लोप हुदैँ दैली पुज्ने परम्परा

सरोजराज पन्त
संस्कृति र परम्परा समाजका मेरुदण्ड हुन । हाम्रा पुर्वजले मौलिक संस्कृति र परम्परा सदियौंदेखि जगेर्ना गर्दै आएका भएता पनि अहिले लोप हुने अवस्थामा छन भने कतिपय लोप भै सकेका छन । नेपाल विविधतामा एकता भएको राष्ट्र हो, यहाँ विभिन्न जातजाति, धर्म, र भाषाभाषीहरूका आफ्नै मौलिक सांस्कृति परम्पराहरू रहेका छन् । यो विविधताको मिश्रणले नेपाली समाजलाई अझ समृद्ध र सजीव बनाएको छ । तर, समयसँगै हरेक संस्कृति परिवर्तन भै रहेका छन । त्यसको असरले मौलिक पहिचान गुमाउनु परेको छ । यो लेख स्मृतिमा दैली पूजा शीर्षकमा पवनराज पाण्डेयले लेखेको फेसवुक स्टाटस पछि मनमा यसबारे केही थप अध्ययन गर्न इच्छुक भै यो लेख तयार पारिएको छ । हाम्रा मौलिक संस्कृति र परम्पराको खोजी गरी संरक्षण गर्ने उद्धेश्यले तयार गरिएको यस लेखमा अझै थप अध्ययन गर्न आवश्यक समेत रहेको छ ।

नेपाल विश्वभर आफ्नो संस्कृतिको लागि प्रसिद्ध मानिन्छ । त्यसैले नेपाललाई ’देवभूमि’ तपोभूमि पनि भनिन्छ । यहाँ धेरै लोक संस्कृति र पर्वहरू मनाइन्छ । यस्ता पर्वहरुमध्ये चैत्र महिनामा मनाइने पर्व दैली पुजा वा दैली पुज्ने वा ’फूलदेई’ पर्व हो । दैली पुजा वा दैली पुज्ने परम्परालाई (फुलदेइ पर्व)का नामले समेत चिनिन्छ । बसन्त ऋृतुको आमनसँगै पहिला चैत महिनामा मनाईने यो पर्व नयाँ बर्षको स्वागत गर्न ससाना बालिकाहरुले उमङकासाथ मनाउने गरेको इतिहास पाइन्छ । घर घरमा गएर मुल ढोकामा प्याउली पहेलो रङको फूल लगायत अन्य रंगीबिरंगी फुल ढोकामा चढाएर दैली भनेर पुज्ने चलन थियो । यसरी कन्याहरुले दैली पज्दा लक्षिन भित्रिने, नयाँ बर्षमा शुभहुने विस्वाससाथ दैली पुज्ने गरिन्थ्यो । भगवानका दिव्य स्वरुप बालिकाले त्यसरी दैली पुज्दा घरमा अन्नको भण्डार बढ्ने र खुसियाली छाउने जनविश्वास समेत रहेको पाइन्छ । यो विशेषत कुर्मान्चलबासीहरुको महत्वपूर्ण बालपर्व रहेको इतिहास छ ।

यो दैली पुज्ने (फुलदेइ पर्व) कुमाऊ / कुर्मान्चल क्षेत्रमा अहिले पनि हर्षोत्लासका साथ मनाइन्छ । यो त्यहाँको प्रसिद्ध लोक पर्व हो । कुर्मान्चलमा अहिले पनि भब्य रुपमा मनाईने यो पर्व पहिले नेपालका कुमाई ब्राह्मण बसोबास गर्ने सुदुर पश्चिमका जिल्लाहरु वैतडी, डडेलधुरा, पश्चिमका पर्वत, बागलुङ, तनहुँ, गोर्खा, लमजुङ, पाल्पा, राजधानी काठमाडौं र नजिकका जिल्ला नुवाकोट, धादिङ आदि लगायतका जिल्लामा मनाउने गरेको पाइन्छ । कुमाइहरु नैनीताल, अलमोडा अर्थात कुमाउँ, बदरीनाथ, पहाड, हिमालय पर्वतबाट पूर्ववत् सृष्टि देखिनै प्रादुर्भाव भएका हुन् कान्य कुव्जादिबाट आएका होइनन् । कुमाउँका हुनाले कुमाई ब्राम्मण (पन्त, पाण्डेय, रेग्मी, विष्ट, सिलवाल आदिलाई भनेको हो । कुमाइहरु ठूला शास्त्री, पण्डित, बढा बुद्धिमान, बडा धनी हुन्छन् । विना अग्नीले भात पकाएर खाने उपाय आदि बुद्धिमानीका काम धेरै गरेका छन् (प्रपन्नाचार्य २०५७ पे. २५) ।

कुमाऊ क्षेत्रमा दैली पुज्ने वा फुलदेइ पर्वमा बालिकाहरुले घरघर तथा मठमन्दिरमा गएर लोकभाकामा गित गाउने चलन छ । घरको ढोकामा फुल चढाउने गर्ने गरेको भए पनि नेपालमा बालिकाहरुले मात्र ढोकामा फुल चढाएर दैली भनेर पुजा गर्ने गर्दथे । हाम्रो जन्मभूमी पर्वत लिमिठानामा हामी सानो हुँदासम्म दैली पुज्न कन्याहरु आउने गरेका र आमा, दिदीहरुले चामल, पैसा दिने गर्नु हुन्थ्यो । त्यतिबेला यसबारे सबै बुझिएन तर त्यसको स्मृति ताजा ताजै छ । यो पर्व यहाँका कुमाई ब्राह्मण पन्त, पाण्डेय (काजी), रेग्मी, पाण्डे परिवारमा दैली पुज्ने गरेको पाइन्छ । कन्याहरुले घरको ढोकामा आएर फूल राखेर दैली भनी रहने र त्यसपछि उनीहरुलाई चामल र पैसा दिने चलन रहेको थियो । अहिले भने यो दैली पुजा हाम्रो गाउँमा लोप भैसकेको अनुभत हुन्छ । किनकि यो अहिले अभ्यासमा देखिदैन ।

यो पर्व कुमाऊ÷कुर्मान्चलको महत्वपूर्ण लोक पर्व रहेको पाइन्छ । नेपालमा आएका कुमाई ब्राह्मणहरुको पुर्खौली थलो त्यही भएकाले यहाँपनि दैली पुज्ने चलन आएको हुन सक्दछ । तथापि नेपालमा पहिले चैत महिना भरी दैली पुज्ने गरेको भएतापनि कुर्मान्चल क्षेत्रमा यसमा फरक पन रहेको पाइयो (बद्धिदत्त पाण्डकोे कुमाऊको इतिहासमा) । कही चैत महिनाभरी यो पर्व कन्याहरुले मनाउँछन भने कही चैत अष्टमीदेखि आठ दिनसम्म दैली पुजी मनाउने चलन रहेको पाइन्छ ।

“फूल देई, छम्मा देई,
दैनिक द्वार, भर भाकर
ये देली के बार नमस्कार
फूल द्वार…”

यसको अर्थ हो, तपाईंको ढोका फूलहरूले भरियोस् । सधै शुभ रहोस् । सबैलाई क्षमा गर्नुहोस् । सबैको रक्षा गर्नुहोस् । ढोका र घरमा समृद्धि कायम रहोस् । सबैको घरमा अन्नको भण्डार भरियोस् । सबै घरहरूमा, ’फुलारी’ का घरहरू पूर्ण रूपमा सफा गर्दछन । गाईको गोबर र माटोले लिपेर देहली तयार गरिन्छ । जब ’फुलारी’ ले गाउँछन् र आशीर्वाद दिन्छन्, प्रत्येक घरले उनलाई चामल, गुड़ र पैसा उपहारको रूपमा दिने गर्दछन् ।

फूलदेई एक प्रसिद्ध पर्व हो । यो पर्व बालबालिकाहरूले मनाउँछन । त्यसैले यसलाई ’बाल पर्व’ पनि भनिन्छ । चैत्र महिनाको संक्रान्तिदेखि महिनाभर यो पर्व मनाइन्छ । चैत्र महिना हिन्दू नववर्षको पहिलो महिना र वसन्त ऋतुको आगमनको प्रतीक हो । चैत्र महिना आउने बित्तिकै अग्ला पहाडहरूबाट हिउँ पग्लन थाल्ने र जाडो वा चिसो दिनहरू कम हुने गदइछ । गाउँघरमा प्याउली फुल फुलेर हराभरा हुने गर्दछ ।

दैली पुजा÷ फुलदेई पर्व र प्याउली फुल बारे कुर्मान्चल क्षेत्रको पहाडमा रहेको किंवदन्ती ÷ पौराणिक कथासँग जोडिएको छ । कुर्मान्चलको पहाडमा घोघाजीत नाम गरेका राजाकी घोघा नामकी प्रकृति प्रेमी सानी छोरी थिईन । उनी अचानक हराएपछी राजा धेरै चिन्तित बने । खोज्नका लागि अनेकौ प्रयत्न गर्दा राजाकी कुलदेवीले वसन्त ऋतुको चैत अष्टमीमा गाउँ भरिका बालबालिकाहरुलाई बोलाएर प्याउली र गुराँसको फुल मुल ढोकामा चढाएर पुजा गर्न लगाएमा राजकुमारी भेटिने कुरा बताइन । राजाले सोही अनुरुप कन्याहरु जम्मा गरी दैलीपुज्न लगाएपछि राजकुमारी भेटिइन र घरमा खुसीयाली छायो । दरवारमा पनि उमङ वातावरण आयो । राजाले गाउँभरीका बालिकाहरुलाई बोलाएर प्याउली र गुराँसको फुलले मुल ढोकामा पुजा गरी यो पर्व मनाउन सुरु गरेको किंवदन्ती रहेको छ ।

दैली पुज्ने/फुलदेई पर्वसँग जोडिएको प्याउली फुल
फागुन चेत्र महिनामा पहाडहरूमा एउटा सुन्दर पहेंलो फूल फुल्छ । यो फूललाई पहाडहरूमा वसन्त ऋतुको सुरुवातको प्रतीक मानिन्छ । यो फूललाई प्योली फूल वा प्योली फूल भनिन्छ । यो फूलसँग स्थानीय मानिसहरूको भावना पनि जोडिएको छ । यो फूल हिमालयन संस्कृतिमा गहिरो जरा गाडिएको छ । यसलाई सुन्दर राजकुमारीको दोस्रो जन्म मानिन्छ । चट्टानी पहाडहरूमा उम्रने यो फूलले जीवनमा सकारात्मकताको सन्देश दिन्छ । यो एउटा सानो फूल हो । पहेंलो फूलमा चार वा पाँचवटा पंखुडीहरू हुन्छन । फूल पहेंलो रंग बनाउन प्रयोग गरिन्छ । यस फूलको वैज्ञानिक नाम प्रसिद्ध डच वनस्पतिशास्त्री क्यास्पर जर्ज कार्ल रेनवार्डको नाममा आधारित छ ।

प्याउली फुल (फ्योंली फुल) फुलसँग जोडिएको परम्परागत लोक कथा जाडिएको छ । कुर्मान्चलको पहाडमा प्याउली नाम गरेकी वनकन्या थिईन । उनको मानिस, बोटविरुवा र जनावरसँग राम्रो मित्रता थियो । एकदिन कुनै देशका राजकुमार जंगलमा आउँदा प्याउलीसँग भेट भएछ । प्याउली राजकुमारसँग प्रेममा परेछ । राजकुमारले प्याउलीलाई विबाह गरेर घरमा लगेछन । प्याउलीलाई घरमा माईती, साथीहरु, बोटबिरुवा र जनावरको यादले सतायो । प्याउलीका पति र सासुले प्याउलीलाई माइत जान बिन्ती गर्दा पनि नदिने तथा दुख दिन थाले छन । प्याउली माइतीको संझनामा तडपेर खाना समेत छाडिछन र अन्त्यमा उनको मृत्यु भएछ । उनको लास जमिनमा गाडेछन । केहि दिनपछि उनको लास गाडेको ठाउँमा पहेलो सुन्दर फुल सहितको बिरुवा उम्रेछ । उनलाई गाडेको ठाउँबाट पहेलो रंगको सुन्दर फुल उम्रेको कारण उनै राजकुमारी प्याउलीको नामबाट यस धर्तीका जन्मेकोले त्यो फुलको नाम प्याउली फुल भनेर नाम रहन गएको जन विश्वास छ ।

हिमाली लोक संस्कृतिमा प्याउली फूलको ठूलो महत्व रहेको पाइन्छ । यो फूल नेपालमा मात्र नभइ भारतको उत्तराखण्डको लोक संस्कृतिको पनि एक हिस्सा मानिन्छ । उत्तराखण्डका लोकगीतहरूमा यो फूललाई सुन्दरताको प्रतीकको रूपमा प्रयोग गरी वसन्त पंचमीमा यस फूलले कुलदेवहरूको पूजा समेत गर्ने चलन रहेको पाइन्छ । प्याउली फूल संघर्ष र दुखको पर्याय भएकोले यसको नाममा नेपाल र उत्तराखण्डमा गीत पनि बनेका छन । नेपालमा “प्याउली पलाईछ, नरौऊ न निरमाया सुख कसलाई छ“ भन्ने गित समेत निकै चर्चामा रहेको छ ।

विगतमा नेपाली समाज अत्यन्तै धार्मिक, नैतिक र सांस्कृतिक मूल्यमा आधारित थियो । हाम्रो समाजमा धर्म र परम्पराको गहिरो प्रभाव थियो । यसले हरेक व्यक्तिको दैनिक जीवनलाई मार्गदर्शन गर्दथ्यो । जातीय विविधताको बाबजुद, सबै समुदायका मानिसहरू आ–आफ्ना परम्परागत विधि र संस्कारमा अडिग थिए । अहिलेको समयमा हाम्रो समाजमा ठूलो परिवर्तन आएको छ । आधुनिकता, शिक्षा, प्रविधि, विश्वव्यापीकरणको प्रभावले हाम्रो संस्कृति र परम्परामा गहिरो परिवर्तन ल्याएको छ । मानिसहरूको जीवनशैली मात्र होइन, उनीहरूको सोच र सांस्कृतिक मान्यतामा पनि ठूलो परिवर्तन आएको छ । अहिले हामी आधुनिक समाजमा बाँचिरहेका छौं, जहाँ पश्चिमी जीवनशैली, प्रविधिको व्यापक प्रयोग र व्यक्तिवादले प्रमुख स्थान लिएको छ । यो मौलिक संस्कृतिको लागि प्रतिपादत बनेको ।

धार्मिक र सांस्कृतिक मान्यताहरूमा आएका यस्ता परिवर्तनले युवापुस्ता धार्मिक क्रियाकलापमा पहिलाको जस्तो गहिरो आस्था तथा विस्वास राख्दैनन् । परम्परागत पूजा–पाठलाई आधुनिक जीवनशैलीका कारण कम प्राथमिकता दिइएको छ । यसले गर्दा धार्मिक र सांस्कृतिक परम्पराको निरन्तरतामा कमी आएको छ । बसाइँसराइ, परसस्कृतिकरण, पुस्तान्तरणको अभाव, प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले हाम्रो सांस्कृतिक जीवनमा ठुलो प्रभाव पारेको छ । आजकल मानिसहरू सांस्कृतिक चाडपर्वहरूलाई सामूहिक भेला र नाचगानको माध्यमभन्दा पनि सामाजिक सञ्जालमा देखावटी रूपमा प्रस्तुत गर्ने माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् ।

वर्तमान परिवेशमा देखिएको यो परिवर्तनको मूल कारण आधुनिक शिक्षा, वैज्ञानिक सोच, प्रविधिको विकास, र पश्चिमी संस्कृतिको प्रभाव हो । यी सबै तत्वहरूले नेपाली समाजलाई नयाँ ढंगले सोच्न र बाँच्न प्रेरित गरेका छन् । आधुनिक समाजले व्यक्तिगत स्वतन्त्रतालाई प्रोत्साहन गर्दै परम्परागत प्रथालाई पुनरावलोकन गरेको छ । यसले गर्दा कतिपय पुराना प्रथाहरू अप्रासंगिक मानिएका छन् । तर, यस परिवर्तनसँगै परम्परागत संस्कृतिको संरक्षण र निरन्तरतामा कमी आएको छ । यसले भविष्यमा हाम्रो सांस्कृतिक पहिचानलाई चुनौती दिन सक्ने खतरा बढेको छ ।

संस्कृतिहरू समयको गतिसँगै परिवर्तन हुन्छन् । यो स्वाभाविक प्रक्रिया हो । तथापि परिवर्तनसँगै आफ्नो मौलिक पहिचान र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्नु प्रत्येक समाजको जिम्मेवारी हो । आधुनिकता र परम्पराको बीचमा सन्तुलन कायम राखेर मात्र हामीले आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सक्छौं । वर्तमान पुस्ताले आधुनिक शिक्षाको फाइदा उठाउँदै आफ्ना परम्परागत मूल्यहरूलाई पुनर्जीवित गर्न ध्यान दिनुपर्छ । यसको लागि, विभिन्न तहका सरकारले पनि विशेष भुमिका खेल्नु पर्दछ ।

अव विद्यालय स्तरबाटै बालबालिकालाई आफ्नो संस्कृति र परम्पराप्रति जागरूक गराउन शिक्षा प्रणालीमा आवश्यक सुधार गर्नुपर्छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर सांस्कृतिक पर्व र प्रथाहरू भित्रको वैज्ञानिक पक्षको खोजी गरी तिनीहरुलाई प्रवर्द्धन गर्न सक्नु पर्दछ । यसका साथै परम्परागत कला, संगीत, र संस्कृतिलाई जगेर्ना गर्न युवापुस्तालाई प्रोत्साहन गर्न आवश्यक छ । हामीले आधुनिकताको मार्ग अँगाल्दै गर्दा आफ्नो मौलिकता र परम्परालाई बिर्सनु हुँदैन । परम्परागत मूल्यहरूलाई आधुनिक सोचसँग मेल गराउन सक्ने हो भने, हामीले हाम्रो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै विश्वसामु हाम्रो पहिचानलाई बलियो बनाइराख्न सक्दछौं । यस प्रकारको सन्तुलनले मात्र हामीले हाम्रो संस्कृति र परम्परागत मूल्यलाई भविष्यसम्म बचाउन सक्दछौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *