बागलुङमा हतारमा छैनन् मतदाता

आदर्श अनलाइन, बागलुङ

जिल्लाको पश्चिम क्षेत्रमा भइरहेको गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्षको निर्वाचनमा नागरिकमा उत्साह कम देखिएको छ ।

बागलुङ क्षेत्र नम्बर–२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा मतदाताको उत्साह कम देखिन्छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ, निसीखोलाको झिवाखोला र तमानखोलाको बोंगादोभान मतदान केन्द्रको स्थलगत अनुगमनका क्रममा मध्यान्ह सम्ममा पनि मत हाल्ने हतारोमा देखिएका छैनन् । ‘जति भोट हाले पनि हाम्रा दुःख उस्तै छन्,’ ढोरपाटनका योगेन्द्र बिश्वकर्माले भने, ‘त्यसैले जनतामा चुनावको ठुलो उत्साह छैन, दल, उम्मेदवार, नेता, कार्यकर्ताले नै भोट हाल्न दबाव दिइरहेका छन् ।’

अधिकांश मतदान केन्द्रहरुमा लामो लाइन पनि छैन । यद्यपी, अहिले सम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । विहान ७ बजेदेखि शुरु भएको मतदानमा नागरिकको उत्साह कम देखिएको बुर्तिबाङको उत्तरगगां मावि मतदान केन्द्रका निर्वाचन अधिकृत पारसिहं थापाले बताए । मतदान साँझ ५ बजे सम्म जारी रहनेछ । यस क्षेत्रमा ३५ हजार १ सय ८४ मतदाता छन् । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र छन् । स्वयंसेवक समेत गरी कूल ४ सय ५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित छन् ।
प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा रहनुभएको छ । स्वतन्त्र उम्मेदवार घर्तीले वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरको जिल्लाको माग सहित मत मागेको छ ।
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यसैगरि, बडिगाड गाउँपालिका वडा नम्बर–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदमा सत्तारूढ नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली काँग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । यस वडामा १ हजार ७ सय ४२ मतदाता छन् ।
तस्बिरः ढोरपाटन उत्तरगंगा मावि बुर्तिबाङ केन्द्रमा मध्यान्ह देखिएको दृश्य ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *