आदर्श अनलाइन/म्याग्दी
जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो ।
नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको मेलाका लागि विद्युत छोड्ने क्रममा मल्कवाङमा समन्वय नहुँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।इलाका प्रहरी कार्यालय दरवाङबाट साँझ मल्कवाङ पुगेको प्रहरी टोलीले पोलमै झुण्डिएको अवस्थामा रहेको छन्त्यालको शव निकालेर परिक्षणका लागि दरवाङतर्फ लैजाने तयारी गरेको छ ।