आदर्श अनलाइन
बागलुङ
‘यो जागरण के का लागि हो ? बिषयान्तर, अनावश्यक प्रश्न, गुनासो, कार्यक्रमको शैली उही पुरानो ? हरेक ठाउँमा हुने जागरणनमा एउटै मान्छे, एउटै प्रश्न दोहोरिन्छन् ? ‘नेपाल तरुण दल र नेपाल बिद्यार्थी सघंले बागलुङमा शनिवार जागरण अभियानका क्रममा आयोजना गरेको युवा संवाद कार्यक्रममा धौलागिरी क्याम्पसका स्ववियू सभापति मनिस थापाले यस्तो प्रश्न राखेपछि हल तालीले गुञ्जयमान भयो । तालीको साथ पाएपछि थापा थप हौसिएर भन्नुभयो, ‘‘काँग्रेसका नेता, कार्यकर्ता हामी कहिले सुध्रिने ? समाज देश कहिले सुधार्ने ? नेता, कार्यकर्ता, सबै हामी सानो ठुलो कुनै न कुनै भुमिका र जिम्मेवारीमा भए पनि त्यो बिर्सिएर प्रश्न र गुनासो मात्रै राख्ने गरेको प्रति थापाको रोष थियो । ‘मैले पार्टीका लागि यो गरे, तपाईहरुले यो काम गर्न सक्नुभएन भनेर समिक्षा बहस कहिले गर्ने ? थापाले अब अर्को कार्यक्रम गर्दा गुनासोलाई सम्बोधन गरेको जवाफ लिएर आउन आग्रह गरेपछि गुनासोको शिलशिला केही रोकियो ।
त्यसअघि नेवि संघ नेता तथा स्ववियू सचिव बिष्णुराज पौडेलले पार्टी भित्रको गुट अन्त्य गरेर हरेक कार्यकर्ताका लागि काम र हरेक कामका लागि कार्यकर्ता परिचालन गर्ने योजना कांग्रेससँग नभएको नदेखिएको बताउनुभयो । अर्का कांग्रेस जिल्ला नेतृ लक्ष्मी शर्माले पार्टीको भातृ संगठन बिघटनको अवस्था पुगेको प्रति चिन्ता व्यक्त गर्दै पार्टीकै जिल्ला समितिले समेत अहिले सम्म पुर्णता नपाएकोमा प्रश्न गर्नुभयो । कार्यक्रममा दर्जन बढी नेता, कार्यकर्ताले पार्टीलाई सबल बनाउनका लागि आँफ्ना धारणा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा जवाफ सहित सम्बोधन गर्नुभएका नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि नवराज गुरुङले आन्तरिक कमजोरीलाई अन्त्य गरी नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले काँग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारले गरेका ठुला भ्रष्टाचारका मुद्धामा काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह नगर्दा सरकार गलत बाटोमा हिडिरहेको समेत गुरुङको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, गण्डकी प्रदेशका प्रमुख सचेतक तथा सांसद मणिभद्र शर्मा कँडेल, पुर्व राज्यमन्त्री चम्पा खड्का, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, काँग्रेसका क्षेत्रिय सभापति चिरञ्जिवी गौतम, क्षेत्रिय सभापति शिवप्रसाद कँडेल, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, जिल्ला अध्यक्ष शकुन्तला शर्मा, भुपु सैनिक संघका अध्यक्ष हरिबहादुर भण्डारी, तरुण दलको उपाध्यक्ष गोपाल पौडेल, रामचन्द्र गौतम, बालकृष्ण शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम तरुण दलका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता र नेपाल बिद्यार्थी संघका सचिव श्रीकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।