरेको घर भित्र अवलोकन गर्ने र फोटो सेसन गर्ने काम भयो । शताब्दी घरका सोचकर्ता आर.के.अदिप्ती गिरीको वर्णन अनुसार पुस्तकालय बनाउने,आमाको चुल्हो, कफी गफ गर्ने, नाटक थ्रियटर लगायत साना साना भागमा कोठालाई डिजाइन गरिएको रहेछ । पुर्णरुपमा संचालन नभएको अब छिट्टै सचालनमा ल्याउने सोच रहेको जानकारी प्राप्त गरेका थियौ ।

पठन संस्कृति सञ्चालन अभियान
मोती पुस्तकालयमा सदस्य बनेर पुस्तक घरमा लगेर अध्ययन गर्ने तर निश्चित समय तोकिएको हुने रहेनछ । जति दिन लगाएर अध्ययन गरेर फिर्ता गरेपनि हुने रहेछ । तर म आजिवन सदस्य भएको विद्यामन्दिर पुस्तकालय बागलङमा १५ दिनको लागि घरमा लगेर पुस्तक अध्ययन गर्न पाइने र पन्ध्र्र दिन पछि प्रत्येक दिन एक रुपियाँ दैनिक जरिवाना शुल्क बुझाउने पर्ने नियम छ । मोती पुस्तकालयमा जरिवाना नलिई ऐच्छिक रुपमा एक दिनको एक रुपियाँ स्वेच्छिक दान गर्नु पर्ने अभियान नियमित सञ्चालन भएको रहेछ । गोष्ठी, अन्र्तक्रिया, छलफल कार्यक्रमहरु समय समयमा हुने गरेको सकिन्छ । पाठकको बढी मात्रामा मोबाइल प्रयोग र इन्टरनेटको विकासले गहिराइमा पुगेर अध्ययन गर्ने बानीको अभावलाई चिर्न बाँकी रहेको छ ।

अन्तमा
यात्रा हाम्रो पुरा एकदिनको हो । लामो यात्रा गर्नका लागि हामीलाई समय व्यवस्थापन र आर्थिक श्रोतको अभाव थियो । महिनाको एक पटक शुक्रबार र शनिवार पारेर नयाँ गन्तव्यमा भ्रमण गर्ने योजना मुताविक मोती पुस्तकालयको सन्दर्भ जानकारी भएको हो । पर्वत जिल्लाको बाजुङ, देउपुर, लेसपार, सालिजा गाऊँ नगएको स्थानहरुमा पर्दछन । म पहिलो पटन विद्यालयमा अध्ययन गर्ने समयमा गुप्तेश्वर गुफामा अध्ययन भ्रमण गएको थिए । नेपालको नक्सा निर्माण गरेको कुश्मा बजार नजिकैको स्थानमा मालपोत कार्यालय बुर्तिवाङका सह लेखापाल प्रतिक घर्ती सग गएको थिए । त्यसै सममा दुर्लुङकोटमा समेत छोटो समयका लागि जाने काम भएको थियो ।

पर्वतको पाङ गाँऊ मेरो जन्मस्थान भकुण्डेबाट सिधै अगाडी भएपनि म सुगुरको पाठा खरिद गर्न लागि वि.स. २०६१ साल तिर गएको तर बनौको डाँडामा भने पारिवार सहित धेरै पछि सडक पिच भएको समयमा गएको थिए । पर्वतमा पर्यटनका हिसाबले बढी यात्रा गर्ने स्थानहरु रहेका छन् । आगामी दिनमा थप स्थानहरु भ्रमण गर्ने योजना रहेको छ । पर्वतको बाजुङ गाउँ, लेसपार गाउँ र कार्की नेटा हुर्दै स्याङजाको अर्जुनचौपारी गाउँपालिकाको सिरुवारी जाने योजना समेत बनाउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *