लगानी बहस: बागलुङमा लगानी गर्न ठुला लगानीकर्ता इच्छुक

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लामा पहिलो पटक ठूला लगानीकर्ता आर्कषित गर्नका लागि लगानी बहस भएको छ ।

ठूला उद्योगी व्यवसायीहरुलाई बागलुङमा आर्कषित गरी रोजगार सिर्जना गर्ने उदेश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।

बागलुङ उद्योग बाणिज्य संघले प्रभु बैंकको सहयोगमा बागलुङ महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको “उज्यालो बागलुङ, समृद्ध बागलुङ” विषयक लगानी बहसमा सफल व्यवसायीको रुपमा स्थापित नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष चन्द्र ढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र सरकारका तर्फबाट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ मुख्य वत्ताका रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा आयोजक र उल्लेख्य संख्यामा सहभागी भएकाहरुले व्यवसायीले जिल्लामा ठुलै लगानीको उद्घोष गर्ने अपेक्षा र अनुमानमा थिए । तर, उनीहरुले ठोस लगानीको उद्घोष गरेनन् । यद्यपी, घुमाउरो भाषामा लगानी सुरक्षित मात्र होइन, प्रतिफल आउने सुनिश्चितता खोजे । यसले बागलुङमा अब लगानी गर्ने सम्भावनाका ठाउँ क्षेत्रहरु खोज्ने की रोज्ने ठाउँमा हामी छौ ? स्वभाविक प्रश्न र बहस अब यता केन्द्रित गर्नुपर्ने देखिएको छ ।

कार्यक्रममा उनीहरुले बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानीमैत्री बातावरण भए लगानी गर्न इच्छुक रहेको बताएका थिए । लगानीको बातावरण गराउन तीन तहको सरकारले कानुनी र प्रक्रिया झञ्झट आवश्यक कदम चालेमा हाइड्रो, केबलकार, स्टार होटल तथा सुपर मार्केट, कृषि उद्योग सञ्चालनका लागि आफुहरु तयार रहेको व्यवसायीको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले कुनै पनि व्यवसाय र लगानी रहरले मात्र नहुने बताउनुभयो । ‘ठाउँलाई माया गरेर मात्र हुँदैन, बागलुङमा पर्यटन, जलबिद्युत र कृषि उद्योगको सम्भावना राम्रो भएको बुझेको छु,’ उहाँले भन्नुभयो,‘कुनै सम्भावनाका ठाउँ देखाउनु भयो भने हामी गर्न सक्छाँै, तर हरेक व्यवसायीले लगानी पछिको प्रतिफल हेर्छ भन्ने कुरा बिर्सनु हुँदैन ।’ उहाँले जिल्लामा ठुलो मात्रामा अर्गानिक उत्पादनको सुनिश्चितता भए लगानी गर्ने उद्घोष पनि गर्नुभयो । नेपालमा उद्योगको विकास नभए सम्म समृद्धि नारामा मात्र सिमित रहने उहाँको भनाई थियो । अहिले पनि ४० लाख युवा बिदेशिने गरेको उल्लेख गर्दै बिदेश पलायन रोक्न तर्फ सरकार र अरु सरोकारवाला निकायले सोच्न जरुरी भएको बताउनुभयो । मुलुकमा अहिले ७० प्रतिशत आयात भइरहेको तथ्य प्रस्तुत गर्दै यहाँको उत्पादनमा भन्दा आयात गर्नु सस्तो भएको उहाँको भनाई छ ।

ग्लोबल आईएमइ बैंकका अध्यक्ष तथा सफल व्यवसायी चन्दप्रसाद ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्राउन आफू तत्पर रहेको बताउनुभयो । आफ्नै जन्मभुमी भएकाले केही न केहीमा लगानी गर्ने इच्छा रहेको उहाँको भनाई थियो । ‘यहाँका उद्योगी व्यवसायी साथीहरु सँग पन िछलफल भइरहेको छ, यद्यपी लगानीको सुरक्षा र प्रतिफल व्यवसायमा अनिवार्य शर्त हुन्’ ढकालले भन्नुभयो, ‘अहिले मुलुकमा राजनीतिक स्थिरता भए पनि तीन तहको सरकारको कानुनी अड्चन र प्रक्रियागत झञ्झट ठुलो बाधाको रुपमा देखापरेको छ ।’ ढकालले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले यहाँको सम्भावना उजागर गरेकाले पाँच तारे होटल, हाइड्रो लगायतका क्षेत्र मध्ये केही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले जग्गा व्यवस्थापन भए भाटभटेनी बागलुङमा बिस्तार गर्न तयार रहेको बताउनुभयो । उहाँले जग्गा व्यवस्थापन भएमा १० महिना भित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । गुरुङले आफुले २०४१ सालमा ३५ हजार रुपैयाँबाट व्यवसाय शुरु गरेको उल्लेख गर्दै सोच र योजना भए थोरै पैसाले पनि ठुलो व्यवसाय गर्न सकिने ठाउँमा पुग्न सकिने बताउनुभयो । त्यसका लागि बातावरण र मन स्वच्छ, मेहनेति, इमान्दार, निरन्तर समर्पित हुन सक्ने र धेर्यता जरुरी हुने उहाँको भनाई थियो ।

सबै व्यवसायीको एकै खालको गुनासो सुने पछि गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले लगानीको बाताबरण बनाउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । ‘जसरी व्यवसाय रातारात सफल हुँदैन, त्यसैगरी सरकारले पनि रातारात परिवर्तन गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हामी गण्डकी प्रदेशमा उद्योग, व्यवसाय विस्तारका लागि जे जस्ता कानुनी अड्चनहरु छन्, त्यो लगानीमैत्री बनाउन प्रदेश सरकार प्रतिवद्ध छ ।’ अहिले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत, कृषि लगायतको क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङका सांसद देवेन्द्र पौडेल, डा. सुर्य पाठकले आइमए ग्रुपलाई बागलुङ बजार या घोडाबाँधे, प्रभु ग्रुपलाई ढोरपाटनमा पाँच तारे होटल सञ्चालन गर्न आग्रह गर्नुभयो । लगानी बहसरको सहजिकरण प्रभु बैँकका सिइओ अशोक शेरचनले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्