राम बहादुर जि.सी.
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिक गत फागन २३ (२०८१) देखि १९ वर्ष प्रवेश गरेको छ । पत्रिकाको १८ औं वार्षिकोत्सवका अवसरमा संस्थाका तर्फबाट पत्रिकाको १९ औं वर्षभर पर्यटन प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिएर समाचार सामग्री खोज्ने, प्रकाशन प्रशारण गर्ने निर्णय गरेका थियौ । सोही अनुसार वार्षिकोत्सवका दिन धौलागिरी क्षेत्र अन्तरगत चार जिल्लाका २८ पालिकाका १०० पर्यटकीय गन्तव्य घोषणा गरेर अभियान सुरु गरेका छौँ । गत फागुन २३ गते म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल टोड्केमा वार्षिकोत्सव मनाएर घोषणा गरिएका प्रमुख पर्यटकीय गन्तव्यमा पुगेर समाचार संकलन गर्न सुरु गरेका छौँ ।
हामीले यो अभियान १८ औ वार्षिकोत्सवमा एक्कासी सुरु गरेका होइनौ । यो भन्दा १० वर्ष अगाडिदेखि हामी पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका थियौ । आन्तरिक पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका बढाउने लक्ष्यका साथ सुरु गरिएको अभियान अन्तरगत धौलागिरीका विभिन्न पर्यटकीय स्थलमा पुगेर वार्षिकोत्सव मनाउन सुरु गरेका थियौ । विभिन्न पर्यटकीयस्थलहरुमा गएर मनाउन थालेको १० वर्षपछि हामीले यो वर्ष पर्यटन प्रवद्र्धनका लागि सञ्चार अभियान सुरु गरेका छौँ । पत्रिकाको वार्षिकोत्सव विभिन्न ठाउँमा पुगेर मनाउने क्रममा आठौ वार्षिकोत्सव बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा मनाएका थियौ । भकुण्डेमा भरखरै होमस्टे सुरु भएको थियो । हामीले त्यसको प्रवद्र्धन गर्नु पर्छ, प्रचार प्रचार गर्नु पर्छ भनेर बागलुङ बजारदेखि पत्रकारहरुको पैदल यात्रा सुरु गरी भकुण्डे एकरात बास बसेर भोलीपल्ट वार्षिकोत्सव सम्पन्न गरी बलेवा भैरवस्थान मन्दिर हुदै कुश्मासम्म पैदल यात्रा गरेका थियौ ।
आठौँपछि हरेक वर्ष एउटा पर्यटकीय क्षेत्रमा पुगेर वार्षिकोत्सव मनाउने क्रममा हामीलाई पर्यटन प्रवद्र्धनका लागि थप काम गर्नुपर्छ भन्ने महसुस भयो र यो वर्षदेखि समृद्धिका लागि पर्यटन : पर्यटन प्रवर्द्धनका लागि सञ्चार भन्ने नाराका साथ पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुटेका छौँ । हामीले पर्यटन प्रवर्द्धन अभियान सुरु गर्नका लागि राज्यका नीतिहरुलाई समेत मनन गरेका छौँ । स्थानीय तहले आफ्नो भुगोल भित्रका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गराउने, पर्यटकहरुलाई आकर्षण गराउन सक्दा मात्रै पालिकाको आर्थिक विकासमा योगदान पुग्न सक्छ ।
नेपाल सरकारको १६ औं पञ्चवर्षीय योजनामा पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि पर्यटन पूर्वाधार विकास, पर्यटन बजारको विकास, विस्तार तथा सुदृढीकरण, गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय क्रियाकलाप तथा गन्तव्यको विविधिकरण गर्ने, पर्यटन व्यावसायबाट उच्च मूल्य अभिवृद्धि गर्ने, वातावरणीय उत्तरदायित्व र दीगो अभ्यासको सुनिश्चितता, एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र एक स्थानीय तह बहुपर्यटन गाउँ प्रवर्द्धन गर्ने, पर्यटन विस्तारित लेखा तयारी पर्यटक सुरक्षा, प्रचार प्रसार तथा पर्यटन सूचना सञ्जालीकरण गर्ने उल्लेख छ ।
१६ औं पञ्चवर्षीय योजनाले प्राथमिकताका साथ स्थानीय तहमा बहुपर्यटन गाउँ प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, त्यो लक्ष्य पुरा गर्नका लागि सरोकारवालाहरुको भूमिका प्रभावकारी हुन जरुरी छ, पालिकाहरुले पर्यटन प्रवर्द्धनका लागि योजना बनाउने र सबैले साथ दिने हो भने आन्तरिक पर्यटनलाई प्रभावकारी बनाउन सकिन्छ । सञ्चारमाध्यमले पर्यटन प्रवर्द्धनमा सबै भन्दा धेरै योगदान गर्न सक्छ, भन्ने निष्कर्षका साथ हामीले पत्रिकाको १९ औं वर्षलाई पर्यटन प्रवर्द्धन वर्ष घोषणा गरेका हौँ ।
यो अभियानका क्रममा २८ दिन २८ पालिका पग्ने हाम्रो प्रतिवद्धता अनुसार पहिलो यात्रा बागलुङको दक्षिण भेगमा रहेको बरेङ गाउँपालिकाबाट गरेका छौँ । बरेङ गाउँपालिका पर्यटन प्रवद्र्धनको हिसाबले उपयुक्त स्थल हो । गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल समेत रहेको बरेङ गाउँपालिकाको पूर्वमा बागलुङ जिल्लाकै जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका रहेका छन् । ५ वटा वडा रहेको बरेङमा मगर जातिको बाहुल्यता रहेको छ । ब्राहमण, क्षेत्री, थकाली तथा दलित जातिको बढी बसोबास रहेको गाउँपालिकामा यो क्षेत्रकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । देवि बहिरी भएकोले चर्को स्वरमा वर मागेमा मनोकामना पुरा हुने विश्वास गरिने मन्दिरमा विभिन्न जिल्लाबाट पुजा गर्न आउने गर्दछन् । मन्दिरमा पूर्णिमामा मेला लाग्ने गर्दछ ।
पालिका भित्र खहरे झरना, कौडेको लेक, भातेपोखरा, सिग्दी होमस्टे, भुमेथान, कालिलेख, देउराली, फुटबल खेलमैदान, वनभोज स्थल जस्ता विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको सम्भावना बोकेको ठाउँ रहेको छ । बरेङ गाउँपालिका वडा नं. ३ स्थित सत्यवती मन्दिर र वडा नं. २ स्थित कौडेको लेकलाई हामीले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमा उल्लेख गरेका छौँ । हामीले घोषणा गरेका १०० गन्तव्यमा पुग्ने क्रममा पहिलो यात्रा सत्यवती मन्दिरबाट गर्ने क्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडा नं. ३ का वडा अध्यक्ष शेर बहादुर खनाल र साग्दी सत्यवती बर्जु मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर श्रीस लगायतका व्यक्तिहरुसंग विभिन्न विषयमा छलफल गरेका छौँ ।
यो अभियानमा हाम्रो सम्पादन मण्डलका सकेसम्म सबै जना र व्यवस्थापनका कम्तिमा एक जना पुग्ने योजना हामीले बनाएका छौँ । बैशाख १३ गते शनिवार हामी सम्पादन मण्डलका ४ जना (राम बहादुर जिसी, सिर्जना पन्त, खेमराज गौतम ‘सुवास’ र डम्मर बुढा मगर) र व्यवस्थापनबाट बजार व्यवस्थापक मन कुमारी केसी ‘करिष्मा’ बरेङ जाने टिममा थियौ । हामीलाई यो यात्रामा यातायातको व्यवस्थापन गर्ने काम आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक तथा बरेङ गाउँपालिका संयोजक जयराम शर्माले गर्नु भएको थियो ।
पोखराबाट बरेङ आउदै गरेको ग १ ज ७४६९ नं. को बुलेरो जीपमा जाने सल्लाह भयो । गाडीमा पोखराबाट आएका यात्रुहरु हुनुहुन्थ्यो ? हाम्रा साथीहरुले पछाडिको सिटमा गारो हुने भयो भन्ने गुनासो गर्दा गर्दै २ जना महिलाहरुलाई बिचमा र हामी ३ जना पछि बसेर बिहान साढे १० बजे बरेङ प्रस्थान गरेका थियौ ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र वडा अध्यक्ष शेर बहादुर खनाललाई संगै लैजाने गरी हामीले योजना बनाएका थियौ । हामी बरेङ वडा नं. १ को कार्यालय पुग्दा साढे १२ बजेको थियो । पालिका अध्यक्ष शर्मा वडाको एउटा कार्यक्रममा हुनुहुन्थ्यो । हामी पुग्दा उहाँ आफ्नो मन्तव्य सकेर तयार भएर बस्नु भएको रहेछ । अध्यक्ष शर्मालाई जीपमा चढाएर बरेङ पुग्यौ, बरेङमा अन्य यात्रुहरु झर्नु भयो ।
पालिकाको कार्यालय नजिकैबाट जयराम शर्मा पनि हामीसंग मिसिनु भयो । पालिका अध्यक्ष शर्मा, आदर्शको टिम, सञ्चालकसहित ७ जनाको टोली हुग्दिशिरको बाटो हुदै गन्तव्यमा लाग्यौ । पालिका वरिपरी कालोपत्र हुदै गरेको रहेछ, त्यसकारण बैकल्पिक बाटो प्रयोग गरियो ।बाटोभरी ऐशेलु पाकेका थिए, ऐशेलु देखेर मुख मिठ्याउदै हामी अगाडि बढ्यौ । हामी ३ बजे साग्दीस्थित सत्यवती मन्दिरमा पुग्ने योजना थियो । वडा अध्यक्ष खनाल अर्को बाटो जादै हुनुहुन्थ्यो । उहाँले ३ बजे भेट्ने भन्नु भएको थियो । ऐशेलु खान निकै मन हुदा हुदै पनि हामीले गाडी रोकेनौ किनकी हाम्रो मुख्य ध्यान छिटो भन्दा छिटो सत्यवती मन्दिर पुग्नु थियो ।
म हालको बरेङ गाउँपालिकामा २०४७ साल पुसमा पुगेको छु पहिलो पटक । त्यति बेला विद्यार्थी राजनीति अलि बढ्ता नै लागेको थियो । नेकपा मालेका जिल्ला सचिव शिव पौडेललाई हुग्दिशिरमा राजावादी समुहले कुटपिट गरेको थियो । नेकपा माले बागलुङले कुटपिट गर्नेहरुलाई माफी मगाउने गरी कार्यक्रम आयोजना गरेको थियो पुसको तेस्रो साता ।
त्यो कार्यक्रममा रेश, सिगाना, तित्याङ, भकुण्डे र अमलाचौरबाट ५/५ जना युवाहरु जाने निर्णय भएको रहेछ । रेशबाट ५ जना जाने भनेकोमा हरि बहादुर कार्की (पछि रेश गाविसको अध्यक्ष र जिल्ला विकास समितिको सदस्य समेत बन्नुभयो, हाल स्वर्गीय) र म मात्रै भयौ । रेशको गलैना भन्ने ठाउँदेखि नै हिउ परेको थियो । हामी बल्ल बल्ल त्यो कार्यक्रममा पुगेका थियौ । त्यही दिन नेकपा माले र नेकपा माक्र्सवादी मिलेर नेकपा एमाले बनेको थियो, सांझ गोपाल गिरीको घरमा बसेर हामीले त्यो समाचार सुनेपछि शिव पौडेलले लौ पार्टी एकीकरण भयो भन्दै खुशीयाली साट्नु भएको थियो ।
२०४७ पछि पटक पटक बरेङ पुगेको छु, २०७३ मा एमाले बागलुङले सञ्चालन गरेको अभियानका क्रममा हालको बरेङका ५ गाविसको जिम्मा लिएर पनि गएको थिए, आदर्श सञ्चार सहकारीको दोस्रो सेवा केन्द्र समेत रहेको बरेङमा वर्षमा ३/४ पटक पुगेकै हुन्छु । तर पनि सत्यवती मन्दिरमा पुगेको थिइन ।
आफु नगएको स्थल भएर होला ? कति बेला आउछ, भन्ने कौतुहल नै थियो । बाटो कालोपत्र हुन लागेकोले बैकल्पिक बाटो हिड्न परेका कारण हामी थोरै ढिला भयौ, वडा अध्यक्ष खनाल भने ३ नबज्दै मन्दिरमा पुगि सक्नु भएको थियो । हामी पुग्दा ३.१० भएको थियो । हाम्रो उद्देश्य अनुसार नै सुरुमा मन्दिरको अवलोकन सहित मन्दिरको समाचारका लागि आवश्यक सम्वाद, छलफल सक्यौ, ग्रुप फोटो संगै हाम्रो टिमका एकल प्रस्तुतीहरु (फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने) पनि भए ।
पालिका अध्यक्ष शर्मा, वडा अध्यक्ष खनाल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीस, आदर्श सञ्चार सहकारीका सञ्चालक शर्मा सहितले मन्दिरको बारेमा जाने बुझेका विषयहरु हामीलाई जानकारी गराउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीसले १ सय ५० वर्ष पुरानो घण्ट रहेको जानकारी गराउनुभयो ।
मन्दिरको हालसम्मको भौतिक प्रगतिका बारेमा पनि धेरै कुरा जानकारी भयो । यो विषयमा विस्तृतमा समाचार आउने भएकाले मैले मन्दिरको धेरै कुरामा उल्लेख गरिन । सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर माग्नु पर्ने लगायतका विषय धेरै नै ऐतिहासिक रहेका छन् । यो मन्दिरमा बुद्ध पूर्णिमामा गण्डकी, लुम्बिनी प्रदेश लगायतका देशभरका धेरै ठाउँबाट भक्तजन पुजा गर्न आउने गर्दछन् ।
मन्दिरलाई थप व्यवस्थित गराउन हामीले सल्लाह दियौ । दानपेटिका राख्न, भजन कृतनको व्यवस्था गर्न, वार्षिक एक दिनलाई प्राथमिकता दिइदै आएकोमा हरेक पूर्णिमामा पुजा हुने भएकाले मासिक रुपमा थप योजना बनाउन सके बरेङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विषयमा छलफल भयो । मंसिर पुसमा पर्ने धान्य पूर्णिमामा सत्यवती मन्दिरमा पुग्ने भक्तजनलाई अन्य समयमा पनि पुग्ने गरी व्यवस्थापन गर्न सकेमा अझै प्रभावकारी हुने देखिन्छ ।
मन्दिर अवलोकन, समाचार संकलन सहित आवश्यक काम सकेपछि वडा अध्यक्ष खनाल खाजा बनाउन लगाउछु भन्दै अगाडि बढ्नु भयो । हामीले मन्दिर भन्दा केही माथि बन्द अवस्थामा रहेको सिसाखानीको सुरुङको अवलोकन गरेर हिड्यौ । हाम्रो टिमले कोदोको रोटी र सिलौटोमा कुटेको छोप खाने प्रस्ताव गरेका थियौ । वडा अध्यक्ष खनालले फोन मार्फत धेरैलाई भन्नु भएछ तर हामीलाई रोटी पकाई दिने मेसो त्यहा परेन । पर्यटकीय गन्तव्यका रुपमा रहेको सत्यवती मन्दिरको वरिपरी स्थानीय खाजाको व्यवस्था गर्न अलि गाहे भयो । कामको आतुरी भएका कारण हो वा अरु कुनै कारण हो ? हामीले कोदोको रोटी र कुटेको छोप खान पाएनौँ ।
सत्यवतीको मन्दिरबाट हामी बरेङ गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको खहरे झरना हेर्न जाने निधो ग¥यौ । हामीले घोषणा गरेका बाहेक पनि मुख्य पर्यटकीय स्थलमा पुग्ने हाम्रो योजना सुनाएपछि उहाहरुले खहरे झरनामा जाने प्रस्ताव गर्नुभयो । वडा अध्यक्ष खनाल आफ्नै गाडीमा एक्लै अगाडि जानु भएको थियो । बाटो बन्द छ भन्दै विच बाटोबाट वडा अध्यक्ष खनाल फर्किनु भयो । अनि उहाँले नै मलाई साथी भएन, त्यो गाडीमा धेरै जना हुनु भयो, मेरो गाडीमा बसौ भनेपछि पालिका अध्यक्ष शर्मा र म वडा अध्यक्ष खनालको गाडीमा बसेर झरना तर्फ हिड्यौ । बाटो अलि गारो नै थियो तर पनि हामी साढे ५ बजे झरनामा पुग्यौ । मध्य बैशाखमा पनि झरनाबाट झरेको पानी देख्दा साच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने स्थल रहेछ भन्ने लाग्यो ।
गाउँपालिकाले लगानी गरेर व्यवस्थित हुदै गरेको झरनाका बारेमा पालिका अध्यक्ष, वडा अध्यक्ष, व्यवस्थापन समिति र स्थानीय वासिन्दाको धारणा लिने, ग्रुप फोटा खिच्ने देखि हाम्रो टिमका एकल प्रस्तुतीहरु (फोटो, भिडियो र टिकटक) बनाउने काम भयो । हामीले घोषणा गरेका १०० गन्तव्यमा नपरे पनि यो झरना बरेङ गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सावित हुन सक्ने संभावना रहेको पायौ । उहाँहरुले भरखर भरखर निर्माण कार्य सुरु गरेको जानकारी दिनुभयो । हामीले हेरेको भन्दा अझै माथि ठुलो झरना छ, पदमार्ग निर्माण गर्दैछौँ, अलि पछि तपाईहरुलाई त्यहा पनि लैजाने हो भनेर पालिका अध्यक्षले हामीलाई पुनः झरना हेर्न आउने निम्ता पनि दिनुभयो । झरनाबाट निस्केर हामी नयाँ बजारमा रुपा होटलमा खाजा खान गयौ । हामीले चाहेको कोदोको रोटी र छोप त पाएनौ । चना अण्डाले भोक मेट्यौ ।
वडा अध्यक्ष खनालको घर त्यही नजिकै भएकाले उहाँ घरमा बस्नु भयो । हामी फेरी सत्यवती मन्दिरतिरकै बाटो भएर बरेङ तिर लाग्यौ । मुलबाटो कालोपत्र हुदै गरेका कारण हामीलाई अलि घुमाउरो बाटो हिड्न प¥यो । जयराम शर्मालाई पालिका नजिकै छोडेर हामी बरेङ बजारको एड्रेस होटलमा पुग्यौ । त्यहा पुगेर हामीले भोलीपल्ट पुग्ने स्थलका बारेमा छलफल ग¥यौ । बरेङको चर्चित ठाउँका रुपमा रहेको कौडेको लेकलाई हामीले १०० पर्यटकीय गन्तव्यमा राखेका छौँ । त्यो लेकमा पुग्नका लागि पैदल नै जानु पर्छ, बनको बाटो निकै गारो छ भन्ने सुनिएको थियो ।
कौडे लेकमा कसरी पुग्ने भन्नेमा धेरैले धेरै तरिकाले जानकारी गराउनु भयो । हामीले जो जो लाई सोध्यौ उहाहरुले अलि गारै पर्ला भनेर अत्याइदिनु भयो । अध्यक्ष शर्मा आफु पनि जाने भन्ने भएपछि हामी चाही ढुक्क थियौ । करिव ५ घण्टा हिड्न पर्छ भनेपछि हाम्रो टिमका साथीहरुले जुत्ता, हाफपाइण्ट खरिद गर्न गए, केही बेरको छलफल पछि घरमा नै गएर खाना खाने भन्दै अध्यक्ष शर्मा र चालक याम भाई घरमा जानु भयो ।
भोेली पल्ट बिहान ६ बजे हिड्ने कुरा थियो । तर मेसो मिलेन । केही प्राविधिक कुराहरुले हामी समयमा हिड्न सकेनौ । बरेङ बजारमा केही बेर टहलियौ, पालिका अध्यक्ष शर्मा र चालक याम भाई आउनु भयो । चिया, चना र दुनोट खाएर हामी आठ बजेतिर कौडेको लेकतिर लाग्यौ । बिच बाटोमा जयराम शर्मा पनि आउनु भयो । सिग्दी होमस्टे भन्दा अलि परसम्म हामी गाडीमा गयौ ।
गाडीबाट झरेपछिको यात्राका क्रममा करिब ४ घण्टा हिड्ने मनस्थिति हामी सबैमा थियो । पालिका अध्यक्ष शर्मा, हाम्रो ५ जनाको टिम, संस्थाका सञ्चालक जयराम शर्मा र चालक भाई याम बहादुर पुन सहित हामी ८ जनाको टोली ठिक सवा आठ बजे कौडेको लेकका लागि पैदल प्रस्थान गरेका थियौ ।
गाउँपालिकाले कौडेको लेक नजिकैसम्म पदमार्ग बनाएको रहेछ । कौडेको लेकको ऐतिहासिक अवस्था, पर्यटन प्रवद्र्धनमा पालिकाले गरेका काम, स्थानीय अगुवाहरुका भनाई लगायतका विषयमा छलफल गर्दै जादा हामी एक घण्टा १५ मिनेटमा कौडेको लेकमै पुग्यौ ।
गण्डकी र लुम्बिनीको सिमाना रहेको कौडेको लेक बागलुङको बरेङ गाउँपालिका, गुल्मीका चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको केन्द्रका रुपमा रहेछ । हामीलाई मौसमले खासै साथ दिएन, वरीपरीका डाडाकाडा, हिमाल धेरै देख्न पाइने ठाउँमा पुगेर पनि त्यो दिन हामीले देख्न पाएनौ । तर पनि त्यो लेकबाट गाजाको दह, हाडिकोट लगायत धेरै डाडाहरु तल जस्तो देखिदो रहेछ ।
पालिका अध्यक्ष शर्मा र स्थानीय वासिन्दा समेत रहनु भएका आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक जयराम शर्माले कौडेको लेकको बारेमा हामीलाई धेरै कुरा बताउनुभयो । बरेङ गाउँपालिका वडा नं. १ धुल्लु निवासी चालक भाई याम बहादुर पुनले आफु पनि पहिलो पटक कौडेको लेकमा पुगेको जानकारी गराउनु भयो ।
कौडेको लेकमा पुगेर त्यहाको ऐतिहासिक महत्वको बारेमा जानकारी लिनुका साथै त्यहाँबाट अवलोकन गर्न सकिने विभिन्न क्षेत्रको अवलोकन गरेर फर्कियौ । बिहान सवा आठ बजेदेखि सुरु भएको हाम्रो पैदल यात्रा ११ बजेर २५ मिनेटमा सकियो ? अर्थात सवा तिन घण्टामा हामी कौडेको लेकको चुचुरो पुगेर गाडी चढ्ने बाटोमा आयौ ।
त्यसपछि गाउँपालिका नजिकैको श्रीस होटलमा खाना खायौ, कार्यपालिकाको वैठक बस्दै थियो, कार्यपालिका सदस्यहरु सहित प्रमुख प्रशासकीय अधिकृत खड्ग बिकसंग हाम्रो अभियानका बारेमा छलफल पछि हामी बागलुङ बजार फर्कियौ । आमा औसीको दिन भएकाले सबैले आमालाई भेट्न पर्ने थियो । डम्मरले निसी गाउँपालिकास्थित घरमा पुग्न पर्ने भएकाले हामी बाटोमा कही नरोकिइ दिउसो ४ बजे बागलुङ बजार आइपुग्यौ ।
पछिल्लो समय बरेङ पुग्ने बाटो राम्रो छ । बागलुङ बजारबाट करिडोर हुदै कुश्मीसेरा पुग्दा १ घण्टा, कुश्मीसेराबाट एक देखि डेढ घण्टामा बरेङ बजारमा पुग्न सकिन्छ । बरेङ गाउँपालिका बागलुङको भन्दा पनि गुल्मीको चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाँउपालिकासंग अलि बढी आवत जावत हुने ठाउँ हो । पर्यटन प्रवद्र्धनका हिसावले बरेङमा बागलुङ मात्र नभई गुल्मीको शान्तिपुर लगायतका बजार लगायतका स्थलबाट समेत आन्तरिक पर्यटक आउन सक्ने संभावना छ ।
त्यसका लागि शान्तिपुरदेखि बरेङसम्मको मुख्य सडकको नजिकै रहेको खहरे झरना पहिलो प्राथमिकता हुन सक्छ कि ? त्यसका लागि संभावना धेरै नै छ । सत्यवतीको ऐतिहासिक महत्व छ, भाकल गरेकाहरुले वर्षमा एकदिन मुख्य रुपमा र अन्य महिनामा पनि पूर्णिमाका दिन त्यहाँ पुग्ने अवस्था छ । कौडेको लेकलाई धेरै नै व्यवस्थापन गर्नु पर्ने देखिन्छ । गाउँपालिकाले पदमार्ग त बनाएको छ तर पदमार्गमा तितेपाती उम्रेको छ, पदमार्गको वरिपरी पुरानै बाटोबाट मानिसहरुको आवत जावत भएको छ । कौडेको लेकलाई व्यवस्थित गराउन सक्दा बिहानको सूर्याेदयसंगै हिम श्रृखलाहरुको अवलोकन गर्न जाने आन्तरिक पर्यटकहरुको संख्या बढाउन सकिन्छ । गाउँपालिकाले कौडेको लेक लगायत प्रमुख पर्यटकीय स्थलहरुको सक्षिप्त परिचयन सहितको जानकारी वेवसाइटमा जानकारी राखिदिए त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुलाई सहज हुन्छ ।
हामी बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका २८ पालिकामा कम्तिमा एक दिन बस्ने गरी पुग्छौँ । हामीले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यसंगै अन्य पर्यटकीय स्थल र पालिकाका संभावना, अवसर र चुनौतीका बारेमा समाचार संकलन गर्छौँ, प्रकाशन प्रशारण गर्छौँ । हामीले यात्रा सुरु गरेपछि डेढ दर्जन पालिकामा हामी पुगेका छौँ । कतिपय पालिकाहरुले पर्यटन प्रवद्र्धनका नाममा अनावश्यक ठाउँमा बजेट विनियोजन गरेका तथ्यहरु पनि हामीले बुझेका छौँ । विभिन्न कारणले प्रत्येक वर्ष धेरै ठाउँमा लगानी गरेर बजेट सक्नु भन्दा प्रत्येक पालिकाले एक दुइ वटा ठाउँलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दा पर्यटक भित्र्याउन सहज हुन सक्छ । पर्यटन क्षेत्रमा लगानी बढाउने तर पर्यटक नपुग्ने अवस्थालाई ध्यान दिन आवश्यक देखिन्छ ।
हाम्रो पर्यटन प्रवर्द्धनका लागि सञ्चार अभियान अन्तरगतको पहिलो यात्रामा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले १३ गते साढे १२ बजेदेखि १४ गते १ बजेसम्म हामीलाई पूरापुर समय दिएर पालिकाको पर्यटकीय स्थलको जानकारी दिनुका साथै हामीलाई उत्साह थपिदिनु भयो, वडा नम्बर ३ का वडा अध्यक्ष शेर बहादुर खनालले आफ्नो वडा भित्रका मुख्य पर्यटकीय स्थल, कृषि लगायत समग्र अवस्थाका बारेमा जानकारी गराउनु भयो, सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर श्रीस, खहरे झरना व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले महत्वपूर्ण जानकारी उपलब्ध गराउनु भयो, आदर्श सञ्चार सहकारीका सञ्चालक तथा बरेङ संयोजक जयराम शर्मा पुरै समय हामीसंगै रहनु भयो, यातायात सहित खाना बस्नका लागि सहजीकरण गर्नु भयो, चालक भाई याम बहादुर पुनले पोखरा जाने ट्रिप नै छोडेर हामीसंगै यात्रा गर्नु भयो, कौडेको लेकसम्म पैदल यात्रा समेत गर्नु भयो, हामीलाइ सुरक्षित यात्रा गराउनु भयो, उहाँहरु सहित यो यात्रामा साथ सहयोग गर्ने सबै सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । हामी पर्यटन प्रवद्र्धनका लागि सञ्चार अभियानका साथ यात्रामा छौँ । धौलागिरीका २८ पालिका २८ दिन भन्ने हाम्रो नारा अन्तरगत पहिलो दिनको यात्रा सकिएको छ, २७ दिन अझै बाँकी नै छ, यहाँहरुसंग यात्रा संस्मरण–२८ सम्मै भेट हुनेछ ।