मुस्ताङबाट यस बर्ष ६० करोडको स्याउ बिक्री

निरज थकाली,मुस्ताङ

जिल्लाबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ ।

स्याउ बेचेर कृषकहरुले मुस्ताङमा साठी करोड रुपैयाँ भन्दा बढी भित्र्याएका छन् ।

जिल्लामा उत्पादन भएको मध्य असी प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।

“जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ” लम्सालले भन्नुभयो “कृषक र ब्यापारिहरुबाट संकलित विवरण अनुसार यस वर्ष ६५ हजार मेट्रिक्टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”

खेती विस्तार, अनुकुल मौसम, नयाँ खेती प्रबिधि अपनाउनु, रोगकिराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ ।

गत वर्ष छ हजार मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । प्रतिकेजी स्याउको मूल्य रु।१२० रहेपनी अधिकांश कृषकले बगैचानै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यवसायिक खेती भएको छ ।

म्याग्दी, बागलुङ, पर्वत संगै पोखरा, काठमाण्डौँ, चितवन, धादिङ लगायतका बजारमा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती भएको छ ।

स्याउ बिक्रीबाट एक लाख देखि ३ करोड रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुबिधा भएपछि स्याउ खरिद गर्न व्यापारि बगैचामै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो । उहाँसंग ५० वटा फल दिने र एक हजार स्याउ नफल्ने विरुवा छन् ।

यातायातका साधन नपुग्दा सम्म खच्चड र पिठ्युमा बोकाएर बजारमा पु¥याउने गरिएको थियो । उवा, जौ, फापरको तुलनामा स्याउ खेति गर्दा दश गुणा बढी आम्दानी हुने थकालीले बताउनुभयो । स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, लगायतका परिकार बनाएर विदेशमा समेत निकासी हुने गर्छ । बजार बढ्दै गएपछि यहाँका कृषकहरु स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेति गर्ने कम रहेको भएपनि किन्न आउने बढी भएकाले माग पु¥याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताउनुभयो ।

यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातको १९ हजार र रेड डेलिसीयस जातको १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वय इकाई मुस्ताङले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने इकाइले जनाएको छ ।

परियोजनाले कृषकहरुलाई अनुदानमा सिकेचर, निलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेसिन उपलब्ध गराएको छ । इकाइका अनुसार एक वटा शितभण्डार गृह र हाइटेक प्रबिधिको नर्सरी स्थापना गर्न लागिएको छ ।

स्थानीय तहहरुले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङ समेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेती सम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *