म्याग्दीमा सडक दुर्घटना: चार महिनामा आठको मृत्यु, ७१ घाइते

कमल खत्री, म्याग्दी

जिल्लामा पछिल्लो आर्थिक बर्षको चार महिनाको अवधिमा अप्रिय दुर्घटनाको श्रृखंंला बढेको छ ।

चालु आर्थिक वर्षको कात्तिक तेस्रो सातासम्म जिल्लामा पाँच वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाइसके भने ७१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार, म्याग्दीमा विगत चार वर्ष यता सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा आठ सवारी दुर्घटनामा ११ को मृत्यु र ४५ जना घाइते भए । आव २०७३/७४ मा १४ सवारी दुर्घटनामा छको मृत्यु र ५२ घाइते भए भने आव २०७४/७५ मा १४ सवारी दुर्घटनामा ११ को मृत्यु र ३२ घाइते भए । आव २०७५/७६ मा सात सवारी दुर्घटनामा दुईको मृत्यु र १८ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले आदर्श अनलाइनलाइनलाई जानकारी दिए ।

उनका अनुसार, यस अवधिमा १४ वटा जिप, १२ वटा ट्र्याक्टर, नौ वटा बस र तीन वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । “कच्ची ग्रामीण सडक दुर्घटनाको मुख्य कारण बनेका छन्, चालकको लापरबाही, पुराना सवारी साधनसँगै साँघुरा र ग्रेड नमिलेको सडकका कारण दुर्घटना हुने गरेको पाइएको छ,” पौडेलले भन्नुभयो ।

जिल्लामा कुल ५ सय ७७ किलोमिटर विस्तार भएको सडकमध्ये जम्मा साढे सात किलोमिटर सडक मात्रै सवारी चलाउन उत्तम रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा दुर्घटना बढ्नुको प्रमुख कारण जीर्ण र कच्ची सडक नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु बहादुर नेपालीले बताए। उनका अनुसार अधिकाँश सडक कच्ची, खाल्टाखुल्टी र साँघुरो भएको तथा सवारी साधनसमेत जीर्ण भएका कारण दुर्घटनाको जोखिम थप बढेको हो । “दुर्घटना न्यून गर्न सडकको स्तरोन्नति नै गर्नुपर्छ, दक्ष सवारी चालक र स्तरीय सवारी साधनको पनि उत्तिकै जरुरत छ,” कार्यालय प्रमुख नेपालीले भने ।

सडक सुरक्षित बनाउन सडकको स्तरोन्नति र चालकहरु दक्ष हुनपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । “सबैको ध्यान सडक विस्तारमा मात्रै गएको छ, सडक नपुगेका बस्तीमा नयाँ ट्याक आवश्यक छ तर, एउटै बस्तीमा थुप्रै सडक जोड्ने प्रवृत्ति हटाउनुपर्छ, सडकलाई स्तरीय बनाउनतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ,” जिसस प्रमुख केसीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *