बागलुङ भकुण्डेका मगरहरुको पठन संस्कृति : एक अध्ययन

याम बहादुर थापा मगर
सार

वर्तमान सुचना र प्रविधिको एक्काइसौ शताब्दीको युगमा हरेक क्षेत्रमा प्रतिस्पर्धात्मक सुलभ, सुगम र गुणात्मक सेवाको अपेक्षा गरेका हुन्छन् सबै नागरीकले । तर हामी सबैले घरमा खाने खाद्यान्नदेखि लगाउने लत्ताकपडा, इन्टरनेटदेखि मोबाइलमा राख्ने ब्यालेन्ससम्मका लागि नियमित बजेट ऋण काढेर समेत विनियोजन गर्छौ । तर पठन सस्कृतिलाई सस्थागत विकास गर्नका लागि पुस्तकप्रेमी बन्नका लागि किताब खरिद गर्न हाम्रो समाजमा हामी मध्ये कमैले मात्र बजेट छुट्टाउँछौ । हामी मध्ये धेरै जसोले कहरले किताब किन्ने तर रहर तथा रुचिकर हिसाब कम किताब किन्ने प्रचलन रहेको पाउन सकिन्छ । बागलुङ भकुण्डेका मगर समुदायहरु पठन संस्कृतिमा अरु छिमेकी गाऊँका समुदायहरु भन्दा तुलनात्मक रुपमा पछाडी परेको महशुस भएकोले सामान्य रुपमा गुणात्मक अध्ययन र नतिजा विश्लेषणका आधारमा अध्ययन गरेर विश्लेषण गरिएको छ । आजभोलिका युवा जमात र भावी पुस्ताहरुका लागि सकारात्मक प्रभाव परोस भन्ने अभिप्रायले केही सुझाव, पठन सस्कृति र सकारात्मक सोच बढाउने उपायहरु र पुस्तकालयलाई उपयोगमा ल्याउने तथा मानवससाधन विकासमा अति उत्तम योगदान दिने सर्वाधिक बिक्री भएका पुस्तकहरु अध्ययन गर्ने बानीमा सकारात्मक टेवा पुरयाउँछ भन्ने निष्कर्ष ठानी मगर समुदायका मानिसहरुलाई आत्मबोध बनाउने मुख्य सार तथा उद्धेश्य सानो अनुसन्धानको शोधमा निष्र्कष रहेको छ ।

मुख्य शब्दावलीहरु : पठन सस्कृति, शिक्षा,मगरपन, पुस्तकालय, समाज रुपान्तरण, योग्य मानव संसाधन, पुस्तक प्रेमी, रक्सी संस्कृति, निरुत्साहित, आनन्दमय जीवनशैली , प्रतिस्पर्धी , युवा, विकास, मगर, सकारात्मक सोच, उत्प्रेरणा ।

अध्ययनको विषय प्रवेश
नेपाल बहुभाषिक, बहुजाति, बहुसाँस्कृतिक, बहुधार्मिक मुलुकमा पर्दछ । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिंक विभेद सहित आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने मुख्य आशय नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरेको छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर रहेको छ । संघीय मुलुकमा एक संघीय राज्य, सात प्रदेश, ७५३ मुलुकमा विभाजित रहेको छ । मगर जातिहरु बढी मात्रामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भएपनि छिटफुट रुपमा नेपाल भरी र विदेशमा भारत, भुटान, बर्मा लयायतका देशमा रहेको पाइन्छ । अहिले पछिल्लो समयमा वैदेशिक रोजगारको शिलशिलामा अमेरिका, जापान, अष्ट्रेलिया, युके,पोर्चुगल, जर्मनी, फ्रान्स,बेल्जियम, लगायतका देशहरुमा विश्वव्यापीकरणका कारण पुगेको पाउन सकिन्छ । नेपालको जनगणना वि.स.२०७८ अनुसार बागलुङ जिल्लामा ५६,१०२ जना जनसख्यामा पुरुष ४६.५ प्रतिशत र महिला ५३.५ प्रतिशत रहेकोमा जनघनत्व ५७२ रहेको छ । कुल परिवारहरु १५,९२४ रहेकोमा कुल साक्षरता ८३.५ प्रतिशत भएकोमा ९१.२ प्रतिशत पुरुष साक्षरता र ७७.० प्रतिशत महिला साक्षरता दर रहेको छ । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको कुल जनसख्या ३०७७ जना मध्ये पुरुष १४३० जना र महिला जनसख्या १६४७ रहेको पाइन्छ । मगर समुदायको जनसख्या अधिक मात्रा झन्डै ८० प्रतिशत रहेको छ ।

मगर समुदायको आर्थिक,शैक्षिक, राजनैतिक, प्रशासनिक, न्यायिक, नागरिक समाज, औद्योगिक क्षेत्र तथा वित्तीय क्षेत्रहरुमा अब्बल खालको उपस्थित हुनका लागि राज्यका हरेक अगंहरुमा मगर समुदायको दह्रो उपस्थिती र सहभागी हुन जरुरी छ । जनसंख्याको आधारमा बढी भएपनि राज्यका अगंहरुमा रोजगारी, राजनैतिक नेतृवमा भने धेरै नै कम सहभागीता हुनु नेपाल भित्रका मगर समुदायहरुमा चेतना स्तर कमजोर र अब्बल शिक्षाको अभाव महसुस हुन्छ । मगर जाति भित्रका कुचलन, कुसस्कार र कुरीतिलाई हटाउदै आफु भित्रको खराब तत्वलाई तिरष्कार गर्दै अब्बल नागरिक बन्नका लागि मगरहरुका बस्ती बस्तीहरुमा जागरणमुलक तरिकाले पठन संस्कृती बढाउने र पुस्तकालय स्थापना गर्ने महान अभियानमा मगरमा जोश, जागरले मानव समुदायका अभिन्न अगं मध्ये गरेको मगर समुदायमा जागरण आउनु पर्ने हुन्छ । पुस्तकालय भन्नाले ज्ञानको भण्डार हो । किताब अर्थात पुस्तक, पत्र / पत्रिका, नक्सा, चार्ट, फिल्म आदि जस्ता सामग्रीलाई व्यवस्थित गराई शिक्षा प्रदान अनवरत गर्ने शैक्षिक केन्द्र पुस्तकालय हो भनेर बुझनुपर्छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेको परिचय
नेपालको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँलाई अध्ययन क्षेत्रको रुपमा लिएको छु । समग्र बागलुङ जिल्ला मगर जातिको अधिक बसोबास भएकोमा गनिन्छ । भकुण्डे गाऊँ पनि अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाऊँमा पर्दछ । भकुण्डेमा मगर बाहेक उपाध्याय बाहुन, जैसी बाहुन, रायमाझी, भण्डारी क्षेत्री, मल्ल, ठकुरी, शाही, रोका, क्षेत्री, शेरचन,नेवार समुदायहरु बसोबास गर्दछन । मगर जातिमा रामजाली, सिंजाली, तारमी, राना, शुर्वजा, सलामी, पुलामी, थापा मगरहरुको बसोबास गर्दछन् । विभिन्न थर, उपथरका मगरहरु भएपनि लाहुरे हुने प्रयोजनका लागि थापा मगर नै लेखाउने चलन रहेको पाउन सकिन्छ । मगर भाषाहरु मध्ये मगर ढुट, काइके भाषा, खाम भाषाहरु नेपालका रोल्पा,रुकुम, स्याङजा, तनहँ,पाल्पा, बागलुङ जिल्लाको पश्चिममा बोले पनि भकुण्डेका मगरहरु बोल्दैनन । मुलाबारीको डाँडामा भ्यु टावर निर्माण भएको, बराहताल दह, भैरव स्थान मन्दिर जाने बाटो भएकाले प्रख्यात गाऊँ भकुण्डे पर्दछ ।

गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँको कुल क्षेत्रफल १०.७८ वर्ग कि.मि. क्षेत्रफल रहेको छ । भकुण्डेको पुर्वमा बागलुङ नगरपालिका १२ अमलाचौर,पैयुँपाटा, पश्चिममा रायडाँडा, उत्तर बागलुङ नगरपालिका बजार र तित्याङ तथा दक्षिण तिर रायडाँडा गाऊँ पर्दछ । भकुण्डे गाउँ समुन्द्री सतहदेखि करिव ६५० देखि २३५० मिटरसम्मको उचाईमा अवस्थीत छ । भकुण्डे गाउँमा २८ड्ढ३ उत्तर देखि २८ड्ढ४ उत्तरी अक्षांशसम्म र ८३ड्ढ ९ पूर्व देखि ८३ड्ढ १० पूर्वी देशान्तरसम्म फैलिएको छ । भकुण्डे गाऊँमा हावापानी समशितोष्ण प्रकार रहेको छ । तापक्रम जाडो याममा शुन्य डिग्री सेल्सियस भन्दा तल पुग्ने र गर्मी याममा ३२ड्ढ सेल्सियस सम्म बढ्ने भकुण्डे गाऊँमा कहिलेकाँही जाडो याममा हिउँ समेत पर्दछ ।
भकुण्डेमा खर्सु, साल, सल्ला, उत्तिस, पैयुँ, ओखर, चिलाउने, लाँकुरी, गुरास, दबदवे,झयानो,टिमुर, आरे, काफल, सिल्टुमुर आदि वनस्पति पाइन्छ । फुलका बोटहरुमा सयपत्री,थुङे फुल, मखमली, गुलाफ, लालि गुराँस आदि पाइन्छ । साथै फलफुलहरुमा सुन्तला, नास्पाती, पलम,आरु, केरा, कागती, निमुवा,बिमोरो, भुइ स्याऊ लगायतका पाइन्छ । सालैजो,भजन,भैलो नाच जस्ता लोक सस्कृति भकुण्डेमा प्रचलित रहको छ । आलु, मुला, धान,कोदो,मकै, गँहु, जौ आदि खेतीहरु गरिन्छ । भकुण्डेमा माहुरीपालन, भेडापालन, बाख्रापालन, गाइ बस्तु, हाँस कुखुरा आदि पशु पन्छिको लागी उपयुक्त मानिन्छ । हिमश्रृङखलाहरुमा चार वटा धौलागिरी, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण अवलोकन गर्न सकिन्छ । साथै अतिथि सामुदायिक होमस्टे ( घरबास ) कार्यक्रम सचालन भएको, नेपालका होमस्टका पिता स्वर्गिय रुद्रमान गुरुङ स्मृति पार्क शालिक सहितको स्थापना भै पार्क मार्फत संरक्षण भएको छ । नेपालको चर्चित स्याङजा जिल्लाको सिरुवारी सामुदायिक होमस्टेसँग बागलुङ भकुण्डे गाऊँको भगिनी सम्बन्ध कायम भै बाह्रय र आन्तरिक पर्यटकहरुलाई आदान प्रदान गराउने सम्झौता भएको छ । त्यसैगरी विगतमा पञ्चायत कालमा बागलुङ जिल्लाको सभापति १८ वर्षसम्म लगातार भएका स्वर्गिय रणसिंह थापा मगर हुनुभएको ऐतिहासिक महत्वको राजनैतिक कार्यकाल रहेको भकुण्डे गाऊँबाट समेत चिनिन्छ । त्यसै गरी नेपालको संविधान निर्माणका लागि संविधान सभाका सदस्य नर बहादुर थापा मगरको प्रतिनिधित्व भएको भकुण्डे गाऊँ परिचित छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेको महत्व
धेरै मानिसहरुले धेरै किताबहरु पढ्छन तब जिन्दगीमा धेरै परिवर्तनहरु आउँछन । झन्डै ८० प्रतिश मगर समुदाय मात्र बसोबास गर्न भएकोले मगर जातिसँग भएका कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शनका विभिन्न विषय वा मुल्य परम्पराका समष्टि नामको कलामा अध्ययन गर्ने सस्कृतिको विकास र सरक्षण गर्नका लागि बहुत जरुरी भएको छ । देश,काल, परिवेश, समयको वेग र हुङकार बुझन इतिहासका पानाहरुमा ओझेलमा परेका विषयवस्तुहरुलाई उजागर गरे अभिलेखीकरण र दस्तावेजीकरण युुवाहरु लाग्नुपर्दछ । अहिले सुचना र प्रविधिहरुको डिजिटल युगमा सामाजिक सञ्जाल, युटुव लिक र वेवसाइटहरुमा आगामी पुस्ताहरुको लागि ज्ञान हस्तान्तरणको लागि लाग्नु पर्ने अवस्था सृजना भएको छ । पठन सस्कृतिलाई बढावा दिने हो भने पुस्तक पढनु, आनन्द, प्रेरणा र उर्जाको स्रोत पहिल्याउनु हो । पुस्तक पढनु भनेको जिवन पढ्नु हो भन्ने मान्यता र अवधारणा जन जनका वस्तीमा आत्मबोध गराउनमा समेत महत्व रहेको छ । पुस्तक पढनु भनेको अनेक लाभहरु मध्ये पुस्तक अध्ययनको बानीले मानसिक रोगको भय कम हुन्छ भन्ने प्रमाणित भएको भनाइ छ । भकुण्डेका विद्यार्थीहरुलाई पाठयक्रम बाहेक बाह्रय पुस्तकहरु पनि सफलता हासिल गर्नका लागि अध्ययन गर्नु अनिवार्य भएको बोध गराउनका लागि बढी आवश्यकता रहेको छ । आफु नमरी स्वर्ग देखिन्न भने झै नपढिकन संसार बुझीन्न भन्ने नेपाली समाजको लोक लयलाई बागलुङ भकुण्डेका हर जनसख्यालाई अभियानको रुपमा आत्मबोध गराउनु छ । भकुण्डेका विद्यालयहरुमा अध्ययन गर्न छिमेकी रायडाँडा, तित्याङबाट भैरव माध्यमिक विद्यालय भकुण्डेमा अध्ययन गर्न आउथे । अर्कोतिर भकुण्डेका विद्यार्थीहरु पैयुपाटा, नारायणस्थान,फलेवास, बागलुङ बजारका विद्यामन्दिर विद्यालय, कालिका कन्यामन्दिर विद्यालय र धवलागिरी विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने जान्थे । धेरै पछि उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पस बागलुङ हाल धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आएको पाइन्छ ।

समाज परिवर्तनशील भएकोले समाजमा सकारात्मक परिवर्तन ल्याउने बलियो माध्यम पुस्तक अध्ययन अभियानले गर्दा नै हो भन्ने शैक्षिक इतिहासले बताउँछ । नेपालमा औपचारिक रुपमा वि.स.१८६९ भदौ १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालय सम्बन्धी लालमोहर जारी गरेको दिनलाई नेपालमा पुस्तकालय दिवस वि.स.२०६५ साल भदौ १५ गतेबाट मनाउन शुरु भएको थियो । बागलुङ भकुण्डेमा भब्य रुपमा उल्लासका साथ हरेक वर्ष पुस्तकालय दिवस मनाउनको लागि आधार भुमि तयार गर्ने योजना पुरा गर्नका लागि आवश्यक रहेको छ । नेपाली समाज पर्दापरण हुदै गरेको भनाइ छ कि सय जना राम्रा साथी बराबर एउटा उत्तम पुस्तक तुलना गर्दा काफी हुन्छ । त्यसकारण पनि एउटा पुस्तकालय साथी जत्तिकै हुन्छ भनेर प्रसिद्ध बैज्ञानिक एवम् भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भनेकोलाई व्यवहारिक रुपमा स्वयंसिद्ध तथ्यका आधारमा प्रमाणित गर्नु छ । त्यसैगरि दार्शनिक प्लेटोले घरमा एउटा पुस्तकालय हुन्छ, त्यो घर जीवन्त हुन्छ भन्ने भनाईलाई समाजमा सार्थकतामा परिणत गरि पठन सस्कृति विकास गराउनको लागि प्रयास गरेर अब्बल जनशक्ति निर्माण गर्ने दौडाहामा लाग्ने शैक्षिक, सामाजिक,सांस्कृतिक हिसाबले उच्च कोटीको अभ्यास र प्रचलन रहेकोले गर्दा अबका दिनमा पठन सस्कृति, सकारात्मक सोच र उत्प्रेरणा भर्ने काम तपाई हाम्रो काँधमा सामुहिक जिम्मेवारी बनेको छ । पढनेहरुको जनसख्या बढाउदा समाजमा विकृति, हत्या हिंसा समेत न्युन हुन पुग्दछ ।

बागलुङ भकुण्डेलाई शोधार्थी विद्यार्थीहरुलाई पुस्तकालय अपरिहार्य बनाई सहज र अनुकुल बातावरण तयारी गर्ने, ज्ञानको संवाद र साक्षात्कार गर्ने पवित्र स्थल बनाई निरन्तर ज्ञानको अनुसन्धानमुखी प्राज्ञिक प्रतिस्ठान सभा र गोष्ठी सञ्चालन गरी पाठक वर्गहरुको सहभागिता बढाइ पठन संस्कृती विकासको आधार निर्माण गर्नु पर्दछ । औपचारिक र अनौपचारिक रुपमा ज्ञान आदान प्रदान गर्र्न र आगामी दिनमा शैक्षिक पर्यटनको लागि समेत गन्तव्य बनाएर प्रचार प्रसार गर्नु पर्ने दायित्व आम भकुण्डेबासीको काधमा जिम्मेवारी रहेको छ ।

पुस्तकलाई स्थायी साथीको रुपमा स्वीकार गरी संस्कार र सस्कृति बनाउनको लागि जनजनमा अनुशिक्षण गर्नु छ । नयाँ वर्ष, दशै,तिहार, जन्मोत्सव, हरितालिका तिज, माघे संक्रान्ति, क्रिसमश,नेपाल सम्बत,ल्होसार जस्ता पर्व उत्सवमा उपहार स्वरुप साथी संगि र नातेदारहरुलाई नयाँ र व्यक्तित्व विकास गराउने पुस्तकहरु सौजन्य स्वरुप आदान प्रदान गर्दै अध्ययन र अनुभव साटासाट गर्ने प्रचलनलाई भकुण्डे गाऊँमा बढावा दिनको लागि ढिला गर्नुहुदैन । वैज्ञानिक सिद्धान्त र तथ्यका आधारमा भावी पुस्ताहरुका लागि अनिवार्य रुपमा संरक्षण गर्नुपर्ने ज्ञान उत्पादन र भण्डारहरुका श्रोतहरुलाई पुस्तकालयका रुपमा विकास र विस्तार गरी स्थापना गर्न लाग्नुको महत्व अति उच्च स्थानमा रहेको छ । सरकारले एक गाऊँ एक पुस्तकालय तथा एक विद्यालय एक पुस्तकालयको नीतिलाई पुर्ण रुपमा कार्यान्यन गरेर पठन संस्कृतिलाई विकास र टेवा पुरयाउनको लागि अरु छिमेकी गाऊँहरुले जस्तै भकुण्डे बासीहरुलाई आब्हान गर्नको लागि अति आवश्यक भएको छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेका मगरहरुको समस्या
भकुण्डेका मगरहरुले कमाई गरेर धन सम्पत्तिहरु खाली जग्गा जमिन र नयाँ घर बनाउनमा मात्रै खर्च तथा लगानी गरेको अवस्था छ । हुने खाने मगरहरु शिक्षित र रोजगारी भएपछि बसाई सराई गरेर बागलुङ बजार, कुश्मा, पोखरा, नारायणगढ , बुटवल, काठमाडौ तिर जादा खेरी शिक्षाको लगानीमा कमजोरी भई पठन सस्कृतिको जग बसाउनको लागि युवा पुस्तामा समस्या आएको छ । मद्यपान र धुम्रपान साथै गाजा चरेश जस्ता उच्चकोटीका कुलतमा फसेर बाह्रै महिना युवाहरुमा तिहार आएको जस्तो गरि जुवा तास खेल्ने परिपाटी विद्यमान रहेको छ । गाऊँका धेरै भन्दा धेरै मानिसहरु बसाई सराईका कारण मानिसहरु अधिकांश छोरा छोरीहरु निजी विद्यालयमा पढाउने तर सरकारी सामुदायिक विद्यालयहरुमा निमुखा, दिनदुखीहरुका छोराछोरीहरुले मात्र अध्ययन गर्ने भएकोले गुजारामुखी जीवनयापन गर्नेहरुले नयाँ र नौलो शिक्षण पद्धतीका पठन सस्कृतिहरु, सामाजिक संस्कारहरु उजागर गर्नका लागि सोच र चिन्तन उत्पादन नहुने अवस्था रहेको छ । बजारमा प्रकाशित हुने नयाँ नयाँ पुस्तकहरुको खरिद गरी व्यक्तिगत, सामुदायिक विद्यालयहरुमा कम मात्रामा बागलुङ भकुण्डेमा भित्रिने गरेको समस्या छ । विगतमा भकुण्डेमा संचालित युवा ज्योति पुस्तकालय हालसम्म संचालन नभई बिचमा व्यवस्थापनको कमि कमजोरीका कारण बन्द हुनु र सोहीलाई पुनः संचालन गराउने तथा ईलाइव्रेरी समेत सञ्चालनमा ल्याउनु पर्ने टडकारो चुनौती बनेको छ ।

रक्सी सेवनमा जातले पाएको भनेर लहडैमा खाने र पछि रक्सीको आडडको रुपमा निरन्तर खाई रहने पारिपाटीले पठन सस्कृतिलाई बढावा दिन नसकेको अवस्था छ । लाहुरे हुने सस्कारले पहिला कक्षा पाँच, पछि कक्षा आठ सम्म त्यसपछि एस एल सी पास गरेपछि थप अगाडीको उच्च शिक्षामा सपना नदेख्ने परिपाटीले जरा गाँडेको अवस्था छ । थोरै भन्दा थोरै युवाहरुले उच्च शिक्षाका लागि जबरजस्ती तरिकाले लागेको पाउन सकिन्छ । पशुपालन, बगुरपालन, डर्कमी जस्ता व्यापार व्यवसायमा आबद्ध हुँदा सो व्यवसायलाई छोरा छोरीहरुले पनि अनुशरण गर्नुपर्ने अवस्था व्यवहारमा नआएको अवस्था रहेको छ । प्राज्ञिक सम्मेलन, गोष्ठी, सभा, बैठकहरुमा सहभागी भै ज्ञान शेयर र आदान प्रदान गर्ने क्षेत्रमा लगानी गर्न असहजता महशुस गर्ने परिपाटी रहेको छ । सोरठी, सालैजो, लोक दोहोरी, झाम्रे, पञ्चेबाजाले कला संस्कृतिको सरक्षण र प्रर्वद्धनमा लाग्नुपर्ने दायित्व भएपनि पठन संस्कृतीलाई गिरावट गर्ने सुक्ष्म रुपमा भएपनि असर र प्रभाव पारी समस्या निम्ताएको छ ।

पठन संस्कृतिमा बढावा दिनको लागि नजिकैको विद्यामन्दिर पुस्तकालय २००३ बागलुङ बजारमा रहेकोमा सदस्य बन्ने, पाठकहरुको रुपमा वाचनालयमा कहिले काँही सहभागी हुने मगर समुदायहरुको सख्या अत्यन्त न्युन मात्रामा रहेको छ । ताकि पुस्तकालयमा सबै समुदायहरुमा लागि जुनसुकै समयमा समेत खुल्ला रहेको छ । भुकण्डे गाऊँका उच्च पदमा रहेका निजामति तहका कर्मचारी, शिक्षक, राजनीतिक नेताहरु, उच्च पदस्थ नेपाली सेना, प्रहरीहरुको जनशक्तिहरुबाट वर्षै पिच्छे पुर्नमिलन समारोह कार्यक्रम आयोजना गरेर नवयुवाहरुलाई अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन नियमित वर्षै पिच्छे हुन नसकेको अवस्था छ । निरन्तर वार्षिक रुपमा सकारात्मक सोच, पठन सस्कृति र उत्प्रेरणामुलक कार्यक्रम संचालन हुन नसक्दा कुलत र कुसस्कारमा युवा युवतीहरु लाग्दै जानु मुख्य कारक तत्व भएको छ । हरेक वर्ष भाद्र १५ गते पुस्तकालय दिवसको दिनलाई भव्य रुपमा मनाउने तयारी गर्न नसकेको कारणले पठन सस्कृतिमा अभिवृद्धि नगर्न नसकेको अवस्था छ । स्थानीय सरकार अर्थात बागलुङ नगरपालिका मातहत भएको पुस्तकालय व्यवस्थापन प्रभावकारी र नियमित गराउनको लागि श्रोत साधनको व्यवस्थापन गरी जागरण ल्याउनमा बेखवर भएको विद्यमान अवस्था छ ।

अध्ययन विधि
गुणात्मक अनुसन्धान विधि अन्तर्गत वर्णनात्मक अनुसन्धान ढाँचा अवलम्बन गरी डेस्क रिभ्यु तथा स्थलगत सर्भेक्षण गरी प्रथम र द्धितिय तथ्याङ्क स्रोतबाट प्राथमिक तथ्य–तथ्याङ्क तथा जानकारी मौखिक, टेलिफोन वार्ताबाट समेत संकलन गरिएको छ । बागलुङ भकुण्डेसँग सवम्धीत जनगणना, वेवसाइट, अप्रकाशित जनरलमा पठाएका लेख,अनलाइनमा प्रकाशित लेख रचनाहरुको सन्दर्भ सामाग्रीहरु सकलन, मौखिक अन्तर्वाताबाट आएका निचोडहरुबाट समिक्षा एवं विश्लेषण गरिएको छ । शोधकर्ता स्वय स्थानीय बासिन्दा भएकोले समयमा बुढापाकाहरुसँग कुराकानी गरेर तथ्यमा आधारित भै यो लेख तयार पारिएको छ । अस्पष्ट भएको बुदागत टिपोटलाई स्थानीय बासी भएकोले स्वव्याख्या तथा स्वविश्लेषण समेत आधारमा गरिएको छ । अनुसन्धान लेखलाई पुरा अध्ययन गरेर सुझाव लिखित र मौखिक सुझाव र सल्लाह विद्धत वर्गबाट आएमा अगामी दिनमा संशोधन र परिमार्जन गरी पुर्णता दिईने छ । अनुसन्धानको सारलाई प्रचारात्मक हिसाबले आम सबै नेपाल भरिका गाऊँमा सन्देश र मुल शिक्षामुलक आशय पुरयाउने चाहना छ ।

अध्ययनबाट प्राप्त नतिजा तथा तथ्याङ्क विश्लेषण
१ं. बागलुङ जिल्लाको सभापति अठार वर्ष भएका रणसिंह थापा मगरको योगदान

बागलुङ जिल्लाको इतिहासमा पञ्चायतकाल अवधिमा अठार वर्षसम्म जिल्ला सभापति भएका स्वर्गीय रणसिंह थापा मगरको शासनकालमा युवाहरुमाथि गरेको अत्याचार, दमन र अत्याचारले युवाहरु संगठित भै जागरण फैलाउनमा तल्लीन भएको पाएको पाइन्छ । कतै कतै शिक्षकहरुलाई तलब भत्ता दिने काम भएको जानकारी मौखिक प्राप्त भएको छ । सभापतिकालमा विभिन्न अवसरहरु जस्तै विकास निर्माण, शिक्षक, कर्मचारी लगायतको क्षेत्रमा आफु निर्णायक नभई अर्कै व्यक्तिहरुले हालीमुहाली गर्ने गरेको भनाइहरु इतिहासका जानकारहरुबाट सुन्न पाइन्छ । तर अठार वर्षसम्म जिल्ला सभापति भएका कारणले धेरथोर विकास अरु गाऊ विकास समितिहरुको तुलनामा भकुण्डेमा भएको पाउन सकिन्छ । हामी कहिले काँही काम विशेषले छिमेकी गाऊँहरुमा भ्रमण स्वरुप जाँदा भकुण्डे त जिल्ला सभापति रणसिंह थापा मगर भएकोले धेरै तहाँका मगरहरु टाठा बाठा भएको छन् भनेर बताउँथे । जिल्ला सदरमुकाम समेत नजिक भएकोले सहज पहँुच हुनाले समेत केही न केही नयाँ नयाँ गतिविधिहरु थाहा पाउँथे । छिमेकी गाउँहरुमा जाँदा हेर्नुस बाबु हामी त रणसिंह थापा मगर सभापतिसँग खेलेको मानिसहरु हो भनेर वृद्धा मानिसहरु बताउँथे । अठार वर्षे कार्यकालको सभापति भएको कारण मानिसहरुमा शैक्षिक,पुर्वाधार,खानेपानी, लगायतका क्षेत्रमा त्यस समयको विकास अनुसार पक्कै भएको हुनुपर्दछ ।

२. भैरव माध्यमिक विद्यालय भकुण्डे,बागलुङ वि.स.२०११ सालमा स्थापना
भैरव माध्यमिक विद्यालय भकुण्डेमा वि.स.२०११ साल फागुन ११ गते सुवेदार स्वर्गीय दिल बहादुर शरर्बुजा मगर ( जन्म मिति वि.स. १९६८।११।११ स्वर्गारोहण वि.स. २०६८।०१।०९ ) संस्थापक भई विद्यालय स्थापना भएपछि शिक्षाको प्रादुभाव भएको पाइन्छ । त्यसपछि विद्यालयमा पहिलो प्रधानाध्यापक नेपाल बाहुने भनेर लिखोटमा पाइन्छ । दोश्रो प्रधानाध्यापक जगनाथ शर्मा पौडेलका अनुसार कक्षा पाँच सम्म जसरी पनि अध्ययन गर्ने सो कक्षा पास गरेको प्रमाणपत्रले भारतीय सेनामा भर्ती हुन काम लाग्ने भएकोले थप कक्षा अध्ययन गर्ने युवाहरु थोरै हुने गरेको बताउनुभयो । त्यसैगरी केही समय पछि कक्षा आठ पास गरेको शैक्षिक प्रमाणपत्र आवश्यक पर्ने भएपछि सो कक्षा पास गरेपछि उच्च शिक्षा हासिल गर्ने चलन विकास हुन सकेन । तर उच्च शिक्षा हासिल गर्न नसके पनि समुदायका मानिसहरुले उच्च मनोभावनाका साथ विद्यालयको भवन निर्माण लगायतका काममा निशुल्क श्रमदान गर्ने चलन भने अत्यन्त लोभ र रहर लाग्दो भएको जानकारी दिनु भयो । त्यसपछि केही समय पछि भर्ति हुन एस एल सी पास भएको शैक्षिक प्रमाण आवश्यक हुनुपर्ने भएपछि एस.एल.सी. पास गरेपछि थप उच्च शिक्षा हासिल गर्न नसकेको अवस्था थियो । समय परिवर्तनसँगै राजनीतिक विकासले मानिसहरुमा चेतना र विवेक भर्दै गएपछि छिमेकी गाऊँहरु विद्यालयहरु खोल्न थाले । श्री माछापुच्छ्रे प्राथमिक विद्यालय, लामिडाँडा, श्री चौतारे डाँडा माध्यमिक विद्यालय, निफन्नी, श्री बराह प्राथमिक विद्यालय,दह, श्री शिवालय प्राथमिक विद्यालय,दुहार श्री गलुवा ढार्ख प्राथमिक विद्यालय, गलुवा, श्री जनता प्राथमिक विद्यालय, पात्ते र निजी विद्यालय हिमालय आवासिय बोर्डिङ, अर्वाउदी तथा श्री क्यापिटल शिक्षा सदन, भकुण्डे लगायत विद्यालयहरुको स्थापना र संचालनले बागलुङ भकुण्डेका मगर समुदायहरुका लागि धेरै कोशेढुगाका कामकाज गरेको पाउन सकिन्छ । हाल औपचारिक तथा अनौपचारिक रुपमा पठन संस्कृति, सकारात्मक सोच र उत्प्रेरणा प्रदान गर्ने कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा भएपनि हरेक वर्ष हुन छोडेकोले आगामी दिनमा नियमति रुपमा विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुका लागि हुनु पर्दछ ।

३. नेपाल सरकारका निजामति सेवाको उच्च पदमा कार्यरत कर्मचारी
नेपालको प्रशासनमा बागलुङ भकुण्डेका मगर समुदायका नेपाल प्रशासन सेवा, लेखा समुहको उप सचिव अर्थात राजपत्राकिंत द्धितिय श्रेणी तहबाट सेवा निवृत भएका श्री तिल बहादुर थापा मगर हुनुहुन्छ । तिल बहादुर थापा मगर नेपाल मगर कर्मचारी संघ केन्द्रिय समिति काठमाडौका संस्थापक अध्यक्ष समेत हुनु भएको थियो । वि.स. २०३६ सालको तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस बागलुङको सस्थापक स्ववियु सभापति समेत निर्वाचित हुनु भएको थियो । त्यसैगरि भकुण्डे गाऊँका लालसिंह शरवुर्जा थापा मगर हाल दाङ जिल्ला अदालतको जिल्ला न्यायाधिश पदमा कार्यरत रहनुभएको छ । त्यसै गरी लक्ष्मी थापा मगर लेखा अधिकृत पर्यटन तथा उद्योग मन्त्रालय पोखरामा कार्यरत, शाखा अधिकृत देवेन्द्र थापा मगर मालपोत कार्यालय बागलुङमा कार्यरत , लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पुर्वाधार विकास कार्यालय कास्की पोखरा,सम्राट थापा मगर शाखा अधिकृत, राजन पौडेल शाखा अधिकृत हालै नियुक्ति हुनु भएको छ ।

त्यसैगरि भकुण्डे गाऊँका गैर मगर समुदायका मानिसहरु समेत उच्च पदमा कार्यरत रहेकोले उहाँहरुको प्रभाव र प्रशिक्षणहरुमा समेत पठन सस्कृति अभिवृद्धि गर्नमा प्रेरणाको श्रोत भएको पाउन सकिन्छ । नेपाल सरकारका सह सचिव श्री बलाराम रिजाल, न्याय सेवा तर्फको सह सचिव शंकर क्षेत्री हाल कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कामकाज गर्नु हुन्छ । सशस्त्र प्रहरी बलको डिएसपी पदमा खेमनाथ शर्माले लमजुङमा कामकाज गर्नु भएको छ । सेवा निवृत्त शाखा अधिकृत भुपेन्द्र बहादुर रायमाझी, शाखा अधिकृत महेन्द्र बहादुर रायमाझी समेत हुनुहुन्छ ।

त्यसैगरी पदम बहादुर थापा मगर लेखा अधिकृत छैटौ तह, प्रदेश लेखा नियन्त्रक कार्यालय पोखरा, याम बहादुर थापा मगर लेखा अधिकृत छैटौ तह, धौलागिरी आयुर्वेद अस्पताल बागलुङ, उमेश शर्वुजा मगर सिनियर अहेव अधिकृत स्वास्थ्य चौकी भकुण्डे, सिता थापा मगर सिनियर अहेव अधिकृत स्वास्थ्य चौकी भकुण्डे, उदित कुमार थापा मगर सिनियर अहेव अधिकृत ताराखोला गाऊँपालिका, महेन्द्र प्रकाश शर्मा सिनियर अहेव अधिकृत बागलुङ नगरपालिका, देवी कुमारी शर्मा, अनमी पाचौ तह भकुण्डे स्वास्थ्य चौकी, जित काजी थापा मगर नायब सुब्बा उच्च अदालत इजलास, बागलुङ, पदम बहादुर थापा लेखापाल डिभिजन सडक कार्यालय तनहुँ, तिलक बहादुर शरबुर्जा थापा सहायक पाँचौ नेपाल राष्ट्र बैक पोखरा, टिका थापा सिंजाली मगर, इन्जिनियर, सडक डिभिजन कार्यालय कास्की पोखरा, रुद्र थापा मगर सब इन्जिनियर बागलङ नगरपालिका, सुनिता पुन मगर, प्रशासन अधिकृत, बागलुङ नगरपालिका, शिवलाल थापा मगर खरिदार, गोरखा, खडक बहादुर थापा, प्रशासन अधिकृत छैटौ, पर्यटन तथा उद्योग कार्यालय, नवलपुर, टेक बहादुर थापा, कम्प्युटर अपरेटर, सडक डिभिजन कार्यालय, बागलुङ, श्याम कुमार थापा मगर, कम्प्युटर अधिकृत छैटौ, यातायात व्यवस्था कार्यालय, बागलुङ, नारायण प्रसाद रिजाल, सहायक पाँचौ, पर्यटन तथा उद्योग कार्यालय, बागलुङ, सेवा निवृत प्रहरी निरीक्षक, मिन बहादुर थापा अर्भक, महेश थापा मगर इन्जिनियर, यातायात व्यवस्था कार्यालय, पोखरा, अमिन मनिष थापा मगर, नापी कार्यालय, तनहुँ, याम बहादुर थापा गेम स्काउट, शिव रिजाज सहायक पाँचौ, काठेखोला गाऊँपालिका, ढोरपाटन शिकार आरक्ष,बागलुङ, केशव प्रसाद पौडेल प्राविधिक अधिकृत, भेटेनरी अस्पताल, बागलुङ, दामोदर पौडेल, कविराज, म्याग्दी आयुर्वेद औषधालय, म्याग्दी, डाक्टर हरि प्रसाद पौडेल, बागलुङ नगरपालिकामा कार्यरत रहेका छन् ।

भकुण्डेका शिक्षकहरु पुर्व शिक्षक धनी प्रसाद शर्मा, पुर्व प्र.अ.जगनाथ शर्मा, प्र.अ. जगनाथ शर्मा सर्कुवा,शिक्षक डिल्लीराम रिजाल हाल उपसचिव, खडग बहाहुर थापा, खगराज रिजाल, सेवा निवृत्त शिक्षक खिम बहादुर थापा, हस्त बहादुर थापा, होम बहादुर थापा, कृष्ण प्रसाद रिजाल, हरिलाल थापा मगर,त्रिकला थापा, सन्तोषी थापा मगर, देवी सिंजाली, पुर्व शिक्षक बालकृष्ण शर्मा , पुर्व शिक्षक प्रेम नारायण ढकाल, पुर्व शिक्षक दुर्गा प्रसाद शर्मा,पुर्व शिक्षक विष्णु प्रसाद शर्मा, पुर्व शिक्षक खिम बहादुर थापा, किसन प्रसाद सापकोटा, ठगेन्द्र थापा, लोक प्रसाद राना, उमाकान्त शर्मा, टेक बहादुर थापा, नर बहादुर थापा, सिद्धि पौडेल, सरस्वती शर्मा, रुपक देवी थापा मगर, सुमित्रा शर्मा, पुनम बस्याल, यज्ञ प्रसाद अवस्थी, पुर्ण प्रसाद शर्मा लगायतका शिक्षकहरु पठन संस्कृतिलाई बढावा दिनका लागि अतुलनीय योगदान रहेको छ । थप केही शिक्षकहरुको नामावली हुन सक्दछ । पछि लेखलाई संशोधन गरेर छुटेका नामावली शिलशिला रुपमा अनुसुची बनाएर थप गर्न सकिन्छ । त्यसैगरी भारतीय सेनाबाट सेवा निवृत भएका थुप्रै महानुभावहरु, नेपाली सेना, नेपाल प्रहरी , नेपाल शसस्त्र बल, सार्वजनिक सस्थानहरु कार्यरत थुप्रै महानुभावरु समेत रहेका छन् । तिनीहरुको विष्लेषण र नतिजा एकतामा बल थप्ने काम गरेमा भावी पुस्ताहरुको लागि महत्वपुर्ण मानिन्छ । त्यसैगरी अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजलियान्ड लगायत विभिन्न देशहरुमा आप्रवासीका रुपमा कार्यरत थुप्रै भकुण्डेबासीहरु हुनुहुन्छ ।

भकुण्डेका माथि उल्लेखीत आदरणीय महानुभावहरुले थोपा थोपाको गणनामा समेत थप योगदान गरेमा पठन संस्कृतीलाई गुणस्तरीय र दिर्घकालीन तरिकाले बढावा दिनु पर्ने समय आएको छ । किनकी सामुदायिक विद्यालयहरुमा विद्यार्थी सख्या गत विगतका वर्षहरुमा भन्दा ज्यादै कम मात्रामा विद्यार्थी सख्या बढदो छ । अहिलेको सुचना र प्रविधिहरुको युगमा डिजिटल मिडिया प्रयोग गरेर समेत पठन संस्कृतिलाई सकारात्मक रुपमा अगाडी बढाउनमा जरुरी भएको छ ।

४ं.बागलुङ भकुण्डेका मगरहरुको ऐतिहासिक राजनीति पक्षहरु
बागलुङ भकुण्डेका मगर समुदायका मानिसहरु मध्ये पञ्चायत कालमा अठार वर्षसम्म जिल्ला पञ्चायतका सभापति पदमा निर्वाचित भएका कारण मानिसहरुमा राजनीतिक रुपमा सचेतना आएको आशिक रुपमा भएपनि राम्रो मानिन्छ । त्यसैगरी नेपालको संविधान २०७२ को निर्माता संविधान सभाका सदस्य नर बहादुर थापा मगरको गतिविधिहरुले समेत धेरथोर रुपमा पठन संस्कृतिलाई टेवा दिने खालका गतिविधि अनौपचारिक र औपचारिक रुपमा भएको हुनु पर्दछ । संविधान सभाका सदस्य नर बहादुर थापा मगरको पदचापलाई अगांलेर आगामी दिनहरु राजनीतिक नेतृत्व हासिल गर्नमा क्रियाशिलहरु उच्च राजनीतिक नेतृत्व वर्गले समेत पठन संस्कृतिलाई निरन्तरता दिलाउनमा प्रत्यक्ष भुमिका रहेको छ । संविधान सभा सदस्य नर बहादुर थापा मगरले आफुले समय समयमा संकलन गरेको विभिन्न विधाका पुस्तकहरु चौतारे डाँडा माध्यमिक विद्यालयलाई एक सार्वजनिक समारोहका विच पठन सस्कृतिलाई ताजा राख्न्को लागि पुस्तक हस्तातन्तरण गर्नु भएको थियो । त्यसै गरी साविक गाउँ पञ्चायतका प्रधान पञ्चहरु, गाउँ विकास समितिका अध्यक्षहरु तथा हाल वडा अध्यक्षहरुको सहकार्य र सहमतिमा कम्तीमा एक वा दुई दिनमा मात्र वर्षमा पठन सस्कृतिका लागि योजना वा परियोजना बनाउन सकेमा अति उत्तम कार्य मानिने छ । त्यसैले राजनीतिक नेतृत्वहरुबाट नीति निर्माण र मार्गदर्शक दस्तावेज बनाउन सकिन्छ । नेकपा(एमाले), नेपाली काग्रेस, नेकपा ( माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरु रहेका छन् । राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मात्रामा पठन संस्कृति विकास गर्नमा लागि परेर धेरै भन्दा धेरै पुस्तक दान अभियान संचालन गरेमा धेरै भन्दा धेरै युवा युवतीहरु विभिन्न सेवा क्षेत्रहरुमा रोजगारीका अब्बल उम्मेदवार हुनेछन् । राजनैतिक नेतृत्वमा अग्रगामी सोच र पठन सस्कृति विकासमा टेवा लिन सक्ने छन् । केन्द्रिय संघीय संरचनामा पहुँच पुग्ने गरी राजनैतिक नेतत्वको अभाव वर्तमान समयमा देखिन्छ ।

५. पंचायतकालमा युवा ज्योति पुस्तकालय, बागलुङ भकुण्डेमा स्थापना
बागलुङ बजारमा समेत पुस्तक,पत्रपत्रिकाहरु नियमित नआउने समयमा समेत भकुण्डेका जागरुक युवाहरु मार्फत अर्वाउदी टोलमा युवा ज्योति पुस्तकालय वि.स. २०४० सालमा संचालनमा आएको संस्थापक अध्यक्ष तथा भैरव माध्यमिक विद्यालयका पुर्व शिक्षक खिम बहादुर थापाको भनाइ थियो । पंचायतीकालको समयमा झन्डै बाह्र सय भन्दा बढि विभिन्न विधाका पुस्तकहरु सकलन भएको जानकारी दिनु भयो । युवाहरुको सक्रियतामा सकलीत पुस्तकहरु सबैहरु पुस्तक दान गरेर तथा देउसी भैलोबाट रकम सकलन गरेर किताबहरु सकलन भएको थियो । सुरुवाती चरणमा राम्रोसँग पुस्तकहरु आदान प्रदान गरेर चलेको थियो । तर युवा ज्योति पुस्तकालयमा बालबालिकाहरुको लागि अध्ययन गर्ने पुस्तकहरुको भने अभाव थियो । पुस्तकालयमा कसै कसैले पुस्तकदान गरेका पुस्तकहरुको सख्या उल्लेख्य मात्रामा थिए । युवा ज्योति पुस्तकालय भकुण्डेलाई कुन स्थानमा राख्ने भन्ने हल्का विवाद सृजना भएको अवस्था आउन थाले पछि पुस्तकालयमा पुस्तकहरु नयाँ नयाँ किन्ने प्रचलन बन्द भएको थियो । स्वायत्त सस्थाको अभाव र दर्ता प्रक्रिया पुरा नगरी संचालन गर्नमा अप्ठयारो परेको कारण निरन्तर रुपमा आजका दिनसम्म संचालन हुन सकेन । तर त्यस युवा ज्योति पुस्तकालयको बारेमा जानकारी पाएका र बाह्रय पाठयक्रम बाहेकको पुस्तक अध्ययन गरेका महानुभावहरु उच्च अध्ययन गर्ने क्रममा पठन सस्कृतिको आनी बानी विकास भएकोले उच्च शिक्षा हासिल गरेको अवस्था छ । धेरै जसो सो पुस्तकालयका पाठकहरु अहिलेको अवस्थामा रोजगार र स्वरोजगारीमा लागेको पाइन्छ । तर अहिले सो पुस्तकालयमा रहेका पुस्तकहरु निजी व्यक्तिहरुको हातमा परेको र पुनः पुस्तकालयको दराजमा अभिलेख हुने अवस्था छैन भन्दा हुने अवस्था अहिले रहेको छ । अहिले डिजिटल पुस्तकालयको अवधारणा आएपनि पुस्तकहरु नै खरिद गरेर अध्ययन गर्ने बानीको लगाव र अभिरुचिलाई महत्वपुर्ण मानिन्छ । डिजिटल पुस्तकालयले विद्यार्थीहरु पुरा रुचि समेटन सक्दैन भन्ने टिका टिप्पणी सुन्न पाइन्छ । युवा ज्योति पुस्तकालयको अहिलेसम्म निरन्तरता र संचालन भएको भएमा अझै धेरै भकुण्डे मगर समुदायहरुको श्रीवृद्धि र उन्नती तथा प्रगती भएको हुने थियो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । आजको एक्काइसौ शताब्दीको समयमा त अझै कति स्थानहरुमा पुस्तकालयहरु निर्माण नभएको अवस्था छ । तर भकुण्डे गाऊँमा पंचायतकालमा नै युवा ज्योति पुस्तकालय खोलेर पठन सस्कृतिलाई बढावा दिएको भएमा अझै अब्बल दर्जाको नागरिकहरु उत्पादन गर्ने भकुण्डे गाऊँ भनेर चिनिन्थ्यो होला भन्ने लाग्दछ ।

६.पुस्तकदान अभियान थालनीबाट किताबहरु संकलन
बागलुङ भकुण्डेका स्वयसेवक, समाजसेवा सोच बोकेका युवा जमातहरुको आफनो गाऊँको भैरव माध्यमिक विद्यालयमा व्यस्थित पुस्तककालय निर्माण गर्नको लागि पुस्तक दान अभियान मार्फत थुप्रै किताबहरु संकलन भएको थियो । भकुण्डे लगायत भैरव माध्यमिक विद्यालयलाई माया गर्ने पुस्तक प्रेमीहरु मार्फत किताब पाँच सय जति पुस्तकहरु संकलन भएको थियो । पुस्तकदान गर्ने महानुभावहरुको फोटो, किताबहरुको फोटो खिचेर फेसबुक मार्फत सार्वजनिक गरिएको थियो । थप नयाँ महानुभावहरुलाई पुस्तकदान गर्नका लागि उत्प्रेरणामुलक तरिकाले आब्हान गरिएको थियो । पुस्तकदान अभियानमा सोचे भन्दा बढी पुस्तकहरु सकलन भएको थियो । पुस्तकदान गर्नेहरुले जन्मदिन, वैवाहिक समारोह, नयाँ वर्ष, विजयादशमी, दिपावली, ल्होसार, कुलदेवता पुजा लगायतको सन्दर्भमा स्वत स्फुर्त रुपमा महान सोचका साथ खुल्ला ह्रदयका साथ गरेका थिए । पुस्तकादान अभियानमा प्राध्यानाध्यापक किसन प्रसाद सापकोटा, शिक्षक खिम बहादुर थापा, कर्मचारी श्याम कुमार थापा मगर, म स्वय याम बहादुर थापा, देउरालीका शिक्षक यम बहादुर पुलामी थापा, देउराली प्रेम थापा ( हाल दक्षिण कोरिया) , दहका सुरज थापा मगरको पुस्तकदान अभियानमा सम्वन्य समितिको गठन भएको थियो । पुस्तकदान गर्ने महानुभावहरुका धेरै जसोले स्वयसेवक तरिकाले त कसैले कसैले अनुरोधमा नयाँ, पुराना पुस्तकहरुको संकलन भएको थियो । पुस्तकालय तथा विद्यालयको पुस्तकालयलाई पुस्तकदान अभियान अरु समाजका बौद्धिक समुदायहरुले सिको वा नक्कल गरेमा पक्कै पनि पठन सस्कृतिमा बहुत राम्रो अभ्यास हुने थियो भन्ने लाग्दछ । फेरी साथीहरुसँग सरसल्लाह गरेर भकुण्डेका विद्यालयहरुका पुस्तकालयमा नयाँ नयाँ पुस्तकहरु सकलन गर्ने योजना बुनेको छु । आम पाठकहरु र भकुण्डेलाई माया गर्ने महानुभावहरुको खुल्ला ह्रदयले पुस्तकदान अभियानलाई सहयोग गर्न आब्हान गर्दछु ।

७. भकुण्डे गाऊँको वेवसाइटको योगदान
कुनै पनि गाऊँको सुचना र जानकारी एकै स्थानमा पाउने वेवसाइट बनाउने प्रचलनको सुरुवातमा नै भकुण्डेका जुझारु युवाहरुको सक्रियतामा धधध।दजबपगलमभ।अयm।लउ निर्माण गरि भकुण्डेका अधिकांश विषय वस्तुहरुको जानकारीको बारेमा विश्वमा रहेका महानुभावहरुलाई दिने खुल्ला र उदार रुपमा जानकारीले पठन सस्कृतिलाई पक्कै टेवा दिएको पाउन सकिन्छ । सो वेवसाइटलाई समयानुकुल अपडेट गर्दै जानुपर्नेमा भने अल्छी मानेको अवस्था वेवसाइट भिजिटिङ गर्दा देखिन्छ । हरेकको हात हातमा विश्व हेर्ने साधन मोबाइल रहेको वर्तमान समयमा वेवसाइटलाई सो तत्कालीन समयको पठन सस्कृतीलाई योगदान गरेको मुल्यांकन गर्दा अमुल्य रहेको पाउन सकिन्छ । तत्कालीन समयमा छिमेकी गाउँ विकास समितिहरुले वेवसाइट निर्माण नगरेको पाउन सकिन्छ । बागलुङ जिल्लामा संचालित दैनिक, साप्ताहिक, अनलाइन संचालन गर्ने योजना बुनी रहेको अवस्था थियो । आगामी दिनमा पठन सस्कृतिका लागि वढावा दिन र ज्ञान उत्पादन गरी वितरण, उपभोग गर्नका लागि सामुहिक दायित्व लिएर वेवसाइटलाई समयानुकुल अपडेट गरेर जानुको विकल्प छैन । अहिलेको समयमा भकुण्डेको वेवसाइटमा भएका विषय वस्तुहरु संशोधन गर्नुपर्ने अवस्थामा पुगेको छ । साहित्यीक कविता, गित, लेख,विचार, तथ्यांकहरु भकुण्डेबासीहरुले लेखेर वेवसाइटको लिकमा आउनुपर्दछ ।

८.बागलुङ भकुण्डे दशैको समयमा पुर्नमिलन समारोह
रोजगारी र व्यापार व्यवसायको शिलशिलामा जिल्ला भन्दा बाहिर रहनु भएका भकुण्डेबासी बौद्धिक व्यक्तित्वहरु विजयादशमीको सन्दर्भमा जन्मघर भकुण्डे आउने समयमा सबै महानुभावहरुलाई भैरव माध्यमिक विद्यालयको कक्षाकोठामा पुर्नमिलन समारोहको आयोजना गरेर शैक्षिक, आर्थिक, सामाजिक,रोजगारी र विकासका सवालमा अन्र्तक्रिया हुने गर्दा त्यस वृहत कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पठन संस्कृतिलाई बढावा दिनुपर्ने वहस र तर्क वितर्कहरु वाचन भैरहेको हुन्थ्यो । विकासका पुर्वाधारहरु मध्ये शिक्षा रुपी दृष्टिकोणका बारेमा भकुण्डेको दशैको समयमा हुने पुर्नमिलन समारोह सफल भएको थियो । शिक्षा नै विकासको आधारमा पहिलो प्राथमिकतामा रहेको हुन्छ । पठन संस्कृतिको बहस बढाृउन र निरन्तरताको लागि अहिले बढदो बसाई सराई र न्युन जनसंख्याका कारण आजभोलि पुर्नमिलन समारोह कार्यक्रम आयोजन गर्न प्राथमिकतामा नपरको हो कि भन्ने आभास हुन थालेको छ । पठन संस्कृतिको लागि मात्र कार्यक्रमहरु केन्द्रित भएर आयोजना भएका कार्यक्रम नगन्य रहेको छ । दशै तिहारमा बढी मात्रामा खेलकुदका कार्यक्रम आयोजना हुने गरेर जुनसुकै गाऊँ पनि खेलकुदले प्राथमिकता पाएको देखिन्थ्यो । तर हाम्रो अभियान र आन्दोलन भनेको पठन सस्कृतिलाई स्थापीत तथा सकारात्मक सोचलाई बढावा दिनु रहेको समाजका अगाडी प्रमाणित हुने गरी बुझाउन र समाजलाई सोही मुताविक डोरयाउन लाग्नुपर्ने अभियन्ता बनेका थियौ ।

९. पठन सस्कृति,सकारात्मक सोच र उत्प्रेरणा बारे अनुशिक्षण कार्यक्रम
केही समयको अन्तराल पछि अर्थात नेपालको अन्तरिम संविधान २०६३ को व्यवस्था अनुसार समावेशी समुहको व्यवस्था कार्यान्वयन भई लोक सेवा आयोगको परिक्षामा कोटा आरक्षणको व्यवस्था लागु भएपछि म स्वयं याम बहादुर थापा मगर लगायत केही साथीहरु निजामति सेवामा प्रवेश गरेका थियोै । त्यसपछि आफुले जानेका ज्ञान,शिप र अनुभवको आदान प्रदान गर्ने हिसावले तग्राम,मल्म,भकुण्डे, पाला लगायतका स्थानहरुमा पठन सस्कृति, सकारात्मक सोच र उत्प्रेरणा बारेमा अनुशिक्षण कार्यक्रम संचालन गर्ने अभ्यासको सुरुवातले धेरै भन्दा धेरै युवायुवतीहरुलाई वढावा दिएको थियो । लोक सेवा आयोग बाहेक अन्य सेवा आयोगका बारेमा समेत आफुले जानेको ज्ञान,अनुभव आदान प्रदान गर्ने कार्य गर्नाले पठन सस्कृतिलाई व्यक्तित्व अभिवृद्धि गर्नमा सफलता मिलेको थियो । गत विगतमा निरन्तर दुई तिन वर्षमा संचालन भएको थियो । त्यसपछिका दिनहरुमा पठन सस्कृति, सकारात्मक सोचका विषयमा नियमित र निरन्तर हुनुपर्ने विषय ओझेलमा परेको छ । पक्कै पनि भकुण्डेबासीले पठन संस्कृति, सकारात्मक सोच र उत्प्रेरणाका बारेमा थुप्रै उत्च तह र तप्काका आदरिणय महानुभावहरु हुनु भएकोले उहाँहरुको एक हप्ता जति समय तथा आर्थिक हिसाबले मासिक एक दिनको पारिश्रमिक लगानी गर्न सकेमा धेरै भन्दा धेरै सकारात्मक शैलीका उज्याला पक्षहरु देख्न सकिन्छ भन्ने लागेको छ । हातेमालो गर्दै बढदो साइबर अपराध जस्ता जघन्य किसिमका अपराध हुने गरेकोले त्यसलाई रोक्नका लागि पठन संस्कृति, सकारात्मक सोच र उत्प्रेरणा मार्फत अनुशिक्षण गर्नु बाहेक अर्को बिकल्प छैन । किताबलाई स्थायी साथी बनाउने, पुस्तक अध्ययन गर्न लागे फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने अभियान थालनी गर्ने, जन्मदिन,नयावर्ष,दशै,तिहारमा उपहार स्वरुप नयाँ नयाँ पुस्तकहरु उपहार दिने संस्कारको सुरुवात तुरुन्तै प्रत्येक जनजनबाट सुरुवात गर्ने क्रियाकलाप पठन सस्कृतिलाई बढावा दिनको लागि जरुरी भएको छ ।

१०. अन्य संस्कार र अभियानहरुको बारेमा
बाहुल्य रुपमा मगर जाति समुदायहरुको बसोबास भएकोले बढी मात्रा जातले पाएको भनी रक्सीलाई बढी मात्रामा कोशेली र कुलपितृलाई समेत चढाउने मिल्ने रक्सी सेवनका बारेमा छुटै बहस र छलफल गरी रक्सी शिक्षाका बारेमा जानकारी गराउनु पर्ने अस्वथा आएको छ । रक्सी सेवनको बारेमा फाइदा र बेफाइदा बारेमा प्रशिक्षण दिनु पर्ने भएको छ । साथै कुलत, कुसस्कारका बारेमा वैज्ञानिक तरिकाले गाजा, चरेश जस्ता उच्चकोटीको कुलतले होनाहार युवाहरु चरम दुश्चक्रमा फसेर सुनौलो भविष्य देखाउन अभियान र आन्दोलन निरन्तर खबरदारीका रुपमा चालु राख्नु पर्छ । पठन संस्कृतीले कुलत, कुसस्कार,कुशिक्षालाई तिलाञ्जली स्वत अटोमेटिक रुपमा दिने भएकोले भकुण्डेको विकास र अग्रगामी फड्को मारेको देख्न चाहानेहरुले पठन संस्कृतिलाई बढावा दिनुको विकल्प नै छैन । त्यसैगरी द रेयुकाई नेपालले समेत थुप्रै महानुभावहरुलाई संगठित गरेर व्यक्तित्व विकास र समुदायमा परिचालन गर्नमा महत्वपुर्ण भुमिका निभाएको पाउन सकिन्छ ।

११) विभिन्न पत्र पत्रिकाहरु प्रकाशनको लहर
छलफल तथा विश्लेषण

म स्वयम अनुसन्धानस्थलको स्थायीबासीन्दा भएकोले अध्ययनमा सहज र सजिलो हुने ठानेपनि कोही कसैलाई खुल्ला रुपमा पठन सस्कृति, सकारात्मक सोचका बारेको खोज अनुसन्धान नै गम्भीर विषयवस्तु नभएको अनौपचारिक बसाईमा व्यक्त गरेको पाए । भैरव माध्यमिक विद्यालय भकुण्डेमा लामो समय प्रध्यानाध्यापक हुनु भएका पुर्व प्रध्यानाध्यापक जगनाथ पौडेलसरसँग उहाँको निवासमा नै गएर झन्डै दुई घण्टा भन्दा बढी प्रत्यक्ष बार्तालाप गरेको थिए । धेरै नखुलेका विषयहरुमा पठन सस्कृतिहरु अभियान चलाएमा स्वत समाज प्रगतीमा जाने निष्र्कषमा पुगेका थियौ । नयाँ र नौलो साथै सदैव अज्जर र अम्मर रहने विषयवस्तुमा खोज अनुसन्धान गरी शोधार्थी विद्यार्थीले काम गरेकोमा खुशी लागेको बताउनुभयो । युवा ज्योति पुस्तकालय भकुण्डेका सस्थापक अध्यक्षले फोनमा लामो बार्तालाप हुँदा विषयवस्तु अनुसन्धानको राम्रो भएपनि सबै विषयवस्तुहरु पुरा समेटन गाह्रो हुने भएकोले आगामी दिनहरुमा संशोधन र परिमार्जन हुदै जाने हुन्छ भन्नुभयो । त्यसैगरी संविधान सभाका सदस्य नर बहादुर थापा मगरले खोज, अनुसन्धानको विषय राख्दा निरन्तर काम गदैै जानुपर्ने छलफल र विश्लेषणको विषयमा जानकारी दिनुभयो । उच्च तहदेखि तल्लो स्तरसम्ममा कामकाज गर्ने कर्मचारी, शिक्षक, प्रहरी, सेना लगायत बैकिङ क्षेत्रमा कामकाज गर्ने सम्पुर्ण महानुभावहरुको व्यत्तिगत नाम,पद र कार्यालयहरु मात्र समेटने काम भएको छ । तर अझै गहिराइमा पुगेर सबै क्षेत्रका महानुभावहरुको सुचनामुलक तथ्याकहरुलाई अध्ययन गरी टेबुलमा प्रस्तुत गर्न सक्ने सम्भावना हुदाहुँदै पनि वर्णनात्मक तरिकाले शिलशिला र पद मर्यादाक्रम नमिलाएर टिपोटका आधारमा नामावली झन्डै असी प्रतिशत जति उल्लेख गरेको छु । आगामी दिन यस अनुसन्धान र शोधलाई थप गहिराईमा पुगरे भकुण्डेका मगरमा पठन सस्कृति र सकारात्मक सोच अभिवृद्धि गर्न सकिन्छ भनेर विस्तृत अनुसन्धान गर्ने पाटो बाँकी नै रहेको छ । यो छोटो समयमा गरिएको शोधलाई पुर्णता मान्न सकिदैन ।

निष्कर्ष तथा सुझाव
विश्वका हर मानवलाई उन्नत जिवनयापन गर्नका लागि पठन सस्कृति, सकारात्मक सोच र उत्प्रेरणा अति अभिन्न अंगका रुपमा लिन सकिन्छ । सकारात्मक उद्धेश्य र लक्ष्यका साथ गरिएका अधिकांश क्रियाकलापहरु भाइरलका रुपमा नकारात्मक शैलीमा समाजमा छताछुल्ल भएको सबैलाई अवगत छ । हरेक मानिस शिक्षाका खातिर आफुलाई पठन सस्कृति र सकारात्मक सोचमा अब्बल बनाउन सक्दैन । हरेकमा खोज्दै जाने हो नकारात्मकता र खराबयुक्त आचरण नभएको मानिस पाउन यो संसारमा बहुत कठिन रहेको छ । तर हामी नकारात्मकतालाई तिलाञ्जली दिदै जर्वजस्ती असल र अब्बल चरित्रयुक्त समाज निर्माणको आन्दोलन,महाअभियान, अतृप्त ज्ञानको तिर्खा बोकेर हामीले भकुण्डे जस्तै थुप्रै गाऊँहरुलाई समेटदै र जोडदै आशा लाग्दो नेपाल बनाउनमा जानुको विकल्प छैन । अहिलेको समाजमा जताततै बढी मात्रामा डिजिटल प्रविधिका कारण नकारात्मक शिक्षामा हौसाउने सामाग्रीहरु ब्रगेल्ती पाइन्छ । तर हामी सबैको चाहाना र इच्छाशक्ति भनेको पठन सस्कृति, सकारात्मक सोच निर्माण गरेर अब्बल नागरिक गाऊँ र देशको बनाउने योजना रहेको हुन्छ । हरेक नागरिक भित्र रहेको आत्मशक्ति प्रस्तुत गर्नका लागि सबै जनलाई पठन सस्कृति र सकारात्मक सोचले ओतप्रोत भई उत्प्रेरणाले मात्र सम्भव हुन्छ । अनुसन्धानका शोध,विश्लेषण विधि, अध्ययनबाट प्राप्त नतिजा, अध्ययन विधिलाई लागु गर्नु भन्दा पहिला रिजल्ट सकारात्मक आउने भएमा श्रोत साधन र समय लगानी गर्ने हो । नत्र अनुसन्धानका विषयवस्तु र सवालहरु समसायमिक रुपमा आम नागरिकलाई उपलब्धीमुलक नलाग्ने भएमा इतिहासमा लेखिएका अभिलेखीकरणलाई समेत च्याटेर ध्वस्त बनाउन सकिन्छ ।

सन्दर्र्भ ग्रन्थहरु
१) नेपालको परिचय : सुचना विभाग,काठमाडौ ।www.doib.gov.np
२) नेपालको संविधान,२०७२ : www.lawcomision.gov.np
३) पराजुली, कृष्णप्रसाद : विद्यार्थीमा पठन सस्कृति किनहुनुपर्छ? असार१५,२०८१। www.sahityapost.com
४) श्रेष्ठ, दिपक : पठन संस्कृति र यसको सामाजिक प्रभाव । भाद्र २४, २०८१ ।www.sahityapost.com
५) खरेल, तीर्थराज : पठन संस्कृति र समाज रुपान्तरण । वैशाख ३,२०८१ । www.purwanchaldaily.com
६) पौडेल, विष्णुहरि पठन संस्कृति बढाउने पुस्तकालय । भदौ १७, २०८१ । www.samadhannews.com
७) www.bhakunde.com.np
८) थापा मगर, याम बहादुर : पठन सस्कृतिमा बहस गरौ । www.nayabishwo.com.np
९) थापा मगर, नर बहादुर । मौखिक अन्तर्वाता । संविधान सभा दोश्रो कार्यकाल सदस्य । ससंद सचिवालय, सिंहदरबार
१०) थापा, खिम बहादुर । मौखिक टेलिफोन वार्ता। सस्थापक अध्यक्ष, युवा ज्योति पुस्तकालय, भकुण्डे
११) थापा मगर, मतिलाल । मौखिक वार्ता । बागलुङ नगरपालिका १० भकुण्डे, एकपाते
१२) थापा मगर, लाल बहादुर । मौखिक वार्ता । बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *