गाउँपालिका अध्यक्ष कृषकका ‘आइडल’

खेमराज गौतम
बागलुङ

धेरै नेता र जनप्रतिनिधि कृषिको बारेमा घण्टौ भाषण दिन्छन् । किसानलाई अनेक सुझाव दिन्छन् । तर आँफु केही गर्दैनन् । यस्ता अनगिन्ती जनप्रतिनिधिमा आँफै उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा अपवाद हुनुहुन्छ । उहाँ अध्यक्षमा निर्वाचित भए पछि पनि व्यवसायिक कृषिमा सक्रिय हुनुहुन्छ ।

वि.स.२०५८ सालमा एक हजार ५ सयमा खरिद गरेका पाँच वटा किबीका बोटबाट किबी खेति शुरु गर्नुभएका पाईजाको बारीमा अहिले ५ सय किबीका बोट छन् । २५० बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ बर्षिय पाइजा राजनीतिसँगै कृषि कर्ममा लाग्दा लाग्दै गाउँपालिका अध्यक्ष हुनुभएको थियो । गाउँपालिकाको काम सकेर बिहान बेलुका खेतबारीमै काम गर्नुहुन्छ । उहाँको आँफु मात्र होईन, सिंगो गाउँपालिकानै किबीमय गाउँ बनाउने योजना छ । अध्यक्षमा निर्वाचित भएर आएसँगै बर्षेनी सयौ किबीका बिरुवा किसानलाई बितरण गरिसकिएको छ । कृषि क्षेत्रमै अध्ययन अनुसन्धानका कारण उहाँले अन्य कृषकहरुलाई समेत नगदेवालीमा जोड दिन सल्लाह दिनुहुन्छ । ‘गाउँपालिका अध्यक्ष भएपछि केही व्यस्त हुन पुगेको छु’ अध्यक्ष पाइजाले भन्नुभयो, ‘काम सक्दा घर, खेतबारी मै व्यस्तै हुन्छु ।’ सफल दाम्पत्य जीवनमा जस्तै उहाँलाई कृषि कर्ममा पनि श्रीमती मनकुमारी पाइजाको दरिलो साथ छ । दुई छोरा भने कामको शिलशिलामा बाहिरै हुन्छन् ।

समुन्द्री सहतदेखी २ हजार ३ सय फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा किबी सहित, सुन्तला, ओखर, स्याँउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेद लगायतका थुप्रै मह®ो मुल्य पर्ने फलफूल समेत खेती गर्नुभएको छ । ‘मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर यस्तो लामो समय नफल्ने बोट लगाएर मकै कोदो हुने बारी मास्यो, बौलायो पनि भने’, उहाँले भन्नुभयो, ‘अहिले तिनै गाउँलेहरुले कोदो मकैको ठाउँमा किबी खेती गर्न थालेका छन्, बिस्तारै परिवर्तन हुँदै गएको छ ।’ उहाँको किबी खेती देखेर गाउँकै जीतबहादुर पाइजा, लालमया बुढा सहीत ४० भन्दा बढीले किबी खेती गर्न थालिसकेको पाइजाले जानकारी दिनुभयो । पाइजालाई गाउँलेले ‘किविका राजा’ समेत भन्छन् ।

जिल्लामै किबी खेतीमा अब्बल बनाउन बडिगाड गाउँपालिकामा किबी खेती विस्तार गर्नका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । विनियोजित बजेटले कृषकहरुलाई किबीका विरुवा वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । ‘अध्यक्ष ज्यूको व्यवसायिक कृषिमा निकै जोड छ, आँफै कृषि कर्ममा सक्रिय भएका हिसावले पनि बजेट प्राथमिककरणमा कृषि नै भन्नुहुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, ‘यसले गाउँपालिकाको कृषिलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नेछ ।’ निकै महंगो तथा लाभदायी फलमा पर्ने किबी खेती व्यापक रुपमा विस्तार गर्न सके राम्रो आम्दानी समेत हुने देखिएको सुवेदीले बताउनुभयो ।

अध्यक्ष पाइजाको यो वर्ष मात्र १० हजार केजी किबी विक्रि गर्ने योजना छ । ‘यस अघिका वर्ष तीन लाखदेखि चार लाख सम्म आम्दानी गर्दै आएको थिए’, पाइजाले भन्नुभयो, ‘यो वर्ष दश लाख रुपैयाँको किबी बिक्रि गर्ने लक्ष्य छ ।’ किबीलाई प्रति केजी ५ सय रुपैयाँमा बिक्रि हुँदै आएको छ । धेरै मेहनत गर्न नपर्ने तर राम्रो आम्दानी देखेर अहिले बडिगाड लगायत बागलुङ जिल्लाका कृषकहरु कृषि खेतितर्फ अग्रसर भएका छन् । परनिर्भरता हटाउने भए किबी खेती गर्न पाइजा सल्लाह दिनुहुन्छ । राम्रो हावा पानी मिलेमा बोट लगाएको तीन वर्षमानै किबीले फल दिन थाल्ने पाइजाको अनुभव छ ।

पाइजाले नगदेवालीको अलवा माहुरीपालन, भैसी, खरायो, बाख्रा, कुखुरा समेत पाल्नुुभएको छ । ‘कृषि पेशाले सबै समक्ष चिनायो, कृषकहरुलाई सल्लाह सुझाव र आवश्यक साथ दिदै आए,’ उहाँले भन्नुभयो, ‘कृषि कर्मबाट सबैले चिनेकै कारण गाउँपालिका अध्यक्ष भए, परम्परागत खेती प्रणालीमा सुधार गरेर गाउँपालिकाका कृषकलाई नै कृषिमा आत्मनिर्भर बनाउने योजनामा छु ।’ गाउँपालिकाले यस वर्ष मात्र उत्पादनमा आधारित अनुदान दिनका लागि एक करोड ५० लाख बजेट विनियोजन समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *