नौ दश पढ्ने बिद्यार्थीलाई कखरा सिकाउदै गाउँपालिका

आदर्श अनलाइन,बागलुङ

कक्षा ८, ९, १० पढ्ने बिद्यार्थी धमाधुस गर्दै कखरा सिक्नै प्रयासरत थिए । देख्दा केही अपत्यारिलो लाग्थ्यो । ८,१० बर्ष अघि कखरा सिकेर जान्ने भइसकेकाहरु पनि अहिले कखरा सिक्दै ? प्रश्न जिज्ञासा स्वभाविक थिए । तर, दृश्य यथार्थ थियो । जिल्लाको ताराखोला गाउँपापालिकाले बिद्यार्थीको अतिरिक्त क्षमता विकास गर्ने भन्दै गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत ३४ जना बिद्यार्थीलाई आवासीय तालिम मार्फत यस्तै अनेक ज्ञान, सीप र कला सिकाउने अभियानमा थियो ।

एसइई तयारीमा रहेकी ताराखोला गाउँपालिका १ स्थित प्रजातन्त्र विकास माविका रेजिना घर्ति कक्षामा कखरा सिकाउन थाले पछि दंग हुनुहुन्थ्यो । १० बर्ष अघि सिकेको कखरा अहिले फेरी लेख्न सिकाउने गाउँपालिकाले के गर्न खोजेको शुरुमा भेउ पाउन पनि मुश्किल भएको घर्ति सुनाउनुहुन्छ । घर्ति मात्र होइन, नेपाल मावि ताराका संगम परियार पनि शुरुमा त उस्तै अलमल र अन्यौलमा देखिए । तर, तीन दिन पछि भने कखरा लेख्न सिकेकोमा सबैजसो बिद्यार्थी निकै उत्साहित थिए ।

ताराखोला गाउँपालिकाले मातहतका बिद्यालयका बिद्यार्थीको अतिरिक्त क्रियाकलाप मार्फत क्षमता अभिवृद्धि गर्ने अभिप्रायले पहिलो पटक तीन दिने आवासीय आर्ट (पेन्टिङ) तथा उद्घोषण तालिम आयोजना गरेको थियो । जसमा माध्यमिक तहका तीन दर्जन बढी बिद्यार्थी सहभागी भए । तालिमले आँफुहरुमा लेखन तथा बोल्ने कलाको विकासमा धेरै सहयोग पु¥याएको हरि मावि हिलकी निकिता खड्काले बताउनुभयो । ‘शुरुमा कखरा लेख्नुस् भन्दा भित्रभित्रै रिस उठेको आभाष भएको थियो,’जनप्रेम माविका किसान गुरुङले भन्नुभयो,‘पछि सिक्दै जाँदा लेखन कलाको छुट्टै सीप कौशल जान्न पायौ, यसले हामीलाई कलाको महत्वबारे थप बोध गराएको छ ।’

तीन दशकदेखि लेखन कलाको व्यवसायमा क्रियाशिल रन्तल आर्टका मछिन्द्र शाक्यले तीन दिनको अवधिमा क देखी ज्ञ, ए देखि जेट र शुन्य देखि ९ सम्मको अकं लेख्न सिकाइएको बताउनुभयो । ‘कखरा लेख्नुस् भन्दा शुरुमा बिद्यार्थी कोही रिसाए जस्तो, कोही आत्तिएको जस्तो देखियो,’ शाक्यले भन्नुभयो, ‘विस्तारै लेखिरहेका अक्षरमा फरक कला सहित लेख्दा आएको फरकपनाले बिद्यार्थी निकै उत्साहित देखिए, कम्तीमा पनि ५÷७ जनाले साधना गरिरहे राम्रो लेख्न सक्ने सम्भावना छ ।’

लेखन र उद्घोषण कलाले बिद्यार्थीहरुको अतिरिक्त क्षमता पहिचान र प्रस्फुटन गर्नमा महत्वपूर्ण भुमिका खेलेको अर्गल माविका प्रधानाध्यापक गणेश घर्तिले बताउनुभयो । ‘हाम्रो ध्यान घोकन्ते पढाई लेखाईमा मात्र केन्द्रित छ, बिद्यार्थीहरुको के रुची र चाहना छ, त्यस अनुसार यस्ता तालिम, प्रशिक्षण पनि आवश्यक छ,’ प्रअ घर्तिले भन्नुभयो, ‘जुन यस बर्ष गाउँपालिकाले दिन शुरु गरेको छ, यो सकरात्मक कदम हो । आगामी दिनमा पनि निरन्तरता दिनु आवश्यक छ ।’

ताराखोला गाउँपालिकाले चालु आर्थिक बर्षमा बिद्यार्थीहरुको अतिरिक्त क्षमता अभिवृद्धिका लागि तीन लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जसबाट लेखन, उद्घोषण र नृत्य सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ । ‘सबै बिद्यार्थीको प्रतिभा, रुची र चाहना फरक फरक हुन्छ, त्यसको समयमै सबै तह तप्काबाट पहिचान र कदर हुनुपर्छ,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले भन्नुभयो,‘अतिरिक्त क्षमता भएका बिद्यार्थीहरुलाई क्षमता विकास गरेर भोलीका दिनमा व्यवसायिक रुपमा लाग्न पनि सकुन् भन्ने सोच छ ।’ यसलाई आगामी दिनमा थप व्यवस्थित गरेर सञ्चालन गर्ने योजना समेत बनाएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *