सिगानामा सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान

आदर्श अनलाइन, बागलुङ

नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बरावरको रकम प्रदान गरेको छ ।

परम्परागत रुपमा गरिदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानहरुलाई उत्पादन बरावरको रकम प्रदान गरिएको हो ।

नगरपालिकाले यस वर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई नगद रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलले बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामुहिक रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।
रकम हस्तान्तरण गर्दै नगरप्रमुख पौडेलले नगर भित्रका जमिनको बर्गीकरण गरी उपयुक्त बाली लगाउँन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको बताउनुभयो । परम्परागत खेती त्यागेर फलफुल खेती गर्न इच्छुक किसानहरुलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीति अनुसार रकम वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधि अनुसार किसानले तीन रोपनी भन्दा बढी जग्गामा फलफुल खेती सुरु गरे प्रति रोपनी चार हजार रुपियाँको दरले रकम प्रदान गर्नेछ ।

‘हामीले यो वर्ष १२ जना किसानलाई नगद रकम प्रदान गरेका छौं, जसले खाद्य बाली लगाएपनि उपयुक्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई सुन्तला खेतीका लागि आकर्षित गर्नका लागि यस्तो अभियान सुरु गरेका हौं । यो बाहेक अन्य कृषि उपज उत्पादन गर्न इच्छुक किसानहरुलाईपनि यसरीनै उब्जनी बरावरको रकम प्रदान गर्ने तयारी गरिरहेका छौं ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

पहाडी भुभाग भएका कारण खाद्य बाली लगाउँदा दुःख बढी हुने र उत्पादन समेत कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफुल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकरात्मक भएको बा.न.पा. ११ का किसान ओमबहादुर केसीले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दापनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौं आम्दानी गर्न सकिने देखेरै सुन्तला खेती गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *