बागलुङ-२ को ताराबार लगाएर मतगणना शुरु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ ।

अहिले मध्यान्ह १२ः४० बजेदेखि शुरु भएको मतगणनामा दुई स्थानमा गणनाको व्यवस्था गरिएको छ ।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रको गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्ष दुवैमा मुख्य रुपमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता बागडोर सम्हालेको मुलुकको पहिलो पार्टी बनेको नेकपाको प्रदेश सभा सदस्य तर्फ आँफ्नो उम्मेदवार छैन । राजमोबाट बिजयी सांसद टेकबहादुर घर्तीको निधन पछि रिक्त पदमा भएको उपनिर्वाचनमा नेकपाले केन्द्रीय तहबाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन जनाएर बाम गठबन्धन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोेरेका जित शेरचनलाई चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी हुनुभएको थियो । घर्तीका प्रत्यासी कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो ।

प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट ८ राजनीतिक दल र दुई स्वतन्त्र सहित १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा छन् । नेकपाबाट बागी उम्मेदवारी दिएका घर्तीले अन्तिम समयमा सार्वजनिक वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरको जिल्लाको माग सहित मत मागेको छ ।
अहिले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका छन् । जसमध्ये ढोरपाटनमा साविकको एमालेले जित हासिल गरेको थियो भने निसी र तमानमा कांग्रेसले जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *