स्थानीय चुनावको हार पछि प्रदेशमा सांसद !

आदर्श अनलाइन,बागलुङ

हार पछि अधिक मान्छे निराश हुन्छ । एक किसिमको मनमा कुण्ठा पालेर अरुलाई तथानाम सराप्दै हिँड्छ । अरुको जित देख्न र स्वीकार्नु प¥यो भने उसको टाउँको दुख्छ । तर, बागलुङ निसीखोलाका ४९ बर्षिय खिमबिक्रम शाहीले हारबाट हरेश खानु भएन । चुनाव या अन्य हारबाट पाठ सिकेको र नयाँ अनुभव सँगालेको शाही बताउनुहुन्छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शाही गाउँपालिका अध्यक्षमा पराजित हुनुभयो । राष्ट्रिय जनमोर्चाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएका शाही कांग्रेसको बागी उम्मेदवार हुँदा समेत एकै गाउँका काँग्रेस नेता तारानाथ पौडेलसँग पराजित हुनुभयो । त्यसपछि पनि हारलाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वभाविक प्रक्रियाको रुपमा लिएर गाउँ समाजको काममा सक्रिय भइरहनुभयो । । गाउँघरका जनताका समस्या, समाजमा हुने बिभिन्न अन्याय, अत्याचारमा परेकाहरुका लागि न्याय दिलाउने, विकास निर्माण लगायतका कार्यमा पहलकदमी लिन र आवश्यक सहयोग गर्न छोड्नु भएन । २०४० सालदेखि अखिल छैठौंमा आवद्धता जनाएर राष्ट्रिय जनमोर्चामको राजनीतिमा सक्रिय शाही पार्टी सत्ता भन्दा बाहिरै रहे पनि इमानको राजनीतिबाट कत्ति बिचलित नहुनु उहाँको इमान्दारिताको राम्रो उदाहरण हो ।

हार पछिको धैर्यता र इमान सहितको राजनीतिले स्थानीय तहको निर्वाचन र त्यस निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका उनै शाही दुई बर्षमै गण्डकी प्रदेशको सांसद बनेर आँफैले नसोचेको समयको सफलता हात पार्नुभयो । झट्ट सुन्दा अपत्यारिलो लागे पनि मंसिर १४ मा भएको उपनिर्वाचनको परिणामले शाहीलाई प्रदेश सभा सम्मको यात्रा, अनुभव र भुमिकाको अवसर दिलाएको छ ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट सत्तारुढ नेकपाको समर्थनमा शाही भारी मत सहित सांसद हुनुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी समेतको समर्थनमा शाहीले नेपाली कांग्रेस सहित अन्य नौ उम्मेदवारलाई पराजित गर्नुभयो । शाहीले ११ हजार २३५ मत प्राप्त गर्दा उहाँका निकट प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जीत शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो । यो जितमा उहाँ निसीखोला गाउँपालिकाको चुनावमा जहाँ पराजय बेहोर्नुप¥यो, त्यहीबाट अनपेक्षित रुपमा शानदार मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडा जितेको कांग्रेसको प्रभावशाली क्षेत्रबाट शाहीले ४ हजार ८ सय ६ मत अर्थात कांग्रेसले भन्दा १५ सय २४ मत बढी लिनुभयो । जुन मतले शाहीलाई निसीखोलाबाट गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको प्रदेश सभा भवन सम्मको यात्रा सहज र सुनिश्चित गरिदियो ।

उपचुनावमा ‘राजनीतिमा क्रियाशिल भए पनि अहिले यस्तो अवसर र उपलब्धिको कल्पना, योजना केही थिएन,’ नवनिर्वाचित सांसद शाहीले भन्नुभयो, ‘यो सहकर्मी योद्धाको दुखान्त घटनाको संयोगमा भएको हो, पार्टीले मलाई योग्य र उचित ठानेर पहिले गाउँपालिकाको उम्मेदवार बनायो, अहिले प्रदेशको सांसद बनायो, मैले पार्टी निर्णय र जनताको भावनालाई शिरोपर गरेर जनताको सेवकको रुपमा काम गर्छु ।’ अहिले शाहीले सांसदमा बिजयी हासिल गरेको क्षेत्र २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धन बनाएर राजमोका टेकबहादुर घर्तीले जितेको क्षेत्र हो । सांसद घर्तीको अल्पायुमै असामयिक निधन भए पछि रिक्त पदमा उपचुनाव गरिएको हो ।

नवनिर्वाचित गण्डकी प्रदेश सभाका सदस्य शाहीले समय छोटो भए पनि मुलुकको समृद्धि र स्थायित्वका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपनिर्वाचनमा बिजयी भए पछि प्रतिक्रिया दिँदै उनले गाउँपालिकाको पराजय पछि प्रदेश सभाको ऐतिहासिक जितले आँफुलाई खुशी र जिम्मेवार दुवै बनाएको बताउनुभयो । ‘जनतन्त्र, जनजिविका र जनअधिकारको पक्षमा नीति कार्यक्रम तय गर्नमा भुमिका खेल्नेछु,’ शाहीले भन्नुभयो, ‘जनतालाई परिवर्तन, समाजमा सुशासन आएको अनुभूति गराउन आँफ्नो तर्फबाट इमान्दारीपूर्वक सक्दो कोशिस गर्नेछु ।’ जिल्लाको पश्चिममा रहेको नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्ष सहित आँफ्नो क्षेत्र अवसर र विकासबाट पछाडी पारिएकाले त्यसका लागि यथेष्ट पहल र भुमिका खेल्ने उनले बताउनुभयो ।

२०४७ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला समितिमा रहदै जिल्ला उपाध्यक्ष, २०५४ सालदेखि अस्थायी शिक्षकको रुपमा प्रभा माविमा शिक्षण गरेका शाही पेशागत आन्दोलनमा पनि सक्रिय हुनुभयो । २०६५ सालदेखि राजमो जिल्ला सदस्य रहेर पार्टी काममा क्रियाशिल रहँदै हाल सचिवालय सदस्यको रुपमा पार्टी भुमिकामा हुनुहुन्थ्यो ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४ सय अर्थात ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएको थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *