ढल बने पनि हल्लनचोकमा सडकमै बग्छ भेल

आदर्श अनलाइन /बागलुङ

हल्लनचोक, साठीको दशक सेरोफेरोमा नामाकरण भएको बजारको एउटा चोकको नाम । खासगरी द्वन्द्धको समयमा दैनिकजसो झैझगडा, दुव्र्यसनीहरुको जमघट स्थल जस्तो ।जनक्रान्तिसँगै मुलुकमा नयाँ व्यवस्था आएपछि यो चोकले पनि मुहार फेर्ने अवसर पायो । र धेरै हद सम्म चोक बदलिएको पनि छ । अहिले व्यवस्थासँगै बदलिने अवसर पाएको हल्लनचोकमा अघिल्लो बर्ष सम्म सडक र ढल व्यवस्थित नहुँदा डुबानको अवस्था थियो । सडक पुनः कालोपत्रे गरियो । ढल पनि व्यवस्थित गरियो । तर, अलि ठुलो बर्षा हुँदा साथ सडक, चोकमा डुबानको समस्या उस्तै छ ।

पछिल्लो साता निरन्तर परेको बर्षामा पनि हल्लनचोकमा यही नियति दोहोरियो । पानी परेको १०/१५ मिनेटमै चोक जलमग्न भयो । छेउछाउका पसलमा पनि भेल पस्यो । बर्षाको डुबानले पैदल यात्रु र सवारी चालकलाई पनि उत्तिकै सास्ती खेप्नुपर्ने बाध्यता छ । ‘सडक नाली बन्यो भने समस्या समधान होला भन्ने लागेको थियो,’ बानपा २ हल्लनचोकमा स्थानीय वासिन्दा ओमप्रकाश पौडेलले भन्नुभयो,’ पाँच दश मिनेट झरी प¥यो भने ढल घर भित्रै पस्ने क्रम रोकिएन ।’ बागलुङको मालिका, श्रीनगर टोल, जीपपार्क र लोकतान्त्रिक चोकबाट बग्ने पानी सबै यही ढलमा जम्मा हुँदा समस्या यथावत देखिएको पौडेलले बताउनुभयो । ‘बाहिर नाली बनाएको जस्तो देखियो, भित्र नालीको भाग निकै सानो छ,’ उहाँले भन्नुभयो,‘नालीले बजारको पानी थेग्न सक्दैन र सडकबाट बग्छ ।’ बनाएका नाली खुल्लै छन्, सडक छेउमा थुपारिने प्लाष्टिकजन्य फोहोर सबै नालीमै खस्ने गरेका छन् । यस्तो समस्या पटक–पटक दोहोरिदा पनि बागलुङ नगरपालिकाले व्यवस्थापनका लागि कुनै चासो नदिएको स्थानीय गुनासो गर्छन् ।

तस्विरः सावित्री खड्काको फेसबुकबाट साभार ।
तीन वर्ष पहिले बागलुङ बजारको मुल सडक ऐश्वर्यचोकदेखि श्रीनगरटोल सम्म ४ सय ६० मिटर सडक ३४ लाख रुपैयाँको लागतमा मर्मत तथा व्यवस्थापन गरिएको थियो । हल्लनचोकको तल्लो भेगका स्थानीयले घरबाट निस्कने फोहोर सिधै नालीमा फाल्ने गरेका कारण समस्या भएको बागलुङ नगरपालिका वडा नम्बर–३ का अध्यक्ष जीवन आचार्यले बताउनुभयो । ‘नाली थुनिएर सडकबाटै भेल बग्ने गरेकोबारे जानकारी छ ।’ अध्यक्ष आर्चायले थप्नुभयो,‘घरबाट सिधै नालीमा फोहोर नफाल्नुस् भनेर हामीले उहाँहरुलाई पटक–पटक भनेका छौं । ठुला ठुला सुटकेश पनि अटेर गर्दै नालीमै फालेको भेटिएको छ ।’ बागलुङ बजारमा वल्ड बैंकको सहायतमा नाली व्यवस्थापनको ठुलो कार्यक्रम आउँछ भनेर यो वर्ष नालीको कामको लागि बजेट विनियोजन नगरिएको आचार्यको भनाई छ । ‘तत्काल हामीले नयाँ नाली बनायौं भने भोली भत्काउनुपर्ने अवस्था आउँछ, साना नालीमा स्थानीयले जानाजान धेरै फोहोर फाल्दिदा समस्या आएको छ ।’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘तत्कालको विकल्प भनेको नाली सरसफाई हो, नाली सफा गर्नको लागि यहाँ मान्छे पाइदैन, बिरगञ्जबाट मान्छे झिकाएका छौ । दशैं अगाडी एकपटक पुनः नाली सफाई गरिन्छ ।’

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले बजारका ढल व्यवस्थापनका बिषयमा प्राविधिक कमजोरी भएको हुनसक्ने बताउनुभयो । नगर क्षेत्रमा भइरहेका समस्याबारे वडा कार्यालय मार्फत निवेदन आएमा नगरपालिकाले आवश्यक सहयोग, समन्वय र व्यवस्थापन गर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *