बागलुङमा विदेशी पर्यटकको सुखद आगमन र अवसर

सम्पादकीय
बागलुङ जिल्ला भुगोलका हिसावले अलि अमिल्दो । सदरमुकाम छेउमा । यद्यपी त्यही छेउको समिपबाट दैनिक सवारीमा पर्यटकको ओहोर दोहोर चलिरहन्छ । तर, ती पर्यटक जिल्ला भित्रिदैनन् । उनीहरु जिल्लाको सिमाना मालढुंगा भएर म्याग्दी हुँदै मुस्ताङ पुग्छन् । मुस्ताङ गण्डकी प्रदेशकै पोखरा पछिको आकर्षक गन्तव्य हो । यसको सामिप्यताका कारण म्याग्दीले पनि पर्यटकीय गन्तव्य, त्यसका पूर्वाधार र प्रचार प्रसारलाई पनि तिव्रता दिएको छ । कारण मुस्ताङ पछि म्याग्दी पनि पर्यटकको रोजाईमा पर्न थालेको छ । बागलुङ पनि पछिल्लो समय पर्यटकिय सम्भावना, पूर्वाधार र प्रचारका हिसावले अघि बढ्न खोजेको प्रतित हुन्छ ।
,
तिहारको समाप्तीसँगै बागलुङमा पहिलो पटक ठुलो संख्यामा विदेशी पर्यटक भित्रिएका छन् । सेता छाला, गोरा अनुहार भएका मानिस दुर्लभ जस्ता लाग्छन् । कहिलेकाही एक दुई छिटफुट रुपमा आउने गरेका दृश्य त नयाँ होइनन् । अहिले आएका बिदेशी पर्यटक पोखरा पछि बागलुङलाई नै गन्तव्य बनाएर आएका छन् । यो सुखद आगमन, संकेत र अवसर हो । अहिलले युरोप र अमेरिकाबाट आएका करिब दुई दर्जन पर्यटक जो बागलुङमा नै नयाँ रुटको सम्भाव्यताको खोजीका लागि आएका हुन् । पर्यटन प्रर्वद्धनका लागि बिश्व भेगन ग्रुपमा आबद्ध युरोप र अमेरिकाका पर्यटकहरुलाई बागलुङ र भकुण्डेमा बाजागाजा र स्थानीय सँस्कृति सहित भव्य स्वागत समेत गरिएको छ । बागलुङ नगरपालिकाको संस्थागत, पर्यटन अभियन्ता महादेव शर्माको पहलमा बागलुङको दुई दिने भ्रमणको लागि युरोप तथा अमेरिकाका २१ जना पर्यटक बागलुङ आएका हुन् । पशु तथा पशु जन्य उत्पादनहरु सेवन नगर्ने अमेरिका तथा युरोपहरुको समूह भेगनले संस्थागत रुपमा पर्यटनको विकासका लागि बागलुङ नगरपालिकासंग साझेदारी समेत गरेको छ । नियमित रुपमा पर्यटक भित्राउने गरी दुई वर्षदेखि पहल गरिहेकोमा अहिलेबाट पर्यटक आउन शुरु गरेका छन् ।

बागलुङमा आन्तरिक पर्यटकहरु आएपनि विदेशी पर्यटकहरुको आगमन न्यून भएको अवस्थामा अहिलेको आगमन र नगरपालिकाको प्रयास सुखद र स्वागत योग्य छ । बागलुङ नगरपालिकाको अनुरोधमा दुई वर्ष पहिले नगरपालिका भित्रको पर्यटकीय सम्भाव्यता अध्ययन गरेर उपयुक्त ठाने पछि पहिलो पटक बागलुङमा पर्यटकहरु ल्याएर आएको विश्व भेगन अर्गनाइजेशन अमेरिकाले बागलुङ नगरपालिका सहित सिंगो जिल्लाको पर्यटक प्रर्बद्धनका लागि चार पाँच वर्षसम्म पर्यटक भित्राउने उद्घोष समेत गरेको छ । बागलुङलाई आफ्नो भ्रमण क्षेत्रको रुपमा रेकर्ड राखेर नियमित रुपमा विदेशी पर्यटक भित्राउने लक्ष्यमा जिल्लाले आवश्यक समन्वयमा कुनै पनि कसर बाँकी राख्नु हुँदैन । यो हाम्रा लागि ठुलो सम्भावना र अवसरको रुपमा आएको छ । अब उनीहरुले भ्रमण पश्चात सँगालेका अनुभव, सुझावका आधारमा पर्यटन पुर्वाधार, प्रचार प्रसार र प्रर्वद्धनमा योजनावद्ध हिसावले लाग्नु आवश्यक छ । थप पर्यटकलाई जिल्ला भित्रिन आकर्षित गर्ने र आएकालाई सुखद अनुभूति गराएर पठाउन सकेमा मात्र दीर्घकालिन पर्यटनको सम्भावना र अवसर सिर्जना हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *