दिल शिरीष, बागलुङ
–समाचार टिप्पणी
बागलुङ आउने पर्यटक मात्र होइन, तपाईका आफन्त, साथीसंगीलाई कतै घुमाउनु परे कहाँ घुमाउने ? एक बर्ष अघि सम्म अलि बिशेष व्यक्ति र पाहुना आउँदाको बखतमा त यो प्रश्न अझ गम्भिर बनेर आउथ्यो र धेरैलाई रन्थनाउँदो हो । नजिक उही बागलुङ कालिका मन्दिर, अलि टाढा नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन । मन्दिर एकैछिनको दर्शन । ढोरपाटन दुरीका हिसावले धेरै टाढा । बाटो उस्तै कच्ची, जिर्ण र जोखिमपूर्ण । चाहे सांसद हुन् या जनप्रतिनिधि या उद्योगी व्यवसायी र सर्वसाधारण । बागलुङ बजार आएका पर्यटक पाहुनाको आगमनमा घुमाउने आकर्षक ठाउँ नहुँदा अनेक लज्जाबोध गरेका पात्र धेरै छन् । त्यस मध्ये तपाई हामी फरक फरक घटना र परिवेशमा यस्तो अवस्था बेहोरेकै छौ होला । पछिल्लो बर्ष यता भने बागलुङ आउने पर्यटक हुन् या पाहुना । कहाँ घुम्ने घुमाउने ? त्यही प्रश्न सोधे गर्वले उत्तर दिने अवसर छ । कारण बजारको शिरमा आकर्षक सर्वसिद्धिधाम पञ्चकोट बनेको छ । जहाँ पुगेपछि केही घण्टा मन आनन्दित हुने पर्यटनमैत्री पूर्वाधार र धार्मिक आस्थाका अनुयायीहरुलाई उस्तै धार्मिक संरचना र मन्दिर छन् । जहाँ अहिले दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक र मुस्ताङको मुक्तिनाथ जाने श्रद्धालु भक्तजन र पर्यटकहरु पनि पुग्न थालेका छन् ।
पहिले जवाफहिन लाग्ने कहाँ घुम्ने, कहाँ घुमाउने ? यो प्रश्न फेरी तपाई हामी कसैलाई अहिले सोधे पहिले जस्तो अनुहार रातो पिरो पार्नुपर्ने छैन । अन्कनाउनु पर्ने छैन । बरु पहिलेको भन्दा अझ ठुलो स्वरले भन्ने अवसर प्राप्त भएको छ । कारण बागलुङ बजारदेखि केही परको दुरीमा बिश्वमै दुर्लभ शालग्रामको संग्राहलय तयार छ । देशमै पहिलो पटक मानवीय र प्राकृतिक कारण लोपोन्मुख अवस्थामा पुगेको शालग्रामको संरक्षणका खातिर निर्माण गरिएको शालग्राम संग्राहलय स्वभाविक रुपमा धेरैका लागि चासो, जिज्ञासा, कौतुहलता र आकर्षणको बिषय बन्नेछ । अब पञ्चकोटमा मात्र हामी सिमित हुनुपर्ने छैन । हामीले बजारबाट नजिकै पनि भएको र धेरैलाई रुचीपूर्ण लाग्ने शालग्राम संग्राहलय, जहाँ कृष्णगण्डकीको प्रष्ट बुझिन र देख्न सकिने नक्सांकन । अनेक अभुतपूर्व कलाको प्रयोगबाट निर्मित संरचना । असम्भव लाग्ने तर सम्भव गरिएका काम र दृश्य । सोही परिसरमा प्यांगोडा शैलीमा निर्माण गरिएको रंगबैंकटेश्वर मन्दिर, अनेक धार्मिक देवीदेवताका मुर्ति । हिन्दु धर्मका अनुयायीहरुलाई अझ बढी मन लोभिने र पुजिने गन्तव्य बन्ने सम्भावना यो ठाउँले राख्छ । यस कारण पनि यहाँ अब पर्यटक, पाहुनाका साथै श्रद्धालुभक्तजन, भारतीय तिर्थयात्रीको आवागमन बढ्ने निश्चित छ ।
नयाँ संघीय अभ्यास पछि घट्दै गएको बजारको चहल पहल । थप सुनसान हुने सम्भावना, चासो र चिन्ताका बीच नयाँ सम्भावनाको ढोका खोलिएको छ शालग्राम संग्राहलयले । तर यस्तो सम्भावना र अवसर सिर्जनाको यो सत्कर्ममा कसले नेतृत्वदायक भुमिका निर्वाह ग¥यो ? कुन नेता, मन्त्री, सांसद या जनप्रतिनिधिले भुमिका खेले होलान् ? यस्तो चामत्कारिक खालको संरचना निर्माणको दुरदर्शी भिजन कसको होला ? यि प्रश्नहरुको जवाफमा सम्भवतः कुनै मन्त्री, नेता, सांसद या जनप्रतिनिधिको नाम या भुमिकाको अपेक्षा स्वभाविक हुन्छ र हुनुपर्छ । बिडम्बना ! यी अनगिन्ती प्रश्नहरुको जवाफमा उनीहरुकै शब्दमा ‘दुई जोगी’ महत्वपूर्ण पात्र भएर आउँछन् । मुक्तिनाथ बाबाका नामले परिचित बागलुङका श्री १००८ स्वामी कमलनयनाचार्य र धौलागिरीकै पर्वतमा जन्मिएका स्वामी ऋषि प्रपन्नाचार्य । यी दुई पात्रले जिल्लामा अभूतपूर्व संरचना तयार गरिदिए । जुन हाम्रा सरकार, राज्यका निकायले पनि तयार गर्न नसक्ने र नसकेका संरचना तयार गरे । त्यो पनि राज्यको सिमित सहयोग तर, जनताको असिमित चन्दा दानबाट निर्मित पञ्चकोट र शालग्राम संग्राहलय ।
‘बाबा जीहरुबाट सरकारले गर्न नसक्ने र दृष्टि पुग्न नसकेको अभुतपूर्व कार्य भएको छ,’ अधिकारकर्मी राम शर्मा टिप्पणी गर्नुहुन्छ–‘जोगी अर्थात बाबाजीहरुको यसमा कुनै स्वार्थ छैन, हुँदैन । योे सब पछि जिल्लाबासीकै सम्पति सम्पदाको रुपमा रहनेछ । यसबाट सबैले पाठ सिक्नुपर्छ ।’ शर्माले पञ्चकोट र शालग्राम संग्राहलय निर्माणको काम प्रशंसनीय रहेको बताए पनि एक बिषयमा भने संशय प्रकट गर्नुभयो । ‘मानवीय र प्राकृतिक कारण शालग्राम लोप हुन लाग्यो भनेर संरक्षण त थालियो, तर शालग्राम उत्पत्ति हुने पौराणिक नाम कृष्णगण्डकी (कालीगण्डकी) नदी दोहनमा भने बाबाजी हरु मौन हुनु रहस्यमय छ’, उहाँले भन्नुभयो,‘संग्राहलयमा राखेर संरक्षण गर्ने कार्यसँगै यस बिषयमा पनि उनीहरु बोल्न जरुरी छ, ठुला नेता, मन्त्री ल्याउन सक्नेले ध्यानाकर्षण गराउन आवश्यक छ ।’
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले शालग्राम संग्राहलयको उद्घाटन समारोहमा जे जति बोल्नुभयो । त्यसले मञ्च आसिन कांग्रेस सभापति शेरबहादुर देउवा देखी स्थानीय, प्रदेश र संघीय सांसदहरु सम्म व्यक्त गरेको आक्रोशका अभिव्यक्तिले केही लज्जा र केही निरिह भएको प्रतित सहभागीले गरेका थिए । ‘प्रधानमन्त्रीदेखी हाम्रा नेताहरुले सोचे अनुरुप काम गर्न सकेनन्,’ सहभागी र मञ्च आसिन नेता प्रति स्वामी कमलनयनाचार्यकोको आक्रोश मिश्रित व्यंग्य र चेतावनी थियो,‘अहिले सम्म त हामीलाई तपाईहरुले दान दिइरहनु भएको छ, अब यस्तै हो भने एक दिन मतदान पनि दिनुपर्ने हुन सक्छ ।’ दर्शक दिर्घाबाट यिनै अभिव्यक्तिमा ताली समेत बजे पछि नेता, सांसद र जनप्रतिनिधि झस्किए या झस्किएनन् ? तर, यो कार्यक्रम पछि औपचारिक अनौपचारिक रुपमा व्यक्त भएका प्रतिक्रियाका आधारमा एउटा निचोडमा चाही पुग्न सकिन्छ–‘हाम्रो राज्य, मन्त्री, नेता, जनप्रतिनिधिसँग यस्तो दुरदर्शी संरचना निर्माणको सोँच, योजना र इच्छाशक्तिको अभाव छ । यति छिटो कायापलट गर्ने सामथ्र्य पनि देखिन्न । के अब केही पाठ भए होला ?
मुक्तिनाथ बाबाको नामले प्रसिद्ध धार्मिक गुरु स्वामी कमलनयन आचार्य बागलुङ जिल्लामा नभएर समग्र विश्वमै मानिसहरुले देख्न सक्ने, अनुभूत गर्न सक्ने सर्बसिद्धिधाम पञ्चकोट, गजेन्द्र मोक्षधाम जस्ता कैयन धार्मिक पर्यटकीय पूर्वाधारहरु निर्माणमा योगदान गरिरहनुभएका र भविष्यमा पनि यस्ता प्रशस्त पूर्वाधारहरु निर्माणमा दृढ संकल्प लिनुभएका एक जना महान ब्यक्तित्व हुनुहुन्छ ।
बागलुङ जिल्लाको परिचयलाई नेपालमा मात्रै हैन छिमेकी देश भारतमा समेत व्यापकता दिनुभएका स्वामी कलमनयन आचार्य ज्यूको योगदान नै आजको पञ्चकोट र शालग्राम संग्रहालय हो । यसले पछिल्लो समय मुक्तिनाथको दर्शन गरेर फर्कने हजारौं दर्शनार्थीहरुलाई बागलुङ बजारमा पाईला टेक्ने आधार खडा गरिदिएको छ ।
यसै गरी स्वामी क्रृषि प्रपन्नाचार्य ज्यूको अथक प्रयास र स्वामी कमलनयन आचार्य ज्यूको सक्षम नेतृत्वमा शालग्राम संग्रहालयको निर्माण भएको हो । अत्यन्त सरल र कर्मशील गुरु स्वामी क्रृषि प्रपन्नाचार्य समेत हामी सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।
राजनीतिक क्षेत्रको कुनै बिशेष पहिचान दिन नसकेको अवस्थामा स्वामी कमलनयन आचार्य ज्यू एवं स्वामी क्रृषि प्रपन्नाचार्य ज्यूले बागलुङ जिल्लाको परिचय राष्ट्रिय एवं अन्र्तराष्ट्रिय फैलाउनको लागि दिएको योगदानको हामी सबैले उच्च सम्मान गर्नुपर्छ ।