–स्वामी रमेशानन्द केशरी
धौलागिरीको पत्रकारिता आज जहाँ छ । त्यसमा धेरैको हिस्सा छ । मतलब धेरै अग्रजहरुको समर्पण, त्याग, लगाव, निष्ठा मिश्रित छ । धौलागिरीको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात छुटाउन नहुने एक पात्र हुन् स्वामी रमेशानन्द केशरी । वि.स.१९९३ साल कात्तिक ४ गते बागलुङ नगरपालिका–१ रामरेखामा जन्मिएका रमेशानन्द बागलुङ जिल्लाकै पुराना पत्रकार मध्ये एक हुन् । तत्कालिन धौलाश्री दैनिकका सम्पादक विदुर खड्का, कृष्णप्रसाद दुखी र स्वामी रमेशानन्द केशरी पुराना पुस्तामा क्रियाशिल पत्रकारका रुपमा हुनुहुन्थ्यो ।
२०२९ सालमा धौलाश्री दैनिकमा समाचारदाताको रुपमा पत्रकारिता शुरु गर्नुभएका केशरीसँग धौलागिरि साप्ताहिकको सम्पादक हुँदै नेपाल सरकारको राष्ट्रिय समाचार समितिका बागलुङ संवाददाताको रुपमा काम गरेको लामो अनुभव छ । यद्यपी, बागलुङमा अहिले क्रियाशिल रहेका पत्रकार माझ समेत उहाँको क्रियाशिलता ओझेलमा छ । धौलागिरी अञ्चलमा नेपाल पत्रकार महासंघ स्थापना गर्न समेत स्वामी रमेशानन्दको पनि कुनै न कुनै किसिमको योगदान र भुमिका छ । उहाँ तत्कालिन धौलागिरी शाखाको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।
तत्कालिन समयमा पाँच÷दश रुपैयाका आधारमा समाचार लेखेको अनुभव छ केशरीलाई । अहिलेका पत्रकार, पत्रकार महासंघ र पत्रकारिताले पुराना पत्रकारलाई नसम्झेकोमा उहाँको गुनासो समेत छ । स्वामी रमेशानन्द केशरीलाई अहिले बजारमा आउने समाचार समाचार जस्तै लाग्दैनन् । पहिलाका समाचार र अहिलेका समाचार निकै फरक छन् । ‘अहिले ताजा समाचार आउँछन्, पहिला बासी समाचार आउँथे,’ उहाँले भन्नुभयो ‘पहिलेका समाचारले समाजमा सकरात्मक प्रभाव पाथ्र्यो । अहिलेका समाचारले नकरात्मक प्रभाव बढी छ ।’ राष्ट्रिय समाचार समितिमा ११ वर्ष काम गर्नुभएका केशरीले आवाको माध्यवाट समाचार पठाएको अनुभव सुनाउनुहुन्छ । ‘एउटा समाचारको १२ रुपैयाँका दरले राष्ट्रिय समाचार समितिमा काम गरे,’ उहाँ थप्नुहुन्छ, ‘त्यतिबेला पैसाका लागि भन्दा पनि सेवाका लागि पत्रकारिता गरिन्थ्यो ।’ पहिला यस्तो छाडा पत्रकारिता थिएन, भए पनि कारवाही भोग्नुपर्ने हुन्थ्यो, अहिले त्यस्तो छैन । आवामा घण्टौ कुरेर समाचार पठाएको र कहिलेकाही पठाएको तीन दिन पछी समाचार आएको स्मरणमा ताजै छ । यसरी समाचार आउँदा पनि समाजमा राम्रै प्रभाव पारेको केशरी बताउनुहुन्छ ।
शास्त्रीय अध्ययन गर्नुभएका केशरीले १५ वर्ष भन्दा वढी लामो पत्रकारिता अनुभव सुनाउदै समाचार छाप्ने आँफै जिम्मेवार रहने शर्तमा अञ्चलाधिशले काम गर्न दिएको बताउनुभयो । बागलुङको पत्रकारिताको इतिहासमा पुराना पत्रकारहरुको नाम कतै नभेट्टिनु दुखदायी बिषय भएको बताउनुभयो । ‘बागलुङको पत्रकारिता बिदुर खड्का, म र कृष्ण दुखीले शुरु गरेका हौं । विदुर जि त अझै पनि पत्रकारितामा हुनुहुन्छ । म चाही समाजसेवामा लागे’ उहाँ बिगत तिर फर्किएर फेहरिस्त सुनाउनुभयो, ‘पत्रकारितामा धेरै दुःख गरियो । अहिले समाजसेवामा लागेर निकै बुढो भए ।’ हातले कापीमा लेखेको समाचार आवाको माध्यमबाट काठमाण्डौं समाचार पठाउदा कहिलेकाही फरक परेर गाली समेत खाएको उहाँको अनुभव छ । आवामा समाचार ढिलो पुग्थ्यो तर समाचार दिने, भाषण गर्ने नेता, राजाहरुले तत्कालै समाचार खोज्दा साह्रै गाह्रो हुन्थ्यो । तेजु गौचन भनेर समाचार पठाउदा तेजबहादुर गौचन भनेर समाचार आउथ्यो रेडियो नेपालमा । समाचार ढिलो आउदा गाली पनि खाइन्थ्यो ।
सञ्चार क्षेत्रमा अहिले धेरै विकास भए पनि गुणस्तरमा ह्रास आउन थालेको उहाँको धारणा छ । कुनै दिन रातको १२ बजे उठेर समाचार संकलनमा जाँदा श्रीमतिले पत्रकारिता गर्नुपर्दैन भनेर सम्झाउने समेत गरेको सम्झिनुहुन्छ । म एक पटक तीन दिन सम्म समाचार संकलनका लागि गाउँ जाँदा श्रीमतिले खुवै पिर गरेर बसेको अनुभव सुनाउनु हुन्छ । त्यतिवेला घटना, दुर्घटना, राजाका, कृषि सम्बन्धि हुन्थे । अहिले समाचारको दायरा निकै फराकिलो भएको पाउँछु । बहुदल आएसंगै केशरी पत्रकारिता छोडेर नेत्रज्योती संघ, रेडक्रस, परिवार नियोजन संघ लगायत क्षेत्रमा सक्रिय भएर लाग्नुभएको थियो । पत्रकारिता समय अनुसार चल्न नसक्दा समस्या हुन्छ तर समाजसेवा निरन्तर गर्न पाइन्छ । अहिले रेडक्रसको सल्लाहकारमा छु । ‘उमेरले नेटो काट्न थाल्यो केही गर्न सक्दिन अचेल’ रमेशानन्दले थप्नुभयो, ‘विगतका इतिहास पल्टाउदै बस्दै गर्छु ।’
अहिलेको समाचार गीत जस्ता लाग्छ, भावनामा वगेका जस्ता लाग्छ, ढाक्नु पर्ने कुरालाई देखाउने, देखाउने कुरालाई ढाक्ने प्रवृत्ति हावी छ । कसरी भनु खोई ? अचेल पत्रकार पनि मर्यादामा बस्न छाडे । राज्यले पनि पत्रकारलाई हेर्ने नजर राम्रो छैन । उसका पनि परिवार बाल बच्चा हुन्छन् । राज्यले पत्रकारितालाई मर्यादित बनाई आर्थिक रुपमा समेत सक्षम गराउनु पर्दछ । अहिले पत्रकारिता गलत हुँदै गएकोमा आँफु निकै चिन्तित भएको बताउँनुहुन्छ । राज्यले पत्रकारलाई एउटा मापदण्डमा ल्याउने र सेवा सुविधा प्रदान गर्ने हो भने अहिलेको समस्याको समाधान हुने उहाँको भनाई छ । -प्रस्तुतीः सुवास गौतम