घर खर्चको हिसाब बुझाउन नसक्दा पनि सम्बन्ध विच्छेद !

सिर्जना पन्त
बागलुङ

जिल्ला अदालत बागलुङमा पछिल्लो पाँच वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्वाहरुको संख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा १ सय ३५ वटा सम्बन्ध विच्छेदका मुद्वा अदालतमा दर्ता भएका थिए । ०७३/०७४ मा १ सय २७ वटा मुद्वा दर्ता भएका थिए ।

पछिल्ला दुई वर्षमा मुद्धा दर्ताको संख्यामा थोरै कमी आए पनि त्यस यता सम्बन्ध विच्छेदका मुद्वाहरुको दर्ता हुने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष ०७४/७५ मा ७३/७४ को भन्दा १२ वटा मुद्वाको संख्या वृद्धि भएर १ सय ३९ पुगेको थियो । आर्थिक वर्ष ०७५/७६ मा मुद्धाको संख्या बढेर १ सय ९३ पुगेको छ । चालु आर्थिक बर्षको भदौ २५ गते सम्म जिल्ला अदालत बागलुङमा २२ वटा मुद्वा दर्ता भइसकेका छन् ।

नयाँ कानुन अनुसार पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्वा दर्ता गराउन पाउने प्राबधान आए पछि मुद्वा दर्ता हुने संख्या बढेको अदालतले जनाएको छ । मुद्वा दर्ता हुने संख्या ठुलो देखिए पनि जिल्ला अदालत बागलुङमा दर्ता भएका सबै मुद्वाहरुमा सम्बन्ध विच्छेद भने हुँदैन । अदालतमा आएका मुद्वाको प्रकृति हेरेर दुबै पक्षलाई राखि छलफल र परामर्शबाट मिलापत्र पनि गराउने गरिएको छ ।

पछिल्लो समयमा बढ्दै गएको सामाजिक सञ्जालको गलत प्रयोग र बैदेशिक रोजगारीबाट उत्पन्न समस्याले अधिकाशं सम्बन्ध विच्छेदका मुद्धा दर्ता हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको जिल्ला न्यायाधिश बासुदेव न्यौपाने बताउँनुहुन्छ । ‘पुरुषहरुले दर्ता गराएका मुद्वाहरुमा आँफुले दुखले कमाएको धन सम्पति श्रीमतीले अपचलन गरेको, पर–पुरुषसँगग सम्बन्ध राखेको र परिवारको हेरविचार नगरेको भन्ने पाईन्छ,’ न्यौपानले भन्नुभयो, ‘श्रीमान श्रीमति बिचको आपसी असमझदारीका कारणले पनि अधिकाशं सम्बन्ध टुङ्गिएका छन् ।’ छोराछोरीका दैनिक माग, आवश्यकता र घर खर्चहरुको हिसाब श्रीमानलाई राम्ररी बुझाउन नसक्दा पनि सम्बन्ध विच्छेद भइरहेको उहाको भनाई छ ।

‘बर्षाै विदेश बसेर कमाएको धनको सदुपयोग होस् भन्ने चाहना पनि गलत होइन,’ न्यौपाने भन्नुहुन्छ,‘बिलासितामा खर्च गर्ने प्रवृत्ति पनि धेरै छ । तर, छोराछोरीले दैनिक खाने खाजा, नुन तेलमा पनि नजानिदो तवरले ठुलो खर्च भएको हुन्छ, हाम्रा महिला दिदीबहिनीसंग त्यसको हिसाब हुने कुरा पनि भएन, अदालतमा आएका यस्ता विषयमा सम्झाउन बुझाउन निकै गाह्रो हुने गरेको छ ।’ पुरुषहरुले श्रीमतीसंग सम्बन्ध विच्छेद गर्छु भनेर मन बनाए पछि मिलाउन निकै गाह्रो हुने गरेको न्यायाधिश न्यौपानको अनुभव छ । महिलाहरु अदालत आएपनि छोरा छोरीको भबिष्य, पुराना सकरात्मक कुरा र श्रीमानले गल्ती दोहो¥याउदिन भनेपछि पग्लिएर पनि मिलापत्र हुने गरेकाले महिलाले दर्ता गराएका मुद्धामा मिलापत्रको दर बढी छ ।

गत आर्थिक वर्षमा दर्ता भएका १ सय ९३ र अघिल्लो वर्षको लगत सरेर आएका २५ गरि वटा सम्बन्ध विच्छेदका मुद्धामा पुरुषहरुले मात्र १ सय २ र महिलाले १ सय १६ वटा मुद्धा दार्ता गराएका थिए । जसमध्ये महिलाहरुले दर्ता गराएका मध्येबाट ९१ र पुरुषहरुले दर्ता गराएका २८ वटा मुद्धामा मिलापत्र भएको छ भने ५० वटा मुद्धामा सम्बन्ध विच्छेद भएको छ । ४९ वटा मुद्धाहरु अहिलेपनि जिल्ला अदालतमा पक्रियामा रहेका छन् ।

जिल्ला अदालतको लक्ष्य भन्दा बढी प्रगति

जिल्ला अदालत बागलुङले आर्थिक वर्ष २०७५/०७६ मा राखेको लक्ष्य भन्दा धेरै प्रगति गरेको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षमा ४ सय २८ वटा उजुरी पर्ने र सोही अनुपातमा फछर्याैट गर्ने लक्ष्य राखेकोमा ४ सय ५३ वटा उजुरी परेको र ७२.५९ प्रतिशत प्रगति गरेको जानकारी गराएको हो ।

गत आर्थिक वर्षमा जिल्ला अदालत बागलुङमा ३ सय ४८ वटा व्यत्तिवादी देवानी मुद्धा दर्ता भएको र ६६ वटा ०७४/७५ बाट जिम्मेवारी सरेर आएको माध्ये २ सय ९७ वटा मुद्धा फछर्याैट भएको जिल्ला अदालत बागलुङका श्रेष्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा एउटा पनि सरकारवादी देवानी मुद्धा दर्ता भएको छैन । त्यस्तै जिम्मेवारी सरी आएका ५५ र दर्ता भएका ३७ वटा गरि ९२ वटा व्यक्तिबादी फौजदारी मुद्धामा ६५ वटा फछर्याैट भएका छन् भने २७ वटा बाँकी रहेका छन् ।

यस्तै जिम्मेवारी सरी आएका २१ र नयाँ दर्ता भएका ९१ गरि १ सय १२ वटा सरकारवादी फौजदारी मुद्धामा ८६ वटा फछर्याैट भएका छन् भने २६ वटा बाँकी रहेका छन् । यसैगरी अदालमा जिम्मेवारी सरी आएको एउटा मात्र पुनरावेदन देवानी मुद्धा पनि फछर्याैट भएको बताईएको छ । अघिल्लो वर्ष अदालतमा ३ वटा पुनरावेदन फौजदारी मुद्धा दर्ता भएको र एउटा जिम्मेवारी सरेर आएको मध्ये ४ वटै फछर्याैट भएको र एउटा मात्र रिट दर्ता भएकोमा फैसला हुन अझै बाँकी रहेको अदालतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *