कालीगण्डकी करिडोरको ३० किमि सडक हस्तान्तरण

करिडोर नेपालको ‘लाइफ लाईन’: परराष्ट्रमन्त्री ज्ञवाली

राष्ट्रिय गौरवको आयोजना मध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको ३० किलोमिटर सडक नेपाली सेनाले आज सडक विभागलाई हस्तान्तरण गरेको छ ।

करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले मंगलबार वलेवा विमानस्थलमा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा कालोपत्रेका लागि गुल्मी रुद्रवेनी–अर्वेनी २० किलोमिटर र बागलुङ खण्डको मालढुङ्गा–बलेवा विमानस्थल १० किलोमिटर सडक विभागलाई हस्तान्तरण गरिएको हो ।

अग्ला भीर र कडा चट्टान रहेको करिडोर अन्र्तगत बागलुङको मालढुंगादेखी गुल्मी रिडी सम्मको ८० किमि सडक नेपाली सेनाले जिम्मा लिएर काम गरिरहेको छ । जस मध्ये ट्रयाक खुलाएर १० मिटर चाक्लो बनाए पछि मंगलबार ३० किमि सडक कालोपत्रेका लागि सडक बिभागलाई हस्तान्तरण गरिएको हो । यसअघि गुल्मी रिडीबाट रुद्रवेणी सम्मको ७ किमी नेपाली सेनाले सडक बिभागलाई सडक कालोपत्रेका लागि जिम्मा दिइसकेको छ । बाँकी खण्ड आगामी असार मसान्त भित्रै सक्ने लक्ष्य रहेको नेपाली सेनाको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराइले जानकारी दिनुभयो ।

करिडोरको बागलुङ–गुल्मी सडक खण्डका लागि सरकारले चालु आर्थिक बर्षमा २५ करोड बजेट बिनियोजन गरेको छ । तर, नेपाली सेनाले उक्त बजेट अपुग हुने बताइसकेको छ । अहिले बिनियोजित बजेटले नपुग्ने र थप १५ करोड बजेट प्राप्त भएमा चालु आर्थिक बर्ष भित्रै काम सकिने भट्टराइले बताउनुभयो ।

मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सबै सडक खण्डको ट्रयाक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको हो । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । यो खण्ड चौडा पारेर हस्तान्तरण भए लगत्तै सडक विभागले कालोपत्रेका लागि काम गर्नेछ ।

सडक हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कालिगण्डकी करिडोर नेपालको ‘लाइफ लाईन’ भएको बताउनुभयो । उहाँले भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रुपमा रहेको करिडोरले त्रिदेशिय सम्बन्ध स्थापित गर्ने बताउनुभयो । ज्ञवालीले कालीगण्डकी करिडोर दुई शक्तिशाली छिमेकी देशलाई जोड्ने मात्र नभई मुलुकको आर्थिक समृद्धिको ट्रान्जिट बन्ने पनि बताउनुभयो । छिमेकी भारत र चिनको कोरला जोड्ने अन्तरदेशिय सडक निर्माण भए त्यसले नेपालमा अथाह सम्भावना र समृद्धिको आधार तय गर्ने मन्त्री ज्ञवालीको भनाई थियो । ‘कुनै कालखण्डको खास सन्दर्भमा नेपाललाई दुई ढुंगा बीचको तरुल भनियो,’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा उदियमान बन्दै गरेको दुई शक्तिशाली देशका बीचमा आर्थिक ट्रान्जिट बन्ने बनाउने अवसर अहिले हामीलाई छ, धार्मिक पर्यटन र व्यापारका लागि करिडोर त्यसको महत्वपूर्ण कोशेढुंगा बन्नेछ ।’

करिडोर निर्माणसँगै भारतका लाखौ तिर्थयात्री मुस्ताङको मुक्तिनाथ जाने र कोरला नाका सञ्चालन भए चिनबाट लाखौं बौद्धधर्मालम्बी करिडोर हुँदै लुम्बिनी आउने प्रचुर सम्भावना रहेको मन्त्री ज्ञवालीले बताउनुभयो । यसले पर्यटन र व्यापारबाट मुलुकको आर्थिक गतिविधि उल्लेख्य रुपमा चलायमान हुने बताउनुभयो । त्रिदेशीय मार्गलाई अब सरकारले छिटै कालोपत्रे गरेर आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्न लागेको उल्लेख गर्दै सडक बिभागलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिनुभयो । ‘कालोपत्रेका लागि हस्तान्तरण भए पछि आयोजनाले प्रक्रियागत झन्झट देखाएर गति नलिने समस्या बिद्यमान छ,’ उहाँले भन्नुभयो, ‘हामीले हालैको क्याबिनेटबाट इआइए नगरे सम्म डिपिआर लगायतका काम अघि बढाउन नपाइने व्यवधान रहेकोमा त्यसलाई संशोधन गरेका छौ, अब कानुनी र प्रक्रियामा समस्या हुँदैन, फास्ट ट्रयाकबाट काम हुनेछ ।’ मन्त्री ज्ञवालीले नेपाली सेनाले छोटो समयमै करिडोरको निर्माणको काम सकेकोमा खुशी व्यक्त गर्दै ठेकेदारहरु पनि रोष समेत व्यक्त गर्नुभयो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले राज्यले दिएको कार्यभार पुरा गर्न नेपाली सेना सदैव प्रतिवद्ध रहेको बताउनुभयो । सडक विभागले गर्न नसक्ने कडा चट्टान भएका र बम पड्काएर बनाउनुपर्ने सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले जोखिम मोलेर गरिरहेको उहाँको भनाई छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको बागलुङ गुल्मी खण्डको नेपाली सेनाले गरेको काम प्रशंसनीय भएको बताउनुभयो । अब भोलीदेखिनै कालोपत्रेका लागि आवश्यक प्रक्रिया अघि बढाउने उद्घोष सहित बजेटकै कारण काममा समस्या हुन नदिने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद डा. सुर्य पाठकले नेपाली सेनाले निर्धारित समयमै तिव्र गतिमा काम गरे पनि अब सडक बिभागलाई हस्तान्तरण गरे पछि आयोजनाको काम अपेक्षाकृत रुपमा अघि बढाउनेमा संशय पैदा भएकाले सडक बिभागले गम्भिरतापूर्वक तत्काल काम अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद इन्द्रलाल सापकोटा, कालिगण्डकी सरोकारवाला समितिका संयोेजक टिकाराम ढकालले करिडोरले दुर्गम गाउँ ठाउँलाई सुगम बनाउनुका साथै प्रशस्त सम्भावना र अवसर समेत सिर्जना भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाका सहायक सेनानी तथा निर्माण कार्यदलका प्राविधिक शालिकराम नेपालले करिडोरको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माको अध्यक्षता, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललेको स्वागत मन्तव्य र जैमिनी नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत भेषराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *