मुस्ताङको कोरला सडक तीन दिन बन्द

आदर्श अनलाइन, मुस्ताङ

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना ,कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक ३ दिनका लागि बन्द हुने भएको छ।

जोमसोम-कोरला निर्माणधीन सडकको तेश्रो खण्डमा सवारी आवागमन बन्द गरी बाटो निर्माण गर्नुपर्ने भएकाले करिडोरले ३ दिन सडक बन्द गर्ने जनाएको हो।

कोरला सडक अन्तर्गत तेश्रो खण्डको १२ किलोमिटर सडक निर्माणको ठेक्का कान्छाराम कोशी एण्ड न्यौपानेले लिएको छ। चैलेदेखि भेनासम्मको खण्डमा पर्ने समरको भीर र झो खोलासम्मको सडक माथि ठुला-ठुला कडा चट्टान भएकाले करिडोरले त्यहाँ बिस्फोटक पदार्थ प्रयोग गरी भीर फोर्न थालेको हो। सडक यथास्थितिमा खुल्ला रहँदा निर्माणमा बाधा पुग्ने उल्लेख गर्दै करिडोरले मंसिर ५ देखि मंसिर ७ सम्म ३ दिन सडक बन्द गर्ने निर्णय गरेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। उनका अनुसार केही महिना अघिदेखि समरको भीरमा ब्लास्टिङ गरी भीर फोर्न सुरु गरेको हो।

जोमसोमदेखि कोरलासम्मको सबैभन्दा जोखिम सडकका रूपमा रहेको उक्त साविक सडकमा करिडोरले चट्टान काट्ने र सडकको ग्रेट मिलाउने काम सुरु गरेको हो। करिडोरले ७ दिन बन्द गर्नुपर्ने प्रस्ताव स्थानीय प्रशासन र सर्वपक्षीय भेलामा राखे पनि उपल्लो मुस्ताङीहरु जाडो छल्न बेशी झर्ने क्रम सुरु भइसकेकाले ४ दिन घटाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

जोमसोम-कोरला ११० किलोमिटर सडकलाई ७ खण्डमा विभाजन गरी काम सुरु भएको थियो। सडकको २ पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद असारमा सकिँदै छ। ११ मिटर फराकिलो ग्राभेल सडकको ४ खण्डको काम अन्तिम चरणमा छन् भने छोसेरदेखि कोरला १६ किलोमिटर सडक यस अघि नै करिडोरलाई हस्तान्तरण भइसकेको इन्जिनियर अश्मिनिकुमार यादवले जानकारी दिनुभयो।

चराङदेखि छोसेर खण्डको काम सुस्त भएकाले अपेक्षा अनुसार सडकको प्रगति नभएको करिडोरले जनाएको छ। सडक निर्माण गर्ने सम्झौता गरेको कान्छाराम कोशी एण्ड न्यौपानेले ठेकेदारलाई जिम्मा लगाएको र उनीहरुले सडकको कामलाई अघि नबढाएकाले काममा प्रगति नभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। सडकको काममा ढिलो गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने अध्यक्ष विष्टको भनाइ छ।

कन्टेक कान्छाराम फर्मको उक्त ठेक्का यसअघि पर्यटन सहायकमन्त्री धनबहादुर बुढाले लिनुभएको थियो। उहाँबाट काम नभएपछि अहिले अर्को पेटे ठेकेदारले काम थाल्नुभएको छ। उक्त खण्डमा जम्मा ३५ प्रतिशत सडकको काम सम्पन्न भएको छ। अध्यक्ष विष्टले उक्त खण्डमा मापदण्ड अनुसार आवश्यक उपकरणको व्यवस्था गर्न सुझाव दिनुभयो।

उपल्लो मुस्ताङमा हिउँदयाममा हिमपात हुने, चिसो शीतलहर छाउने भएकाले पुसदेखि फागुनसम्म काम गर्न सकिँदैन। उपल्लो मुस्ताङमा चिसो बढेकाले मजदुरसमेत अन्यत्र सरेका छन् भने मेशिनले गर्ने काम मात्र भइरहेको देखिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *