भाषिक त्रुटिले भरिएका प्रश्नपत्र : शैक्षिक प्रणालीमाथिको घात

प्रकाश अधिकारी
विषय प्रवेश :

शिक्षाको आधारभूत उद्देश्य भनेकै विद्यार्थीको ज्ञानको स्तर मापन गर्नु हो । यही मापनको प्रमाणीकरणका लागि परीक्षा सञ्चालन गरिन्छ । कुनै पनि परीक्षाको मूल्याङ्कन यथार्थपरक, निष्पक्ष र विश्वसनीय हुनुपर्छ तर जब परीक्षामा प्रयोग गरिने प्रश्नपत्र नै त्रुटिपूर्ण हुन्छ भने त्यसबाट विद्यार्थीको कस्तो मूल्याङ्कन होला ? नेपालको शिक्षा प्रणालीको यथार्थ उजागर गर्ने उदाहरण बनेको छ – बेनी नगरपालिकाको कक्षा ५ र ८ को नगर स्तरीय नेपाली विषयको प्रश्नपत्र, जसमा भाषिक सम्पादनको गम्भीर अभाव देखिएको छ । भाषिक शुद्धता भाषा विषयको मेरुदण्ड हो भने मेरुदण्डमै कमजोरी हुँदा सम्पूर्ण परीक्षाको स्तर सङ्कटकालीन अवस्थामा पुगेको होइन र ?

त्रुटिले भरिएको प्रश्नपत्र : शिक्षा प्रणालीको नाङ्गो यथार्थ
अहिले नेपालमा कक्षा ५, ८ र एस.ई.ई. स्तरीकृत परीक्षा मानिन्छन् । स्तरीकृत परीक्षण भनेको विद्यार्थीको ज्ञान, योग्यता, विश्लेषणात्मक क्षमताको उचित मूल्याङ्कन गर्ने प्रक्रिया हो तर यहाँको वास्तविकता हेर्ने हो भने प्रश्नपत्र निर्माण गर्ने व्यक्तिहरूले नै न भाषा बुझेका छन्, न व्याकरण ! कुनै पनि स्तरीकृत परीक्षाको विश्वसनीयता निम्न कुराहरूमा निर्भर रहन्छ :
– योजना र ढाँचा
– प्रश्न निर्माण र सम्पादन
– परीक्षण, विश्लेषण र सुधार
– निष्कर्षको विश्वसनीयता

तर बेनी नगरपालिकाद्वारा सञ्चालन भइरहेको वार्षिक परीक्षामा (कक्षा ४–८ सम्म) नेपाली विषयको प्रश्नपत्रमै भाषिक त्रुटिहरू देखिनु दुर्भाग्यपूर्ण मात्र होइन, यो सम्पूर्ण परीक्षा प्रणालीको गम्भीर लापरबाहीको सङ्केत हो । जब भाषा विषयकै परीक्षा गलत भाषा प्रयोग गरेर लिइन्छ, तब अन्य विषयमा भाषिक शुद्धताको अपेक्षा कसरी गर्न सकिन्छ ? बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तहका (कक्षा ४–८ सम्म) नेपाली विषयको प्रश्नपत्रहरूमा गम्भीर प्रकृतिका भाषिक अशुद्धि भेटिएका छन्् । प्रश्नपत्र निमार्णका सामान्य सिद्धान्तबाट बेखबर कक्षा पाँचको प्रश्नपत्रको ढाँचा र डिजाइन हेर्दा कति असजिलो लाग्छ ! विशिष्टीकरण तालिकाको पनि ख्याल गरिएको छैन । यसको मतलब परीक्षाको सम्पादन प्रक्रिया नै चरम लापरवाहीको अवस्थामा पुगेको छ भन्न सकिन्छ । अझ गजब के छ भने कक्षा ५ को नेपाली विषयको प्रश्नपत्रमा पालिकाको नामै ‘बेनी गरपालिका’ लेखिएको छ ।

बेनी नगरपालिकाको वार्षिक परीक्षा सम्पन्न भएको छ । प्रश्नपत्रहरूमा सामान्यदेखि गम्भीर त्रुटिहरू पाइएका छन् । नेपाली विषयका प्रश्नपत्रहरूमा कतै वाक्य संरचना नै अपूर्ण छ, कतै व्याकरणिक नियम मिचिएको छ, कतै शब्दावली नै गलत छ । यस्तो लापरबाहीबाट नेपाली विषयलाई नै खेलौना बनाइएको छ ! अन्य विषयमा भाषिक शुद्धताको अपेक्षा गर्नु त झन् परको कुरा भयो । बेनी नगरपालिकाले लिएको नेपाली भाषा विषयको प्रश्नपत्रमा रहेका केही त्रृटि एवम् भाषिक अशुद्धलाई निम्नानुसार देखाउन सकिन्छ :

कक्षा ८ को प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरण तालिकालाई ध्यान दिइएको भए पनि भाषिक सम्पादनलाई त्यति महत्व दिइएको छैन । यी माथिका केही प्रस्तुत गर्न मिल्ने प्रतिनिधि त्रुटिहरू हुन् । यीबाहेक अन्य प्रश्नैपिच्छे धेरै त्रुटिहरू रहेका पाइन्छन् । अन्य कक्षाको प्रश्नपत्र हेर्दा विजोग देखिन्छ ।

त्रुटिहरू : लापरबाही कि अयोग्यता ?
नेपालको शिक्षा प्रणालीमा प्रश्नपत्र निर्माणसम्बन्धी कमजोरी विद्यालयदेखि विश्वविद्यालय र लोक सेवा आयोगसम्म व्याप्त छ । मल्याङ्कनसम्बन्धी सिद्धान्तहरू पढाउने शिक्षाशास्त्र सङ्कायका प्राध्यापकहरूले नै प्रश्नपत्र निर्माण गर्दा त्रुटि गर्नुले प्रश्न निर्माण प्रक्रियाको वास्तविकता उजागर गर्छ । लोक सेवा आयोग, जसले योग्यता परीक्षणको संरक्षकको दाबी गर्छ, त्यसका निरीक्षकस्तरका दुई हजार वस्तुगत प्रश्नहरूमध्ये १० प्रतिशतभन्दा बढी गलत पाइएका छन् (देविराम सुवेदी)। शिक्षक सेवा आयोगका विज्ञहरूले बनाएका प्रश्नहरूको हालत खराब छ । यो गम्भीर चिन्ताको विषय हो । यस्तो अवस्थाले शिक्षा प्रणालीको मूलभूत संरचनालाई नै कमजोर बनाइरहेको छ । विशेष गरी, परीक्षामा प्रयोग गरिने प्रश्नपत्रहरूमा हुने भाषिक अशुद्धि, विषयवस्तुसम्बन्धी त्रुटि, अस्पष्टता, र प्राविधिक कमजोरीहरूले विद्यार्थीलाई अन्यौलमा पार्ने गरेका छन् । जब शिक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षक र विज्ञहरूले नै पटक पटक त्रुटिपूर्ण प्रश्नपत्र तयार गर्छन्, तब प्रश्न उठ्छ– के यो केवल लापरबाही हो ? कि उनीहरूको अयोग्यता प्रकट गर्ने प्रमाण ?

कहाँ छ समस्या ?
प्रश्नपत्र बनाउने विज्ञहरूको लापरवाही, सम्पादन प्रक्रियाको चरम हेलचेक््रयाइँ र शिक्षा प्रशासनको अकर्मण्यताले गर्दा नेपाली परीक्षामा बारम्बार भाषिक त्रुटि भएका प्रश्नहरू, गलत उत्तर समावेश गरिएका बहुवैकल्पिक प्रश्नहरू, अस्पष्ट ढाँचाका सामग्री तथा पूर्णाङ्क नमिल्ने अङ्क विभाजन जस्ता समस्याहरू देखिन्छन् । ह्रस्वदीर्घ, पदयोग र पदवियोग, अजन्त र हलन्त, लेख्य चिह्न आदि विभन्न भाषिक सम्पादनका क्षेत्रहरूमा असङ्ख्य त्रुटिहरू उक्त प्रश्नपत्रमा रहेका छन् । यस्ता कमजोरीहरूले प्रश्नपत्र निर्माण प्रक्रिया नै त्रुटिपूर्ण छ भन्ने स्पष्ट सङ्केत दिन्छ । यदि प्रश्नपत्र तयार गर्ने विज्ञहरूकै ज्ञान कमजोर छ भने विद्यार्थीहरूले सही शिक्षा कसरी प्राप्त गर्ने ? यदि यी त्रुटिहरू लापरबाहीका कारण भएको हो भने सम्बन्धित निकायहरूले किन सुधार गर्न सकेका छैनन् ? अब यस्ता कमजोरीलाई निरन्तरता दिने कि सुधार गर्ने भन्ने सवाल उठेको छ । प्रश्नपत्र निर्माण प्रक्रियामा कडाइ नगर्ने हो भने शिक्षाको गुणस्तर खस्कँदै जाने निश्चित छ । अबको आवश्यकता भनेको जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनु, त्रुटिहरू सच्याउने नीति अवलम्बन गर्नु र शिक्षालाई गुणस्तरीय बनाउनु हो । नत्र गुणस्तरीय शिक्षाको नारा केवल खोक्रो आश्वासनमै सीमित हुने छ ।

निष्कर्ष
नेपालको शिक्षा प्रणाली दिनप्रतिदिन लथालिङ्ग बन्दै गएको प्रमाण परीक्षामा देखिएका त्रुटिपूर्ण प्रश्नपत्रहरू हुन् । नेपाली विषय जस्तो भाषाको मेरुदण्ड मानिने विषयमै भाषिक अशुद्धि हुनु सम्पूर्ण शिक्षा प्रणालीको असफलता हो । प्रश्नपत्र निर्माण गर्ने जिम्मेवार निकायहरूको लापरवाहीले विद्यार्थीहरू अन्योलमा परिरहेका छन् । यस्ता गल्तीहरू सामान्य होइनन्, बरु शिक्षामा रहेको चरम भद्रगोलका उदाहरण हुन् । जब विद्यार्थीहरूले महिनौँ मिहिनेत गरेर परीक्षा दिन्छन्, तब उनीहरूलाई निष्पक्ष र त्रुटिरहित प्रश्नपत्र प्राप्त गर्ने अधिकार छ । विशेष गरी, भाषा विषयका प्रश्नपत्रहरू शुद्ध हुनु अनिवार्य हुन्छ । जब भाषा शिक्षामा नै कमजोरी देखिन्छ, अन्य विषयमा सुधारको आशा गर्नु व्यर्थ हुन्छ । यस्तो लापरवाही दोहोरिइरहेमा सम्पूर्ण शिक्षा प्रणाली नै ध्वस्त हुने छ । अब प्रश्नपत्र निर्माणमा भाषा तथा विषय विज्ञको अनिवार्य संलग्नता हुनुपर्छ, त्रुटिहरू कडाइका साथ सम्पादन गरिनुपर्छ र शिक्षालाई राजनीतिभन्दा माथि राख्नुपर्छ । यदि अब पनि शिक्षा निकायहरू सुधारको दिशामा अघि बढ्न सकेनन् भने भविष्यका पुस्तालाई अन्धकारतर्फ धकेल्ने अपराधको जिम्मेवारी कसले लिने ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *