यस्तो छ गण्डकी प्रदेश प्रमुख नियुक्त अमिक शेरचनको यात्रा

आदर्श अनलाइन, पोखरा

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले सोमबार सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । सम्भवतः उनीहरुको सपथ ग्रहण मंगलबार शीतलनिवासमा हुनेछ ।

नेकपाले प्रदेश प्रमुखमा कम्युनिष्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरुलाई प्राथमिकता दिएको छ । प्रायः यस्ता संवैधानिक नियुक्तिमा पूर्वप्रशासकहरुले मौका पाउने गरेकोमा यसपटक वामपन्थी राजनीतिकर्मीलाई प्राथमिकता दिइएको छ ।

जो जुन प्रदेशको बासिन्दा हो, उसलाई अर्को प्रदेशको प्रमुख बनाउने निर्णय नेकपा नेतृत्वको सरकारले गरेको छ ।
यस्तो छ गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको विगत
अमिक शेरचन गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएपछि कतिपयले सामाजिक सञ्जालमा लेखे–राष्ट्रपति बनाउनुपर्ने मान्छे प्रदेश प्रमुख भए ।

उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् । नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित हुनुभएको थियो । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो ।

नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फुटेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष हुनुभयो । ०५१ सालमा उहाँ पराजित हुनुभयो । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उहाँले जित्न सक्नुभएन।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता हुनुहुन्थ्यो । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाउनुभयो। उहाँ जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्नुभयो ।

त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री बन्नु भएको थियो । ओली र शेरचन मध्ये को बरिष्ठ उपप्रधानमन्त्री बन्ने भनेर लामै समय विवाद पनि भयो । अन्ततः ओली नै पहिलो बरियतामा रहनुभयो। शेरचन ०६४ को संविधानसभामा चितवनबाट निर्वाचित हुनुभयो ।

पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन एकता केन्द्रले माओवादी समर्थित रामराजाप्रसाद सिंहलाई समर्थन गरेको थियो । तर, सोही पार्टीका नेता शेरचनले भने पार्टी निर्णय अवज्ञा गर्दै रामवरण यादवलाई मत दिनुभयो ।

माओवादी र एकता केन्द्रको एकीकरणपछि शेरचन पार्टीको स्थायी कमिटी सदस्य रहनुभयो। पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *