गलकोटमा पहिलो पटक व्यावसायीक फूल खेती

सुवास गौतम, बागलुङ

जिल्लाको गलकोट नगरपालिका–३ हटिया सिमखेतमा पहिलो पटक पुष्प (फूल) खेती गरिएको छ ।

गलकोट नगरपालिका वडा नम्बर –३ को सहयोगमा गलकोटलाई फूलमा आत्मनिर्भर बनाउने दीर्घकालिन उदेश्यका साथ परिक्षण स्वरुप लगाइएको फूलले अहिले बगैचा सजिएको छ ।

नजिकिँदै गरेको तिहार पर्वका साथै बिभिन्न कार्यक्रमलाई लक्षित गरेर गलकोटमा पहिलो पटक व्यवसायीक सोच सहित पुष्प (फूल) खेती थालिएको हो । परिक्षणका लागि लगाइएको फूल राम्रो फूले पछि अहिले बजारमा पठाउने तयारी गरिएको छ ।

शुरुवाती प्रयास नै सफल हुन थालेपछि स्थानीय कृषकहरु समेत उत्साहित देखिएका छन् । गलकोट नगरपालिका ३ को वडा कार्यालयको गत वर्ष एक लाख बिनियोजन गरी गल्कोट फ्लोरी कल्चर एण्ड नर्सरीका १५ जनालाई व्यावसायीक फूल खेतीका बारेमा १५ दिने तालिम प्रदान गरिएको थियो ।
सुर्खेतबाट दुई जना प्रशिक्षक ल्याएर प्रदान गरेको फूल खेती तालिम लिएका १५ जनाले परिक्षणका लागि टनेल बनाएर फूल खेती शुरु गरेका थिए ।

फूल अहिलेको तिहारमा बजार पठाउने तयारी भइरहेको गलकोट नगरपालिका–३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । ‘हामीले गलकोटलाई फूलमा आत्र्मनिर्भर बनाएर फूल निर्यात गर्ने उदेश्य अनुरुप फूल खेती गर्नका लागि कृषकलाई तालिम तथा बिउँको व्यवस्था गरेका थियौं’ अध्यक्ष भण्डारीले आदर्श अनलाइनसँग भन्नुभयो, ‘पहिलो चरणमै उत्पादन भएको देखेर खुसी भएका छौं, गलकोटमा व्यवसायीक फूल खेती फस्टाउनेमा बिश्वस्त भएका छौं ।’ परिक्षणका लागि एक रोपनी क्षेत्रफलमा लगाइएको फूलखेती विस्तारका लागि थप दुई रोपनी जग्गा भाडामा लिइएको गलकोट फ्लोरी कल्चर एण्ड नर्सरीका अध्यक्ष मिना श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार, उक्त समूहले गलकोटलाई फूलको नगरी बनाउने उद्धेश्यका साथ सयपत्री फूल मात्र नभई आगामी दिनमा दुबो तथा अन्य सजावटका फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘नगरले बाटो देखायो, अब हामीले लगानी गर्दैछौ,’ श्रेष्ठले भन्नुभयो, ‘टनेलमा सयपत्रीको फूल बाह्रैमास फूल्दो रहेछ, कार्यक्रममा खाँदा विस्थापित गरी मौलिकता सहितको मालाको प्रयोग गर्न सहयोग पुग्नेछ ।’

गलकोट नगरपालिकाको पहिचान स्थापित गर्ने गरी आगामी दिनमा समेत उक्त नर्सरी समूहलाई अनुदानको व्यवस्था गर्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले बताउनुभयो । पहिलो चरणमा दुई सय फूलका बिरुवा बिक्री गरिएको छ भने करिब एक लाख बराबरको फूल बिक्रीका लागि तयार भएको छ । फूल खेती राम्रो भएपछि तिहारका लागि अहिलै माग आइरहेको नर्सरी समूहले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *