गाउँको सुखद कथा: बाख्रा बेचेर तंग्राममा वार्षिक डेढ करोड

आदर्श अनलाइन/बागलुङ
—दशैं तिहारका लागि ७ सय ५० बोका तयार
गाउँघर तिरको आजकाल निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । गाउँ रित्तिएको छ । गाउँमा सम्भावना छैन । गाउँमा बस्ने, केही गर्ने बातावरण छैन । तर, अवस्था र यथार्थ यति मात्रै पनि होइन । गाउँमै बिभिन्न पेशा, व्यवसाय र उद्यम गरेर स्थानीयले आत्मनिर्भरताको गतिलो उदाहरण पनि देखाएका छन् ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरु यसैको एउटा उदाहरण हुन् । उनीहरुले बाख्रा बेचेर गाउँमा बार्षिक करिब डेढ करोड रुपैयाँ गाउँ भित्राइरहेका छन् । सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामा आवद्ध महिला शेयर सदस्यहरुले बाख्रा विक्री गरेर आयआर्जन गरेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा सप्तरंगी सहकारीमार्फत ७ सय १४ गोटा खसी विक्री गरी ७९ लाख ५२ हजार १ सय ७५ रुपैया आम्दानी गरिएको संस्थाका प्रवन्धक मनकुमारी पुनले जानकारी दिनुभयो । बसन्त सहकारी मार्फत ५ सय ३९ गोटा खसी बोका विक्री गरि ६१ लाख १२ हजार २ सय आम्दानी गरिएको संस्थाका प्रवन्धक हेमा विकले जानकारी दिनुभयो । दुईवटा सहकारी मार्फत तंग्रामका बाख्रापालक किसानहरुले वार्षिक १ करोड ५० लाख रकम घर भित्र्याएका हुन् । सप्तरंगी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ६ सय ३५ केजी बराबरको खसी बोका विक्री गरेर ९८ हजार १ सय ५० रुपैया नाफा गरेको छ । त्यस्तै बसन्त सहकारीले १५ हजार ९२ केजी खसी बोका विक्री गरेर ७५ हजार ४ सय ६० रुपैया नाफा गरेको छ ।

दुवै सहकारीले आँफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ४ सय रुपैयामा संकलन गर्ने र र ४ सय ५ रुपैयामा विक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन विक्री संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारीले जनाएका छन् ।
हेफर इन्टरनेशनलमार्फत विवाइसी बागलुङले साविक तंग्राम गाविसमा विगत ७ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाबाट सप्तरंगी सहकारीमार्फत २ सय ४३ जना र बसन्त सहकारी मार्फत ६ सय ११ जना सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो । महिलालाई सदस्य बनाइ आयआर्जनमा केन्द्रीत गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यहरुले सहयोग गरेका कारण विगत ४ वर्षदेखि वार्षिक १ करोड भन्दा बढी रकम आम्दानी गर्न थालेका छन् । सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेको संख्या बढेको हो । प्रत्येक परिवारमा २÷४ वटा बाख्रा अनिवार्य पाल्ने गरेका छन्, व्यवसायिक रुपमा बाख्रा पाल्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको स्थानीय यामबहादुर पुनले बताउनुभयो ।

घरका महिलाहरु सहकारीका सदस्य बनेका छन्, उनीहरुलाई पुरुषहरुले राम्रो सहयोग र समन्वय गरेका कारण वर्षमा १ हजार गोटा भन्दा बढी खसी बोका तंग्रामका दुईवटा सहकारीमार्फत बजारमा विक्री हुने गरेका छन् । सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर विक्री गर्दै आएका छन् । संस्थाले प्रति केजी ५ रुपैया लिएर सदस्यले उत्पादन गरेका खसी बोका बजारमा विक्री गर्दै आएका छन् । सहकारीमार्फत सदस्यको उत्पादन विक्री गरेर उनीहरुको आयआर्जन वृद्धि गराउन पाउदा आनन्द आउने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो ।

दशैं तिहारका लागि ७ सय ५० बोका तयार
नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै छ । यि पर्वका लागि हिमाली मुस्ताङबाट हजारौ खसी ल्याइने गरिन्छ । तर, यसरी आयात गरिने च्यांग्रा, खसी रोक्न यसबर्ष तंग्रामका महिलाहरुले ७ सय बढी खसी बोका गाउँमै तयार गरेका छन् । गाउँका सप्तरंगी र बसन्त महिला सहकारीले ७ सय २० वटा खसी बोका बिक्री गर्ने लक्ष्य राखेका छन् । सप्तरंगी सहकारीले ३ सय १५ र बसन्त सहकारीले ४ सय ५ वटा खसी बोका विक्री गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *