बागलुङका गाउँ-गाउँमा चिया खेतीको उभार

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय बागलुङ जिल्लामा व्यावसायिक चिया खेती गर्ने क्रम बढेको छ ।

तीन वर्ष पहिले सम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा चिया खेतीको अभ्यास निकै कम थियो ।

चिया खेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपर्युक्त भएका कारण जिल्लाका पहाडी गाउँहरुमा चिया खेतीमा आकर्षण बढ्दो छ । जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चिया खेती गर्न थालिएको हो ।

ताराखोला गाउँपालिका
पूर्व उर्जा राज्यमन्त्री समेत भइसक्नु भएका रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा लगायतको अगुवाईमा साविकको अमरभुमी गाविसको सिरबारेमा गोल्डेन टि स्टेट कम्पनी मार्फत व्यावसायिक चिया खेती गरिएको छ ।

कम्पनीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ सिरबारेमा ५ सय ६२ रोपनी जग्गा खरिद गरेर चिया खेती गरेको थियो । ताराखोला पछि बागलुङ नगरपालिकाले नगरका विभिन्न स्थानमा चिया खेतीको सम्भाव्यता अध्ययन गरेर परिक्षण स्वरुप चियाका बोट लगाएको छ । दुई वर्ष पहिले सिगानामा चियाको व्यावसायिक खेती थालिएको छ भने हालै मुख्यमन्त्री बातावरणमैत्री कृषि गाउँमा छनोट भएको काँठेखोला गाउँपालिका–७ रेशमा चिया खेती गरिएको छ । धम्जा, भकुण्डे र सल्यानमा समेत चिया खेती शुरु गरिएको छ ।

जिल्लामा चिया खेतीको प्रचुर सम्भावना भएकाले प्रारम्भिक अध्ययन पछि जिल्लामै पहिलो पटक व्यवसायिक चिया खेती शुरु गरिएको गोल्डेन टि स्टेट कम्पनीका प्रवन्ध निर्देशक रामजीप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार, ५ सय ६२ रोपनी जग्गा कम्पनीले खरिद गरेकोमा अहिले एक सय रोपनी जग्गामा चिया खेती छ । अन्य जग्गामा चिया खेती विस्तारका लागि बृृहत नर्सरी समेत निर्माण गरिएको कम्पनीले जनाएको छ । ‘हामिले बागलुङमा ठूलो परिणाममा चिया उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ प्रबन्ध निर्देशक शर्माले भन्नुभयो, ‘चियामात्र हैन, चियाका बिरुवा समेत बिक्री गर्ने गरी नर्सरी स्थापना गरेका छौं ।’

कम्पनीमा हाल दुई जना चिया प्राविधिक छन् भने दैनिक पाँच देखि २५ जनाले ज्यालामा काम पाइरहेका छन् । चिया परिपक्व भएर टिप्नका लागि पाँच बर्ष लाग्ने भए पनि परम्परागत तरिकाले चिया उत्पादन गर्न थालिएको कम्पनीका प्राविधिक निर्मल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार चियाले पूर्ण क्षमतामा उत्पादन दिन ५ वर्ष लागेपनि तीन वर्ष पश्चात चिया टिप्न थालिनेछ । ‘चियाका दुई प्रकार हुन्छन् सिटिसी र ग्रिन’ चिया प्राविधिक घिमिरेले भन्नुभयो,‘नेपालमा हाल रुचाइएको चिया ग्रिन चिया हो, यो स्वास्थ्यका लागि पनि झनै उत्कृष्ट मानिन्छ ।’ १८ जनाको शेयर रहेको कम्पनीले चिया खेतीका लागि जग्गा खरिद, कम्पनी रहेको स्थान सम्म सडकको पहु“च तथा आवास गृह निर्माण सहित हाल सम्म तीन करोड लगानी गरिसकेको प्रवन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।

चियाको सम्भावना देखेपछि प्राविधिकको सल्लाह अनुसार तीन वर्ष पहिला नुवाकोटबाट ४२ हजार चियाका बोट लगाएर शुरु गरिएको चिया बगानमा अहिले ७५ हजार चियाका बिरुवा छन् । बर्षेनी २० देखि २५ हजार चियाका बिरुवा थप्ने गरी आँफ्नै नर्सरीमा चियाका बिरुवा उत्पादन भइरहेको छ । ‘अहिले परम्परागत प्रविधिबाट थोरै परिणाममा चिया उत्पादन गर्न थालेका छौं,’ प्रबन्ध निर्देशक शर्माले भन्नुभयो, ‘दुई वर्षपछि चिया प्रशोधन औजार खरिद गरि चियाको बजारिकरण गरिन्छ ।’ उहाँका अनुसार जिल्लामा अन्य व्यक्ति वा समूहले उत्पादन गरेको चियालाई समेत आँफ्नै कम्पनी मार्फत प्रशोधनको व्यवस्था मिलाउने बताउनुभयो ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले नगर भित्र चिया खेतीको सम्भाव्यता अध्ययन गरेर दुई वर्ष पहिला बागलुङ नगरपालिका–८ सिगानामा १० हजार चियाका बिरुवा अनुदानमा कृषकहरुलाई बितरण गरेको थियो।

अहिले त्यँहाका कृषकहरुले १४ हजार चियाको बिरुवा पु¥याएको वडा अध्यक्ष राजन जिसीले बताउनुभयो । ‘नगरले बर्षेनी चिया खेती विस्तारका लागि अनुदानमा विरुवा वितरण गर्दै आएको छ’ वडा अध्यक्ष जिसीले भन्नुभयो, ‘चिया खेतीका लागि कृषकहरु उत्साहित भएका छन् ।’

बाँझो जमिनमा यसरी चिया खेती होला भन्ने नलागेको भए पनि अहिले चिया खेतीमा लागेको सिगानाका चिया कृषक खिमबहादुर खड्काले बताउनुभयो । उहाँले आँफ्नो बाँझो जग्गामा दुई हजार चियाका बिरुवा लगाउनुभएको छ । बानपा १० भकुण्डेमा पनि चिया खेतीको परिक्षण स्वरुप बिरुवा लगाइएको छ ।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकामा पनि चिया खेतीको कतै व्यवसायिक र कतै परिक्षण थालिएको छ ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ काठेखोला गाउँपालिका–७ रेशका कृषकहरुपनि चिया खेति तर्फ उत्साहित भएका छन् । रेशमा हालै मात्र १४ हजार चियाका विरुवा लगाइएको छ । रेशका कृषकहरु अहिले चियाका बोटको काटछाट र स्याहार सम्भार गर्न व्यस्त छन् । ‘अन्य खेती भन्दा चिया खेतीको राम्रो सम्भावना भएका कारण मुख्यमन्त्री कार्यक्रममा चिया खेती समावेश गरिएकोे रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

काठेखोलाकै धम्जामा पनि यस वर्ष १४ हजार चियाका बिरुवा लगाइएको छ । धम्जाको यूनिक आधारभूत विद्यालयले ७ हजार र निजि स्तरवाट ७ हजार चियाका विरुवा लगाइएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट १८ सय मिटर देखि २३ सय मिटर सम्मको उचाईमा चियाखेती राम्रो हुने चिया प्राविधिक निर्मल घिमिरे बताउनुहुन्छ । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने बनावटीमा चिया खेती राम्रो हुने प्राविधिक घिमिरेको भनाई छ । बागलुङका विभिन्न गाउँ गाउँमा चिया खेती विस्तार हुन थाले पछि केही वर्ष भित्र चियाको व्यावसायिक निर्यात समेत हुने चिया उद्यमी कृषकहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *