बामका बागी घर्ति राजमो उम्मेदवार सघाउन तयार

आदर्श अनलाइन, बागलुङ
बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि बागी उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्ति राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउन तयार भएका छन् ।

नेकपा र राजमो बीच गठबन्धन गर्ने सहमति बिपरित उम्मेदवारी दिएर सम्पर्कबिहिन भए पछि नेकपाका नेता कार्यकर्ता केही दिन यता तनावग्रस्त बनेका थिए । ।

उम्मेदवारी फिर्ताको अन्तिम समयमा तिव्र दबाव पछि मनोनयन फिर्ता लिन तयार भएका शेरमानलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा हेलिकप्टर मार्फत सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता गर्न समय घर्किकका कारण प्रयास सफल हुन सकेन । यद्यपी नेकपाको अन्तिम कसरत पछि घर्तिले पत्रकार सम्मेलन गरेर बिज्ञप्ती मार्फत बागी उम्मेदवारी फिर्ता र राजमो उम्मेदवारलाई सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘स्वभाविक रुपमा मेरा पार्टी प्रति केही गुनासो र पश्चिम क्षेत्रलाई ‘फरक जिल्ला’को रुपमा स्थापित गर्ने लगायतका माग थियो,’ शेरमानले भन्नुभयो, ‘केन्द्रका नेताहरुले सक्दो पुरा गर्ने बचन दिनुभएको छ, त्यसैले उम्मेदवारी फिर्ता गरेको हुँ ।’

नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोेटाले बागी उम्मेदवारी दिएका घर्तिको मागका सम्बन्धमा निर्वाचन पछि पार्टीको जिल्ला र केन्द्रीय तहमा छलफल गर्ने गरि उम्मेदवारी फिर्ता लिइएको बताउनुभयो । ‘बाम गठबन्धन तोड्नका लागि भित्र र बाहिरबाट अनेक षड्यन्त्र भइरहेका थिए, त्यसकै अशंको रुपमा यो घटना भएको हो’, नेकपा जिल्ला अध्यक्ष सापकोटाले भन्नुभयो,‘शेरमान जी लामो समयदेखि बाम आन्दोलन र अभियानमा क्रियाशिल हुनुहुन्छ, उहाँको पार्टीले ढिलोचाडो त्याग र योगदानको कदर गर्छ ।’ उहाँले फरक जिल्लाको शर्तमा उम्मेदवारी फिर्ता नलिएको उहाँको भनाई छ । पश्चिम क्षेत्रका नेता घर्ति सहित त्यस क्षेत्रका बासिन्दाका लामो समयदेखिको माग रहेकाले यो बिषयमा केन्द्रीय नेताहरु सँग पनि छलफल गर्ने प्रतिवद्धता जनाएको सापकोटा बताउनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट भने निर्धारित समयमा कुनै पनि उम्मेदवारले आधिकारि रुपमा मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिनुभयो ।
पश्चिमको राजनीतिमा सक्रिय घर्ति २५ बर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए ।

बागी उम्मेदवारी फिर्ता लिएसँगै अब नेकपा राजमो बीचको बाम गठबन्धन र नेपाली कांग्रेस बीच मुख्य प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा पनि साविकको नेकपा एमाले, राजमो र माओवादी केन्द्र बामगठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए । जसमा राजमोका उम्मेदवार टेकबहादुर घर्तिले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी भएका थिए । घर्तिका प्रत्यासी नेपाली कांग्रेसका जीत शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए ।

उप-निर्वाचनमा अब आठ राजनीतिक दल सहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट शेरचन, राजमोबाट खिमबिक्रम शाही, समाजवादी पार्टीबाट अशोकमार बिक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *