बागलुङ-पर्वत जोड्ने नेपालकै लामो पुल निर्माण अन्तिम चरणमा

आदर्श अनलाइन, बागलुङ

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि निर्माण थालिएको नेपालकैै सबै भन्दा लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माणकोे काम अन्तिम चरणमा पुगेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाण्डौका अनुसार ठेक्का सम्झौता भन्दा एक बर्ष अघिनै पुल निर्माण कार्य सकिने बताएको छ । कार्यालयका अनुसार, झोलुङ्गे खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक हो । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाले झोलुङ्गेमा लामो पुल अन्य स्थानहरुमा समेत भए पनि बागलुङको पुल खुल्ला प्रकृति (मध्य भागमा टेको नलगाइ निर्माण) गरिएको नयाँ हो ।’ यस्तो शैली र प्रविधिबाट बनाइएको यो नै पहिलो भएको बानियाले बताउनुभयो ।
बागलुङ र पर्वत जिल्ला जोड्ने गरि निर्माण भइरहेकोे पुलको ९० प्रतिशत भौतिक प्रगती भएको उहाँको भनाई छ । ‘सबै निर्माण सामग्री स्थलमा आइसकेको छ ।’ बानियाले भन्नुभयो,‘पुलको लठ्ठा तानेर सकिएको छ,अब फिटिङको काम मात्रै बाँकी छ ।’ दुई महिना भित्र निर्माण कम्पनीले कार्यालयलाई बुझाउने तयारीका साथ कामलाई अन्तिम चरणमा पु¥याएको छ । पुलमा आवश्यक सबै लठ्ठा तानेर शनिबार सकिएको छ ।

२०७५ चैतदेखि सुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने गरी थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा पाएको थियो । यो सम्झौता भएको एक वर्षमै सक्ने गरि काम अन्तिम चरणमा पुगेको हो ।

पुलमा आवश्यक सबै लठ्ठा आधुनिक प्रविधिको सहायताले शनिबार तानेर सकिएको छ । अब फिटिङको मात्र काम रहेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । ‘हामीले निर्माण थालेको एक बर्ष नबित्दै पुल निर्माण सक्न थाल्यौं,’ खड्काले भन्नुभयो, ‘नेपालकै लामो पुल सस्पेन्सन व्रिज डिभिजन कार्यालयका लागि समेत चुनौति थियो, पुलको निर्माण कार्य अन्तिम चरणमा पुग्दा निकै खुशी लागेको छ ।’

नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौता भन्दा एक वर्ष अगावै निर्माण कार्य सकिने गरी पुलको काम भइरहेको छ । लठ्ठा तान्नका लागि दुवै जिल्ला तर्फ रहेका विद्युतका तार व्यवस्थापन र मध्यपहाडी लोकमार्गको मालढुंगा–बागलुङ खण्ड एवम् मालढुंगा–बेनी सडकमा सवारी आवत जावतमा कुनै समस्या नलिइकन सम्पन्न भएको खड्काले बताउनुभयो । पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले समेत उच्च स्तरको प्रविधिको प्रयोग गरेको थियो ।

पुलमा आवश्यक २४ वटा लठ्ठा तानेर सकिएकाले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पुलको एउटा लठ्ठा मात्रै ३७ क्विन्टल रहेकोले लठ्ठा तान्न निकै चुनौती रहे पनि कुनै दुर्घटना बिनै लठ्ठा तानेर सकेको ठेकेदार कम्पनीले बताएको छ । बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरि बनाउन लागिएको ५ सय ६७ मिटर लामो र एक सय ३८ मिटर अग्लो पुल निर्माण हुनेछ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । बि.स २०५९ सालदेखि पुल निर्माण गर्ने सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा ४० लाखमा लठ्ठा तान्ने मेसिन चिनबाट खरिद गर्न अर्थमन्त्रालयले स्विकृति दिए पछि पुल निर्माण थालिएको थियो । अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो । सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटर भन्दा लामो पुल निर्माणका गर्दा अब देखि यही औजारको सहायता लिनेछ । अहिले सम्म नेपालमा ७ हजार ५ सय बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा १२ करोड २२ लाख रुपैयाँ लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि ६ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *