मुलुकको आर्थिक विकासको एक सशक्त खम्बा हो सहकारी । सामाुहिक सहकार्यको भावनालाई मुखरित गर्दै गरिबी न्युनिकरणमा एउटा अभुतपूर्व आन्दोलन र अभियानको रुपमा उदाएको सहकारी क्षेत्र विस्तारै व्यवस्थित हुने क्रममा छन् । यस क्रममा सहकारी माथि ठुलो मात्रामा कर छल्ने गरेको गुनासो र आरोप सर्वत्र सुनिन्छ । के सहकारी कर छलिरहेका छन् ? यसको यथार्थता, अभ्यास र चुनौतिबारे आदर्श अनलाइनकर्मी साधना पन्तले धौलागिरी क्षेत्र हेर्ने गरि स्थापित आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीसँग संक्षिप्त संवाद गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादीत अशंः
१. धौलागिरीका सहकारीको कर तिर्ने परिपाटी कस्तो पाउनु भएको छ ?
विशेष गरेर धौलागिरीका सहकारीलाई लक्षित गरेर प्रश्न गरेकोमा धन्यवाद । सहकारीहरु बास्तवमा सहकारीका सिद्धान्त अनुसार चल्ने हो भने देखि उनीहरुले पारर्दर्शी रुपमा कारोवारहरु देखाउने र आफ्ना सदस्यहरु प्रति बढि उत्तरदायी हुने अवस्थाका कारण उनीहरुको कारोवार पनि पारदर्शी हुनुपर्ने र हुन्छ भन्ने म अनुमान लगाउन सक्छु । तर, व्यवहारमा ती सिद्धान्त अनुसार पुरै नचलेको कारण कतिपय सहकारीहरुले कर सही रुपमा तिरेका छैनन् भन्ने हामीहरुलाई पनि गुनासो आउने गरेका छन् ।
२. सहकारीले मिलाएरै कर छल्छन् भन्ने गुनासो छ नि ? तपाईहरु बेखबर हुन मिल्छ र ?
त्यो कसरी मिलाएरै कर छल्छन् भन्ने कुरा मलाई थाहा हुने विषय भएन तर हामीले धौलागिरीको क्षेत्रमा थुप्रै सहकारी क्रियाशिल छन् र ती क्रियाशिल भएका सहकारी मध्ये धेरैले राम्रोसँग कर तिरेको हामीहरुले महुशुस गरिरहेका छौ । हाम्रो क्षेत्रमा खास गरि आय करको मूल श्रोतको रुपमा चाही सहकारी संस्था छन् । यद्यपी केही संस्थाहरुले करको दायरामा नआउने र करको दायरामा आउदा पनि सही रुपमा कर तिरेका छैनन् भन्ने केही गुनासोहरु हामीकहाँ आएका छन् । आगामी दिनमा कार्यालय समक्ष त्यस्ता गुनासाहरु आएमा सहकारीहरुलाई कर केन्द्रीत गर्नुपर्ने अवस्था देखिरहेका छौ ।
३. अहिले सम्मा धौलागिरीका सहकारीहरुलाई कर छलेको भनेर कारबाही गरिएको अवस्था छ की छैन ?
अहिले सम्म स्वयम् कर घोषणा गरेर कर तिर्नुहोला भनेर भनिरहेका छौ । त्यो हामीहरुले सुक्ष्म अध्ययन गरिराखेका छौ । त्यहाँ जब हामीलाई त्यस्तो बस्तुगत रुपमा जानाकारी पनि छ । केही सूचनाहरु प्राप्त हुन्छ भने ती सहकारीहरु कर दाताहरुलाई केन्द्रीत गरेर हामीहरु अनुसन्धानका माध्यमबाट अगाडी बढ्छौ । आगामी दिनमा त्यो अवस्थामा हामी अगाडी बढ्ने हाम्रा कार्ययोजना छ । त्यसकारण त्यस्ता सहकारी संस्थाहरु जसले आफ्ना बास्ताविक कारोबार नदेखाईकन बढि भन्दा बढिमा खर्च देखाउने र आय लुकाउने केही संस्थाहरु छन् भने उहाहरुले अबिलम्ब आय कर बुझाउनु हुन्छ भन्ने बिश्वास छ । अध्याबधिक रुपमा र बास्तविक कारोबार देखाउनु हुन अनुरोध गर्न चाहन्छौ । होईन भने देखि आगामी दिनमा त्यस्ता संस्थाहरुलाई अनुसन्धान नै गर्नुपर्ने अवस्था आउँछ । अहिले सम्म हामीहरुले सहकारीलाई केन्द्रित गरेर कारबाही गरेका छैनौ र आशाबादी छौ की उहाँहरुले आफ्नो संस्थालाई सही रुपमा प्रस्तुत गर्नु हुन्छ ।
४.कर छलेको पाइयो भने कार्यालयले के गर्छ ?
तपाईले राम्रो प्रश्न सोध्नु भयो । जब कुनै सहकारीले कर छलेका पाईएमा ती सहकारीको हामीहरु विस्तृत रुपमा अनुसन्धान गर्छौ । अडिट हेर्छौ । खासगरी कर छल्ने दुई वटा उपायहरु हुन्छन् । एउटा उपाय भनेको हुनुपर्ने आम्दानी भन्दा कम आम्दानी देखाएको हुन सक्छ अथवा बास्ताबिक खर्च भन्दा बढि खर्च देखाएको हुन सक्छ । हाम्रो तिनै आम्दानी र खर्चमा केन्द्रित रहेका हुन्छौ । र हामीले आम्दानी घटाएको अथवा बढाएको कुरालाई अनुसन्धान गरेर तिनीहरुको छुटेको करको थप ब्याज र जरिवाना सहित असुली गर्छौ ।
५. एउटा सहकारीले बढीमा कति रकम जति तिर्छन् बार्षिक रुपमा ?
एउटा सहकारीले कति कर तिर्छ भनेर भन्नलाई व्यवसायिक गोपनियताका हिसाबले मैले त्यो भन्न सक्दिन तर एउटा सहकारीलाई बढिमा लाग्ने कर भनेको २० प्रतिशत हो । उसले आम्दानी गरेको जम्मा आयमा २० प्रतिशत मात्र कर लाग्ने हो । र अहिले बचत तथा ऋण सहकारीलाई ५ प्रतिशत लाग्छ र अरु कारोवार गर्ने, बहुउद्धेश्यीय सहकारीहरुलाई २० प्रतिशत कर तिरे पुग्ने भएकाले आम्दानी एक सय रुपैयाँ गर्छन् भने २० रुपैया राज्यलाई बुझाउने हो । ८० रुपैया चाही उनीहरुको आफ्नै आम्दानी हो । म अंकमा चाही अहिलेनै जान चाहन्न । किनभने हामीहरुले सवैभन्दा बढि कर तिरेर कर दिवसको उपलक्ष्यमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थालाई बागलुङबाट पुरस्कृत गरेका छौ । तर त्यही सन्र्दभमा मैले उहाहरुले कति कर तिर्नुभयो भनेर सार्वजनीक रुपमा भनिरहन उपयुक्त हुँदैन ।
६.अहिले सरदरमा कति जति कर सहकारी क्षेत्रबाट उठ्छ होला ?
अब ठ्याक्कै हामीहरुले त्यसरी विस्लेषण गरिसकेका छैनौ । यद्यपी सहकारी क्षेत्रबाट आय करको क्षेत्रमा हामीलाई राम्रै योगदान पुगेको अवस्था चाही यथार्थ हो ।
७.सहकारीलाई कारोबार र नियम अनुसार करको दायरामा ल्याउने कार्यालयको योजना के छ ?
हामीहरुले पहिला त करको दायरामा आउनु भएको छैन । प्रभावकारी कारोबार गरेर पनि दर्ता नगरेको पनि हुन सक्छ र दर्ता भएर पनि आय विवरण नबुझाएका कर दाताहरुलाई बढि केन्द्रीत गरेका छौ । खास गरि सरकारसंग सम्वन्धित संस्थाहरु अथवा संगठनहरु जस्तै जिल्ला सहकारी संघ लगायतका अरु बस्तुगत संगठनहरु उद्योग बाणिज्य संघ लगायतका संस्थासंग सहकार्य गरेर विवरण बुझाउन लगाउने र दर्ता गर्न छुटेकाहरुलाई ल्याउने एउटा पहिलो प्रयत्न हो । त्यो हुन्छ र त्यसपछि जति सहकारीहरुले यहाँ विवरण र कर बुझाउनुभएको छ । बुझाएको कर र विवरण सही छ अथवा बास्तविक छैन भन्ने कुरालाई हामीले सुक्ष्म ढंगले बिश्लेषण गरेर जहाँ बढि जोखिम रहेको पाउँछौ । ती क्षेत्रका सहकारीहरुलाई हामीले अनुसन्धानको माध्यमबाट थप कर लगाउनु पर्ने अवस्था हुन्छ । र अहिले पुस मसान्त सम्मा उहाँहरुले म्याद थप गरेर आय विवरण बुझाउने समय लिनु भएको छ । पुस मसान्त पछि हामी यो काममा अगाडी बढ्ने जानकारी गराउन चाहान्छु ।
८.सहकारी संस्थालाई तपाईको कार्यालय तर्फबाट सुझाव दिनुपर्दा ?
मेरो कार्यलयबाट सुझाव दिनुपर्दा सहकारी संस्थाहरुलाई खास गरिकन सहकारीको सिद्धान्त अनुसार अगाडी बढ्नुस् र आफ्ना सदस्यहरुलाई सहकारीका सिद्धान्त बुझाउदै र आफ्नो खाता राख्दा पनि सरकारी लेखा प्रणाली अनुसार र आयकर ऐनले तोकेको तरिका अनुसार लेखा राख्नुहोस् र लेखा राखेको विषयलाई सरकारी हिसाबले जुन तोकेको दर रेट अनुसार कर तिर्नुहोस् । समयमा आय व्यायहरु भर्नुहोस् । कर तोकेको अनुसार समयमा कर तिर्नुहोस् र जरिवानाबाट बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।