काठखोला–६ मा दुध बेचेरै भित्रियो डेढ करोड

दुधको कारोबार गर्नेलाई ११ लाख ८२ हजार अतिरिक्त रकम प्रदान

आदर्श अनलाईन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँ किम्बोटका कृषक भुमिश्वर कंडेल बिहानै सहकारीमा दुध पु¥याउन पुग्छन् । प्रत्येक दिन दुधको मुल्य उनको नाममा सञ्चालित खातामा जम्मा हुन्छ । आवश्यक परेको बेला उनले पैसा झिक्छन्, नभए खातामा ब्याज आइरहन्छ उनलाई त्यसैमा सन्तुष्ट लाग्छ ।

वर्षभरी विक्री गरेको ५ हजार लिटर दुधको मुल्य हरेक दिन उनको खातामा चढेकै थियो । दुध बेचेर खातामा जम्मा भएको पैसाले उनी खुशी नै थिए । जव साधारणसभामा उनलाई उत्कृष्ट कारोबार गरेको भन्दै थप ३४ हजार २ सय २० रुपैया संरक्षित पूँजि फिर्ताकोषको रकम प्राप्त भयो उनको खुशीको सिमा रहेन । सहकारीमा कारोबार गरेपछि फाइदा हुन्छ भन्ने भनाई यति बेला उनका लागि यथार्थ भइदिएको छ ।

उनी जस्तै जीवनभर दुधको कारोबार गरेका सोही स्थानका बालानन्द कंडेल पनि आफ्नो व्यवसायबाट निक्कै खुशी छन् । विगतमा उनले करिब २० वर्ष बिहुदेखि बागलुङ बजारसम्म डोकोमा दुध बोकेर विक्री गरे । जव गाउँमा सहकारी सञ्चालन भयो त्यसपछि कृषकका सुदिन फर्किएको बताउने बालानन्दले यस वर्ष ३३ हजार बोनस रकम प्राप्त गरेका छन् । सहकारीका कारण समयको बचत, भारी बोक्ने समस्याको अन्त्य तथा दुग्ध व्यसाय गर्नका लागि लगानी, सहयोग, समन्वय, बिमा, स्वास्थ्य उपचार लगायतमा सहयोग भएको उनको भनाइ छ ।
२०५७ सालमा स्थापना भएको नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भूमिश्वर कंडेल र बालानन्द कंडेल जस्तै १ सय ३३ जना शेयर सदस्यहरुले उत्पादन गरेको दुध संकलन गरेर बागलुङ बजारमा रहेको बागलुङ दुग्ध सहकारी संघमा पठाउने गर्छ, संघले विक्री गरेको दुधबाट आएको पैसा संस्थामा पठाउने गर्दछ । दुधको मूल्य मासिक रुपमा सहकारीको खातामा जान्छ तर संघले कारोबारका आधारमा प्रदान गरिने रकम वार्षिक रुपमा प्रदान गर्ने गर्दछ ।

मंगलवार आयोजित संस्थाको १८ औं वार्षिक साधारणसभामा ११ लाख ८२ हजार ९ सय ८१ रुपैया बोनस वापतको रकम शेयर सदस्यहरुलाई प्रदान गरियो । सहकारीले कारोबारका आधारमा प्रदान गर्ने संरक्षित पूँजि फिर्ता कोषबाट प्रदान गरिने कोषबाट सदस्यहरुलाई उक्त रकम प्रदान गरिएको हो । उक्त सहकारी संस्थाका १ सय ३३ जना शेयर सदस्यहरुले गत आर्थिक वर्षमा दुध विक्री गरेर ७८ लाख भन्दा बढी रकम गाउँ भित्र्याएका छन् । उनीहरुले दुग्ध सहकारी संघबाट कारोबार बापत प्राप्त थप ५ लाख ६ हजार र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले प्रदान गर्ने प्रत्येक लिटर बराबरको १ रुपैया मार्फतको १ लाख २६ हजार गरी संस्थाले कुल ६ लाख ३२ हजार रुपैया समेत गाउँ भित्र्याउन सफल भएको छ । सोही वडामा रहेको अर्को दुग्ध सहकारी संस्थाका शेयर सदस्यहरुले दुध विक्री गरेर ५७ लाख रुपैया वडामा भित्र्याएका छन् । काठेखोला गाउँपालिका वडा नं. ६ का करिब ३ सय जना कृषकले दुध विक्री गरेर वार्षिक डेढ करोड भन्दा बढी रकम गाउँ भित्र्याएका हुन् ।

गाउँमा युवाको बसोबास कम हुदै जानु, विगतमा जस्तो धेरै सन्तान नजन्माउने लगायतका कारण दुग्ध व्यवसायमा केही कम भएकोमा भने उनीहरु चिन्तित छन् । व्यक्तिले पशुपालन गर्ने क्रम घटेको छ तर यसको विकल्प सामुहिक रुपमा फार्महरु सञ्चालन गर्ने परिपाटीको विकास भएको संस्थाका अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलले बताउनुभयो । वडा कार्यालय, गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकार लगायत सरोकारवालाहरुसंगको सहकार्यमा उत्पादन क्षेत्रमा कृषकहरुलाई केन्द्रीत गर्ने कार्यक्रम निरन्तर अगाडि बढाइने उनले बताए ।

मंगलवार आयोजित संस्थाको १८ औं वार्षिक साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गरे । सो अवसरमा बोल्दै जिसीले नमुना दुग्ध सहकारी संस्थाका शेयर सदस्यहरुले राज्यको सहयोग बिना नै डेढ दशकदेखि उत्पादनका क्षेत्रमा काम गर्दै आएको बताए । उनले उत्पादनमा लागेका जनतालाई प्रोत्साहन गर्नका लागि राज्यले उत्पादनको लागतका आधारमा अनुदान वा अन्य विशेष सहयोगको व्यवस्था गर्नु पर्नेमा जोड दिए । सहकारीमार्फत आयआर्जनका लागि नमुना सहकारीले आफ्ना सदस्यहरुको हितमा गरेका उदाहरणीय कामलाई संरक्षण गर्नका लागि स्थानीय सरकारको बढी भन्दा बढी ध्यान जानु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले दुग्ध सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेको दुध गुणस्तरीय हुनु पर्नेमा जोड दिदै गुणस्तरका आधारमा दुध मूल्य बढी पाइने जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपिला कंडेल, भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बागलुङका अधिकृत रामकृष्ण सुवेदी, काठेखोला गाउँपालिका वडा नं. ६ का वडा सदस्य लिलाधर ढुंगाना, सामुहिक वचत तथा ऋण सहकारी संस्था बिहुका सचिव शिवलाल कंडेल, बिहुकोट कृषि सहकारी संस्थाका अध्यक्ष बालानन्द कंडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा काठेखोला गाउँपालिका वडा नं. ६ बिहुमा जन्मिएर पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पत्रकार कोपिला कंडेललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिसी, संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेल लगायतले दोसल्ला ओढाई सम्मान पत्रद्वारा पत्रकार कंडेललाई सम्मान गर्नु भएको थियो ।

यस्तै संस्थामा ड्राई सिजनमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु भुभिश्वर कंडेल प्रथम, बालानन्द कडेल द्वितिय, काशीराम कंडेल तृतिय र झगराज कंडेलले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहकरुलाई नगद २ हजार, १ हजार ५ सय र १ हजार रुपैया सहित पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष पहलमान थापाको स्वागत र सचिव जगुपति कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले आगामी ४ वर्षका लागि पुन युक्तप्रसाद कंडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पहलमान थापा, सचिवमा जगुपति कंडेल, सहसचिव लक्ष्मी हमाल, कोषाध्यक्ष टंकप्रसाद कंडेल तथा सदस्यहरुमा शिवलाल चपाई, नारायणदत्त कंडेल, तुलसीदेवी कंडेल र पार्वती कंडेल रहनु भएको छ । यसैगरी लेखा समितिको संयोजकमा राजु निउरे तथा सदस्यहरु रामप्रसाद कंडेल र माया कंडेल रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *