शिवशरण ज्ञवाली
जीवनमा कुनै क्षण र कुनै क्षण असाध्यै दुःखद हुन्छन् । गीतामा भनिएको छ, ‘सुखदुःख बराबर हुन्, समान भाव रहनुपर्छ ।’ गीता दर्शनले मलाई दुवै क्षण भोग्दा शीतलता दिएको छ ।
केही दिन पहिले म अभिभावक बनेर छोराको स्कुलमा पुगें । गुल्मी जिल्लाकै उत्पत्तिस्थल गुल्मीकै ईश्वरी मावि चारपाला दरबारको म पनि पूर्व विद्यार्थी हुँ । मेरो अक्षराम्भको प्रारम्भिक थलो एक घन्टा टाढाको ठूलोपोखरा प्रावि (हाल मावि) हो । ठूलोपोखरामा पाँच पढेर छ पढ्न दरबार आइपुगेको हुँ । दरबार पढ्न थालेपछि मैले कक्षा उतीर्णका मीठा स्वाद मात्रै अनुतीर्णका दुई ओटा तीता फल पनि चाखेको छु । आजकाल बुझ्दै छु जीवनमा मीठो भन्दा नमिठो वा तीतो स्वाद बढी उपयोगी हुन्छ । त्यस्ता तीता स्वादले मलाई आत्मसमीक्षा गर्न सहयोग पु¥याएका छन् । त्यसैले छोराको स्कुलको म अभिभावक मात्रै होइन, पूर्वविद्यार्थी पनि हुँ । मलाई त्यो विद्यालयमा पढाउनु भएका हरि कँडेल र राजकुमार श्रेष्ठ सरले अहिले छोरालाई पनि पढाइरहनुभएको छ भन्दा मेरो छाती नाङ्लोजस्तो फराकिलो हुन्छ । वार्षिकउत्सवका दिन मलाई उद्घोषक म्याडमले अगाडि बोलाउनुभयो । अन्य सर म्याडमले फूलमाला र अवीरले स्वागत गर्नुभयो । समाजका गन्यमान्य, प्रतिष्ठिति, बुबाआमा, साथीहरूका माझमा म पनि बसें । अभिभावक मात्रै नभएर म त्रिभुवन विश्वविद्यालयको विद्यार्थी पनि हुँ, एमफिल पिएचडीको ।
आमाबाबु दुवैको अभिभावकत्वबाट टाढिएको छोरा पछाडि दर्शकदीर्घामा खेल्दै चल्दै गरेको पनि मैले देखिरहेको थिएँ, अगाडिबाट । त्यतिबेला मलाई महसुस भयो, म पनि त्यस्तै दर्शकदीर्घामा बस्ने विद्यार्थी पनि त हुँ, त्रिभुवन विश्वविद्यालयमा । छोराले जस्तै मैले पनि झोला बोकेर कक्षाकोठामा आज पनि पढ्दै छु । तर म छोरोजस्तो पढाइमा इमान्दार आज पनि छैन है ! उसले वर्षमा एक दिन पनि स्कुल छाड्न मान्दैन । नजानेको कुरा मसँग, मम्मीसँग, क्यानडा बहिनी, ठूलो बाबामम्मीसँग सोध्न पुग्छ । म आ ! नजानेको कुरा साथीसँग सोध्न पनि धक मान्छु, अभिभावक र सर म्याडमसँग सोध्ने कुरा त परको ! छोरो सरम्याडमसँग जिज्ञासा राख्न डराउँछ होला म लाज, धक मान्छु । साथीसँग सोध्यो भने मैले भन्दा उसले जानेको छ कि भन्ने चिन्ताले म सताइन्छु । अनि कछुवाजस्तै आफैंभित्र टाउको र पुच्छर लुकाउँछु ।
त्यसो त म शिक्षक पनि हुँ । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको शिक्षक हुँ । २०६६ सालदेखि मसँग शिक्षण गर्दाको अनुभूति छन् । मैले कक्षा ८ देखि स्नातकोत्तरसम्म पढाएको छु । बागलुङमा मानविकी र शिक्षा दुवै सङ्कायमा अनिवार्य र ऐच्छिक नेपाली विषय १३÷१४ वर्ष पढाएँ । क्याम्पसमा स्थायी भएको दुई तीन वर्ष विद्यामन्दिरमा बाह्र कक्षामा पढाएँ । त्यसपछि भने म क्याम्पसमा केन्द्रित भएँ । मानविकीमा त विद्यार्थी संख्या कम नै छ तर शिक्षा पढाउँदा भने विद्यार्थीसँग राम्रै चिनजान हुन्थ्यो । तर स्कुल पढाउन छाडेपछि भने मेरो र समाजको सम्पर्क विच्छेद भयो । म निश्चित खोपीभित्र सीमित भए । विद्यालय शिक्षा त विशाल संसार रहेछ । वि. सं. २०८० को सुरुमा म बागलुङबाट सरुवा भएर सरस्वती क्याम्पस काठमाडौँ आइपुगें ।
अभिभावक, विद्यार्थी र शिक्षक ! शिक्षाका लागि यो ओदान हो । म एक्लै ओदान बन्न पुगेको छु । यसकारण म अनुभूतिको विशिष्ट क्षणमा छु । सफलताका लागि यी तीनवटैको बराबर सहभागिता चाहिन्छ । दुई सय रूपैयाँ लगेर बजार गएर आजलाई चाहिने तरकारी झोलामा खरिद गरेर आए जस्तो ठोस रूपमा शिक्षाको उपलब्धि हात लाग्दैन । यो त अमूर्त हुन्छ । स्कुलमा अनुतीर्ण भएर कक्षा छाडेको विद्यार्थी पनि भोलि गएर कुशल गायक, नायक, व्यापारी आदिआदि बनेका पर्याप्त उदाहरण पनि छन् । हाम्र्रै हरिवंश आचार्य हुन् या एप्पलका संस्थापक स्टीभ जब्स हुन्, दुवै कक्षामा सफलता प्राप्त नगर्ने हुन् । त्यसैले अनुतीर्ण हुँदैमा उसले स्कुलबाट केही पनि नसिकेको भन्ने पनि हुँदैन । निश्चित अङ्कमात्रै नल्याएको न हो । त्यो नल्याउँदैमा उसले केही पनि जान्दैन भन्ने हुन्न है ।
स्कुल गए पछि उतीर्ण त हुनैपर्छ । के उतीर्ण गराउने जिम्मेवारी शिक्षकको मात्रै हो ? क्याम्पसमा त कक्षाकोठामा आउँदै नआउने विद्यार्थीले पनि परीक्षामा सबैभन्दा राम्रो गरेका उदाहरण पाइन्छ । तर स्कुलमा शिक्षकको निगरानी चाहिन्छ नै । मेरो सबै परिवार बा, दाइभाउजू, स्वर्गीय मीना र अहिले गीता समेत सबै जना संलग्न पेसा शिक्षण हो । यहाँभन्दा पर अहिलेसम्म हाम्रो कुनै सपना छैन । हाम्रो पारिवारिक निष्कर्ष हो, कक्षामा जान्ने विद्यार्थी त यसै पनि जान्ने छन्, उनीहरू त शिक्षकले नहेर्दा पनि पढ्न सक्छन् तर जो नजान्ने विद्यार्थी छन् उनीहरूलाई जान्न सक्ने गराउँदा नै सफल हुन सकिन्छ । तर हामी पनि लर्बराउँछौँ । जान्ने विद्यार्थीमै ध्यान पुग्छ । नजान्नेलाई तान्न खोज्दा आउने जटिलताले गर्दा दिक्क लाग्छ । असजिलोबाट भाग्न मन लाग्छ । अनि हामीले पनि आम शिक्षकले जस्तै सरल बाटो समात्छौँ । कक्षाकोठामा समावेशी तथा प्रजातान्त्रिक शिक्षणको अवधारणा आए पनि हामी सबै शक्ति आफैंमा भएको भ्रम पालेका छौँ । हामी प्रजातान्त्रिक हुन सकेका छैनौँ । प्रजातान्त्रिक हुँदाका दिन शिक्षाको यो अवस्थामा परिवर्तन आउने निश्चित छ ।
अभिभावकका रूपमा त म अहिले छोरोसँग हुनुपर्ने थियो । काठमाडौँबाट गुल्मी धेरै टाढा छ । तर पनि विभिन्न मेसोमा म एकाध महिनामा एक दिनका लागि भए पनि वा हप्ता दश दिनका लागि भए पनि गुल्मी पुग्ने गरेको छु । क पनि लेख्न नजान्ने आमा भन्नुहुन्छ, ‘तँ एकाध महिना बसिस् भने नातिको पढाइ सुध्रने थियो ।’ हुन पनि तीन कक्षा पढ्ने मेरो छोरालाई पढाइका लागि मेरो आवश्यकता पर्ने अबको एकाध वर्ष मात्रै हो । पाँच कक्षासम्म अभिभावकले राम्रो रेखदेख गरेका कुनै पनि बालबालिका पढाइमा असफल छैनन् । खासै नपढ्नुभएका मेरा मामा, दश कक्षा अनुतीर्ण भएर पढाइ छाड्नुभएकी मेरी दिदी, क नपढनुभएकी हटिया गीता आन्टी र मेरै बा स्वयंले उहाँहरुका सन्ततिका लागि तल्लो कक्षामा गर्नुभएको मेहनतले यही कुरा भन्छ । अभिभावकले पाँच कक्षासम्म बालबालिकाको शिक्षामा ध्यान दिने र मेहनत गर्ने हो भने सायद कुनै पनि बालबालिका पढाइमा असफल भएर फर्कनु पर्ने छैन । म पनि उहाँहरुकै सिको गर्दैछु । त्यसैका लागि एकाध महिनामा घर गइरहन्छु । तर मेरो त मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । अहिले अभिभावक र बालबालिकाबीच निकै ठूलो रिक्तता छ । बाबुआमाले पढेको शिक्षा र उनीहरूका छोराछोरीले पढ्ने शिक्षामा ठूलो अन्तर छ ।
अभिभावकले नेपालीमा पढेथ्यौँ तर अहिले स्कुलमा अङ्ग्रेजी छ । कुन भाषामा पढाउने राज्यले तय गर्न सकेको छैन । पाठ्यक्रम पनि छैन । सायद निजी पब्लिकेसनले नै पाठ्यपुस्तक बनाउँछ । पाठ्यक्रम नै त्यही हो, अहिलेको । यसबाट राम्रो परिणाम आउने सम्भावना नपाइनु स्वभाविक नै हो । म अङ्ग्रेजीको विरोधी होइन । तर यो खालको अङ्ग्रेजी शिक्षणले गर्दा शिक्षाको गुणस्तर खस्किएको अनुभूति मैले गरेको छु । आफ्नो मातृभाषालाई माया नगर्दासम्म मुलुक सम्पन्न हुन्न भन्ने पुष्टि त चीन, रूस, जापान, जर्मनी, कोरिया आदिआदिले देशले देखाएकै छन् । जति बल गरे पनि नेपालमा अङ्ग्रेजी भाषा पहिलो हुन सक्नेवाला नै छैन । नेपाङ्ग्रेजी नै हुनेछ ।
विद्यार्थीका रूपमा मेरा अनुभूतिहरू त्यस्ता विशिष्ट लाग्दा छैनन् । मेरो व्यक्तित्व जस्तो बन्नु थियो बनिसक्यो । अब थप खासै नयाँ निर्माण हुनेवाला छैन । नेपाली विषयको विद्यार्थी म संस्कृत र अङ्ग्रेजी भाषामा पहुँच नहुँदा अनेक जिज्ञासा मनमा थन्काउन विवश छु । मनका अन्तरकुन्तरमा थन्किएर यी जाने भने चिन्ताले कहिलेकाहीं पीडा पनि हुन्छ । अङ्ग्रेजी र संस्कृत नजान्दासम्म नेपाली पढ्न सकिदैंन । जागिर खानु त अलग कुरा हो । बाआमाका लागि सन्तति असाध्यै प्रिय हुन्छ । बाले मेरो छोरो जन्मँदा भन्नुभएको थियो, ‘माया कस्तो हुन्छ थाहा पाइ होलास् ।’ आमा सधैं भन्नुहुन्छ, सन्ततिको माया भनेको उँधो माया हो । माथिल्लो गराको पानी तल्लो गरामा जान्छ । तल्लो गराको पानी माथिल्लो गरामा आउँदैन ।’ मलाई जस्तै अनुतीर्णको तिक्त अनुभूति छोराले गर्नु नपरोस् । यो पनि म सिक्दै छु । जीवन सिकाइ नै रहेछ ।
शिक्षणमा सफलताका लागि राज्य त अभिभावक नै हो । प्रत्यक्ष जोडिने भनेका अभिभावक, शिक्षक र विद्यार्थी नै हुन् । शिक्षाका ओदान नै यिनै हुन् । सबैको उत्तिकै भूमिका बिना सफलता प्राप्त सफल छैन । मेरो शिक्षक अनुभूतिले यही भन्छ । शिक्षकले मात्रै सबै गर्न सक्दैन ।