कुकुरदेखि सावधान !

–दिल शिरीष
बागलुङ बजार अहिले उति धेरै गुल्जार छैन । दुई वटा कुराले बजार बढी सुनसान जस्तो भएको बजारवासीको गुनासो छ । एउटा बर्खामास, अर्को संघियता । चाडपर्व नजिकिदै जाँदा पनि मानिसहरुको चहल पहल कम भइरहेको शहरमा कुकुरको चहल पहल भने भिन्नै छ । सडक, चोक र गल्लीहरुमा दिनमा मात्रै होइन, रातमा समेत कुकुरको आतकं बढ्न थालेको छ । राति काम बिशेषले यात्रा गर्नुपरेका यात्रुहरुलाई कुकुरको दबदबा देखेर यस्तो पनि लाग्छ कि यो शहर र समयमा कुकुरको शासन छ । रातको समयमा बाइकमा बसेर या पैदल कुन ताल र लयमा हिँड्ने त्यो पनि कुकुरहरुले निर्धारण गरिदिन्छ । नत्र कुकुरले मात्र होइन, कुकुरहरुले नै झम्टने खतरा हुन्छ ।
सदरमुकामको सडकमा यत्रतत्र घरपालुवा, भुस्याहा, रोगी कुकुर लम्पसार परेर बसिरहेका छन् । कतिको टाउकोमा खुकुर बज्रिएको छ र ठुलो घाउँ भएको छ । जहाँ सिनो देखिन्छन्, झिँगाहरु भन्किरहेका हुन्छन् । सडकमा आवत–जावत गर्ने यात्रु मुख छोपेर हिँड्छन् । भुक्ने मात्र होइन, तोक्न समेत पछि नपर्ने यि भुस्याहा कुकुर मार्फत् रेबिज भाइरस संक्रमणको जोखिम उच्च छ । ‘गत बर्ष रातिको समयमा मोटरसाइकलमा सवार हुँदा कुकुरले लखेटेर ज्यानै जाने सम्मको घटना भयो,’ बानपा ३ का गणेश खड्काले भन्नुभयो,‘अहिले पनि कुकुरको ठुलो संख्यासँगै रोग र दुर्घटनाको जोखिम बढी देखिएको छ, समयमै यसको व्यवस्थापन तर्फ सम्वन्धित निकायले पहल चाल्नुपर्छ ।’
अघिल्ला बर्षहरुमा कुकुरलाई मासुमा बिष हालेर मार्ने प्रयास गरिए पनि पशुअधिकारकर्मीले चर्को बिरोध जनाएका थिए । त्यसपछि बजारमा कुकुरको आतकं बढे पनि व्यवस्थापन गर्न समस्या देखिएको छ । जन्मेपछि मान्छेले मात्र होइन, हरेक प्राणीले बाँच्न पाउनु पर्छ भन्ने पशु अधिकारकर्मीको तर्क छ । बेवारिसे कुकुरहरुको संख्या बढ्नुमा सरकारी निकायसँग दीर्घकालीन योजना नरहनु कारण भएको उनीहरुको भनाई छ ।

पशु सेवा तथा भेटेरिनरी अस्पताल बागलुङका प्रमुख बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले पशु अधिकारको बिषय व्यापक बहसमा भएकाले मार्ने तर्फ नलागी व्यवस्थापन तर्फ लाग्नुपर्नेमा जोड दिए । ‘नगरको भएकाले यसको अधिकार र जिम्मेवारी बागलुङ नगरपालिकाको हुन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमा कुकुर नियन्त्रणका नाममा कुकुरलाई निर्ममतापूर्वक मार्ने वा अन्यत्र लगेर छाड्ने गरिएको छ, यसले दिगो समाधान हुन्न । कुकुरको बन्ध्याकरण तत्कालका लागि उपर्युक्त विकल्प हुनसक्छ । यसमा प्रदेश कार्यालयका तर्फबाट हुने आवश्यक प्राविधिक सहयोग गर्न तयार छौ ।’
बागलुङ नगरपालिकाको मुख्य केन्द्र भागमा देखिएको कुकुरको व्यवस्थापनबारे छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले बताउँनुभयो । ‘बजार क्षेत्रमा कुकुरको समस्या र भयावहबारे मौखिक गुनासो आएको छ, हामीले प्रत्यक्ष देखि भोगिरहेका पनि छौं,’ उहाँले भन्नुभयो, ‘कुकुरलाई मार्ने भन्दा कसरी व्यवस्थापन गर्ने भन्नेमा लागिरहेका छौं, यसका बारेमा आवश्यक योजना र कुकुर पाल्नका लागि आवश्यक कार्यविधि बनाउन समेत पशु शाखालाई निर्देशन दिएका छौं ।’ प्रमुख प्रशासकीय अधिकृत कुँवरका अनुसार, घरपालुवा कुकुर र त्यसका कारण उत्पन्न समस्याका लागि छुट्टै र भुस्याहा कुकुरका लागि छुट्टै कार्यविधि बनाएर कुकुरको व्यवस्थापन गर्ने नगरपालिकाको तयारी छ । घरपालुवा कुकुर पाल्ने घरधनीलाई मर्ने बेला सम्म जिम्मेवार बनाउने, घर अघि ल्याएर दिशा पिसाव गर्न रोक लगाउने, यसका लागि कुकुरको घाटीमा घरधनी र कुकुरको नाम सहित ट्याग लगाइदिने सम्मका योजना छ । भुस्याहा कुकुरको व्यवस्थापनका लागि तत्काल चोक चोकमा मासु दिने मासु व्यवसायी, जुठा फालिएका भात, हड्डी, तरकारी दिने होटलवालालाई पनि जथाभावी दिन सचेत बनाउने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *