शिक्षक सेवा आयोगको परिक्षामा ८७ प्रतिशत महिला !

आदर्श अनलाइन/ बागलुङ

शिक्षक सेवा आयोगको परिक्षामा ८७ प्रतिशत महिलाको सहभागिता देखिएको छ ।

बागलुङ जिल्लामा गत असोज ९ देखी ११ गते सम्म सञ्चालित शिक्षक सेवा आयोगको शिक्षक लाइसेन्स परिक्षामा ५ हजार ९ सय ४३ जना सामेल भएका थिए । जसमध्ये प्राथमिक तहका लागि ८७।९ प्रतिशत महिला र १२ प्रतिशत पुरुषले परिक्षा दिएका छन् । कुल १ हजार ९ सय ९५ सहभागी मध्ये १७ सय ५५ महिला र पुरुष जम्मा २ सय ४० जना सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयो । प्राथमिक तहमा २ सय ५६ जना भने अनुपस्थित रहे ।

निम्न माध्यमिक तहमा पनि महिलाहरुको उल्लेख्य सहभागिता देखिएको छ । कुल ३ हजार १९ ले आवेदन दिएकोमा २१ सय ४६ महिला थिए । पुरुष जम्मा ३ सय ७६ जना मात्र थिए । यो संख्यालाई प्रतिशतमा हेर्दा महिला ८५।९ र पुरुष १४।९ प्रतिशत सहभागी रहेको समन्वय इकाई प्रमुख उपाध्यायले बताउनुभयो । निमावि तहमा आवेदन भरेका मध्ये ४ सय ९७ जना भने जाँचमा सरिक भएनन् ।

मावि तहका लागि सञ्चालित परिक्षामा भने महिला र पुरुष बीच ठुलो अन्तर नदेखिएको कार्यालय प्रमुख उपाध्यायको भनाई छ । उनका अनुसार, कुल १४ सय २६ मध्ये ६ सय ६९ महिला र ४ सय ७७ जना पुरुषले आयोगको परिक्षा दिएका छन् । २ सय ८० जना अनुपस्थित देखिएको मावि तहको परिक्षामा पुरुष महिलाको प्रतिशतमा महिला १७ प्रतिशतले बढी सहभागी देखिएका छन् । ५८।६७ प्रतिशत महिला र ४१।६२ प्रतिशत पुरुषले मावि तहको आयोग परिक्षा दिएको उपाध्यायले जानकारी दिनुभयो । ‘अहिलेको परिक्षाको सहभागिता अलि अस्वभाविक देखियो, यसमा पुरुषको बढ्दो बिदेश मोह र आधारभुत शिक्षाको जग अब महिलाहरुको जिम्मेवारीमा आउने देखिन्छ,’ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख उपाध्यायले भन्नुभयो,‘ शिक्षामा महिला शिक्षकको पहुँच बलियो हुने प्रष्ट संकेत देखिएको छ, यसले समाजको पछिल्लो अवस्थालाई पनि उजागर गरेको छ, यसमा सबै निकायले यथोचित बिश्लेषण गरेर थप योजना बनाउन आवश्यक देखिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *