दुर्व्यसन रोक्न ‘लापसे’ जाँच प्रभावकारी

सिर्जना पन्त
बागलुङ

‘कोठामा चुरोटका ठुटाहरु पनि भेटिन्छ, हाम्रा भाई, छोराले चुरोट त खान्छ,’ शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङमा लागुऔषध सेवनको आरोपमा पक्राउ परेका म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका २० बर्षिय प्रविण सुवेदीका अभिभावकले प्रहरी समक्ष भन्दै थिए–‘लागुऔषध त खाँदैनन्, नभएको आरोप लगाउन मिल्दैन ।’ लागुऔषधको ओसार पोसारको समेत आशंकामा पक्राउ परेका सुवेदी र सोही स्थानका १९ बर्षिय सुजन थापाका अभिभावकको यस्तो जवाफ पछि प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले पत्रकारलाई साक्षी राखेर उनीहरुकै आँखा अघि लागुपदार्थ सेवन परिक्षण गर्न किट प्रयोग गरेर देखाए । परिक्षणबाट गाँजाका अतिरिक्त सिरिञ्ज समेत प्रयोग गर्ने गरेको देखियो । लागुपदार्थ प्रयोग गर्दैनौ भन्ने दुई युवा पनि रातो पिरो बने । लागुपदार्थ प्रयोग गर्दैनन् भन्ने अभिभावक पनि नाजवाफ बने ।
जिल्ला प्रहरी कार्यालय बागलुङले केही साता अघि देखी सञ्चालन गरेको लापसे चेकजाँच सहितको ‘आमासँग प्रहरी’ अभियान प्रभावकारी बन्दै गएको यो पछिल्लो उदाहरण हो । चक्कु सहित नियन्त्रणमा लिएका दुई युवालाई प्रहरी प्रमुख भट्टले तत्काल छोड्न नमिल्ने बताए पछि अभिभावक घर फर्किए । उनीहरु दुवै प्रहरी हिरासतमा छन् । ‘यि दुवै प्रयोगकर्ता हुन्, यिनले आँफु मात्र बिग्रेका छैनन्, अरुलाई पनि बिगारेका हुन सक्छन्, या बिगार्न सक्छन् ? उनले भने, ‘तपाईहरुको क्षमता छ भने सुधार केन्द्रमा राख्ने बिकल्प छ, नत्र केही दिन यतै राखेर सुधार्ने प्रयास गर्छौ ।’ प्रहरीले शुक्रबार म्याद थप गरि थप अनुसन्धान समेत अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लामा लागुऔषध प्रयोग गरे नगरेको चेकजाँच गर्ने किट ल्याएर जाँच्न थालिएको एक महिनाको अवधिमा ३० जना युवामा परिक्षण गरिएको प्रहरी उपरिक्षक भट्टले बताउँनुभयो । प्रहरी कार्यालयले गत साउन २८ गतेदेखी जिल्लाका आमा अभिभावकहरुको भव्य उपस्थितिमा कार्यक्रम गरेर ‘आमासँग प्रहरी’ अभियान शुरु गरेको थियो । ‘बढ्दो दुव्र्यसन रोक्न लागुऔषध प्रयोग गरे नगरेको घरमै पनि जाँच्न सकिन्छ, यसका लागी आमाहरुले सहयोग गर्नुस् भनेर कार्यक्रम गरेका थियौ,’ भट्टले भन्नुभयो ‘अहिलेसम्म प्रहरी सक्रियता र परिवारको सहयोगमा ३० जनाको जाँच गरिसकेका छौ, त्यसमध्ये दुई जनाले मात्र लागुऔषध प्रयोग नगरेको भेटियो, अरु सबैले प्रयोग गरेको पाइयो ।’
जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी अथवा बिभिन्न सूचना मार्फत आएका शंकास्पद युवाहरुलाई सोधपुछ किट परिक्षण गर्ने गरेको छ । जसले आमाहरु पनि प्रहरीले यतिकै फसाउने रहनेछ भन्ने बुझाईमा प्रष्टता आएको छ भने युवाहरुमा लागुऔषध प्रयोग गरेमा एक महिना सम्मको परिक्षणबाट देखिने भएकाले मनोबैज्ञानिक रुपमा पनि प्रयोग गर्न सोचनिय बनाएको छ । अहिले सम्म तिन जनालाई लागुऔषध प्रयोग तथा ओसार पसार गरेको कसुरमा मुद्धा नै चलाएको उहाँको भनाई छ । अन्य ९ जनालाई सम्झाई बुझाई गरेर अभिभावकको जिम्मा लगाएर पठाईएको छ । उनीहरुको एक महिनापछि पुनः लापसे चेकजाँच गरिने भट्टले बताउनुभयो । लागुऔषध –लापसे) परिक्षण गरेको किट मेसिनको रकम प्रयोगकर्ताकै अभिभावकबाट असुल गर्ने गरिएको छ । प्रति किट ५ सय रुपैया लिइने गरिएको प्रहरीले जनाएको छ । यदी लागुपदार्थ प्रयोग नगरेको भेटिए वा आर्थिक अवस्था कमजोर भएकाहरुको हकमा भने निशुल्क गर्ने गरिएको प्रहरी प्रमुख भट्टको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *