मध्य वर्षातमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, विद्यार्थीलाई सास्ती

डम्मर बुढा मगर, बागलुङ
बाढी पहिरोले गाउँदेखि बजार र बजारदेखि गाउँ जाने सडकहरु ठप्प छन् । यात्रुलाई यात्रा गर्न निकै कठिन छ । बागलुङका मुख्य तथा ग्रामीण सडकहरु पहिरोले अवरुद्ध बनेका छन् । वर्षा भने निरन्तर भइरहेको छ । वर्षातले सबै तिर त्रास बढेको बेला सदरमुकाम बागलुङ बजारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

गत वर्षहरुमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हिउँदमै हुने गथ्र्यो । प्रतियोगिताको रौनक पनि निकै हुन्थ्यो । बागलुङ बजारमा जिल्लाभरबाट आएको विद्यार्थी र प्रशिक्षकको भिडनै लाग्ने गथ्र्यो तर यस वर्ष बजेट सक्नकै लागि मध्य वर्षातमा प्रतियोगिता हुँदा खास्सै चहलपहल देखिएन । जिल्ला स्तरीय प्रतियोगितामा १० वटै पालिकाबाट विद्यार्थीहरु सहभागी हुनु पर्ने हो तर मध्य असारमा प्रतियोगिता हुँदा सदरमुकाभन्दा टाढाबाट विद्यार्थीहरु आउन पाएनन् । सहभागी हुन आएका विद्यार्थीहरुले पनि वर्षातमा दुःख पाएको गुनासै गुनासो गर्छन् ।

काठेखोला गाउँपालिकाबाट प्रतियोगितामा सहभागी हुन बागलुङ आएकी प्रकृति कँडेलले वर्षातको समयमा यस्तो कार्यक्रम राख्दा आफूहरुले सास्ती खेप्नु परेको बताउनुभयो । वर्षाको कारण बाटो हिलाम्मेर भएको हुँदा यात्रा निकै कष्टकर भएको उहाँको भनाई छ ।

‘यो प्रतियोगिता माघ फागनु महिना तिर आयोजना गरेको भए राम्रो हुन्थ्यो, अहिले यस्तो बर्खाको समयमा गाउँ–गाउँबाट आउन पनि गाह्रो छ, हाम्रा धेरै साथीहरु बर्खा लागेको छ, बाटो अप्ठ्यारो छ भनेर आएनन्,’ कँडेलले भन्नुभयो ‘हामी पनि आउँदा बाटोमा निकै समस्या भोग्नु प¥यो ।’

त्यस्तै गलकोटको पाण्डवखानीबाट आउनु भएकी आकृति बुढा मगरले टाढाबाट आउँदा निकै समस्या भोग्नु परेको भन्दै खेल मैदान समेत उपयुक्त नभएको बताउनुभयो । खेल मैदान हिलो हुँदा सडकमै दौड लगायतका प्रतियोगिता गराउँदा दुर्घटना हुने डर भएको उहाँको भनाई छ ।

‘घरबाट आउँदा पनि निकै समस्या भोग्नु प¥यो, यहाँ पनि खेल मैदान गत्तिलो भएन, मैदानमा सबै घाँस उम्रिएको छ, सडकमा दगुराउँछन्, त्यसले गर्दा दुर्घटना हुने डर भयो,’ उहाँले भन्नुभयो ‘खासमा यो समय प्रतियोगिता गर्ने सही समउ होइन ।’

विद्यार्थीहरु आफ्नो ज्याननै धरापमा पारेर प्रतियोगितामा सहभागी हुन आएका छन् । वर्षाले बाङ्गेचौर खेलमैदान पनि हिलाम्मे हुँदा विद्यार्थीलाई खुल्ला सडकमा खेल्न लगाइएको छ । दैनिक सयौँ सवारी साधान आवतजावत गर्ने सडकमा प्रतियोगिता राख्दा दुर्घटनाको जोखिम समेत उस्तै छ ।

प्रतियोगितामा बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका तथा बडिगाड र काठेखोला गाउँपालिकाबाट मात्रै न्यून विद्यार्थीको सहभागिता रहेको छ । अन्य पाँच पालिकाका विद्यार्थी भने खेल खेल्नबाट वञ्चितनै भए । खेलकुद क्षेत्रको विकासभन्दा पनि बजेट सक्नका लागि वर्षातको समयमा प्रतियोगिता राखेको टिकाटिप्पणी भएको छ । बेमौसममा प्रतियोगिता हुँदा प्रतियोगिता व्यवस्थापनमा समेत समस्या भएको छ ।

जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले प्रदेशबाट आठ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गराउने भनेर पत्र आएपछि आफूहरुले सोही अनुसार कार्यक्रम संचालन गरेको बताउनुभयो । उहाँले यो समय प्रतियोगिताको लागि अनुकुल नभएको भन्दै माथिबाट पत्र आएपछि गर्नु पर्ने अवस्था आएको बताउनुभयो ।

जेठ १६ र १७ गते जिल्लामा भएको प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी प्रदेशमा जाने छन् । प्रतियागिताका लागि गण्डकी प्रदेश सरकारले तीन लाख दिने छ । वर्षाको कारण राम्रो खेल्न सक्ने खेलाडीहरु प्रतियागितामा भाग लिन पाएका छैनन् । यस तर्फ सरोकारवालाले ध्यान दिनु पर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *