बार्षिक समिक्षा : ‘योजना कार्यन्वयनमा असार नपर्खौ’

आदर्श अनलाइन
बागलुङ

जिल्लाको चालु आर्थिक बर्षको योजना कार्यन्वयनमा अन्तिम समय असार नपर्खने गरि काम गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिले जिल्लाका १० स्थानीय तह सहित सरकारी कार्यालय र गैरसरकारी संस्थाको योजना तथा कार्यक्रमको बार्षिक समिक्षाको उद्घाटनका अवसरमा बोल्ने बत्ताहरुले चाडपर्व लगत्तै योजनालाई गति दिन आग्रह गरेका छन् ।

जेठ, असारमा योजना पु¥याएर काम गर्दा गुणस्तरिय नभएको तथ्य जगजाहेर भए पनि प्रवृत्ति बदल्ने बिषयमा तदारुकता नदेखिएकाले अबको समिक्षा पछि यस्तो गलत परिपाटी दोहोरिन नहुनेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा संघिय सांसद डा.सुर्य पाठकले बर्षौदेखि बिभिन्न बाहनामा समयमा काम नहुने, भएका गुणस्तरिय नहुने र बजेट फ्रिज फाल्ने प्रवृत्ति बदल्ने गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासका काममा दक्ष जनशक्तिको अभाव खड्किएकाले स्थानीय तहमा क्षमता नभएका कर्मचारी भए क्षमता अभिबृद्धि तर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । ‘हरेक तहमा हेर्ने हो भने बिनियोजित बजेटको अधिकांश खर्च सडकमा भएको छ,’ उहाँले भन्नुभयो ‘हिउँदमा बनाएको सडक बर्खामा बगाउछ अनि अर्को बर्ष फेरी त्यही सडकलाई मर्मत सम्भारमा बजेट छुट्याउन पर्ने देखियो, त्यसैले अब परिवर्तन गर्नुपर्छ ।’ जनताबाट उठाएको राजश्वलाई सही ढंगबाट परिचालन गर्न नसक्दा बढी रकम फ्रिज हुने भएकाले सही सदुपयोग गर्न भ्रष्टाचार न्यूनिकरण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले व्यवस्था बदलिए पनि जनप्रतिनिधि, कर्मचारी र नागरिकको मनोवृत्ति नबदलिँदा अपेक्षाकृत काम नभएको स्वीकार गर्नुभयो । ‘एउटा डिपिआर दुई बर्षमा बन्दैन, यो सांसद, जनप्रतिनिधिका कारणले होइन, कर्मचारीका कारणले हो,’ उहाँले भन्नुभयो, ‘कर्मचारीको पुरानो प्रवृत्तिले पनि समस्या छ, यसमा व्यापक सुधारको खाँचो छ ।’ समिक्षा कार्यक्रममा योजना र प्रस्तुतिकरणमा मात्र सिमित नराखी अहिले भइरहेको, हुन नसकेको र अब गर्नुपर्ने बिषयमा व्यापक छलफल गर्न आग्रह गर्नुभयो ।

समिक्षा कार्यक्रममा आइतवार बागलुङका विभिन्न गाउँपालिका तथा नगरपालिकाले आ–आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमवार सरकारी कार्यालय र गैरसरकारी संस्थाले प्रगति बिवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, उप–प्रमुख बिष्णु भुषालको स्वागत र दुर्गाप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *